देव भट्टराईमेरो खद्दरको साडी
‘साडी किन्नु प¥यो नयाँ किनिदिनुस्’ मैले भनेथें जब
स्वामी बोल्नुभयो कुरा नगर भो दामी लुगाको अब
आएको छ नयाँ नयाँ किसिमको साडी बजारैभरि
यौटा ल्याइदिनुस् न है भनिरहें साडी किनी क्यै गरी ।
‘जाली नेट गुलाब रङ्ग त्यसमा बुट्टा भरेको छ नि’
हो त्यै ल्याइदिनुस् भनें भनिरहें राम्रो छ त्यो नै भनी
मेरो ईज्जत राखिँदा हजुरको बढ्नेछ आफ्नो पनि
रोएँ रोइरहें म रात दिन नै साडी कि साडी भनी ।
बिन्ती भाउ गरेर पाउ म परें स्वामी त्यसै गल्नु भो
ल्याई दिन्छु म भन्नु भो र बिचरा न्यूरोडमा चल्नु भो
स्वामीको तलदेखि माथि शिरको हेरेर टोपीतिर
धम्क्याएछ दुकानदार जसले जानुस् भनी बाहिर ।
स्वामी भन्नुहुँदो रहेछ गतिलो साडी मिलाई दिनुस्
धेरै टाइम छैन दाम कति हो भन्नुस् र पैसा लिनुस्
साढे पाँच हजार नोट छ नयाँ धेरै नहेप्नुस् भनी
पैसा गन्नुहुँदो रहेछ पसले सामू सबै खन्खनी ।
भन्दो रैछ दुकानदार यतिले धोती लिनुस् खद्दर
बोनी भो नबिगार्नुहोस् पसलको व्यर्थै नगर्नुस् कर
स्वामी फर्किनुभो अबेर घरमा धोती लिई खद्दरी
त्यै धोती म लगाउँदैछु अहिले फाट्दैन केही गरी ।
खस्रो होस् मनमा मुलायम छ यै धोती यही खद्दर
राम्रो चट्ट यही सुहाउँछ अरे देखिन्छु रे सुन्दर
पैसा खर्च गरेर व्यर्थ महँगो साडी लगाउन्न म
दामी वस्त्र भिरेर मात्र असली सौन्दर्य पाउन्न म ।
कोलोराडो, अमेरिका
Subscribe
Login
0 Comments
Oldest







































