साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारको उपचार

Nepal Telecom ad

मौका मिल्दा पनि भ्रष्टाचार नगर्नु आफ्नै खुट्टामा बन्चरो हान्नु हो । तर कोही मौका मिल्दा भ्रष्टाचार गर्छन् त कोही मौका मिलाएर भ्रष्टाचार गर्छन् । यस्तै मौका मिल्नु या मौका मिलाइदिनु भै भ्रष्टाचार गर्न हुटहुटी दिनु हो । यसरी जति जति हुटहुटी मिल्दै जान्छ उतिउति धनसारको ढुकुटी र मुटुको ढुकढुकी बढ्दै जानु भ्रष्टाचारीका लक्षण हुन् । भ्रष्टाचारलाई दुराचार, पापाचार, नीतिविरुद्धको आचरण, अनैतिक कर्म, घुसखोरी आदि जेजस्ता नामले पुकारिए पनि धेरैले शर्म नमानी गर्ने कर्म एउटै हो– भ्रष्टाचार । 
तथानाम रोगको उपचार पत्ता लागिसक्यो, तर भ्रष्टाचारको उपचार नहुँदा सरकार, जनता थकित या दुःखित हुनु चानचुने कुरा होइन । भ्रष्टाचारजस्तो भयानक रोग किन, कसरी र कुन क्षेत्रमा लाग्छ लाटा, मूर्खलाई पनि थाहा हुने कुरा हो, तर निवारण या निराकरण कसरी गर्ने भन्ने सम्बन्धमा तीक्ष्ण, विलक्षण प्रतिभा वा विद्वान वर्ग पनि बुझेर बुझ पचाउन या घूस पचाउन पाखुरा खैँचाखैँची गर्छन् । यसरी भ्रष्टाचार सम्बन्धमा विभिन्न जनजाति एकज्यान भएर पनि एक मन नभई भिन्न तथा अभिन्न मत पाइएकाले यो पंक्तिकार रनभुल र सबैको अनुकूलमा कलम चलाउन नसकी मथिङ्गलमा मथिएर तयार भएका तर्कहरूलाई सार्वजनिक गर्ने जमर्को गरेको छ ।
कोही भन्छन् भ्रष्टाचार गर्नु अति उचित त कोही भन्छन् बिलकूल अनुचित, कसैको कथन छ भ्रष्टाचार गर्न पाउनु कर्मको कमाल हो त कसैको राय छ इज्जत, प्रतिष्ठाको सवाल हो । कुनैको तर्क छ भ्रष्टाचार गर्नु महापाप हो त कसैले किटेर भन्छन्– भ्रष्टाचार गर्नु अभिशाप हो, तर म ठोकेर भन्छु– भ्रष्टाचार अद्भूत तर अवैध फलिफाप हो ।
नेपालको परिप्रेक्ष्यमा भ्रष्टाचारजस्तो सामान्य कुरालाई लिएर व्यवस्था नै तहसनहस हुने गरी बहस गर्नुभन्दा एकमत भएर भ्रष्टाचार सबैले गर्न पाउने निक्र्योलको लागि योग वा आयोग गठन गरेर विवादमुक्त गराई भ्रष्टाचार गर्ने र नगर्नेबीचको भयावह खाडल पुर्नुका साथै आमभ्रष्टाचारीको डर, त्रासलाई तुर्नुपर्ने देखिन्छ ।
ज्ञानी वा अज्ञानीहरूले भ्रटाचार गर्छन् र जेल पर्छन् या त झुन्डिएर मर्छन्, नसके समुद्रपार तर्छन् । यसरी डर र त्रासको परिधिमा रहेर गरिने यस्ता क्रिया मानवीय आर्थिक कारोवारभित्र पर्छ कि पदैन ? अर्थात् आजसम्म जेजस्ता नीतिमा रहेर भ्रष्टाचार गर्नेले गरे, गराउनेले गराए र भोग्नेले भोगे त्यो आवश्यकता बाध्यता या विलासितामध्ये केको दायरामा रहेर गरे ? भ्रष्टाचार पिपासुलाई ललाइफकाई छानबिन तथा एकिन हुनुपर्ने देखिन्छ ।
