साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लक्ष्मण गाम्नागे अर्थात् सिस्नुको एउटा गतिलो झाम्टो

Nepal Telecom ad

२०४६ पछिको नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय रहेका हस्ताक्षरहरू मध्येका एक लक्ष्मण गाम्नागेको जन्म वि.सं. २०२१ साल पुस २९ गते भुटानमा भएको थियो । पिता चिदानन्द भट्टराई र माता लक्ष्मी भट्टराईका सुपुत्र लक्ष्मण गाम्नागेको न्वारनको नाम भने लक्ष्मीप्रसाद भट्टराई हो । आफ्नो पितृथलो ओखलढुङ्गाको गाम्नाङलाई आत्मसात गरी गाम्नागे उपनाम राख्ने लक्ष्मण २०४४ सालदेखि हास्यव्यङ्ग्य लेखनयात्रामा ओर्लिएका देखिन्छन् । ‘जम्बुमन्त्री’, ‘साँल्दाइ’, ‘खोयाबिर्के’, ‘चरीमुखे’, ‘चारआँखे’, लक्ष्मी शर्मा आदि उपनामद्वारा पनि कलम चलाउँदै आएका छन् लक्ष्मण ।

२०४४ देखि २०४६ सालसम्म प्रकाशित रहेको ‘रकेट’ मासिक पत्रिकाका सम्पादक लक्ष्मणको पहिलो प्रकाशित हास्यव्यङ्ग्य रचना ‘फाइटर ज्याक्सनलाई पत्र’ हो । यो २०४४ सालमा ‘रकेट’ मै छापिएको थियो । २०४८ देखि २०५४ सम्म प्रकाशित ‘चड्कन’ हास्यव्यङ्ग्य द्वैमासिकको सम्पादनमा सक्रिय रहेका उनी ‘हासिस’ (हास्यव्यङ्ग्य सिर्जन समूह) मा पनि संलग्न थिए । उक्त संस्था हाल अस्तित्वमा रहेको छैन । हास्यव्यङ्ग्यका विविध गतिविधि सञ्चालन गर्दै आएको ‘सिस्नुपानी नेपाल’ का संस्थापक निर्देशक लक्ष्मण सिस्नुपानीका मेरुदण्ड मानिन्छन् र ‘सिस्नुपानी’ पत्रिकाको सम्पादनमा समेत संलग्न रहेका छन् । भैरव अर्यालका हास्यव्यङ्ग्य कृतिहरू र डा. गोविन्दराज भट्टराई (दाजु) सँगको सङ्गतबाट हास्यव्यङ्ग्य लेखनमा प्रेरित र प्रभावित लक्ष्मण गद्य र पद्य दुवै विधामा हास्यव्यङ्ग्य रचना गर्न सिपालु देखिन्छन् । (लुइँटेल, २०५८ : १२०)।
“हास्यव्यङ्ग्य रचना लेख्नु भनेको एक किसिमले आफैसँग लाप्पा खेल्नु हो । आफूसँगैको लडाइँमा पनि कहिले हारिन्छ कहिले जितिन्छ । आफूलाई समेत जितेर लेखेको हास्यव्यङ्ग्य उत्कृष्ट हुन्छ । परिस्थितिले आफैंलाई दनादन दनक दिन थालेपछि मैले पनि प्रतिकारमा हास्यव्यङ्ग्यको दनक दिन थालेको हुँ” (शाक्य, २०५६ : ४४) भन्छन् लक्ष्मण गाम्नागे । हास्यव्यङ्ग्य शैलीलाई आत्मसात गरेर लक्ष्मणले यो देशको विद्रूप स्थितिका प्रायः सबै पाटा र पक्षहरूको यथातथ्य उत्खनन गरेका छन् । कविता, निबन्ध, नाटक÷प्रहसन, समीक्षा, कथा, हास्यव्यङ्ग्य पत्र, टेलिश्रृङ्खलाका पटकथाकार आदिको रूपमा समेत देखिएका लक्ष्मण वर्तमान बेथितिको उछित्तो काड्न उद्यत रहेका छन् । २०४६ पछिको नेपाली हास्यव्यङ्ग्य लेखनमा आफ्नो दह्रो उपस्थिति जाहेर गर्दै सृजनामा तल्लीन छन् ।

