साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भयङ्कर पिरलो

Nepal Telecom ad

राजनेताहरू ठान्छन् पिरलो त सर्वसाधारण जनताको भाग्य हो, लेखान्तर हो । पिरलो जति छ त्यो सवै जनताकै भागमा परेको छ । जनताको पहिचान हो पिरलो । जनता ज्यान दिएर पटक पटक आन्दोलन गर्छन् । क्रान्ति गर्छन् । त्यसबाट राजनीतिक परिवर्तन हुन्छ । जनताको जीवनस्थितिमा परिवर्तन हुँदैन । जनताको भाग्य भविष्यमा परिवर्तन हुँदैन । जनताका समस्या यथावत् रहन्छन् । घट्दैनन् । बरु नयाँ नयाँ समस्याहरू थपिन्छन् । पहिले नचिने नजानेका समस्याहरू थपिन्छन् ।

जनता निन्तर समस्यामा हुनु, पिरलोमा हुनु राजनेताहरूका लागि खुसीको कुरा हो । रमाइलो हो । माहुरी पिरलिएर महको चाका छाडी भागिदिनुजस्तै रमाइलोे हो । पिरलोमा परेका जनतालाई उरालेर मौकामा कथित जनप्रदर्शन गर्न पाइन्छ । आमसभा आयोजन गरेर भाषण भट्याउन पाइन्छ । आन्दोलन चर्काउन पाइन्छ । निर्वाचनमा मत कुम्ल्याएर पद प्रतिष्ठा जित्न पाइन्छ । भ¥याङ् चढेर सत्ताको बुइँगलमा उक्लन पाइन्छ । सरकारी भकारी फोरेर भयङ्ंकर भ्रष्टाचार गर्न पाइन्छ । चन्दा, उपहार, नजराना, कमिसन आदिबाट समेत अकूत सम्पत्ति कमाउन पाइन्छ । त्यसै सम्पत्तिका आधारमा थप राजनीति गर्न पाइन्छ । राजनेताहरूका लागि यीे सबै व्यवसायगत सफलताका कुरा हुन् ।

जनतालाई त के छ र ? पिरलोमै जीवन चलाउने बानी परिसकेको छ । भयङ्कर महाभयङ्कर कालो बादलमा चकाचौंध बिजुली चम्केर आँगन, पिँडी र धुरीमा भयंङ्कर चड्कने परे पनि, र चक्रवातमा निस्सास्सिनु परे पनि जनता शान्त रहन सक्छ । झुप्रा छाप्रा र पाखा पखेरामा प्राण पखेरु थामेर टिपिल टिपिल गुजारा चलाउँदै निरन्तर भूकम्पमय वातावरणमा जीवन यापन गर्न पाउँदा पनि जनता दङ्ग हुन सक्छ । सुख सजिलोको त स्वादै छैन नेपाली जनालाई । अनुभवै छैन । पहिले पहिले जेसुकै जस्तोसुकै दुःख पनि जसरीतसरी स्वदेशमै खेप्थे नेपाली जनता । स्वदेशमै पसिना पोख्थे । स्वदेशमै बाँच्थे । स्वदेशमै मर्थे । मुलुकमा लोकतन्त्र अघि लाएर गणतन्त्रको सवारी भएपछि अहिले विदेशमा गएर आलसतालस हुँदै रगत पसिना पोख्ने अवसर समेत् जनताले पाएका छन् । भाउँतो भाउँतो दुःख पीडा र यातनाका बीच विदैशी भूमिमै प्राणपखेरु उडाउने अवसर पाएका छन् । स्वदेश फर्कू भन्दाभन्दै र फर्कने दिन गन्दागन्दै विदेशमै मर्न पाउनु पनि नेपाली जनताका लागि भाग्यको नयाँ आयाम खुलेको जस्तो भएको छ । देशमा लोकतन्त्र र गणतन्त्र मात्र होइन, विभिन्न क्षेत्र,जात जाति र थर गोत्र आदि इत्यादिका आधारमा पहिचानको विवाद पनि सवारी भएकोछ । विखण्डन र विध्वंशका सम्भावना पनि सवारी भएको छ । जनताका लागि काम मामको बाटोमेलो नआएर के भो र ? त्यो त हिजोको जहानिया शासन र निर्दलीय व्यवस्थामा पनि आएको थिएन, आजको वहुदलीय व्यवस्थामा पनि आएको छैन । थिएन र छैनमै जनता दङ्ग रहँदै आएका छन् । जनतालाई सधैं नहुनुकै रमाइलो छ । गरीवीकै रमाइलो छ । जनतालाई कुनै पीर पिरलो छैन ।