हाम्रो जस्तो विकसित मुलुकमा भ्रष्टाचार गर्नु स्वाभाविकै हो, प्रशस्त पैसा छ र पो भ्रष्टाचार हुन्छ नभए के खाएर होस्, ‘न रहे बाँस, न बजे बाँसुरी ।’ तर गरिएका भ्रष्टाचार आवश्यकताले गरिए कि, बाध्यताले वा विलासिताको लागि गरिए ? ठूलाबडालाई भ्रष्टाचार गर्छन् भनेर थान्को लगाउन नै धेरै तनखा दिइएको हुन्छ । आवश्यकताले भ्रष्टाचार गरेकै भए तिनै तल्लास्तरका कर्मचारीले गर्छन् । यिनैको हुन्छ तलबभत्ता थोरै । यिनैको हुन्छ, आवश्यकता धेरै, यिनले नगरे कसले गर्ने ? त्यसैले यस स्तरबाट भएको भ्रष्टाचार आवश्यकताले गर्दा आर्थिक स्थिति सुधार्न भएका हुन् । आर्थिक स्थिति सुधार्न सानाठूला सबैले पाउनुपर्छ । त्यसैले आवश्यकताले गरिएका भ्रष्टाचारहरूलाई कानूनले पनि संरक्षण दिनुपर्छ । यसरी संरक्षण दिनसके ‘आफू भलो त जगतै भलो’ हुनुका साथै सबैको हातमा हलो नहुने कुरामा दुईमत नहोला ।
भ्रष्टाचार बाध्यताले भएका हुन् भनूँ भने प्रजातान्त्रिक याममा वाध्यताको पगरी गुत्न को पो अगाडि पर्ला र ? तानाशाही व्यवस्था भएको भए बाध्यताले पनि भ्रष्टाचार हुन्थ्यो होला । तानाशाही व्यवस्थासँग बिलकूल अपरिचित नेपालका मानवले के खाएर बाध्यताले भ्रष्टाचार गरुन् ? भ्रष्टाचार गर्नु त परै जाओस्, दृष्टाचार (हेरे) मात्र पनि कानूनको फन्दामा परिन्छ र चन्दाको मद्दतद्वारा फन्दामुक्त हुनुपर्छ । प्रजातन्त्रमा बाध्यताले कुनै कुरा पनि फस्टाउन सक्दैन भने फैलाउने, मौलाउने भन्ने त टाढैको कुरा प¥यो । काटे रगत आउँछ निचोरेआची आउँछ तर भ्रष्टाचार बाध्यताले हुनैसक्दैन । बरु भ्रष्टाचार विलासिता पो हो कि ? किनकि यस्तो आम्दानीलाई मनोरञ्जनपूर्ण तथा विलासिताजन्य ठाउँ प्रयोग गरेर सिध्याउने या उडाउने हुनाले भ्रष्टाचारलाई विलासिताको प्रधानस्रोतको रूपमा आदानप्रदान गर्न सकिन्छ । भ्रष्टाचारसँग अपरिचित मानवले मोज र भोज भन्ने भोगेकै हुँदैनन् । तालबेतालका पयर (पहिरन) र शयर पनि गरेका हुँदैनन् । त्यसैले आफ्नो परिपूर्णताको लागि पनि भ्रष्टाचार गरौं र यावत् समस्याबाट पृथक् रहौं ?
नीरोगी, हृष्टपुष्ट, व्यवहारै शिष्ट, हाउभाउ चालचलन नै विशिष्ट, अन्यायविरुद्ध बोल्नेप्रति रुष्ट आदि भ्रष्टाचारका निजी विशेषताहरू हुन् भने लुरेलांग्रेहरूलाई नटेर्ने, कालो चश्मा नलगाई नहेर्ने, शरीरलाई अत्तरै अत्तरले बेर्ने, गहनाले सिँगार्ने, आफूलाई सदा सपार्ने, अरुलाई बिगार्ने, अवैध जायजेथा लुकाएर थुपार्ने, बाहानादि नचडी नहिँड्ने, आफूविरुद्ध भएमा सरकारसँग पनि भिड्ने आदि भ्रष्टाचारीको निजी चरित्रका परिधिमा पर्ने लक्षणहरू हुनाले भ्रष्टाचारलाई अहंकारजन्य विलासिताको प्रमुख स्रोतका रूपमा लिन सकिन्छ ।
कि भ्रष्टाचार गर्नु आवश्यकता, बाध्यता र विलासिता तीनै तत्व पो हुन् कि ? हुन त, कसैले आवश्यकताले गरे त कसैले बाध्यताले र कसैले विलासिताको लागि भ्रष्टाचार गरे भने यिनै तीनै तत्वहरू मानवीय आर्थिक क्रियाकलापभित्र पर्छन् कि पर्दैनन् ? कानूनले संरक्षण दिनुपर्ने हो कि होइन ? गहन अध्ययनका साथ हरतरहले कार्यभारको बहन गर्नुपर्ने देखिन्छ । अन्यथा भ्रष्टाचार किन गरियो, किन गरिएन कसरी पत्ता लगाउने ? त्यसैले बेलैमा बुद्धि पु¥याएर गर्नेलाई पुरस्कारसहित प्रोत्साहित र नगर्नेलाई हतोत्साहित नबनाए देश कसरी विकासिन्छ ?
