साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयङ्कर पिरलो

Nepal Telecom ad

राजनेताहरू ठान्छन् पिरलो त सर्वसाधारण जनताको भाग्य हो, लेखान्तर हो । पिरलो जति छ त्यो सवै जनताकै भागमा परेको छ । जनताको पहिचान हो पिरलो । जनता ज्यान दिएर पटक पटक आन्दोलन गर्छन् । क्रान्ति गर्छन् । त्यसबाट राजनीतिक परिवर्तन हुन्छ । जनताको जीवनस्थितिमा परिवर्तन हुँदैन । जनताको भाग्य भविष्यमा परिवर्तन हुँदैन । जनताका समस्या यथावत् रहन्छन् । घट्दैनन् । बरु नयाँ नयाँ समस्याहरू थपिन्छन् । पहिले नचिने नजानेका समस्याहरू थपिन्छन् ।

जनता निन्तर समस्यामा हुनु, पिरलोमा हुनु राजनेताहरूका लागि खुसीको कुरा हो । रमाइलो हो । माहुरी पिरलिएर महको चाका छाडी भागिदिनुजस्तै रमाइलोे हो । पिरलोमा परेका जनतालाई उरालेर मौकामा कथित जनप्रदर्शन गर्न पाइन्छ । आमसभा आयोजन गरेर भाषण भट्याउन पाइन्छ । आन्दोलन चर्काउन पाइन्छ । निर्वाचनमा मत कुम्ल्याएर पद प्रतिष्ठा जित्न पाइन्छ । भ¥याङ् चढेर सत्ताको बुइँगलमा उक्लन पाइन्छ । सरकारी भकारी फोरेर भयङ्ंकर भ्रष्टाचार गर्न पाइन्छ । चन्दा, उपहार, नजराना, कमिसन आदिबाट समेत अकूत सम्पत्ति कमाउन पाइन्छ । त्यसै सम्पत्तिका आधारमा थप राजनीति गर्न पाइन्छ । राजनेताहरूका लागि यीे सबै व्यवसायगत सफलताका कुरा हुन् ।

जनतालाई त के छ र ? पिरलोमै जीवन चलाउने बानी परिसकेको छ । भयङ्कर महाभयङ्कर कालो बादलमा चकाचौंध बिजुली चम्केर आँगन, पिँडी र धुरीमा भयंङ्कर चड्कने परे पनि, र चक्रवातमा निस्सास्सिनु परे पनि जनता शान्त रहन सक्छ । झुप्रा छाप्रा र पाखा पखेरामा प्राण पखेरु थामेर टिपिल टिपिल गुजारा चलाउँदै निरन्तर भूकम्पमय वातावरणमा जीवन यापन गर्न पाउँदा पनि जनता दङ्ग हुन सक्छ । सुख सजिलोको त स्वादै छैन नेपाली जनालाई । अनुभवै छैन । पहिले पहिले जेसुकै जस्तोसुकै दुःख पनि जसरीतसरी स्वदेशमै खेप्थे नेपाली जनता । स्वदेशमै पसिना पोख्थे । स्वदेशमै बाँच्थे । स्वदेशमै मर्थे । मुलुकमा लोकतन्त्र अघि लाएर गणतन्त्रको सवारी भएपछि अहिले विदेशमा गएर आलसतालस हुँदै रगत पसिना पोख्ने अवसर समेत् जनताले पाएका छन् । भाउँतो भाउँतो दुःख पीडा र यातनाका बीच विदैशी भूमिमै प्राणपखेरु उडाउने अवसर पाएका छन् । स्वदेश फर्कू भन्दाभन्दै र फर्कने दिन गन्दागन्दै विदेशमै मर्न पाउनु पनि नेपाली जनताका लागि भाग्यको नयाँ आयाम खुलेको जस्तो भएको छ । देशमा लोकतन्त्र र गणतन्त्र मात्र होइन, विभिन्न क्षेत्र,जात जाति र थर गोत्र आदि इत्यादिका आधारमा पहिचानको विवाद पनि सवारी भएकोछ । विखण्डन र विध्वंशका सम्भावना पनि सवारी भएको छ । जनताका लागि काम मामको बाटोमेलो नआएर के भो र ? त्यो त हिजोको जहानिया शासन र निर्दलीय व्यवस्थामा पनि आएको थिएन, आजको वहुदलीय व्यवस्थामा पनि आएको छैन । थिएन र छैनमै जनता दङ्ग रहँदै आएका छन् । जनतालाई सधैं नहुनुकै रमाइलो छ । गरीवीकै रमाइलो छ । जनतालाई कुनै पीर पिरलो छैन ।

