रमेश गौतम ‘पाल्पाली’गरिब निवारण सङ्गठन
कुनै दिन मैले ‘गरिब उद्धार सङ्गठन’ भन्ने एउटा सङ्गठन खोलेको थिएँ । पैसाको सारै खाँचो परेको हुनाले त्यस्तो खाले गैरसरकारी सङ्गठन खोलेर विदेशी सहयोग हात पार्ने र स्वदेशी लूट प्रणालीलाई प्रोत्साहन गर्ने मेरो मनसुवा थियो । तर त्यस माम्लामा मभन्दा पहिले अरुले सफलता पाएको सुइँको पाएकाले त्यसबाट हात झिकेर अब नयाँ सङ्गठन खोल्ने योजना बनाएको छु ।
नयाँ योजनामा परेको मेरो सङ्गठनको नाम हुनेछ– “गरिब निवारण सङ्गठन” । यस सङ्गठनको खास उद्देश्य हाम्रा नेता र योजनाकारहरूको चिन्ता हरण गर्ने हो । नेताहरूको भलाइमा लागेँ भने मेरो भलाइ त्यसै हुनेछ । किन कि आजसम्म देखिएको व्यावहारिक सफलता यही नै हो । कुरो बुझे आफैलाई, होइन त ?
अँ, अब खास कुरातिर लागौँ । योजना आयोगले गरिबी निवारण गर्ने मुख्य उद्देश्य राखेर जारी गरेका धेरै पञ्च वर्षीय योजनाहरूको कार्यकाल अन्त्य भइसकेको छ । गएका योजना जे जस्तो भए भए । समय बितिहाल्यो । योजना आयोगका तीन वर्षे, पञ्च वर्षे कति योजना आए गए केही भएजस्तो लागेन । अब बाँकीले के पो लछारपाटो लाउने छ र खै ! आठाँै योजनाका तीन वटा लक्ष्य मध्ये पनि एउटा त गरिबी निवारण सम्बन्धी नै थियो । अझ समग्रमा भन्नु पर्दा हाम्रा योजनामा गरिबी निवारण गर्ने सम्बन्धी कुरा नपरेका योजना नै हुन सक्दैनन् । तर यो गरिबी भने कहिल्यै भाग्दैन । सदै लिसो टाँसिए जस्तै टाँसिएको टाँसियै छ । हट्ने त नामै लिँदैन ।
गरिबहरूलाई एकै ठाउँमा थुपारेर यो मोरा गरिबीले कहिले ४२ प्रतिशत जनता आफ्नो पक्षमा पार्छ भने कहिले ४८ प्रतिशत पु¥याउँछ । यसलाई देशबाटै धपाउन भनेर योजना बनायो झन् झन् सङ्यठित भएर पो बस्छ त ! अब त यसको बल छैन ४२ बाट ३८ र त्यसबाट पनि ३३ तिर ल्याइयो । त्यत्तिमात्र होइन, अब त गरिबी धेरै तल झरिसक्यो भनेर बुद्धिजीवीहरूलाई बटुलेर भाषण गर्न लगाउँदा पनि भाग्ने त सुरसारै छैन । जनता झन्भन्दा झन् गरिब बन्दै जाने । विचरा हाम्रा नेता र योजनाकारहरू कति चिन्तित छन् ! यो असती गरिबी हटाउन कति गोष्ठी गरे, कति भाषण गरे, अफिस, मन्च, होटल, रेस्टुराँ कहाँ कहाँ यसको चर्चा गरेनन् ? गरिबीका नाममा विदेशीहरूसित जी, हजूर गरेर भिख माग्नु परेको छ । तैपनि यी जनता धनी भएका होइनन् । सय पचास अर्वपति, करोडपति भए होलान् । त्यसलाई के गन्ने ? आखिर धेरै जनता त उही गरिबीसित टाँसिएरै बसेका छन् । त्यसै भएर मैले “गरिब निवारण सङ्गठन” खोल्ने विचार गरेको हो । यसमा अन्यथा नसम्झनु होला ।
मेरो उद्देश्य राम्रो छ । रातोदिन जनताको गरिबी हेर्नु र गरिबीकै बारेमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार भनेको छ अजीर्ण हुन्ज्याल खानु परेको छ । न घरमा खानु छ, न समयमा खानु छ, कुसङ्गतमा परेर लागू पदार्थ खान बाध्य भएका युवायुवती जस्तै होटल र रेस्टुराँको सङ्गतले हाम्रा नेता, योजनाकार र अर्थविद्हरूको आदतै बिगारिसक्यो । विचराहरू धेरै आफ्नो लागि गरेको भए पनि जो चिन्तन–मनन गर्छन् आखिर गरिबकै लागि गर्छन् । हाम्रा नेता र योजनाकारलाई दुःख दिने यिनै गरिब जनता हुन् । यिनी गरिबहरू नभए गरिबीले बासै पाउने थिएन । आखिर कही कतै गाँस र बास नपाएपछि यो गरिबी हाम्रो देशबाट नभागेर सुख थियो र ? गइहाल्ने थियो नि !
