साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गरिब निवारण सङ्गठन

Nepal Telecom ad

कुनै दिन मैले ‘गरिब उद्धार सङ्गठन’ भन्ने एउटा सङ्गठन खोलेको थिएँ । पैसाको सारै खाँचो परेको हुनाले त्यस्तो खाले गैरसरकारी सङ्गठन खोलेर विदेशी सहयोग हात पार्ने र स्वदेशी लूट प्रणालीलाई प्रोत्साहन गर्ने मेरो मनसुवा थियो । तर त्यस माम्लामा मभन्दा पहिले अरुले सफलता पाएको सुइँको पाएकाले त्यसबाट हात झिकेर अब नयाँ सङ्गठन खोल्ने योजना बनाएको छु ।

नयाँ योजनामा परेको मेरो सङ्गठनको नाम हुनेछ– “गरिब निवारण सङ्गठन” । यस सङ्गठनको खास उद्देश्य हाम्रा नेता र योजनाकारहरूको चिन्ता हरण गर्ने हो । नेताहरूको भलाइमा लागेँ भने मेरो भलाइ त्यसै हुनेछ । किन कि आजसम्म देखिएको व्यावहारिक सफलता यही नै हो । कुरो बुझे आफैलाई, होइन त ?

अँ, अब खास कुरातिर लागौँ । योजना आयोगले गरिबी निवारण गर्ने मुख्य उद्देश्य राखेर जारी गरेका धेरै पञ्च वर्षीय योजनाहरूको कार्यकाल अन्त्य भइसकेको छ । गएका योजना जे जस्तो भए भए । समय बितिहाल्यो । योजना आयोगका तीन वर्षे, पञ्च वर्षे कति योजना आए गए केही भएजस्तो लागेन । अब बाँकीले के पो लछारपाटो लाउने छ र खै ! आठाँै योजनाका तीन वटा लक्ष्य मध्ये पनि एउटा त गरिबी निवारण सम्बन्धी नै थियो । अझ समग्रमा भन्नु पर्दा हाम्रा योजनामा गरिबी निवारण गर्ने सम्बन्धी कुरा नपरेका योजना नै हुन सक्दैनन् । तर यो गरिबी भने कहिल्यै भाग्दैन । सदै लिसो टाँसिए जस्तै टाँसिएको टाँसियै छ । हट्ने त नामै लिँदैन ।

गरिबहरूलाई एकै ठाउँमा थुपारेर यो मोरा गरिबीले कहिले ४२ प्रतिशत जनता आफ्नो पक्षमा पार्छ भने कहिले ४८ प्रतिशत पु¥याउँछ । यसलाई देशबाटै धपाउन भनेर योजना बनायो झन् झन् सङ्यठित भएर पो बस्छ त ! अब त यसको बल छैन ४२ बाट ३८ र त्यसबाट पनि ३३ तिर ल्याइयो । त्यत्तिमात्र होइन, अब त गरिबी धेरै तल झरिसक्यो भनेर बुद्धिजीवीहरूलाई बटुलेर भाषण गर्न लगाउँदा पनि भाग्ने त सुरसारै छैन । जनता झन्भन्दा झन् गरिब बन्दै जाने । विचरा हाम्रा नेता र योजनाकारहरू कति चिन्तित छन् ! यो असती गरिबी हटाउन कति गोष्ठी गरे, कति भाषण गरे, अफिस, मन्च, होटल, रेस्टुराँ कहाँ कहाँ यसको चर्चा गरेनन् ? गरिबीका नाममा विदेशीहरूसित जी, हजूर गरेर भिख माग्नु परेको छ । तैपनि यी जनता धनी भएका होइनन् । सय पचास अर्वपति, करोडपति भए होलान् । त्यसलाई के गन्ने ? आखिर धेरै जनता त उही गरिबीसित टाँसिएरै बसेका छन् । त्यसै भएर मैले “गरिब निवारण सङ्गठन” खोल्ने विचार गरेको हो । यसमा अन्यथा नसम्झनु होला ।

मेरो उद्देश्य राम्रो छ । रातोदिन जनताको गरिबी हेर्नु र गरिबीकै बारेमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार भनेको छ अजीर्ण हुन्ज्याल खानु परेको छ । न घरमा खानु छ, न समयमा खानु छ, कुसङ्गतमा परेर लागू पदार्थ खान बाध्य भएका युवायुवती जस्तै होटल र रेस्टुराँको सङ्गतले हाम्रा नेता, योजनाकार र अर्थविद्हरूको आदतै बिगारिसक्यो । विचराहरू धेरै आफ्नो लागि गरेको भए पनि जो चिन्तन–मनन गर्छन् आखिर गरिबकै लागि गर्छन् । हाम्रा नेता र योजनाकारलाई दुःख दिने यिनै गरिब जनता हुन् । यिनी गरिबहरू नभए गरिबीले बासै पाउने थिएन । आखिर कही कतै गाँस र बास नपाएपछि यो गरिबी हाम्रो देशबाट नभागेर सुख थियो र ? गइहाल्ने थियो नि !