हास्यव्यङ्ग्य कविका रूपमा लक्ष्मण
लक्ष्मण गाम्नागेको लेखनयात्राको आरम्भ निबन्धबाट भए पनि उनी कवितामा पनि सशक्त ढङ्गले व्यक्तिएका छन् । उनका प्रायः सबै कविता गद्यशैलीको संरचनामा बाँधिएका छन् । यद्यपि लोकलयमा आधारित केही पद्यकविता पनि नभएका चाहिँ होइनन् । कृतिको रूपमा २ वटा कविता सङ्ग्रह र विभिन्न पत्रपत्रिकामा करिब ५ दर्जन फुटकर कविताहरू प्रकाशित भएका भेटिन्छन् ।
‘घिटिक घिटिक बाँचेर शहरमा’ (२०५०) लक्ष्मणको पहिलो ‘हास्यव्यङ्ग्य कविता–कृति हो । २०४० देखि २०४९ सम्मको अवधिमा लेखिएका र विभिन्न पत्रपत्रिकामा छापिएका कविताहरूमध्ये २५ वटा कविता यस सङ्ग्रहमा सङ्कलित छन् । सरल भाषा तर गहन भाव बोकेका छन् यस सङ्ग्रहका कविताले । लक्ष्मणका यस सङ्ग्रहका कविताहरू यथार्थमा सामाजिक विसङ्गति, राजनीतिक हाहाहुहु, आडम्वर र औपचारिकता जस्ता मूल विषयवस्तुमा बढी आधारित छन् । ‘घिटिक घिटिक सास जानलाग्दा पनि अलिकति घूस खाएरै मरौँ’ वर्तमान शासनभित्र कर्मचारीतन्त्रको बिगबिगीप्रति यो घोर व्यङ्ग्य हो । यस सङ्ग्रहका कवितामध्ये केही शासनिक अन्यायप्रति र केही आफैप्रति छन् । कवितामा हास्य कम्ती व्यङ्ग्य बढी छ । (भटृराई, २०५० : ख) पञ्चायती कालको अन्त र प्रजातन्त्रको आरम्भकाल यी दुई भिन्न परिवेशको अवधिभित्र रचना गरिएका यी कविताहरूमा पञ्चायतकालीन विकृतिहरूको यथार्थ चित्र उतारिएको छ र प्रजातन्त्रभित्रै पनि हुर्किएका अनाचार भ्रष्टाचारको पनि पोल खोलिएको छ । “कवि गाम्नागे उमेरमा कच्चै भए पनि यो जगत्प्रति प्रस्तुत व्यङ्ग्य कविताहरू मार्फत् व्यक्त उनका धारणा पढ्दा मलाई कोनन डायलको शर्लक होम्जको सम्झना हुन्छ । पब्लिक गाम्नागेको भित्री दिलमा एउटा जिरेखुर्सानी छटपटाउँछ किनकि त्यहाँ एउटा निर्भिक र सूक्ष्म आँखा भएको कवि छ । त्यो सचेतक हो, ससानो इतिहासको झिल्का हो । विकृति र विसङ्गतिले व्याप्त यो समाजलाई न पल्टाउन सकिन्छ, न आफू त्यसको अनुकूल हुन सकिन्छ । त्यस्तो हुँदा बरू तिनीहरूलाई घोचपेच गरी मर्मको हाँसोमा अरुलाई डुबाउनु’ (भटृराई, २०५० : ग) हास्यव्यङ्ग्य कवि लक्ष्मणका विशेषता हुन् । बिब्ल्याँटो बनेको परिस्थितिकै सेरोफेरोबाट विषयसन्दर्भ लिएर लक्ष्मण कविता मार्फत् व्यङ्ग्यको गुलेली हान्न खप्पीस देखिन्छन् । अनुप्रास उनका कवितामा हाडसँगै जोडिएको मासु भएर आएका छन् ।
