साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेडको एक व्यक्तीय गुट

Nepal Telecom ad

आसन्न नवौं महाधिवेशन क्रमशः वर–वर आउँदै गर्दा नेकपा एमालेको बल्खु दरबारमा गुट परिवर्तनको समसामयिक खेल तीब्रबाट तीब्रतर हुँदै गइरहेको छ । यसको एकदम सटिक उदाहरणको खोजी गर्न अन्त कतै जानै पर्दैन । मलाई नै केही समयका लागि मानिलिनोस् । के फरक पर्छ ? म केही दिन अघिसम्म कमरेड खड्गप्रसाद शर्मा ओलीको घरेलु गुटमा खुसी–खुसी रहेको थिएँ । आजको मितिमा भने कमरेड माधवकुमार नेपालको गुटमा सशरीर उपस्थित भएको छु । यसो ता कमरेड माधवको असलमा आफ्नै कुनै निजी किसिमको गुट एमालेमा छैन भनिन्छ । तर उनको लगभग डल्लो–डल्लो, दाहिनेतिर अपेक्षाकृत ह्वात्तै फैलिएको र फाल्तु बोसोदार व्यक्तित्व (अथवा शरीरत्व) के आफैंमा एउटा गुटभन्दा कम छ ?

हो, यो स्वीकार गर्न ममा कुनै पनि खालको हीनताबोध छैन, मलाई कमरेड माधवकुमार नेपालको यावत आवश्यक–अनावश्यक कार्य गर्ने अथवा नगर्ने तौरतरिकात्मक भङ्गिमा असाध्यै मन पर्छ । यसकारण पनि आफ्ना पुराना गुटहरू (सबभन्दा पहिले हाल एमालेमा अनुपस्थित कमरेड सीपी मैनाली गुटमा) पालैपालो परित्याग गरेर म कमरेड माधवको वर्तमान गुटमा अवतरित भएको हुँ । अन्यथा म किन यहाँ आउँथेँ ? उनको कार्यशैली गजबको छ ! जस्तो यस पटकको नवौं एमाले महाधिवेशनमा सम्पन्न हुन गइरहेको अध्यक्षयीय निर्वाचनको सन्दर्भलाई नै लिनोस् । उनी अर्थात् कमरेड माधव अगावैदेखि नै एउटा भारीभरकम टोलीसहित बल्खुको बहुदलीय जनवादी स्टेजमा मौजुद अध्यक्ष पदका प्रतिद्वन्द्वी उम्मेदवार कमरेड खड्गप्रसाद शर्मा ओली विरुद्ध एक्लाएक्लै भएर खडा भएका छन् । उसो भए, के कमरेड माधवको एमाले पार्टीमा कुनै गुट नै छैन ? यसको समुचित जवाफ त मैले अघि नै स्पष्टताका साथ दिई सकेको छु ।

मेरो तात्पर्य के भने कमरेड ओलीको प्यानलमा उपाध्यक्ष, महासचिव, सचिव आदिका घनघोर आकाङ्क्षी कमरेडहरू वामदेव गौतम, ईश्वर पोखरेल, शंकर पोखरेलहरू रहेका छन् भने एकल कमरेड माधव आफैं एउटा सिङ्गो गुट भएर दृश्यमा जबर्जस्त ढङ्गले प्रस्तुत भएका छन् । उनको सघन आत्ममोहग्रस्त स्वभावले एउटा गुट बनाउने कौशल नराखे तापनि कमरेड माधवले अचम्मैसँग गुटविहीन गुटको निर्माण गरेका छन् । उनको यही मौलिक स्टाइलले आकर्षित भएर म कमरेड माधवको यस्तो गुट नै नभएको अद्भूत गुटमा समाहित हुन आइपुगेको हुँ । उनीसँग गुट निर्माणका खातिर कमरेड रघुजी पन्त र कमरेड भीम रावलजस्ता एकाध परमानेन्ट गुर्गा नभएको स्थिति भने होइन । तर यिनीहरू कमरेड माधवको विद्यमान निजत्वमा घुलित भएर लुप्तप्रायः प्राणी भइसकेकाले कुनै गणना नगरिएको हो ।