‘न रहे बाँस, न बजे बाँसुरी’ एक ताक नन्दिग्राममा बसेका कृष्णले बाँसुरी बजाएर राधा रानीलाई फकाएछन् । त्यतिले नपुगेर सबै ग्वालाका छोरी बुहारी पनि पछि लगाउन थालेछन् । यसबाट आजित भएका ग्वालाहरूले के विचार गरेछन् भने यहाँ भएका बाँसबाट कृष्णले बाँसुरी बनाउने र त्यसैको धुनबाट हाम्रा छोरी बुहारीहरू फकाएका हुन् । यहाँ भएका सबै बाँस उवालिदिएपछि बाँसुरी बन्दैन । अनि हाम्रा छोरी बुहारी पनि बाँसुरी नबजेपछि सुरक्षित हुन्छन्, भनेर सबै बाँस उबालेछन् । त्यसै बखतदेखि यो उखान चलेको हुनु पर्छ । यहाँ पनि कुरो त्यस्तै हो ।
मलाई हाम्रा नेता र योजनाकारको सारै मायाँ लाएर आयो । त्यसैले यो ‘गरिब निवारण सङ्गठन’ खोल्ने निश्चय गरेकोे हुँ । यस सङ्गठनको लक्ष्य र उद्देश्य छ– देश भित्र भएका तमाम गरिबहरूको उन्मूलन गर्ने । जब गरिबहरू नै नरहेपछि हेरौँ त त्यो गरिबी कहाँ बस्दो रहेछ ? अनि त हाम्रा योजनाकारलाई आनन्द होला नि !
हेर्नुस् न, मैले यो योजना मात्र के बनाएको थिएँ देशभरका नगरपालिका, गाविस र सरकारै समेत गरिब उन्मूलन गर्न सलबलाई सकेका छन् । यसको सुरुआत हो सडक किनारा, गल्ली, गल्छेडा र शहरका छेउछाउ बनेका घर, टहरा र झुप्रा–बुकुरा हटाउने अभियान । यस्ता ठाउँमा बस्ने तिनै गरीब न हुन् ? यी झुप्रा हटाएपछि गरिब भाग्छन्, गरिब भागेपछि गरिबी भाग्छ । देशको ठूलो समस्या त त्यसै हट्छ ।
हामी कहाँ गरिबी छ भनेर प्रमाणित गराउने नै यिनै झुप्रा–टहरा हुन् । ठूला घर महलले गरिबी देखाउँदैनन् क्यारे ? गरिबी देखाउने झुप्रा टहरा नभए नेपालमा गरिबी छ भनेर भन्न मिल्छ र ? यही देखेर त हो नि ? हाम्रा दाता राष्ट्र र दातृ संस्थाले हामीलाई हेपेको । हामीलाई सहयोग गर्छौँ भन्ने दाताहरूले “नेपालको राजनीतिक नेतृत्व प्रभावकारी छैन । त्यसैले नेपालमा सहयोग सदुपयोग भएको छैन ।” भनेर यदाकदा भन्ने गरेको सुनिन्छ । यसरी हाम्रा नेताहरूलाई हेप्न हुन्छ ? मलाई त सारै चित्त दुखेको छ ।
गाउँ घरमा बस्ने नेताहरू शहरमा बस्न थाले । झुपडीबाट महलमा सरे । पैदल हिँड्न छोडेर पजेरो समाए । अझै सहयोगको सदुपयोग भएन भन्न मिल्छ ? त्यसै भएर मैले यो सङ्गठन खोल्न लागेको हो । गरिबसम्म उन्मूलन गर्न पाए पनि कम से कम हाम्रा नेताको इज्जत त बड्थ्यो । यो पवित्र काममा तपार्इंले पनि सहयोग गर्नुस् है ?
धुम्बाराही–४, काठमाडौं
फोन नं.४४३१८०१
Subscribe
Login
0 Comments
Oldest








































