सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेम्वाङद्वारा ‘स्वाभिमान’ महाकाव्य विमोचित

Nepal Telecom ad

नेपाली महाकाव्य बाटिकामा स्वाभिमान नामको एउटा नयाँ महाकाव्य थपिएको छ । यसका स्रष्टा हुनुहुन्छ रमेशचन्द्र देवकोटा । देवकोटा लामो समयदेखि काव्य सिर्जनामा सक्रिय हुनुहुन्छ । तर साहित्यका लेखक पाठक, समीक्षक कसैको जानकारीमामा हुनुहुन्न्थ्यो । औँलामा गन्न सकिने २/४ वटा फुटकर रचना प्रकाशित भए पनि राष्ट्रिय स्तरका कुनै पनि पत्रपत्रिकामा ती प्रकाशित भएका थिएनन् । यसरी गुमनाम रहनुभएका स्रष्टा रमेशचन्द्र देवकोटाको पहिलो प्रकाशित कृतिका रूपमा ‘स्वाभिमान’ महाकाव्य हालै राजधानीमा विमोचन गरियो ।

अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठान नेपालले आयोजना गरेको समारोहको अध्यक्षता प्रा.डा. सुषमा शर्माले गर्नु भएको थियो भने प्रमुख अतिथि हुनुहुन्थ्यो संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ ।

समारोहको आरम्भमा प्रा.डा. रामचन्द्र लम्सालले स्वागत मन्तव्य दिनुभएपछि महाकाव्यकार रमेशचन्द्र देवकोटाको परिचय सन्दर्भमा डा. उपेन्द्र देवकोटाले बोल्नु भएको थियो । उहाँले नेपाली साहित्यमा देवकोटा परिवारको योगदानको चर्चा गर्दै पारिवारिक पृष्ठभूमि गुरूकुल परम्परा रहेको उल्लेख गर्नुभयो ।

प्रमुख अतिथि सुवासचन्द्र नेम्वाङले महाकाव्यको विधिवत लोकार्पण गर्नुभयो । लोकार्पण मन्तव्यका क्रममा नेम्वाङले यति लामो काल खण्डसम्म रमेशचन्द्र देवकोटाका कृतिहरू प्रकाशित भउ जनताका सामु नपुग्नु दुखद प्रसङ्ग भएको चर्चा गर्नु भयो । उहाँले शुभकामना व्यक्त गर्दै देवकोटाका सबै कृतिहरूले क्रमशः प्रकाशनको अवसर पाउन सकुन् भन्नुभयो ।

समारोहमा स्रष्टा प्रदीप नेपालले सङ्क्षिप्त मन्तव्य दिँदै लोकार्पित कृति ‘स्वाभिमान’ मा महाभारतले उपेक्षा गरेको पात्र कर्णलाई नायक बनाएर लेखिएको यस महाकाव्यले कर्णमाथि न्याय गरेको बताउनु भयो ।

महाकाव्यको छन्द संरचना परिष्कारमा सल्लाह दिनुहुने छन्दशिल्पी भुवनहरि सिग्देलले पनि समारोहमा आफ्नो मन्तव्य प्रस्तुत गर्दै महाकाव्य अंश वाचन गर्नु भएको थियो । त्यसैगरी महाकाव्य प्रकाशन कार्यमा संलग्न रहनुभएका स्रष्टा एवम् सञ्चारकर्मी नरनाथ लुइँटेलले मन्तव्य प्रस्तुत गर्दै यसरी पहिलो पटक स्रष्टा रमेशचन्द्र देवकोटा र उहाँको महाकाव्यलाई सार्वजनिक गर्न पाउँदा गौरवको अनुभूति भएको बताउनु भएको थियो ।

लोकार्पित महाकाव्यमा डा. नारायण गड्तौलाको विश्लेषणात्मक भूमिका रहेको छ । समारोहमा डा. गड्तौलाले आफ्नो विवेचनात्मक मन्तव्य दिनु भएको थियो ।

डा. गड्तौलापछि प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति गङ्गाप्रसाद उप्रेतीले शुभेच्छा र बधाइ ज्ञापन गर्दै ओझलमा परेका स्रष्टाहरूको खोजी गरी उनीहरूका कृति प्रकाशनमा विशेष रूचि र सक्रियता राख्ने व्यक्ति र संस्था धन्यवादका पात्र रहेको उल्लेख गर्नु भयो ।

समारोहको अन्ततिर डा. दिनेशचन्द्र देवकोटाले धन्यवाद ज्ञापनका क्रममा पिताजी रमेशचन्द्र देवकोटाका अन्य अप्रकाशित काव्यकृति प्रकाशनतर्फ ध्यान दिइरहेको बताउनुभयो ।

समारोहको अध्यक्ष डा. सुसमा आचार्यले आफ्नो मन्तव्य सहित सभा विसर्जन गर्नु भएको थियो । समारोहमा डायस्पोरिक साहित्यमा शोध गर्ने छात्र रामकृष्ण आचार्यलाई रू १५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । डा. यादव प्रकाश लामिछानेले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad