अशोककुमार शिवाकिम्मुको रुख
मेरो घर छेउ छिमेकीको बारीमा एउटा किम्मुको रूख छ । त्यो रूखमा धेरै वर्षदेखि किम्मु फली रहेको छ । छिमेकीले सिजनमा किम्मुको अचार बनाएर वा नबनाई त्यसै समेत धेरै खायो । वरिपरिका हामी जस्ता छिमेकीहरूले हेरेरै चित्त बुझाई आइयो । जग्गा वरिपरि छेकावार पर्खाल तथा घरबाट निरन्तर निगरानीका कारण किम्मु असाध्यै सप्रिएको थियो । करिब तिन वर्षदेखि त्यो जग्गामा उसको स्वामित्व नाटकीय ढङ्गले टुङ्गिएछ जुन कुरा पछिमात्र थाहा भो । जग्गा जसले आफ्नो कब्जामा लिएको हो उसले पनि बाटो नभएका कारण भोगचलन गर्न पाएन र यद्यपि सकेको छैन, उसको प्रयत्न भने जारी छ रे ।
अहिले किम्मुको रुख विचरो उँभोतिर बढ्नु पर्ने जमिनतिर मुन्टो घुसार्न बाध्य छ । चैत सकिँदा सकिँदै फल्न थाल्छ तर वरपरका भुराहरूले फल्न थाल्दादेखि रुखमा चढेर सैसला खेल्दै काँचा किम्मु टिपेर मुख बिगार्दै खान थाल्छन् । यो कर्म त्यो बोटमा कताकति लुकेर पाकेको एकदुई किम्मु रहँदासम्म जारी रहन्छ । त्यसपछि सुरु हुन्छ भुराहरूको ताण्डव रुखमाथि र रुखमुनि । रुखमाथि हाँगामा सैसला खेल्ने र रुखमुनि वरिपरिबाट त्यसै रुखको हाँगा जमिनतिर फर्किएर बनाएको गोप्य ओडार जस्तो ठाउँमा मनपरी छाडा प्रबृत्तिका खेल । चैतको सुरुदेखि भुराहरू स्कुल जान मान्दैनन् तर त्यस ठाउँमा बिहान पाँचै बजेबाट आउँछन् अनि थाल्छन् कराउन चिच्याउन । दिक्क मानेर कराई टोपल्यो सुन्ने हैनन् । कोही मास्तिरको पर्खाल हुँदै आउँछन् त कोही तल्तिरको गेटमुनि छिरेर आउँछन् । तिनका बाबु आमालाई केही मतलव छैन आफ्ना नानीहरू कहाँ के गर्दैछन् कसैले चियो चर्चो गर्ने हैनन् । मजदुरी गरेर भरे तिनैलाई खुवाउने रुपियाँ कमाउन हिँडिहाल्छन् । आफू काममा जानेबेला वरिपरि छेउछाउ आएर कोही बोलाउँछन् आफ्ना नानीहरूलाई ए सागरे, ए सलिना, ए सबिना, ए पायल, ए काले आदि आदि नाम लिएर अनि भन्छन्, खाना पकाएर छोडेको छ खाएर बहिनी भाइलाई समेत तयार पारेर स्कुल लिएर जा है, कर्तव्य पुरा भो । बेलुकी कामबाट थाकेर लखतरान परेर घर आयो छोराछोरीको दिनभरिको रैदालो स्याहा¥यो अनि थाल्यो कराउन । मरेका मुर्दाहरू आफूहरू भने यिनकै लागि भनेर दिनभरि पसिना चुहायो मरेका बानहरू (प्रयुक्त असली भाषा) दिनभर किम्मुको बोटमा झुण्डियो, कोठामा आयो खानेकुरा जथाभावी छ¥यो । आफूहरूले मात्र खाएर पुगेन भए भरकालाई ल्यायो भएका थालभाडा सबै जुठो बनायो । उफ् के गर्ने होला यिनलाई । लाखेस अहिले त घर आउन वानहरू ठिक नपारि कहाँ छाड्छु र । सागरे…. सलिना….. कहाँ मरे मर्न नसकेका बानहरू ?
कराएर मात्र के हुथ्यो, यसो हेर बिचार अनि शिक्षादीक्षा पनि अलि राम्रो दिए पो हुन्छ । अभिभावक भनाउदाहरू नै तथानाम बोलेपछि तिनले बिगारे भनेर के भन्नु । हाम्रो प्रवृत्ति नै खाली गलत काम गर्नेमा बस्या छ । फलेको, फुलेको, झुलेको, विकसित भएको त देख्नै नहुने कसरी तान्ने कसरी खाने अनि कसरी बिगार्ने भन्ने योजना नै मनमा पहिला आई हाल्छ । किम्मुको बोट त प्रतिनिधि रुखमात्र हो । यहाँ आयल निगम, अनि खै के निगमहरूमा समेत यस्ता रुखहरू छन् जुन रुखहरूमा सैसला खेल्न सबै तँछाड र मछाड गर्छन् कारण के हुन सक्छ र उही फल नै त हो । तेस्ता हजारौं रुखहरूको बिजोक छ यहाँ हाँगाले कहिल्यै आकाश देख्या छैनन् सधैं तलै घोप्टो पर्याछन् । जय होस् ।
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































