साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फोहर बनाम राजनीति

Nepal Telecom ad

शीर्षक हेर्नासाथ तपाईं भ्रममा परिसकेको हुनुपर्छ भन्ने अनुमान मैले गरिसकें । त्यसकारण पहिले तपाईंको भ्रम निवारण गरिहालूँ । राजनीतिको अघिल्तिर फोहरको डङ्गुर शब्द बसाल्नुको अर्थ राजनीति फोहरी भएको हो भन्न खोजेको होइन । राजनीति त पवित्र गङ्गाजलभन्दा पनि धेरै शुद्ध छ । पवित्र र शुद्ध वस्तु विशेषलाई फोहर भन्दै फोहरी गाली गर्ने मनशाय पनि मेरो छैन । मैले गर्न खोजेको कुरोको चुरो चाहिँ यो देशको एक मात्र राजधानी कान्तिपुरी काठमाडौंको फोहरमाथि हुँदै आएको, भइरहेको र भविष्यका दिनहरूमा समेत हुनसक्ने राजनीतिसँग सम्बन्धित छ । माथि उल्लेखित शीर्षकको यो देशको राष्ट्रिय राजनीतिसँग गोरु बेचेको साइनोसम्म पनि छैन । त्यसो त राजनीति हो, यो जहाँ जता र जेसुकै कुरामा पनि घुस्न थालेको छ हिजोआज । त्यसैले पनि भनिएको होला घुसघुसे राजनीति भनेर । तर मैले यहाँ खुस्खुस् गर्दै घुसघुसे राजनीतिको पनि कुरा गर्न खोजेको हुँदै होइन । अरु सबै राजनीतिसम्बन्धी कुरा गर्ने हक अधिकारवाला राजनेता वा राजनीतिक कर्मीहरूलाई राजीखुशी मनोमानीसँग हस्तान्तरण गरी यहाँ मैले गर्न चाहेको कुरा चाहिँ राजधानीको फोहर–राजनीतिको मात्रै हो ।

फेरि तपाईंलाई लाग्न सक्छ यो फोहर र राजनीतिबीच के सम्बन्ध छ ? अथवा राजनीति जस्तो पवित्र वस्तुलाई फोहर जस्तो अपवित्र वस्तुसँग सामिप्यता प्रदान गर्न किन खोजियो ? यदि तपाईंलाई यस्तै लागेको हो भने यो शतप्रतिशत गलत लाग्यो । जथाभावी घुस्दाघुस्दै राजनीतिको सुकुमार र सफा अनुहार राजधानीको फोहरभित्र पनि खुसुक्क छिरेछ । पञ्चायती कालमै यसरी छिरेको यो राजनीति पञ्चायतकै जडौरी ओढ्न रमाइ आएका प्रजातान्त्रिक राजनेताका चङ्गुलभित्रैबाट पनि फोहरभित्र खुसुक्क घुसिदियो । यो पनि अनौठो मान्नुपर्ने विषय होइन । अनि तपाईं नै भन्नुहोस् त राजनीति र काठमाडौंको फोहरबीच नङ र मासुको सम्बन्ध कायम भयो कि भएन ? राजधानीको राजनीति र फोहरबीच साँच्चै सम्बन्ध सुमधूर छ, हार्दिक छ, मैत्रीपूर्ण छ र गौरवपूर्ण पनि छ । वर्तमानका चर्चित हास्यव्यङ्ग्यकार चट्याङ मास्टरले पनि फोहर र राजनीतिबीचको यो एकात्मक सम्बन्धको गुढ भेउ पाएर केही वर्ष अघि नै एउटा गज्जवको व्यङ्ग्य कविता लेख्नुभएको थियो । ‘आची’ शीर्षकको त्यो कविता यही फोहरमा केन्द्रित छ र यही राजनीतिमा आधारित छ ।