लक्ष्मण गाम्नागेको दोस्रो हास्यव्यङ्ग्य कवितासङ्ग्रह हो ‘३ न १३’ (२०५७) । सिस्नुपानी नेपालद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा कविता सङ्गृहीत छन् । विषयवस्तु, हास्य र व्यङ्ग्यको सन्तुलन, प्रहारक्षमता एवम् लक्षणा शब्दशक्तिका दृष्टिकोणले अघिल्लो सङ्ग्रहभन्दा यो सङ्ग्रह धेरै अगाडि छ । राजनीतिको बर्को ओढेर सत्ताको सिँढी चढेका लठुवा नेताका क्रियाकलापमाथि लक्ष्मणले धतुरो झार्नेगरी व्यङ्ग्यात्मक प्रहार गरेका छन् यसरी : 
कुनै दौरा सुरालले यो हप्ता
टट्टिखानको शिलान्यास गरेन
कुनै टाइसुट यो हप्ता
भट्टिखानको उद्घाटनमा परेन
२/४ निहत्था आतङ्कवादीको हत्या पनि भएन
उपचार गर्न विदेशतिर
अगस्तीहरूको जत्था पनि गएन ।
(‘यो हप्ता अचम्म भयो’, ३ न १३, पृ. २)

गावैंलाई उठाएर पछि पछि लाउँथ्यो
अँध्यारोलाई सिङ्गै निल्ने क्रान्तिगीत गाउँथ्यो
क्रान्ति पग्ली रक्सी भई बग्यो सलल
सिंहदरवार पसेपछि देशै झलल ।
(‘सिंहदरवार पसेपछि देशै झलल’, ३ न १३, पृ. १०)

कि नाम हुन्छ कि दाम भन्थे
कि घर हुन्छ कि थर भन्थे
वहाँको त कामै नगर्दा पनि दाम फलेकै छ
नकामै गर्दा पनि नाम पैmलेकै छ
घरको उचाइसँगै थरको उचाइ चढेकै छ
मोटरको ताँतीसँगै भोटरको ताँती बढेकै छ ।
(‘जयनेपाल छ, लालसलाम छ’, ३ न १३, पृ. ३२)

माथि उठाइएका कविताका केही फाँकीहरूले वर्तमान नेपालको राजनीतिक विसङ्गतिलाई पर्याप्त चित्रण गरेका छन् । सङ्ग्रहका अन्य कविताहरूले राजनीतिक विसङ्गति मात्र होइन मौलिक नेपाली संस्कृति बनिसकेको भ्रष्टाचार, अनाचार, दुराचार र पापाचार जस्ता मनोवृत्तिलाई बडो राम्ररी प्रकट गरेका छन् ।
उनी व्यङ्ग्य कवितामा आफ्नै जीवनका कटु प्रसङ्गहरूलाई समेत विषयवस्तुका रूपमा उठाएर मानवीकरण गर्दै प्रस्तुत गर्न सिपालु देखिन्छन् । कतिपय कवितामा ‘म’लाई अगाडि सारी आफू वरिपरिको विसङ्गत वातावरणतर्फ तिखो तीर चलाइएको पाइन्छ । न्युनवैतनिक कर्मचारीलाई हाकिमले आफ्नो व्यक्तिगत करिया सम्झने, आफू कामचोर, चाकडीवाज र घूसखोर भए पनि अरूलाई सच्चरित्रको पाठ पढाउन पनि पछि नपर्ने कर्मचारी मनोवृत्ति समेत उनका कवितामा सहज व्यङ्ग्य र मन्द हास्यका रूपमा प्रस्तुत गरिएको छ ।
“‘३ न १३’ को सेरोफेरोमा तपाईंको, मेरो, र हाम्रो परिस्थितिको राम्रै प्रतिनिधित्व भएको छ । आफ्नो आङ कन्याएर छारो उडाउने क्रममा कविले धेरैका दारा र बङ्गारा गन्नुभएको छ । तपाईंका र मेरा कुरा भन्नुभएको छ ।” (चट्याङ, २०५७ : …) आफ्नै कुरा भनेर अरूका मनोवृत्तिमाथि प्रहार गर्ने क्षमताको प्रदर्शन लक्ष्मणका कविताहरूको विशेषता पनि हो ।
लक्ष्मणका कविता गद्यशैली र पद्यात्मक लयमा रचना गरिएका छन् । दुवै शैली–संरचनाका अधिकांश कवितामा अनुप्रासको अनुपम मेल गराइएको पाइन्छ । अन्त्यानुप्रास मात्र होइन पङ्क्तिको सुरु, मध्ये, अन्त जहाँ र जता पनि– माथि र तल, वर्तिर र पर्तिर सबैतिर अनुप्रासै अनुप्रास छिरिलिएका छन् । अनुप्रास आफैंमा अलङ्कार पनि हो । यसको प्रयोगले अर्थलाई र खास गरी हास्य उत्पन्न गरी व्यङ्ग्यलाई मर्मान्तक बनाउन धेरै सहयोग पुग्दछ । गाम्नागेले यो अन्तर्वस्तुलाई राम्ररी बुझेका छन् । त्यसैले उनको ‘३ न १३’ सङ्ग्रहमा परेका धेरैजसो कवितामा यस किसिमको अनुप्रास आयोजनाद्वारा मिठासपूर्ण, श्रुतिमधुरता, रसिलोपन एवम् हँसिलोपन प्रदान गरिएको पाइन्छ । अनुप्रासको अधिकतम प्रयोगका सिलसिलामा उनले विभाषीय शब्दहरू सापट लिन पनि हिचकिचाएका छैनन् । एउटा उदाहरण हेरौं :
झण्डा भन्दै डण्डा ल्याए
सुम्सुम्याउँदै रण्डा लाए
चुरोट दिएर नियर बन्ने
बियर पिउँ डियर भन्ने
थरिथरिका माग्ने आए
भोट लुटेर भाग्ने आए
एउटा पुरानो वेस हुँ भन्छ
अर्को नयाँ फ्रेस हुँ भन्छ ।
(‘जनै, जुत्ता, लँगौटी, कोट’ ३ न १३, पृ.३३)

यस किसिमको विभाषीय शब्दको प्रयोग कति उचित कति अनुचित ? यो अलग्गै प्रश्न हो तापनि विभाषीय शब्दको प्रयोग गरी हाँसो र व्यङ्ग्य गर्ने परम्परा हामीकहाँ मोतीराम भट्टदेखि नै रहँदै आएको हो । हास्यव्यङ्ग्यकारहरूले यसलाई निरन्तरता दिंदै आएका छन् ।
समग्रमा भन्नुपर्दा लक्ष्मण गाम्नागे हास्यव्यङ्ग्य शैलीमा कविता रचना गर्ने पछिल्लो पुस्ताका अगुवा कवि हुन् । उनका हास्यव्यङ्य कविताले वर्तमानका सामाजिक, राजनीतिक, एवम् वैयक्तिक सबैखाले बिब्ल्याँटा र विसङ्गतिहरूको यथातथ्य उद्घाटन गर्दै सङ्गतिका निम्ति खरो आग्रह गरेका छन् । यसर्थ पनि २०४६ पछिको हास्यव्यङ्ग्य कविताका क्षेत्रमा गाम्नागेको उपस्थिति अर्थपूर्ण रहेको छ ।

हास्यव्यङ्ग्य निबन्धकारका रूपमा लक्ष्मण
लक्ष्मण गाम्नागे निबन्ध लेखनमा पनि प्रवृत्त देखिन्छन् । २०४६ को सेरोफेरोदेखि नै अखवार र साहित्यिक पत्रपत्रिकामा उनका निबन्धहरू छरपष्टिदै आएका हुन् । सिङ्गो कृतिका रूपमा भने हालै उनको ‘लाठीचार्ज’ हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित भएको छ । ३३ वटा निबन्धहरूको यो सङ्ग्रह परिवेश प्रकाशनले प्रकाशित गरेको हो । विभिन्न समयमा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका निबन्धहरूलाई सङ्कलन गरी यो सङ्ग्रहको रूप दिइएको छ । यसका अतिरिक्त करिब दुई सय निबन्धहरू विभिन्न पत्रपत्रिकामा छापिएर छरिएका छन् ।
