लक्ष्मण गाम्नागेपोइसो कमाउने काइदा
पोइसो कमाउने काइदा पनि दुनियाँमा कति रान् कति । बाह्र वर्षे प्रजातान्त्रिक रूखमा फलेका फलहरू मज्जाले खान पाएकाहरूले पोइसो कमाएको देख्ता मलाई पनि आजभोलि कतार र कोरियाको कुरा छाडी आफ्नै मुलुकको पोइसो फल्ने खोरिया फाँडौँ जस्तो भैराछ । अस्तिसम्मको सिकुटी साइँलो हेर्दाहेर्दै याँमानको ढिकुटीजस्तो भएको देख्ता खर्लप्पै खुइलिएर उसिनेको आलुजस्तो भएको मेरो तालुमा पनि कपाल पलाएर आउला जस्तो भैराछ । खोप्पा भएको मुखभित्र नयाँ बङ्गारो पलाउला जस्तो भएर उसैउसै गिजा चिलाइराछ । अझ मौका चानसले मुलुकको ढुकुटीमा एस्सो दाँत हालेर एउटासम्म काट्टो खान पाए त बेत बसिसकेको बूढो बैँस पनि मात्तिएर जुरुकजुरुक हुँदो रैछ भन्ने थाहा पाउँदा आफूभित्रको नैतिकता–सैतिकता पनि बेपत्तासँग लापत्ता हुन खोजिरा’छ । आम्मै ! काट्टोमा एउटा पिलेन पार्न पाएदेखिन् आफ्ना सत्र पुस्तालाई माटोमा पुरुन्जेल आँटो त के त्यसको साटो जवाहरातकै भुजा ज्यूनार गर्न पनि पुग्ने रहेछ । पोइसोको यो जगजगी देख्ता आफूलाई त आफ्नै डडाल्नामा लात्तले हान्नुजस्तो भैरा’छ । बेलामा बुद्धिको बिर्को नखुल्नाले पोइसो बेगरको जिन्दगी बिनसित्तिमा घिसार्दै छु र सँगसँगै श्रीमती छोराछोरीलाई पनि अभाव र दुर्गतिका ढुङ्गाले छापेको ग्राभल रोडमा दर्फराउँदै दगुराइरहेछु ।
बेलामा बुद्धि बङ्गारो पलाइद्या भे जाबो एउटी पत्नीको मात्र पति भएर गति न गरासको यस्तो जिन्दगी हुन्थ्यो र ! भइने रै’छ नि अरबपति । अरबपति नै नभए पनि यसरी रोडपति भएर न्यूरोड दायाँबायाँ गगनचुम्बी घरका धुरीतिर घुरीघुरी हेर्दै हिँड्नुको सट्टा कोटमा करोडपतिको पट्टा भिरेर जट्टाको जुरो बाँधेकी जुरेलीजस्ती जोईलाई पजेरोमा सजाएर हिँडिन्थ्यो रै’छ के रे ! लौ भैगो, करोडपति भइएन रै’छ, त्यसभन्दा तलको लखपति पनि त सानो कुरा त होइनथ्यो नि गाँठे हो ! त्यति पनि हुन सकिएन त, ए मेरी अम्मोइ !!
सुद्धिले समयमै साथ दिएको भए यसरी सयपति भएर सडकसडकमा सुराल सुर्किँदै र सिँगान तान्दै औतारीजस्तो भौँतारिनुपर्ने त थिएन रै’छ । बेलाँ बुद्धिको बिर्को खुलिदिएको भए यसरी मसी सकीसकी, घुँडा धसीधसी घरिघरि तीन र तेह्रका तर्कना गर्नुको सट्टा बसीबसी खसीका खुट्टाको सुप पिएर निजी घरको बास्नादार बैठक कोठामा ढ्याउउउउअ डकार्न पाइने रै’छ । लौ हेर, आफ्नो यस्तो शुद्ध र प्रदूषणरहित डकार पनि यो गन्धे डेरामा डल्लो परिरहेछ । कोठामा बबुरो मुसो पनि खान नपाएर भोकभोकै मरिरहेछ ।
आद्रद्रद्र बजार जाँदा खल्तीमा एउटा हजारको नोट पनि नहुने नाथेले के लाखलाखका सपना देख्नु, बरु तपाइँको बुद्धि पो बेत बसिसकेको छैन कि ! तपाइँको बर्कतको सिल टुटिसकेको छैन कि ! दिलमा पोइसो कमाउने इच्छा अझै बाँकी छ कि ! उसो भए होसपूर्वक मेरो कुरा सुन्नुहोस् । पछि मलाई दोष लाउन पाइन्न, म पोइसो कमाउने काइदाका बारेमा बकाइदा प्रवचन दिन लागिरहेको छु ! खास गरी विद्यार्थी तथा युवावर्ग हो, ध्यान दिएर सुन्नुहोस् ।
लौ भन्नुहोस्, तपाईंलाई के पति हुन मन छ ? उही मजस्तै गति न पतिकी सती सावित्रीमात्र एउटी श्रीमतीको नामर्द पति भएर नैतिकता र प्रतिष्ठाको गुह्ये पोखरीमा गँड्यौलाजस्तो गुँडुल्किएर बस्न मन छ कि करोडपति, अरबपति भएर मस्ती मार्ने मन छ ?
