साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुर्दा बस्ती र नाङ्गाहरू

Nepal Telecom ad

मुर्दाहरूको बस्तीमा एकदिन कुरा उठ्यो– “होइन मुर्दा यत्ति चिसो किन हुन्छ हँ ? आखिर शरीर उही हो, हाडछाला उही हो । फेरि मुर्दा किन यस्तो चिसो हुने ?”
“प्राण–वायु खुस्केपछि मान्छे उही, शरीर उही, हाडछाला उही भए पनि मान्छे यस्तरी चिसो हुन्छ र मुर्दा कहलाइन्छ ।”
“प्राण–वायु हुँदा मान्छे, मान्छे हुने रे, प्राण–वायु फुस्केपछि त्यही मान्छे मुर्दा हुने रे ! यो त न्यायोचित भएन नि ।” नजिकैको एउटा मुर्दाले विरोध जनायो । तर उसको विरोध विरोधमै सीमित भयो कारण ऊ पनि त मुर्दा नै त थियो । फेरि पनि कुरा उप्केपछि चर्चा त हुनु नै थियो, त्यसै प्रसङ्गमा अर्कोले कुरा थप्यो– “होइन भन्या, प्राण–वायु फुस्के मात्र मान्छे मुर्दा हुने हो कि अन्य कुरा खुस्के पनि मुर्दा हुन्छ होला ? मेरो विचारमा प्राण–वायु फुस्केर मात्र मान्छे मुर्दा हुने त अवश्य होइन होला ।”
“चाहिने कुरा पो गर्नुपर्छ” अगाडिदेखि नै चिसिएर बसेको एउटा मुर्दा जङ्ग चलाउँदै करायो– “के कुरा गर्छन् यी ठेट्नाहरू !? प्राण–वायु भनेको प्राण–वायु हो । प्राण–वायु भइन्जेल मान्छेको शरीर तातो हुन्छ, न्यानो हुन्छ । प्राण–वायु भइन्जेल उसले जे गर्न पनि सक्छ । जे गर्न पनि मिल्छ । इमान, धर्म, राजनीति सबै प्राण–वायु छँदै हो । प्राण–वायु फुस्केपछि सबै फुस्क्यो । सबै खत्तम ।”

“होइन होला !” एकजनाले शङ्का व्यक्त ग¥यो ।
“के होइन ?” अघिल्लो मुर्दा जङ्गियो ।
“तिमीले भन्यौ प्राण–वायु फुस्केपछि सबै फुस्कियो । सबै सकियो । अब हामीले देख्या, भोग्या थिएनम् र ? हाम्रो प्राण–वायु नै नफुस्कँदा ताका पनि के के फुस्क्या थे के के ? त्यही फुस्केर त आज यी यसरी चिसो न चिसो भएर मुर्दा हुनुपर्या छ । त्यत्तिकै दर्शन छाँट्छ ।”
“के दर्शन छाँटे मैले ? उसले कड्किँदै भन्यो ।
“किन छाँटेनौ त ?” दोस्रोले स्पष्ट पार्दै भन्यो– “तिमीले नै प्राण–वायु फुस्केपछि सबै फुस्कन्छ भनेका होइनौ ? प्राण–वायु भनेको के हो र ? सबैभन्दा ठूलो इमान र धर्म हो । इमान र धर्म खुस्केपछि त्यो प्राण–वायु पनि फुस्कन्छ । प्राण–वायु भए पनि के नभए पनि के ? त्यही इमान, धर्म खुस्केर र खुस्केकाले गर्दा आज हामी यो गतिमा मुर्दा हुनुपर्या होइन ? बडो कुरा गर्छ ?”

उसले एकछिन कुरा बिसाँउदै फेरि भन्यो– “लौ लौ तिमी नै भन मान्छेमा इमान, नैतिकता र सच्चाधर्म भन्ने कुरा भैदिएको भए संसारमा आज शान्ति, धर्म र राजनीतिको नाममा मान्छेहरूका प्राण–वायु यत्तिबिग्न फुस्कन्थे ? ल ल भन त तिमी नै भन त ? के मान्छेको प्राण–वायु त्यो हावा भरिएको बेलुनजस्तो त्यस्सै त्यस्सै प्वाट्ट फुट्छ कि क्या हो ? त्यै इमान, धर्म हराएर फुट्या त हो नि ।”

“हेर न, हेर न यसले कुरा गरेको ! यसले कुरा गरेको हेरन !” अघिल्लो मुर्दाको चित्त बुझेन ।
“के हेर न, हेर न ? देखिनस् मुर्दाहरू ?” दोस्रोले जङ्गिदै भन्यो– “प्राणवायु फुस्केका मुर्दाहरू चिसा हुन्छन् । विरोधमा तिनले केही आवाज उठाउन सक्तैनन्, शरीर असक्त हुन्छ, निस्तेज हुन्छन्, त्यत्ति होइन ? प्राणवायु भएका मान्छेहरू पनि इमान, धर्म, नैतिकता र विवेक हराएपछि जीवितै भए पनि म¥यासमान हुन्छन् । तिनमा र हामीमा केही भिन्नता रहन्नन् र छैन पनि । तिनीहरूको शरीर तातो हुन्छ । हाम्रो शरीर चिसो हुन्छ । बस् त्यही भिन्नता त हो ? होइन भने, यदि तिनीहरूमा प्राण–वायु सञ्चार भैरहेकै हुन् भने तिनीहरू आपूmसमान अरूका लागि पनि आत्मरक्षा, प्राणरक्षाका लागि किन प्राणसञ्चार गर्न सक्तैनन् ? भनौँ न हामीले नै जीवित छँदा किन जीवन रक्षाका लागि केही गर्न सकेनौँ ? जीवित मान्छेहरू, कसैले नङग्याउँदा नाङिगएका छन् कसैले छोपिदिएर छोपिएका छन्, किन ? खै मान्छेमा आत्म–सम्मान ? खै मान्छेमा आत्मबल ? खै स्वाभिमान ? खै आत्मरक्षा ? खै खै ?”