पीर पिरलो त जति छ यस देशका मन्त्री प्रधानमन्त्री र हाकिमहरूलाई छ । दल दलका राजनेताहरूलाई छ । वहाँहरूलाई भयङ्ंकर पिरलो छ । वहुदलीय व्यवस्थामा दल दलको राजनीति एक एक वटा माच बनेर चुलिएको छ भने मुलुकका गुण्डा, जाली फटाहा हत्यारा बलात्कारी, लुटाहा, तस्कर, डन ती माचका खामा खम्बा बला गराला र डाँडाभाटाहरू बनेर क्रियाशील रहेका छन् । ती नभए राजनीतिका एक एक माच भाँचिन्छन्,भत्किन्छन् । सत्त्तासम्पत्ति उपार्जनका नीति गतिविधि सवै पाखा पर्छन् । नेताहरूको भाग्य भविष्य सवै छताछुल्ल र अस्तव्यस्त हुन्छ । हैसियत सडकमा आइपुग्छ । किसानहरूले खेतबारीमा ठड्याएका बुख्याँचा जत्तिको प्रभावकारी पनि बाँकी रहँदैनन् राजनेताहरू । अनि त्यस्तो विकराल स्थितिमा नेताहरूले हिजो मन्त्री प्रधानमन्त्री हुँदा कमाएको सुन कहाँ सुरक्षित राख्ने ? थप सुन कसरी जम्मा गर्ने ? देशविदेशका बैंकमा थुपारेका पैसा कसरी सुरक्षित राख्ने ? थप पैसा कसरी थुपार्ने ? भव्य महल र महँगा गाडीहरू जुटाएर चलाउँदै आएको राजकीय ठाँटबाँटको जीवन कसरी कायम राख्ने ? पाँचतारे होटलका खाजा खाना, रिसोर्टमा मिटिङ, भीआइपी दर्जामा विदेश यात्रा, यो सबै कायम राख्नु चानचुने पिरलो होइन । नेता भएपछि अजीर्ण त हुन्छ, हुन्छ । अजीर्णले पेट ढुस्स हुँदा पनि विदेशमा स्वास्थ्यपरीक्षण गर्न सपरिवार जान पाउनुको मज्जा बेग्लै हुन्छ । नेताहरूले भोगचलन गरिआएका यी सवै सुविधाको यथास्थिति दुविधामा पनि यथावत् कसरी राख्ने ? नेताहरूलाई पिरलो छ । सिकिस्त बिरामी हुँदा सिटामल ट्याव्लेट पनि चाख्न नपाएका हामी सर्वसाधारण नेपाली जनताले नेताहरूको यो पिरलो, यो ममर्, यो मर्का कसरी बुझ्ने ? नेताहरू ठूला छन् । उनीहरूको समस्यापनि ठूलो छ । विकराल छ ।