तपाईँलाई मात्र हजारपति भएर घाँटीमा पेटी बाँधेको केजाति जस्तो भएर सडकपेटीमा सहरिया केटीहरूको हास्यपात्र भएर हल्लिरहनु छ भने आजैदेखि पलेँटी कसेर पढ्न थालिहाल्नुहोस् । बाउआमाको आज्ञाकारी छोरो भएर हजारथरीका महत्वाकाङ्क्षा छाडेर मात्र खरदार, सुब्बा वा मुखिया बहिदार वा मास्टरसम्म हुने सपना बोकेर कस्सिनुहोस् । त्यति भए महिनामा २–४ हजार हात परिहाल्छ अनि जुनीभरि एउटा ऊनीको सुइटरसम्म लाउन नसकी कि त छोर्छोरीको सराप पिउँदै कि त लोकल खोयाबिर्के शराव पिउँदै अन्तमा वाक्ल्याक्क परेको मुख बाएर यो धर्तीलाई हलुको पार्नुहोस् । मरेपछि सन्तानहरूले पिण्ड चढाउँदा पनि बासीभातमा दूधजस्तो कुनै झोल हालेर लटपट पारेर चढाउनेछन् । त्यस्तो पदार्थ भाग लगाउँदा माथि यमराजले पनि लात्तले हानेर तपाईँलाई नर्क पठाउनेछन्, त्यहाँको वातावरण पनि तलकै जस्तो हुने हुँदा तपाईँलाई बाँच्न सहज हुनेछ ।
लखपति हुनु छ कि तपाइँलाई ? बाटो उस्तैउस्तै हो । तर यसका लागि खरदार सुब्बामा अल्झिने गरी तयारी गरेर पुग्दैन । लखपति हुनलाई लख काट्ने क्षमता हुनुपर्छ । परीक्षामा सोधिने सम्भाव्य प्रश्नहरूको लख काट्ने, बढुवा हुनु छ भने सम्भाव्य प्रतिस्पर्धीका कमजोरीको लख काट्ने, कापी जाँचकीको लख काट्ने आदि गर्नुपर्ने हुन्छ । लखपति हुनलाई हाकिम्नीलाई लाखबत्ती बाल्न सघाएर भए पनि स्टोर, लेखा, कर, मालपोत, भन्सार, अदालत आदिमा पदस्थापना, सरुवा गराउन सक्नुपर्छ । जे होस् लखपति मात्र हुनलाई पाप गरिहाल्नु पर्दैन, धाप भए पुग्छ । माथि जाँदा पनि एस्सो एक क्वाटर स्याउको तेल लगेर यमराजका पाउमा दलेमा स्वर्गकै टिकट नभेट्टाइएला भन्न सकिन्न ।
यदि तपाईँसँग नेता हुने विशेषता छैनन् तर कम्तीमा करोडपति त हुनै पर्छ भन्ने मान्यता छ र कुनै हुकुम प्रमाङ्गी प्राप्त गर्ने उपाय पनि छैन भने पढन् त पढ्नै पर्छ । तर सानेतिनो पोस्टमा टोस्ट खाएर बस्न थाल्नुहुन्न । तपाइँले बोक्ने गरेको तेल र मन्त्रीज्यू, नेताज्यूको खुट्टाको मेल ठ्याक्कै मिल्यो भने जिएम, अध्यक्ष, महानिर्देशक इत्यादि तहमा बसेर लहलह हरिया नोट भित्र्याउने अवसर प्राप्त हुनेछ । त्यहाँ पुग्दैमा करोडपति भइहाल्ने होइन नि फेरि ! त्यसका लागि सो पोस्टमा पुगेपछि तपाइँले पहिला आफ्नै एक्स रे गरिहेर्नु पर्छ । कतै आफूभित्र कुनै नैतिकता, सैतिकता, सिद्धान्त, लाज, शरम जस्ता कुनै पदार्थ बाँकी छन् कि ! यदि केही बाँकी रहेछन् भने ती सबै टक्टक्याएर झिकेर ट्वाइलेटमा हाल्नुपर्छ । त्यसपछि सोही ट्वाइलेटको पानी आचमन गरी शुद्ध भई जताजता पैसाको बिटो छ त्यतैत्यतै मुख बाएर हिँड्नुपर्छ । करोडपति हुन कुनै बेर लाग्नेछैन ।
अरबपति, खरबपति अर्थात् इच्छा लागेअनुसारको पति हुन इच्छा हुँदा पनि काइदा उस्तैउस्तै हो । यसका लागि शैक्षिक योग्यताको कुनै दरकार पर्दैन । बरु जस्तासुकै मापदण्ड पूरा गरेर भए पनि सरकारमा पुग्नुपर्छ । नैतिकताको कुरा र शुद्धीकरणको प्रक्रिया करोडपति हुने प्रक्रिया अनुरूपकै पछ्याउनुपर्ने हुन्छ । आफ्ना पुतलाहरू डढ्न दिने क्षमता राख्नुपर्छ । बेलाबेला ढुङ्गामुढा खानुपर्छ । पत्रपत्रिकामा भ्रष्टाचारीमा नाम बारम्बार आइरहनुपर्छ । आफूलाई मूर्दावाद भन्दा मुसुुमुसु हाँस्न सक्ने हुनुपर्छ । जल, ढल, मल, माटो, काट्टो, तेल, पेट्रोल, पसिनादेखि वायुयान र परिआए मान्छेकै ज्यान पनि सेवन गर्न सक्ने क्षमता हुनुपर्छ । आफ्नो शब्दकोशमा डर, लाज, घिन, अपमान जस्ता शब्दहरू हुनुहुँदैन । पोइसो भनेपछि देश त के आफ्नै सन्तान बेच्न पनि तयार भएपछि लौ नभैयोस् त करोडपति !
लौ, पोइसो कमाउने केही काइदाहरू मैले बताएँ । मैले त सकिनँ, तपाइँले किन छाड्ने ! लाग्ने होइन त पोइसो कमाउन ?
सिनामंगल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































