नारायण तिवारीहोइन होला…!
मलाई साह्रै सम्मान गर्दथे सम्पादकले । काठमाडौँ गएका बेला म भेट्न जाँदा उनी औधी खुसी हुन्थे ।
– ओहो ! कहिले आउनुभयो ?
– कस्तो अपूर्व दर्शन…!
– तपाईँका रचना साह्रै उत्कृष्ट लाग्छन्….। ।
आदि/इत्यादि सम्मान–प्रशंसाका शब्दहरू ओकल्थे उनी । मलाई पनि लाग्थ्यो– सम्पादक साह्रै सज्जन छन् । यस्तै हुनुपर्दछ सम्पादक, साहित्यकारहरूलाई सम्मान दिनसक्ने, आदर गर्नसक्ने…।
सम्पादक र मेरो उमेरमा पनि झण्डै १५ वर्षको अन्तर थियो । उनी मलाई आदर गरेर ‘दाजु’ सम्बोधन गर्थे ।
एक दिन उनी विराटनगर आए । मैले उनलाई त्यसैगरी आत्मीयता जताएँ, जसरी काठमाडौंमा उनले मप्रति जताउँथे ।
मैले घर लगेँ । मेरो घर देखेर उनले नाक खुम्च्याएझैँँ लाग्यो मलाई । मैले आफैँलाई एक झट्का दिएँ– होइन होला…!
मैले आफ्ना छोराछोरीलाई ‘उहाँ त काठमाडौंका ठूला सम्पादक, नमस्ते गर’ भनेर अह्राएँ । उनले फेरि पनि आँखीभुईं खुम्च्याएझैँँ लाग्यो मलाई । मैले फेरि पनि टाउको झट्काएँ– होइन होला….!
मैले हजार ठाउँ च्यातिएको लुगा पहिरेकी ओठ, मुख सुकेकी आफ्नी प्यारी पत्नीसित परिचय गराएँ– ‘ऊ मेरी श्रीमती अनि उहाँ सम्पादक…!’
उनका हात मरेर उठेझैँँ लाग्यो मलाई । मैले फेरि पनि आफूलाई झट्किएँ– होइन होल… ! सम्पादक त्यस्तो मान्छे होइन होला… ।
त्यसपछि सम्पादकलाई सकीनसकी एकछाक ख्वाएरै पठाएँ मैले ….!
सम्पादक गइसकेपछि श्रीमतीले भनिन्– ‘कस्तो गजक्क पर्ने मान्छे !’ मलाई पनि कस्तो कस्तो नरमाइलो लागिरह्यो…. !
म फेरि काठमाडौं गएँ र गएका बेला फेरि सम्पादकलाई भेट्न सम्पादकका कोठामा उपस्थित भएँ ।
तर अहँ ! सम्पादकले पहिलेझैँँ हात उठाएनन् । मुखमा मुस्कान, हाउभाउमा आत्मीयता, आदर, सम्मान केही उमारेनन् …।
म झस्किएँ– किन हँ सम्पादकको मप्रति त्यस्तो परिवर्तन ?
अनायासै सम्पादक मेरो घर पधारेका बेला उनको मुड बिग्रिएको अनुुहार चलचित्रझैँँ मेरो आँखामा नाच्यो ।
मलाई लाग्यो– लेखकको रचना मात्रै राम्रो भएर नपुग्ने रहेछ, लेखकको घर पनि राम्रो हुनुपर्ने रहेछ । लेखकको रचना मात्र राम्रो होइन श्रीमती, केटाकेटी पनि रुञ्चे होइनन्, धनको प्रतापले पाक्क–पुक्क भएका हुनुपर्ने रहेछ…।। मेरो मन खिन्न भयो ।
म त्यस दिनदेखि फेरि कहिल्यै सम्पादकका कोठामा गइनँ ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