‘न रहे बाँस, न बजे बाँसुरी’ एक ताक नन्दिग्राममा बसेका कृष्णले बाँसुरी बजाएर राधा रानीलाई फकाएछन् । त्यतिले नपुगेर सबै ग्वालाका छोरी बुहारी पनि पछि लगाउन थालेछन् । यसबाट आजित भएका ग्वालाहरूले के विचार गरेछन् भने यहाँ भएका बाँसबाट कृष्णले बाँसुरी बनाउने र त्यसैको धुनबाट हाम्रा छोरी बुहारीहरू फकाएका हुन् । यहाँ भएका सबै बाँस उवालिदिएपछि बाँसुरी बन्दैन । अनि हाम्रा छोरी बुहारी पनि बाँसुरी नबजेपछि सुरक्षित हुन्छन्, भनेर सबै बाँस उबालेछन् । त्यसै बखतदेखि यो उखान चलेको हुनु पर्छ । यहाँ पनि कुरो त्यस्तै हो ।

मलाई हाम्रा नेता र योजनाकारको सारै मायाँ लाएर आयो । त्यसैले यो ‘गरिब निवारण सङ्गठन’ खोल्ने निश्चय गरेकोे हुँ । यस सङ्गठनको लक्ष्य र उद्देश्य छ– देश भित्र भएका तमाम गरिबहरूको उन्मूलन गर्ने । जब गरिबहरू नै नरहेपछि हेरौँ त त्यो गरिबी कहाँ बस्दो रहेछ ? अनि त हाम्रा योजनाकारलाई आनन्द होला नि !

हेर्नुस् न, मैले यो योजना मात्र के बनाएको थिएँ देशभरका नगरपालिका, गाविस र सरकारै समेत गरिब उन्मूलन गर्न सलबलाई सकेका छन् । यसको सुरुआत हो सडक किनारा, गल्ली, गल्छेडा र शहरका छेउछाउ बनेका घर, टहरा र झुप्रा–बुकुरा हटाउने अभियान । यस्ता ठाउँमा बस्ने तिनै गरीब न हुन् ? यी झुप्रा हटाएपछि गरिब भाग्छन्, गरिब भागेपछि गरिबी भाग्छ । देशको ठूलो समस्या त त्यसै हट्छ ।

हामी कहाँ गरिबी छ भनेर प्रमाणित गराउने नै यिनै झुप्रा–टहरा हुन् । ठूला घर महलले गरिबी देखाउँदैनन् क्यारे ? गरिबी देखाउने झुप्रा टहरा नभए नेपालमा गरिबी छ भनेर भन्न मिल्छ र ? यही देखेर त हो नि ? हाम्रा दाता राष्ट्र र दातृ संस्थाले हामीलाई हेपेको । हामीलाई सहयोग गर्छौँ भन्ने दाताहरूले “नेपालको राजनीतिक नेतृत्व प्रभावकारी छैन । त्यसैले नेपालमा सहयोग सदुपयोग भएको छैन ।” भनेर यदाकदा भन्ने गरेको सुनिन्छ । यसरी हाम्रा नेताहरूलाई हेप्न हुन्छ ? मलाई त सारै चित्त दुखेको छ ।

गाउँ घरमा बस्ने नेताहरू शहरमा बस्न थाले । झुपडीबाट महलमा सरे । पैदल हिँड्न छोडेर पजेरो समाए । अझै सहयोगको सदुपयोग भएन भन्न मिल्छ ? त्यसै भएर मैले यो सङ्गठन खोल्न लागेको हो । गरिबसम्म उन्मूलन गर्न पाए पनि कम से कम हाम्रा नेताको इज्जत त बड्थ्यो । यो पवित्र काममा तपार्इंले पनि सहयोग गर्नुस् है ?

धुम्बाराही–४, काठमाडौं
फोन नं.४४३१८०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x