माणिकरत्न शाक्यआफन्तको आँखा
२०६४ सालमा बुबाले आफ्नो जन्मघर सालुपाटीमा आमा र मलाई लिएर जानुभयो । काकाको घरमा बस्यौँ । फुर्सदको समयमा बाजेले जोडिदिनु भएको जग्गा जमीन हेर्ने काम भयो । सालुपाटी बजारमा हाम्रा आफन्तहरू धेरै रहेछन् । बुबाले आमालाई आफ्नो जन्मघर ७२ वर्षको उमेरमा मात्र पहिलोपटक देखाउनु भएको हो । म त एकचोटी सानैमा दाजुसँग मिलेर र अर्कोचोटी ठूलो भएपछि बुबासँग मिलेर आएको गरी यहाँ दुइपल्ट मात्र आइपुगेको छु ।
एकदिन बाजे बराजुले जोडिदिएको जग्गा जमिन हेरेर फर्किरहेको बेला हाम्रा एकजना आफन्तले बाउभन्दा छोरो पो बूढो रहेछ भनेर प्वाक्क भने । उहाँको कुरा सुन्ने बित्तिकै झनक्क रिस त मलाई नउठेको कहाँ हो र आफ्नो रूप किन देखाउनु भनेर चुप लागेँ । एक मनले भन्यो– ७२ वर्षको बाउचाहिँ ठिटो ४० वर्षको छोरोचाहिँ बुढो देख्ने हाम्रा आफन्तको आँखामा फुलो परेछ कि क्या हो जस्तो लाग्यो । अर्को मनले भन्यो– साँवालाई मायाँ गरेर त्यसो भनेका होलान्, म त जे भए पनि व्याज न परेँ भनेर मन बुझाएँ । फेरि मनले भन्यो– बुबासँग धेरै वर्षपछि भेट भएकाले चाकडी भाषा बोल्या होेलान् भनेर चित्त बुझाएँ ।
टाउकोमा रौँ खुइल्यो भन्दैमा उहाँहरूले त्यसो भनिहाल्नु पर्छ र ! भने जस्तो मनमा लाग्यो । जे होस् बाहिरको दुनियाँ नदेखेका आफन्तले त्यसो भन्यो भन्दैमा के चित्तमा पित्त जमाउनु भनेर मन बुझाएँ । आजकल बुढोलाई बुढो भन्न नहुने जमानामा म ठिटोलाई बुढो भनेको कसरी पचाउन सक्नु ! यो त साह्रै गाह्रो विषय पो रहेछ । जे होस् मलाई बुढो देख्ने आफन्तहरूले अबका दिनमा गाजर, मुला, मेवा टन्न खाएर आँखा बलियो बनाउनुस् ताकि अर्को भेटमा मलाई सही देख्नु हुन्थ्यो कि ?
सरस्वतीनगर, चावहिल
Subscribe
Login
0 Comments
Oldest







































