लक्ष्मण गाम्नागेडल्ला फुटाउने खेती
मैले डल्ला फुटाउने खेती सुरु नगरेकामा आफ्नै छोराछोरी लगायत धेरैले गिल्ला गर्दा पनि सहिरहेको थिएँ । तर, आफ्नै अर्धाङ्गिनीले समेत यो आधुनिक खेतीमा नलागेर यस्तै गैबार र पिछडा भएर बस्ने हो भने बाँकी जुनी सँगै नबित्न पनि सक्छ भनेर धम्क्याएपछि मैले बाध्य भएर यो खेतीमा हात हालेँ । त्यसपछि परिवारका सबै सदस्य यही विश्वव्यापी खेतीमा चुर्लुम्मै डुब्यौँ ।
ल हेर्नूस्, मेरो घरमा डल्ला फुटाउने खेती सप्रिएको । छोरो सोफामा डल्लो परेर डल्ला फुटाइरहेको छ । छोरी ओछ्यानमा गुँडुल्किएर डल्ला फुटाइरहेकी छ । बहिनी तल्लो कोठामा लुकेर डल्ला फुटाइरहेकी छ । भाइ पल्लो कोठामा किताबले अनुहार छोपेर डल्ला फुटाउन व्यस्त छ । श्रीमती धिपधिपे आगोमा दाल बसालेर डाइनिङ टेबिलमा डल्ला फुटाइरहेकी छ । म डँडाल्नु कुप्रो पारेर सकी–नसकी डल्ला फुटाइरहेको छु । मरीतरी अहिलेसम्ममा १५ फोक्टा फुटाएँ । सुनेको छु, यो खेतीमा पूर्ण सफलता प्राप्त गर्न ६ सय फोक्टाका डल्ला फुटाइसक्नुपर्छ रे !
डल्ला फुटाउनेहरू कोही कसैसँग बोल्दैनन् । एकाग्र भएर डल्ला फुटाइरहन्छन् । बेलाबेला ‘ला’, ‘थुक्क’, ‘मरिजाओस्’, ‘लु खा’ भनेको र खेती बिग्रेकामा ‘खुइय्य’ गरेको सुनिन्छ, त्यत्ति हो । डल्ला फुटाउने श्रमिक शौचालयमा पसेपछि बाहिर निस्कन बिर्सन्छ । शौचले च्यापिरहेको श्रमिक शौचालय जानुपर्छ भन्ने कुरा बिर्सन्छ । डल्ला फुटाउँदा फुटाउँदै भान्सामा भात डढेर खरानी हुन्छ । दूध सुकेर कुराउनी हुन्छ । चियामा चियापत्तीको साटो बेसार पर्छ । चामलै नहाली पानीलाई मात्र सिटी लगाएर भात पकाइन्छ । दालमा चिनी हाले पनि सहिन्छ । केटाकेटीको स्कुल ढिलो हुन्छ । अफिसमा हाजिर छुट्छ । जे सुकै होस्, डल्ला फुटाउन छाडिँदैन । छाड्यो कि अरूले आफूलाई पछाडि छाडिहाल्छन् ।
अस्तिको कुरा, अस्पतालमा एउटी बूढी आमैसँग भेट भएको थियो । उनको एउटा आँखो अघिल्लो दिन मात्र अप्रेसन भएको रहेछ, बन्द थियो । एउटा आँखाले हेरेर पनि आमै ड्याङड्याङ डल्ला फुटाउँदै थिइन्। जँचाउने पालो कटिसक्यो, आमै घोत्लेको घोत्लेकै । नाति–नातिनाले डल्ला फुटाउने खेतीमा आमैलाई नराम्ररी सल्काइदिएछन् भन्ने लाग्यो ।
एक महिनाअघि मेरी भतिजीलाई डल्ला फुटाउँदै ट्याम्पु पर्खेर बसेको ठाउँमा गाईले हानेर लडाएछ । तीन दिन अस्पताल बस्नुप¥यो । अस्पताल बस्दा झन् उन्नति गरी, थप बीस फोक्टाका डल्ला फुटाई । बिरामी आमाका लागि जाउलो लिएर महाराजगन्ज अस्पताल हिँडेको भाइ डल्ला फुटाउँदा फुटाउँदै जोरपाटी पुगेछ । उता बुहारी कुरुवा बसेकी, सलाइन पानी सकिएर आमालाई खरो भइसकेछ, ऊ डल्ला फुटाउनमै व्यस्त। धन्य, छिमेकी ओछ्यानको बिरामीले देखेर बचाएछ ।
न माटो, न सिँचाइ, न मल, न बीउ, न गोरु, न डल्लेठो, केही नचाहिने । न घाममा सेकिनुप¥यो, न पानीमा भिज्नुप¥यो । खल्तीबाट मोबाइल झिक्यो, डल्ला फुटाउन थालिहाल्यो । होइन, यो ‘क्यान्डी क्रस’ भन्ने नाम गरेको डल्ला फुटाउने खेती कुनचाहिँ महामानवले आविष्कार गरेर संसारभरि छ्यापछ्याप्ती पारेछ गाँठे ?
अरू त त्यस्तै हो, घरमा आगो लाग्दा पनि डल्ला फुटाउने खेतीमै व्यस्त भएर कसैको पनि घरै ध्वस्तचाहिँ नहोस् है । निरोको बाँसुरीवादन जस्तो।
‘नेपाल’ साप्ताहिक
Subscribe
Login
0 Comments
Oldest






