यो जरुरी पनि छैन । किनभने कमरेड माधवले आफ्नै बलबुताले एक व्यक्तीय गुटको एउटा तिलस्मयुक्त उदाहरण अघि राखेर सबैलाई चमत्कृत अवस्थामा पु¥याइदिएका छन् ।

नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कमरेड माधवकुमार नेपाल स्वयम् नै एउटा गुट हुन पर्याप्त छन् भन्ने निष्कर्र्ष मेरै भए तापनि यता आएर म आफैंसँग अहसमत भएको छु । यो अकारण होइन । अब मलाई तीब्रताका साथ के लागेको छ भने उनी वस्तुतः एउटा गुट नभएर महागुट नै हुन् । यो कसरी भन्ने यक्षप्रश्नको उत्तर समयक्रमले दिने भए तापनि सङ्केतस्वरुप म यति भन्छु– विगतमा कमरेड माधवले बिना परिश्रम अनायास पार्टी महासचिव र नेपाल सरकारको प्रधानमन्त्रीको पद कसरी पाए ? (सही भाषामा पड्काए) हो, यसरी नै ठीक समयमा अन्य गुटका नेता र कार्यकर्ता खुरुखुरु आएर कमरेड माधवको गुटलाई महागुटमा परिणत गर्नेछन् । यो विशुद्ध भाग्यवाद जस्तो लागे पनि कमरेड माधवको हकमा असली माक्र्सवाद नै सावित भएको छ । याद रहोस्, उनी एक माक्र्सवादी–लेनिनवादी पार्टीका वरिष्ठ नेता हुन् । जे होस्, यही भाग्यका कारण उनी गुटविहीन गुटको चरणबाट शनैःशनैः गुज्रेर अन्ततः महागुटमा प्रवेश गरी बल्खु दरबारको उच्चतम अध्यक्ष पदको निकै समिप पुगिसकेका छन् ।

यही सिलसिलामा म उनको भाग्यवादलाई अझ सबल पार्न कमरेड ओलीको गुटबाट यो महागुटमा आएको हुँ । यस्तै कमरेड जेएनको गुटबाट कमरेड घनश्याम भूसालहरू लर्काे लागेर आइपुगेका छन् । साथमा लामो समयदेखि पार्टी बाहिर बसेका साहित्यकार कमरेड नारायण ढकाललाई पनि ल्याएका छन् । एवंप्रकारले अन्य ससाना गुटबाट पनि आगन्तुकहरू आएको आयै भइरहेको छ । कहाँसम्म भने कमरेड वामदेव गौतम ओली गुटमा भए तापनि उनको गुट अर्थात् कमरेड वामदेव गुटका चेलाचपाटीहरू यतै देखिन्छन् । (लेखकीय गफले झिँझो लागेकोले एकछिन विश्राम) यसको अर्थ कमरेड माधवको व्यक्तित्वमा कुनै जोडदार चुम्बकीय गुण रहेको छ भन्ने होइन । वास्तवमा व्यक्तित्व शून्यता नै उनको शक्तिशाली व्यक्तित्व भएकोले महागुटका कमरेड माधवकुमार नेपाललाई नेकपा एमालेको नवौं महाधिवेशनमा अध्यक्ष कमरेड झलनाथ खनाल पश्चातको अध्यक्ष हुनबाट कोही ‘माइकालाल’ले रोक्न नसक्ने निश्चितप्रायः छ ।

यही भविष्यवाणीका साथ नभइसकेका परन्तु निकट भविष्यमा हुने अध्यक्ष कमरेड माधवकुमार नेपाललाई मेरो अग्रिम बधाई !

‘कन्तिपुर’ २०७१ जेष्ठ २४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x