लक्ष्मणका निबन्धहरूको बान्की नयाँ छ । आकारले छोटा छन् तर प्रभावपूर्ण व्यङ्ग्यले भरिपूर्ण छन् । “यताका केही समयदेखि ‘हिमालय टाइम्स’ दैनिकमा छापिएका लक्ष्मणका ‘नारा बाली’, ‘सबैलाई यस्तै हो १६–१७ मा’, ‘गोतामेले गोद्यो’, ‘एक मिनेट’, ‘रोकी–हेरी–जानोस्’, ‘भू.पू.क्रान्तिकारी लछुमन’, ‘पानीपत्र’, ‘हत्तेपरानपत्र’, ‘हल्लो लक्ष्मन, काट्टो खायौ’, ‘फिरी लजिङ–फुडिङ’ जस्ता निबन्धहरूले वर्तमान प्रजातन्त्रमै देखापरेका विद्रूप विसङ्गतिमाथि मजाले चड्कन हानेका छन् । लुइँटेल, २०५८ : १२२)
लक्ष्मणको हास्यव्यङ्ग्यात्मक निबन्ध कृति ‘लाठीचार्ज’ (२०६१) मा सङ्गृहीत निबन्धका प्रमुख विषयवस्तु हाम्रै वरिपरिको प्रदूषित राजनीतिक, सामाजिक र आर्थिक वातावरण रहेको छ । मान्छेका मनका कल्मषहरू झन पछि झन फैलिंदैछन् । अनाचार झाँगिदो छ, दुराचार मौलाउँदो छ र अकर्मण्यताले हामीमथि कुशासन चलाउँदो छ । यो विकराल स्थितिले लक्ष्मण गाम्नागेहरूलाई उकउकी लागेर आउँछ । आन्द्रा बटारिएर हँडिलो पानी बाहिर निस्कन्छ । वर्तमानको यो रौद्र, विकराल र घृणित रूप देखी खप्नै नसकेर निबन्धमा कलमको निप रगड्छन् लक्ष्मण । यही मर्मलाई उनी आफ्नो कर्म सम्झन्छन् । बिब्ल्याँटो गतिलाई सब्ल्याँटो पार्नखोज्नु हास्यव्यङ्ग्यकारको धर्म हो । आफ्ना चोटिला र कसिला निबन्ध मार्फत् उनी यही धर्म निर्वाह गरिरहेका छन् । सङ्ग्रहको प्राक्कथनमा उनी भन्छन् ‘राजीखुशी समाएँ मैले भालुको कन्पट ।’
भ्रष्टाचारमा निर्लिप्त कर्मचारी, व्यभिचारमा चुर्लम्मै डुबेको कथित ब्रम्हचारी, विदेशको जयगानमा लम्पसार परेका देशघाती, देश र जनताप्रति अत्यन्तै कृतघ्न नेता, तस्करीलाई अपारको व्यापार ठान्ने तस्कर, हनुमानगिरी र चाप्लुसीका भरमा तर मारिरहेका उभिण्डा साहित्यकार आदिका क्रियाकलाप एवम् उभिण्ड्याइँहरूको सेरोफरोलाई नै यस सङ्ग्रहका निबन्धहरूको मूलकथ्य बनाएका छन् लक्ष्मण गाम्नागेले । “तपाईं भ्रष्टाचारी हुनुहुन्न भने यी रचना तपाईंलाई मन पर्ने छन्, तपाईं व्यभिचारी हुनुहुन्न भने वा तपाईं देशघाती हुनुहुन्न भने वा तपाईं कृतघ्न नेता वा तस्कर व्यापारी वा राष्ट्रघाती मन्त्री वा लफुङ्गो कर्मचारी हुनुहुन्न भने पनि यी निबन्ध मन पर्नेछन् । यी निबन्धले सङ्केत गरे झैं तपाईं दुष्ट हुनुहुन्छ भने स्वाभाविक रूपमा तपाईंलाई यी निबन्ध मन पर्ने छैनन् ।” (ज्ञवाली, २०६१ : …)
विसङ्गत स्थितिप्रति निबन्धकार गाम्नागेको जोडदार असहमति छ । यो असहमति नै उनका निबन्धको ज्यान हो । त्यस ज्यानमा उनले हास्यव्यङ्ग्यको प्राण भरेका छन् । बेथितिलाई थितिमा बदल्ने, अकर्मण्यतालाई कर्मण्यतामा ओराल्ने, दुर्गन्धको आहाललाई सुन्दर सरोवरमा रूपान्तरण गर्ने हुटहुटी नै लक्ष्मण गाम्नागेका निबन्धहरूको लक्ष्य हो । यो लक्ष्यमा लक्ष्मण खरो र दह्रो भएर उभिएका छन् । यस कित्ताका धेरैलाई हेलैसँग उछिनिसकेको सङ्केत पनि हो उनको ‘लाठीचार्ज’ ।
