विश्व विनोदउहाँ त स्रोतव्यक्ति !
स्रोत भन्या मूल हो, तर उहाँ ढुलमुल हुनुहुन्छ । हिजो खाएको अलिकति तिनपानेले बेइमान गरेको छ । तर यो गाम्मा कस्ले पो गर्च र स्थायी जागिरेलाई ? सर्कारले जागिर खुस्काउन सक्ने हैन क्यार ? अनि को अनुगमनमा आम्च र, उनलाई कार्वाही गर्च ? स्रोत भन्या त जरा नै हो, तर जरा हैन उहाँ त खरा हुनुहुन्छ । खरो न’भा भए एक त्यति बिघ्न ठूलो लाम्काने बोत्तल एकै घुट्को चिलिमच्वाँट्ट पार्न कस्ले सक्थ्यो र ? खरो न’भाको भए हिजो त्यो पिचरोड छेउकुनो गरेर इन्जिनियर बनेर रातिमा हिँड्न सक्नु हुन्थ्यो र ? दारू र भारुको स्रोतव्यक्ति चाहिँ उहाँ अवश्य नै हो ।
उहाँ शिक्षा तर्फको स्रोतव्यक्ति हुनुहुन्छ, ज्ञानको भण्डार भएर, सम्पूर्ण कुराको स्रोत खुलाउन सक्ने भएर उहाँलाई स्रोतव्यक्ति छानिएको रे ! तर पढाउने विद्यालयमा उहाँको वास्तविकता त अर्कै रहेच गाँठे ! उहाँ त खुङ्खार राजनीतिज्ञ पो हुनुहुँदो रहेछ । सधैं राजनीतिमा सदरमुकाम धाउने, महिनामा एक पल्ट स्कुल आउने हुँदा हेडमास्टर आजित भएपछि उहाँलाई स्रोेतव्यक्तिमा सिफारिस गरेर ठेउल्याएछन् । आजकाल त त्यो स्कुल पनि छुट्टै परिवर्तन पो भा’को छ त ।
स्रोतव्यक्ति भएपछि, सान र मान पनि बेग्लै हुँदोरहेछ क्यार, विद्यालय जान नपरेपछि हैकमी पाराले सदरमुकाम मै बसेर अनुगमन हँुदो रहेछ । स्रोतव्यक्तिले त नजान्ने शिक्षकलाई सिकाउनु पर्ने हो तर शिक्षकले कुनै प्रश्न सोद्धा उनले ठाडो जवाफ दिएछन्– तपाई पाठ्यपुस्तक अध्ययन गर्नुहुन्न ? हुन त सोध्ने नै हो भने उहाँको कार्यक्षेत्रमा कति सिकाइ उपलब्धि दर छ, कति शिक्षक, कर्मचारी छन्, कति वटा बिद्यालय छन् उहाँलाई भन्न गाह्रो हुन्छ, तर कुन बोत्तलको कति रकम कुन होटलमा कति छ उहाँ भन्न सक्नुहुन्छ ।
सदरमुकाम बसेपछि गाम्का मान्छे ठाम्मा आउनु पर्ने हुन्छ नै तर उहाँलाई भेट्न सलामी चढाउनु पर्छ । गाउँमा फर्सी, क्राँक्रा, बारीका तरकारी लिएर यी सरकारी मान्छेलाई भेट्न आउनु पर्छ । तरकारी लिएर भेट्न आए उहाँको नाक घिरौँला जत्रो हुन्छ, नत्र बिचरा टिमुरको हैसियतमा नाक खुम्च्याएर बर्बादै पार्छन् ।
वाह् जागिर त यस्तो पो खानु पर्ने, लक्का न धक्काको, अझ स्रोतव्यक्तिले के गरेको छ भनेर जाँच्ने मान्छे पनि सँगै भट्टितेल खाँदै रहेछन् अनि भएन त पक्का ।
‘त्रिशूली छाल’ अङ्क ३० बाट
Subscribe
Login
0 Comments
Oldest









































