साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘स्वालेवा’ साहित्यिक पत्रिका विमोचित

Nepal Telecom ad

वैशाख ५, २०७१/काठमाडौं । नेपाली साहित्यको संवद्र्धनमा ‘स्वालेवा’ पत्रिका थपिएको छ । राजधानीबाट प्रकाशित उक्त पत्रिकाको पहिलो अङ्क शुक्रबार भाषाशास्त्री प्राध्यापक डा. नोवल किशोर राई, साहित्यकार राजन मुकारुङ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

किनारामा परेका पछौटे जाति जनजातिका लेखक, स्रष्टाहरूलाई प्राथमिकता दिने उद्देश्यसहित प्रकाशनमा ल्याइएको पत्रिकाका सम्पादक तथा प्रकाशन गणेश वाम्बुले राई र कार्यकारी सम्पादक भावुक यज्ञ राई रहेका छन् ।

विमोचनका अवसरमा अलथ मातृभाषी समुदायका लेखहरुले रचना गरेका साहित्य र त्यसले बोक्ने साहित्यिक गुणलाई मूलधारको साहित्यसित जोड्ने कडीका रुपमा पत्रिकालाई लिइनु पर्ने भाषाशास्त्री राईले बताए । त्यसैगरी साहित्यकार मुकारुङले डेढ दशकदेखि राजधानीमा रहेर सीमान्तकृत आवाजलाई साहित्यमा मुखरीत गर्दै आएको बताए । ‘उत्पीडित क्षेत्रलाई केन्द्रले सीमान्तकृतलाई हेर्ने दृष्टिकोण चिर्नु नै हाम्रो प्रयास हो,’ उनले भने, ‘मातृभाषामा मात्र लेखेर सुनाउनु पर्ने तहमा सुनाउन सकेका छैनौं । पहिचान गुम्दैछ भन्छौं तर आफैंले विडम्बना चिर्न सकिरहेका छैनौं ।’

त्यसैगरी नेपाल साहित्यिक पत्रकार सङ्घका सचिव चेतनाथ धमला, किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राई, किरात राई लेखक संघका अध्यक्ष अर्जुन खालिङ, किरात राई पत्रकार संघका अध्यक्ष राजेश चाम्लिङ राईलगायतले विचार व्यक्त गरेका थिए ।

विमोचित पहिलो अङ्कको ‘स्वालेवा’ मा भाषाशास्त्री नोवल किशोर राईको संस्मरण सहित अन्य कथा, नाटक, हास्यव्यङ्ग्य निबन्ध, जाति परिचयमा भुजेल जातिको परिचय, गजल, स्रष्टा व्यक्तित्वमा महान् कलाकार लैनसिंह बाङदेलको परिचय, लोक साहित्य, राजन मुकारुङको उपन्यास दमिनी भीरको अंश, कवितालगायतका सामग्री समेटिएका छन् ।

‘स्वालेवा’ वाम्बुले राई भाषाको नामवाचक पदावली हो । किरात संस्कृतिमा अत्यन्तै महत्व राख्ने ‘स्वालेवा’लाई नेपाली भाषामा ‘चिन्डो’ भनिन्छ । अन्य किराती राई भाषामा यसलाई सोलन्वा, सोलेन्वा आदि नामले चिन्ने गरिएको छ । मुन्धुमी नाम सोलोन्दी, सोलोइबी पनि भनिन्छ । लहरा जातको वनस्पतिको फूल फुलेपछि फूलबाट चिचिला लागेर । हुर्किदै गएपछि विभिन्न आकारमा फल लाग्दछ । यही फल छिप्पिएपछि बाहिरी भाग एकदम कडा हुन्छ । सुकाएर भित्रको गुदी चाहिँ निकालेपछि पानी बोक्ने कार्यमा यसलाई प्रयोग गरिन्छ । बनोट र आकार अनुसार यसका फरक नाम रहेका छन् । किराती संस्कृतिमा पितृकार्य, पितृ र प्रकृतिको पूजा गर्ने पवित्र सामग्रीका रुपमा चिन्डोलाई लिने गरिन्छ । स्वालेवामा जाँड, जिर्मा वा रक्सी भरेर पितृ र प्रकृतिका पूजा गर्ने प्रचलन छ ।

‘स्वालेवा’ नाम जुराएको यस पत्रिकाले सांस्कृतिक झोलपदार्थ नभई संस्कृति र साहित्यजन्य बौद्धिक खुराक बोक्ने छ । यसले आम नेपाली जातिका उदीयमान स्रष्टाहरूका विशेषतः किराती मातृभाषीहरूले नेपाली भाषामा लेखेका लेख, रचनालाई प्राथमिकता दिने उद्देश्य राखिएको यसका सम्पादक एवम् प्रकाशक गणेश वाम्बुले राईले बताए । साहित्यिक स्वालेवाले साहित्य र संस्कृति प्रवद्र्धनमा सोपानको काम गर्नेछ उनको कथन रहेको छ ।
–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x