कोही रिसाउला वा कोही खुसाउला, कसैलाई मर्का पर्ला वा कसैलाई फाइदा होला भन्ने हिसाब किताब गर्नेले हास्यव्यङ्ग्य लेख्ने दुःस्साहस नगरे हुन्छ । अनि हास्यव्यङ्ग्य भनेको वैयक्तिक आरोप, छिन्द्रान्वेश र व्यक्ति केन्द्रित गाली हुँदै होइन । व्यक्तिका बेबकुफी, बदमासी र व्यभिचारलाई व्यक्तिमा सीमित नराखी प्रवृतिगत प्रस्तुतिमा ओराल्न सक्नुपर्दछ सफल हास्यव्यङ्य साबित गर्नका निम्ति । यो यथार्थलाई बुझदै नबुझी वा बुझेर पनि बुझ पचाउँदै लेखिरहेकाहरूको पङ्क्तिबाट अलग्गै छुट्टिएका छन्, भिन्नै देखिएका छन् गाम्नागे । यो नै उनको आफ्नो पहिचान एवम् विशेषता पनि हो । “उनले देखेकै कुरा लेखेका छन्, भोगेकै कुरा लेखेका छन्, भएकै कुरा लेखेका छन् र निर्भिकताका साथ विनामोलाहिजा, विनाहिचकिचाहट, रोचक भाषाशैलीमा लेखेका छन् । हत्याराहरूकै चाटुकार बनेर घिनलाग्दाहरूको स्तुतिमा रचना गर्ने हरिलट्ठकहरूका सामु यिनका निबन्ध विजेता बनेर उभिएका छन् ।” (ज्ञवाली, २०६१ ः …)
यथार्थको अङ्कन विना सार्थक हास्यव्यङ्ग्यको सिर्जना सम्भव छैन । गाम्नागेको ‘लाठीचार्ज’ का अधिकांश निबन्धहरूले यही कुराको साक्षी बकिरहेका छन् ।
सङ्ग्रहका केही रचनाहरूले निबन्धको विधागत मान्यतालाई उल्लंघन गरेको पनि पाइन्छ । कथा निबन्ध होइन र निबन्ध पनि कथा हुन सक्दैन । साहित्यका विभिन्न विधाहरूका आ–आफ्नै सीमा–परिसीमाहरू छन् । कथित प्रयोगवादीहरूले विधागत सिमाना मिचेर मिसमास पार्न थालेका छन् पश्चिमतिर । त्यसैको देखासिकी गर्दै यता पनि त्यो प्रवृत्ति हुर्कदो छ । त्यसको कुप्रभाव लक्ष्मणमा परेको हो त ? शङ्का उब्जिनु स्वाभाविक हो तर यथार्थ त्यस्तो होइन । रचना छनौट गर्दा अलिकति ध्यान नपुगेको मात्रै हो । यस सङ्ग्रहभित्र झुक्किएर परेका एकदुई कथा–संरचनाअन्तर्गतका रचनाहरू (‘गरुडेको उडान’ र ‘गाँडमाथि पिलो’ आदि) लाई हेर्दा लक्ष्मणको हास्यव्यङ्ग्य कथाकार व्यक्तित्व पनि झुलुक्क देख्न पाइन्छ । म भने हास्यव्यङ्ग्य कथा सिला खोज्नु परिरहेको वर्तमान स्थितिमा यसलाई शुभलक्षणका रूपमा लिनु पो सान्दर्भिक हुन्छ भन्ठान्छु । त्यसो त उनका ‘भोलादाइको झोला’ (अंशु : २०५७) जस्ता केही हास्यकथा प्रकाशित भइसकेका पनि छन् । आशा गरौं लक्ष्मणद्वारा रचित यस किसिमका कथाहरूको एउटा सङ्ग्रह नै फुत्त निस्कियोस् । (त्यसो भयो भने ओहो म त गदगद नै हुने थिएँ ।) निबन्धमा विवरण, व्याख्याका अतिरिक्त संवादात्मक तथा नाटकीकरण शैलीको उपस्थितिलाई भने गाम्नागेको नौलोपन नभनी सुखै छैन ।

