धनराज गिरीअजब र गजबको घनचक्कर वार्ता
अ– गुरुदेव, नेपालमा कुन युगको समाप्ति भयो ?
ग– खास युग समाप्त भए पनि दास युग समाप्त भएको छैन ।
अ– नेपालको भविष्य केमा निर्भर गर्छ ?
ग– ओलीजीको स्वास्थ्यमा र यो देश नेपाल भनेको हो कि माधव कुमार नेपाल ?
अ – यो देसमा रेल सेवा किन नफस्टाएको गुरुवर ?
ग– कस्तो सिल्ली रहेछ ! किन छैन यो देसमा ‘रेल’ सेवा ? खरेल सेवा, पोखरेल सेवा, खकुरेल सेवा, गजुरेल सेवा, प्याकुरेल सेवा…. कति चाहियो ?
अ– कविपत्नीहरू मनकामना माईको दर्शन गर्न गए भने के बरदान माग्लान् ?
ग– माते, अर्को जुनीमा कवि नजन्मने देशमा हाम्राो जन्म होस् !
अ– विद्यावारिधि पछि कुन योग्यता हुन्छ ?
ग– घमण्ड वारिधि, अहंकार वारिधि, जलन वारिधि, खुराफात बारिधि, च चा चि चि वारिधि… !
अ– डायरी हातबाट खोसिदिने हो भने हाम्रा तथाकथित् प्रोफेसर शर्माहरू के गरिबक्सेला गुरु देव ?
ग– तरकारी खेती, पशुपालन, माछा पालन, पानीपुरी बिक्रेता, जागते रहो… यस्तै यस्तै… ए ए, कुखुरा पालन पनि…
अ– हामी भ्रष्टाचारको बिरोध किन गर्छौं गुरुदेव ?
ग– आफू त्यो स्वर्णीम अबसरबाट वञ्चित हुनुपरेर !
अ– गुरुदेव, सबै भन्दा बेबकुफ मान्छे को हो ?
ग– जो सतप्रतिसत इमान्दार र नैतिकवान बन्ने सपना देख्छ !
अ– मानिसहरू अत्यधिक सुरापान किन गर्छन् ?
ग– बूढो नहुन ।
अ– गुरुदेव, मेरो घरमा बाख्री ठिक समयमा सुत्केरी भइनन्, किन होला ?
ग– विदेशी हस्तक्षेप, सोरै आना ।
अ– संसारमा असाध्यै आश्चर्य मान्नुपर्ने कुरा के होला गुरुदेव ?
ग– धेरै पढेका विद्वानहरू मिले भने असाध्यै आश्चर्य मान्नू ।
अ– यो नारी र पुरुष बीचको आकर्र्षण कुन सिद्धान्तमा आधारित छ गुरुदेव ?
ग– परस्पर लाभको सिद्धान्तमा ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