कसैलाई कुर्सीमाथि उकाल्ने र कसैलाई कुर्सीबाट पछार्ने, कसैलाई भोट तान्न सघाउने त कसैलाई नोट तान्न मद्धत पुर्याउने राजधानीको फोहर, राजधानीको राजनीतिको मूल मेरुदण्ड नै हो भन्दा फरक पर्दैन । त्यसै भएर कतिपय राजनीतिज्ञका निम्ति त यो फोहरको कुइगन्धे दुर्गन्ध पनि अत्तरको भन्दा मीठो सुगन्ध हुने गरेको छ । फोहर होस् त यस्तो । यही फोहरलाई छ्याल्लव्याल्ल पारेर चुनाव जिती सत्ताको सातुसामल गुमुक्र्याउन पुगेका सुकिला महानुभावहरू यही फोहर देखाएर विदेशीसँग अनुदान माग्छन् । उनीहरूको मात्रै कुरो होइन, हामी खान पुगेन भनेर उतै ऋण माग्छौं अनि खाइसकेपछि पचहत्ते आन्द्राको फेरो मार्दै निसृत हुन पुगेको फोहर तह लगाउन पनि आर्थिक सहायता उतै माग्छौं । लौ भन्नोस् त यो फोहरलाई फोहर भनेर गाली गर्न अब तपाईंलाई लाज लाग्दैन ? यही फोहर हाम्रो मागिखाने भाँडो भएको छ । हामीले धक फुकाएर माग्न पाएका छौं । मागिएको सहायता डलरमा आउँछ, त्यो रुपियाँमा रूपान्तर हुँदा झण्डै ६० गुणा बढ्छ । राजधानीको यो फोहर अब फोहर हैन, हाम्रो आम्दानीको मौलिक श्रोत हो । यस्तो श्रोतमाथि राजनीति नघुसेर त्यसै कसरी बस्न सक्छ ?

यो आची हो, झण्डै ४० लाख राजधानीबासीको आची, अनि छिमेकी देशहरूबाट दिनहुँ ओइरिने वैध र अवैध पाहुनाहरूको आची, यताको आची, उताको आची । यत्रो विधि आची जम्मा गर्न पनि समस्या, जम्मा गरेको आची उठाउन पनि समस्या, वडो मुश्किलले उठाएर ल्याण्डफिलसम्म पुर्याउन पनि समस्या, फेरि फसाद अर्को छ– ल्याण्डफिलकै समस्या, कहिले पूर्व ओसार्यो– खबरदार अब यता ल्याउन पाइँदैन भन्छन्, फकाइफुल्याई ग¥यो केही समय थुपार्यो, फेरि लौ अब पुग्यो अन्तै लैजाऊ भन्छन् । कहिले पश्चिम लग्यो उता पनि उस्तै । फोहर कहिले ओखरपौवा ताक्छ, कहिले दक्षिणकालीतर्फ हुर्रिन खोज्छ, कहिले स्युचाटारको हाइटतिर ओइरिन खोज्छ । यो सब उसको राजनीति हो । फोहरको राजनीति सुग्घरको राजनीतिभन्दा कुनै माने र मूल्यमा कम छैन । बरु सुग्घरको राजनीति फोहरी हुँदैछ तर फोहरको राजनीति झन् सफा, झन् चहकिलो, झन् पारदर्शी हुँदै गएको छ । यो त राष्ट्रिय राजनीतिमाथि देखापरेको गम्भीर चुनौति भएन र ? सामना नगरी धर नपाउने यस्तो चुनौतिप्रति तपाईं हामी सबैको सहानुभूति हुनुपर्छ र राष्ट्रिय राजनीतिले सामना गर्न सकोस् भन्ने कामना गर्नुपर्छ ।

राजधानीमा फोहरको राजनीति हावी भएको देखेर राष्ट्रिय राजनीतिलाई पनि फोहरी आरोप लगाउनु कदाचित हुन्न । प्रजातन्त्र पाइएको छ भन्दैमा जे पायो त्यही बोल्ने छुट कहाँ पाइन्छ र ? फोहरमाथि दाइँ गरेरै भए पनि राष्ट्रिय राजनीतिको जुइनो समाउन पुगेका महासयहरूलाई तिम्रो आचरण फोहर भयो भन्नु राजधानीको फोहरको अवमूल्यन गर्नु हो । यसो भनेर राजधानीको फोहरको अवमूल्यन गर्ने धृष्टता कसैले नगरे हुन्छ । फोहरको पौरख र पराक्रम सानो छैन भन्ने कुरा एक पटक होइन धेरै पटक पुष्टि भइसकेको छ । अव त राजधानीलाई फोहर शहर भन्नुभन्दा पहिले आफ्ना करङ मजवुत पार्नुपर्ला जस्तो पो छ त । यो त हराभरा र स्वच्छ सफा शहर हो । सधैं सुकिलो छ । वर्खामा पानी प्रशस्त भए पनि राजधानी हिलो मैलो हुँदैन । हिउँदमा धाराको टुटीबाट थोपै पानी नझरे पनि धुवाँ र धूलोले राजधानी छोपिँदैन । चोक चोकमा दिनहुँ थुप्रिने फोहरको रास फोहरको रास होइन डलर आर्जन हुने आस हो । यही रास र आसबीच फोहर–राजनीतिले सास फेर्दैछ । निहालेर आफैंलाई हेर्दैछ । म फोहर फोहर हुँ कि सफा राजनीति हुँ भनेर आफैंले आफैलाई केर्दैछ ।

कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x