पोष्टराज चापागाइँलास पुर्नेहरूले नै !!
खै शहीद मानेको ? शिर झुक्नेहरूले नै
देश दुख्छ ठानेनन् ! घाउ दुख्नेहरूले नै ।
हो रहेछ नेताजी ! सत्य यौटा बुझें मैले
स्वर्ग रच्छु भन्दैछन् नर्क पुग्नेहरूले नै ।
अस्तिसम्म उन्कोमा चट्ट खाने थियो के र ?
आज मासु खाँदै छन् ! गन्ध सुँघ्नेहरूले नै ।
के गरेर खाने हो ? छैन ठामै गरी खाने
देश नै लुटी खाए ! देश रुङ्नेहरूले नै !!
लड्नु पर्छ हामीले लड्न जाने यसै भन्थे
बुद्धको पिए प्याला क्रान्ति रुच्नेहरूले नै ।
देश मिर्ग हो मानौं बाँड हाने सिकारीले
आर्तनाद सुन्दैनन् ! खाल लुछ्नेहरूले नै ।
मुक्ति हुन्न रे मर्दा गर्नुपर्ने अरे धर्म !
हेर ! मुर्ति चोर्दैछन् देव पुज्नेहरूले नै ।
संविधान के बन्ने ? छैन खेस्रा दफा धारा
शब्दमात्र घोक्दैछन् ! अर्थ बुझ्नेहरूले नै !!
छैन क्यै इमान्दारी छैन बाचा भरोसाको
छोडपत्र गरेका छन् ! प्रेम लुट्नेहरूले नै ।
जिन्दगी महङ्गीले गाड्न लाग्यो नि खाल्डोमा
हात दिन्छु भन्दैछन् ! थिच्न उठ्नेहरूले नै !!
भो धनी अरे माली, कर्म चाहिं अरे बाग !
व्यर्थको गराए चर्चा ! फूल चुड्नेहरूले नै !!
के दिने उसै तक्मा त्यो लिने कर्म खै र ?
साहसै बटुल्दैनन् ! झोंक चढ्नेहरूले नै !!
दाम हुन्न गर्नेमा दाम हुन्छन् नगर्नेमा
के गरे र लाखौँको ! खाट सुत्नेहरूले नै ।
थे गला कुनै त्यस्ता फूलका हार भिरौं झैं
त्यै गला थिची मारे ! हार गुथ्नेहरूले नै !!
भोट माग्न दौडेथे गाउँमा के नहुन् ढुङ्गा
ठेस लाग्छ ठानेनन् जित्न कुद्नेहरूले नै ।
नाममात्र सोधेंथे काम सुन्दा उता फर्के
दुःख सुन्न चाहेनन् हाल सोध्नेहरूले नै ।
जेलनेल टन्नै छन् ! घूस खाने र चोर्नेले
चोरकै लुटी दिन्छन् ! चोर थुन्नेहरूले नै !!
छैन यो जमानामा आफू जस्तो कुनै आफ्नो
कोखमा छुरी हान्छन् काख छुप्नेहरूले नै !
हुण्डरी छ समुद्री ! बाँचिने हो कि मर्ने हो
पार तार्छु भन्दैछन् ! नाउ डुब्नेहरूले नै !!
हाँस्नुसम्म हाँसेँ हो रेडियोका कुरा सुन्दा
कीर्तिमान राखे रे ! नाम गुम्नेहरूले नै !
लान सक्छ मर्नेले के र ? पाथी मुरी लाने
मानु झिक्न खोज्दैथे ! लास पुर्नेहरूले नै !!
बाँच्नुपर्छ सुन्नेले सुन्नुपर्ने छ अन्त्यमा
गोठ खेत सम्झेछन् गाउँ भुल्नेहरूले नै ।
जिन्दगी त यात्रा हो पुग्नुपर्ने छ टाढा रे
‘राज’ बुझ्न सक्दैनन् ! पास बस्नेहरूले नै ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