यो यस्तो सम्वेदनशील स्थितिमा मुलुकमा हाकिमको कुर्सीमा सन्जोगवस कुनै देशभक्त र सच्चरित्र प्रहरी पनि पुगेछ र देश तथा जनताका हित भलोका लागि गुण्डा लुटाहा र तिनका डनहरूलाई पक्रन र कार्बाही चलाउन सुरु गरेछ भने नेताहरूका राजमहलहरूमा भुइँचालो जान्छ । अनायास बित्यास पर्छ । अरु त अरु मुलुकका शक्तिशाली गृहमन्त्रीको मुटूमा पनि ढ्याङ्ग्रो ठोकिनपुग्छ । मन्त्री, प्रधानमन्त्री, नेता सबैका आँगका रौँ ठाडा हुन्छन् । गुण्डा तथा डन पक्राउ एवम् कार्बाहीको यो गति कतै प्रगतिमै परिवर्तित भएर आफूसम्म पनि आइपुग्यो भने के गर्ने ? आनन्दमय जीवनमा अचानक उल्कापात हुनसक्छ । हरेक गुण्डा लुटाहा र डनको निर्माण तथा हुक्र्यानमा मन्त्री प्रधानमन्त्री र राजनेताहरूको शक्तिशाली सत्तागत आफू त भित्र भित्र सरिक छ नि । यसैले तल गुण्डा समातिँदा माथि माथिका ती महिमामय आपूmहरू झ्वास्स हुन्छन् । झसङ्ग हुन्छन् । एउटा कुहिनो ठोक्किँदा त शरीरमा कति रन्थनाहट फैलिन्छ । गुण्डाहरू डनहरू नेताका कुहिनो मात्र होइनन्, ती त हात पाखुरा, र गोडाहरू पनि हुन् । ती तत्तत् स्थानमा ज्यानदार छन् र नै नेताहरू आफ्ना हैसियतमा शानदार छन् । जसरी जग थुतिँदा घर ढल्नु स्वाभाविक हुन्छ । त्यसरी नै गुण्डा थुतिँदा दलको बल खलबलिनु स्वाभाविक हुन्छ । नेता ढल्नु पनि स्वाभाविक हुन्छ । उत्तरआधुनिक समाजवादी जनवादी अद्यतन नेपाली राजनीतिमा जुनसुकै राजनीतिक पसलको पनि आन्तरिक सन्चालन उर्जा तथा इन्धन भनेका गुण्डा र डनहरू नै हुन् । हत्या बलात्कार त तिनका अतिरिक्त उर्जाको सामान्य चुहावट हो । त्यसैले त्यो ठूलो कुरा होइन । छिमेकका मुलायममा प्रकट भएको योे तत्वज्ञान यहाँका मुलायमहरूमा प्रकट नहुने कुरै भएन ।

राजनेताहरूका लागि देश र जनताभन्दा पनि ठूलो कुरा त राजनीति हो । ठूलो कुरा त बनिबनाउ सत्ता हो । डनहरू समातिने यो क्रम जनसमर्थित बन्योे र प्रहरी कार्बाही अगाडि बढेर सुपरडनसम्म पुग्यो भने के गर्ने ? सिंहदरवारका महिमाशाली कुर्सीहरू विधवा हुने ? कुर्सीहरू विधवा हुनु भनेको वहुदलीय राजनीतिक राजसत्ता नै विधवा हुनु हो । हेर्दै जाँदा सोच्दै जाँदा मन्त्री प्रधानमन्त्री र राजनेताहरूका लागि समस्या कम विकराल छैन । अझ राजनीतिक भोज भतेरका यावत् व्यवस्था परिचालन गर्नुपर्ने गार्हस्पत्य भूमिकाका गौरवशाली मन्त्रीका लागि त समस्या थप विकराल छ । भयङ्ंकर विकराल छ । हामी जनसाधारणले पनि बुझेका छौं माननीय मन्त्री ज्यू त्यसै विवचलित हुनु भएको छैन, त्यसै मक्मकाउनु भएको छैन, प्रहरीका विरुद्ध त्यसै भक्भकाउनु भएको छैन । उहाँको पीडा छ, मर्का छ । यो व्यवस्था यसरी नै चलाउनु पर्ने वहाँका पीडाहरू साँच्चिकै अथाह छन् । उहाँका भाषण, उहाँका असन्तुष्टि त्यसै पीडाका आँशिक अभिव्यक्ति सिवाय अरु केही होइनन् । जनवादीसमाजवादी पृष्ठभूमिका विचरा मन्त्रीको पीडा देख्दा हामी जनसाधारणलाई पनि कहाली लागेको छ । एकान्तमा त उहाँ पनि रुनुहुँदो हो । अवश्य पनि रुनुहुँदो हो । डाँको छोडेरै रुनुहुँदो हो ।

पिरलो भयङ्कर छ । मन्त्रीहरूको पिरलो भयङ्कर छ । हाकिमहरूको पिरलो भयङ्कर छ । राजनेताहरूको पिरलो भयङ्कर छ । गुण्डा र डनहरू समात्नु भनेको नेताहरू, मन्त्रीहरू र हाकिमहरूको अनारी समात्नु हो । कुनै प्रहरीले यो मर्म बुझिदएन र समातिदियो भने नेताहरू र मन्त्रीहरूलाई दुःख लाग्दैन ? लाग्छ नि । भयङ्कर अत्यास नै लाग्छ । ए.. ए.. छोड् छोड्..प्लीजकै स्थिति बन्छ । आर्तनादकै स्थिति बन्छ । हैन र ?

बालाजू, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x