अन्यान्य रूपमा लक्ष्मण
कविता र निबन्धका अतिरिक्त लक्ष्मण हास्यव्यङ्ग्य प्रहशन, नाटक, समीक्षा, टेलिचलचित्रका पटकथा र हास्यव्यङ्ग्य पत्र लेखनमा समेत देखिएका छन् । गाम्नागेद्वारा लिखित ‘कालमोहर’ र ‘शपथग्रहण’ दुईवटा नाटक मञ्चन भइसकेका छन् । हालसम्म करिब १ सय वटा प्रहसन रेडियोबाट प्रशारित भइसकेका छन् । उनका आधा दर्जन समीक्षात्मक रचना र केही हास्यव्यङ्ग्य कथाहरू पत्रपत्रिकामा प्रकाशित भएका भेटिन्छन् भने उनीद्वारा तयार गरिएको पटकथामा निर्मित ‘मन्त्रीज्यू’ टेलिश्रृङ्खला हालै च्यानल नेपालबाट प्रशारित भएको छ । परम्परागत उखानहरूलाई अहिलेको परिवेशतर्फ मोडेर आधुनिक उखानका रूपमा थुप्रै मञ्चमा प्रस्तुत गर्दै मान्छेलाई पेट मिचिमिची हँसाएका छन् गाम्नागेले । यी आदि तथ्यले हास्यव्यङ्ग्य क्षेत्रमा उनको उपस्थिति अर्थपूर्ण रहेको प्रष्टै छ ।

बिसौनीमा थप केही
नवरङ्ग साहित्य प्रतिष्ठान, झापाबाट २०५७ मा अभिनन्दित गाम्नागे हिमालय टाइम्सको परिहास तथा अन्नपूर्ण पोष्टका स्तम्भकार हुन् । करिब डेढ वर्षको अवधिसम्म प्रशारित रेडियो सगरमाथाको साप्ताहिक हास्यव्यङ्ग्य कार्यक्रम ‘कहीँ नभएको जात्रा’ को स्क्रीप्ट लेखन तथा सञ्चालनमा संलग्न भएर यस क्षेत्रमा आफ्नो अलग्गै पहिचान प्रस्तुत गरिसकेका छन् । गाम्नागे यस वर्षको भैरव प्रतिभा पुरस्कारका निम्ति छनौट हुनु स्वागतयोग्य प्रसङ्ग हो भन्ने मेरो ठम्याइ छ । उनीप्रति म बधाइ ज्ञापन गर्छु । नेपाली हास्यव्यङ्ग्यले एउटा कर्मठ र लगनशील लक्ष्मण गाम्नागे पाएको छ । उनी यस फेटमा सिस्नुको एउटा गतिलो झाम्टो भएर देखा परेका छन् । म भने ‘३ न १३’ को भूमिकामा व्यक्त चट्याङ मास्टरको बोली सापट लिंदै यो आलेखलाई बिट मार्ने अनुमति माग्छु– “तपाईं हाम्रा मनका कथाव्यथा भनिदिने यस्ता धेरै लक्ष्मण गाम्नागेहरू चाहिएको छ । यो एउटै भए पनि पाइएको छ । हास्यव्यङ्ग्यका यी उदीयमान सूर्यलाई नमस्कार गर्दै मध्यान्हको न्यानो पर्खाइमा मेरा हात खोकिलामा घुसार्छु ।”

सन्दर्भ–सामग्री
१. लुइँटेल, नरनाथ (२०५८), नेपाली हास्यव्यङ्ग्य : सिस्नुपानी नेपाल ।
२. शाक्य, माणिकरत्न (सं.) (२०५६), हास्यव्यङ्ग्यकार नालीबेली : सिस्नुपानी नेपाल ।
३. गाम्नागे, लक्ष्मण (२०५०), घिटिकघिटिक बाचेर यो शहरमा, (कवितासङ्ग्रह) ।
४. ”  ” (२०५०), ‘३ न १३’, (कवितासङ्ग्रह), सिस्नुपानी नेपाल ।
५. ”  ”  (२०६१), ‘लाठीचार्ज’ (निबन्धसङ्ग्रह), परिवेश प्रकाशन ।
६ ज्ञवाली, रामप्रसाद (२०६१), लाठीचार्ज’ (निबन्धसङ्ग्रह) भूमिका, परिवेश प्रकाशन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x