द्रुतगतिमा भ्रष्टाचार भएको देश उँभो नलागेको कहाँ होला ? मरेर स्वर्ग जानु पनि उँभै जानु हो, तर मैले त्यसो भनेको होइन । भ्रष्टाचार नभएका मुलुकहरू विकासपथबाट अधिक पिछडिएका छन् । आजका मितिसम्म नेपालमा व्यापक रूपमा भ्रष्टाचार भएको भए सारा प्यारा नेपालीहरू गरीबीको रेखामाथि उक्लिसक्थे । नेपाल पनि शक्तिशाली राष्ट्रको काँधमा चढेर सारा तथा प्यारा राष्ट्रलाई आफूसरह हुन आह्वान गरिसक्थ्यो । बेलैमा भ्रष्टाचारोन्मुखीे नहुनाले नेपाल अथाह गरीबीको दलदलमा फसेको छ ।
नजानेको, नभोगेको, नबुझेको, नसुनेको, नदेखेको, नगरेको कुरा केही थिएन तर के गर्ने ‘… सक्यो दैलो देख्यो ।’ नेपालमा अन्य कुराको विज्ञ तथा प्राविधिज्ञ नभए पनि भ्रष्टाचारसम्बन्धी पोख्त, विशिष्ट तथा खप्पिस विद्वान्हरू बग्रेल्ती पाइन्छन् । वातावरण जोगाएजस्तो यिनलाई बेलैमा नजोगाए हाम्रा भावी सन्तति ठूलो धर्मसंकटमा पर्ने निश्चित छ । जलस्रोत, सञ्चार, भन्सार, मालपोत, वन विभाग, ठेक्कापट्टा, कार्यालय, खरीदबिक्री, आयातनिर्यात, लेनदेन, व्यापार वाणिज्य, संघसंस्थाका साथै नेपाल सरकारको विभिन्न विभागमा एक से एक भ्रष्टाचारसम्बन्धी विद्यावारिधि गरेर बसेका छन् । जिज्ञासु तथा प्रशिक्षार्थी वर्गले कुन क्षेत्र कुन विभागमा दक्षता हासिल गर्ने हो, सो क्षेत्रको सम्बन्धित विशेषज्ञसँग हिमचिम बढाउनाले पनि तालिम लिए वा सोसरहको ज्ञानार्जन गर्न सकिन्छ ।
अन्य मुलुकमा भ्रष्टाचारसम्बन्धी डिग्री गर्नु र नेपालमा भ्रष्टाचारीको संगत गर्नु मेरो विचारमा संगतै उत्कृष्ट ठहर भएको छ । त्यसैले पनि सचेत मानवले पशुले झैं दिएको मात्र खाने हो भने मानव हुनुको अर्थ पनि व्यर्थ भइहाल्छ नि ।
शुद्ध सचेत मानवले त दायाँबायाँ, तल–माथि, लाप्पलुप्प, क्वाप्पकुप्प जे गेरर हुन्छ, मौकामा चौका हान्न सक्नुपर्छ । डाडुपन्यू आफ्नो हातमा छदा आँत रुवाएर पनि कोही स्वर्गमा बाँच्छ ? कसरी नाच्दा मुहार हाँस्छ त्यसरी नै बुर्कुसी मार्नु बुद्धिमानी ठहरिन्छ ।
भ्रष्टाचार सामान्य र असामान्य हुनुका साथै कसैलाई फाप्ने र कसैलाई नफाप्ने पनि हुन्छ । भ्रष्टाचार नफाप्नेहरू भ्रष्टाचारै नगरे पनि पदबाट अवकाश लिन बाध्य हुन्छन् या त जेलनेलमा बाँधिन पुग्छन् । फाप्नेहरू भने लाखौलाख भ्रष्टाचार गरे पनि उनीहरूका वारेमा कसैले लखसम्म पनि काट्न सक्दैन । यसरी कसैले पनि लख काट्न नसक्नु नै लाखौंलाख बच्नु, भ्रष्टाचार फाप्नु, पच्नु र आफू बाँच्नु पनि हो । यति गर्दा पनि स्वस्थ भ्रष्टाचार नभए छाती फुलाएर, दाना पानी खुलाएर, प्रशासनलाई भुल्याएर पनि भ्रष्टाचारको स्वस्थ्य उपचार गर्न सकिन्छ । भ्रष्टाचार फापेमा वंशकै उत्तरोत्तर प्रगति हुने र नफापेमा शाखा–सन्तानकै बिल्लीबाँठ हुने वा उठीबास हुने हुनाले भ्रष्टाचार गर्दा नेतासँग नभई भविष्यवेत्तासँग हेरकोर गराएर सम्बन्धित क्षेत्रमा होमिए होश पुगेको ठहर्ने थियो कि ?
कास्की, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x