पीर पिरलो त जति छ यस देशका मन्त्री प्रधानमन्त्री र हाकिमहरूलाई छ । दल दलका राजनेताहरूलाई छ । वहाँहरूलाई भयङ्ंकर पिरलो छ । वहुदलीय व्यवस्थामा दल दलको राजनीति एक एक वटा माच बनेर चुलिएको छ भने मुलुकका गुण्डा, जाली फटाहा हत्यारा बलात्कारी, लुटाहा, तस्कर, डन ती माचका खामा खम्बा बला गराला र डाँडाभाटाहरू बनेर क्रियाशील रहेका छन् । ती नभए राजनीतिका एक एक माच भाँचिन्छन्,भत्किन्छन् । सत्त्तासम्पत्ति उपार्जनका नीति गतिविधि सवै पाखा पर्छन् । नेताहरूको भाग्य भविष्य सवै छताछुल्ल र अस्तव्यस्त हुन्छ । हैसियत सडकमा आइपुग्छ । किसानहरूले खेतबारीमा ठड्याएका बुख्याँचा जत्तिको प्रभावकारी पनि बाँकी रहँदैनन् राजनेताहरू । अनि त्यस्तो विकराल स्थितिमा नेताहरूले हिजो मन्त्री प्रधानमन्त्री हुँदा कमाएको सुन कहाँ सुरक्षित राख्ने ? थप सुन कसरी जम्मा गर्ने ? देशविदेशका बैंकमा थुपारेका पैसा कसरी सुरक्षित राख्ने ? थप पैसा कसरी थुपार्ने ? भव्य महल र महँगा गाडीहरू जुटाएर चलाउँदै आएको राजकीय ठाँटबाँटको जीवन कसरी कायम राख्ने ? पाँचतारे होटलका खाजा खाना, रिसोर्टमा मिटिङ, भीआइपी दर्जामा विदेश यात्रा, यो सबै कायम राख्नु चानचुने पिरलो होइन । नेता भएपछि अजीर्ण त हुन्छ, हुन्छ । अजीर्णले पेट ढुस्स हुँदा पनि विदेशमा स्वास्थ्यपरीक्षण गर्न सपरिवार जान पाउनुको मज्जा बेग्लै हुन्छ । नेताहरूले भोगचलन गरिआएका यी सवै सुविधाको यथास्थिति दुविधामा पनि यथावत् कसरी राख्ने ? नेताहरूलाई पिरलो छ । सिकिस्त बिरामी हुँदा सिटामल ट्याव्लेट पनि चाख्न नपाएका हामी सर्वसाधारण नेपाली जनताले नेताहरूको यो पिरलो, यो ममर्, यो मर्का कसरी बुझ्ने ? नेताहरू ठूला छन् । उनीहरूको समस्यापनि ठूलो छ । विकराल छ ।

यो यस्तो सम्वेदनशील स्थितिमा मुलुकमा हाकिमको कुर्सीमा सन्जोगवस कुनै देशभक्त र सच्चरित्र प्रहरी पनि पुगेछ र देश तथा जनताका हित भलोका लागि गुण्डा लुटाहा र तिनका डनहरूलाई पक्रन र कार्बाही चलाउन सुरु गरेछ भने नेताहरूका राजमहलहरूमा भुइँचालो जान्छ । अनायास बित्यास पर्छ । अरु त अरु मुलुकका शक्तिशाली गृहमन्त्रीको मुटूमा पनि ढ्याङ्ग्रो ठोकिनपुग्छ । मन्त्री, प्रधानमन्त्री, नेता सबैका आँगका रौँ ठाडा हुन्छन् । गुण्डा तथा डन पक्राउ एवम् कार्बाहीको यो गति कतै प्रगतिमै परिवर्तित भएर आफूसम्म पनि आइपुग्यो भने के गर्ने ? आनन्दमय जीवनमा अचानक उल्कापात हुनसक्छ । हरेक गुण्डा लुटाहा र डनको निर्माण तथा हुक्र्यानमा मन्त्री प्रधानमन्त्री र राजनेताहरूको शक्तिशाली सत्तागत आफू त भित्र भित्र सरिक छ नि । यसैले तल गुण्डा समातिँदा माथि माथिका ती महिमामय आपूmहरू झ्वास्स हुन्छन् । झसङ्ग हुन्छन् । एउटा कुहिनो ठोक्किँदा त शरीरमा कति रन्थनाहट फैलिन्छ । गुण्डाहरू डनहरू नेताका कुहिनो मात्र होइनन्, ती त हात पाखुरा, र गोडाहरू पनि हुन् । ती तत्तत् स्थानमा ज्यानदार छन् र नै नेताहरू आफ्ना हैसियतमा शानदार छन् । जसरी जग थुतिँदा घर ढल्नु स्वाभाविक हुन्छ । त्यसरी नै गुण्डा थुतिँदा दलको बल खलबलिनु स्वाभाविक हुन्छ । नेता ढल्नु पनि स्वाभाविक हुन्छ । उत्तरआधुनिक समाजवादी जनवादी अद्यतन नेपाली राजनीतिमा जुनसुकै राजनीतिक पसलको पनि आन्तरिक सन्चालन उर्जा तथा इन्धन भनेका गुण्डा र डनहरू नै हुन् । हत्या बलात्कार त तिनका अतिरिक्त उर्जाको सामान्य चुहावट हो । त्यसैले त्यो ठूलो कुरा होइन । छिमेकका मुलायममा प्रकट भएको योे तत्वज्ञान यहाँका मुलायमहरूमा प्रकट नहुने कुरै भएन ।

राजनेताहरूका लागि देश र जनताभन्दा पनि ठूलो कुरा त राजनीति हो । ठूलो कुरा त बनिबनाउ सत्ता हो । डनहरू समातिने यो क्रम जनसमर्थित बन्योे र प्रहरी कार्बाही अगाडि बढेर सुपरडनसम्म पुग्यो भने के गर्ने ? सिंहदरवारका महिमाशाली कुर्सीहरू विधवा हुने ? कुर्सीहरू विधवा हुनु भनेको वहुदलीय राजनीतिक राजसत्ता नै विधवा हुनु हो । हेर्दै जाँदा सोच्दै जाँदा मन्त्री प्रधानमन्त्री र राजनेताहरूका लागि समस्या कम विकराल छैन । अझ राजनीतिक भोज भतेरका यावत् व्यवस्था परिचालन गर्नुपर्ने गार्हस्पत्य भूमिकाका गौरवशाली मन्त्रीका लागि त समस्या थप विकराल छ । भयङ्ंकर विकराल छ । हामी जनसाधारणले पनि बुझेका छौं माननीय मन्त्री ज्यू त्यसै विवचलित हुनु भएको छैन, त्यसै मक्मकाउनु भएको छैन, प्रहरीका विरुद्ध त्यसै भक्भकाउनु भएको छैन । उहाँको पीडा छ, मर्का छ । यो व्यवस्था यसरी नै चलाउनु पर्ने वहाँका पीडाहरू साँच्चिकै अथाह छन् । उहाँका भाषण, उहाँका असन्तुष्टि त्यसै पीडाका आँशिक अभिव्यक्ति सिवाय अरु केही होइनन् । जनवादीसमाजवादी पृष्ठभूमिका विचरा मन्त्रीको पीडा देख्दा हामी जनसाधारणलाई पनि कहाली लागेको छ । एकान्तमा त उहाँ पनि रुनुहुँदो हो । अवश्य पनि रुनुहुँदो हो । डाँको छोडेरै रुनुहुँदो हो ।

पिरलो भयङ्कर छ । मन्त्रीहरूको पिरलो भयङ्कर छ । हाकिमहरूको पिरलो भयङ्कर छ । राजनेताहरूको पिरलो भयङ्कर छ । गुण्डा र डनहरू समात्नु भनेको नेताहरू, मन्त्रीहरू र हाकिमहरूको अनारी समात्नु हो । कुनै प्रहरीले यो मर्म बुझिदएन र समातिदियो भने नेताहरू र मन्त्रीहरूलाई दुःख लाग्दैन ? लाग्छ नि । भयङ्कर अत्यास नै लाग्छ । ए.. ए.. छोड् छोड्..प्लीजकै स्थिति बन्छ । आर्तनादकै स्थिति बन्छ । हैन र ?

बालाजू, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x