“तिमीले ठीक भन्यौ यार !” एउटा ताजा मुर्दाले भावविह्रल हुँदै भन्यो– “हामी मुर्दा त मुर्दा नै भयौँ चाहे प्राण–वायु फुस्केर होस् चाहे आयु खुस्केर तर मान्छे नाङ्गिएर पनि मुर्दा हुन्छन् भन्ने त अनौठो नै भयो नि ?”
“के अनौठो ?” अर्का मुर्दाले प्रतिवाद गर्यो– “मुर्दाहरू सबै नाङ्गा नै त हुन्छन् । मुर्दाहरूलाई नाङ्गो हुनु र नहुनुको अन्तरविरोधको ज्ञान कहाँ हुछ ? अझ यसलाई यसरी भनौँ मुर्दालाई नाङ्गो हुनु र नहुनुसँग फरक नै के पर्छ ?”

“के कुरा गर्छ यार यसले ।” अघिल्लो मुर्दा बोल्यो– “फरक किन पर्दैन ? फरक त पर्छ नि । चाहे जीवित होस् चाहे मरेको, मुर्दालाई नाङ्गो हुनु र नहुनुमा फरक नपर्र्ने तर तातो र चिसोको मात्र अन्तर हुने हो भने जिउँदा मुर्दामा पनि नाङ्गो हुनु र नहुनुमा खासै भेद हुनु नपर्ने, तर यहाँ हजाराँैं लाखौँ महिला मात्र होइनन् सोझासाझा इमान्दार मान्छेहरू कतिपय नाङ्गा हुनुपर्ने कारणले नै मुर्दा हुन बाध्य भएका छन्, वा हुन परेका छन् । अब तिमी नै भन यो सरासर बेइमानी भएन ?”

“के कुरा गरेको तिमीले यार ?” नजिकैको मुर्दाले प्रतिवाद गर्दै भन्यो– “आज समाजमा पुरुष होस् वा महिला नाङ्गिएर मुर्दा भएको कहाँ हो यार ? तिनलाई त नैतिकता, इमान, धर्म र विवेक हराएका नाङ्गाहरूले जबरजस्ती नङ्ग्याई दिएर त्यही सहन नसकेर पो मुर्दा भएका हुन् अन्यथा समाजमा नाङ्गाहरूको कमी नै कहाँ छ ? राजनीतिमा हेर्छौ कि ? राजनीतिमा कतिसम्मका नाङगाहरू छन् ? कुर्सीका लागि, सत्तास्वार्थका लागि उनीहरू कत्तिसम्म नाङ्गिन सक्छन् भन्ने वर्तमान मात्र होइन इतिहास पनि छर्लङ्ग छ । अब धर्म र धर्मात्माहरूको चर्तिकला हेर्छौ कि ? तिमीलाई थाहै छ, मठ–मन्दिर र चिहानमा फरक छुट्याउनै गाह्रो भैसक्यो । चिहानमा मुर्दा गाडिन्छ, मठ–मन्दिरमा इमान, धर्म, सत्य, र आदर्शलाई देवी देवताको मूर्ति बनाएर गाडेका छन । धर्मको नाममा साम्प्रदायिक हत्या–हिंसाको नाङ्गो नाच नचाइरहेका छन् ? जहाँसम्म समाजका प्रतिष्ठित वर्गहरूको कुरा छ, बुद्धिजीवी बर्गको कुरा छ ती पनि कति पानीमाथि ओभानो छन् सबैलाई थाहै छ । पद, प्रतिष्ठा, सुरा र सुन्दरीका मामलामा ती कति हदसम्म नाङ्गिन र बिक्न सक्छन् घामजत्तिकै छर्लङ्ग छ । त्यसैले नाङ्गिएर मान्छे मरेका इतिहास दुर्लभ छन् । मानिसहरू आफू स्वभाविक रूपमा नाङ्गिएर होइनन् यिनै अस्वाभाविक, असामाजिक र अनैतिक आदर्शवादी नाङ्गाहरूद्वारा बाध्यतामा नङ्ग्याइएर मुर्दा भएका वा हुनपरेका हुन् । अर्को भाषामा भन्नुपर्दा जिउँदा मुर्दाहरूको बस्तीमा चिसा मुर्दा भएका वा हुनपरेका हुन् ।”

“छोडी दे यार यस्ता कुराहरू ।” एउटा मुर्दा फुस्फुसायो । “यार जे जसरी भए पनि मुर्दा भइहालियो । हिजो जीवित छँदा पनि मुर्दा नै थियौँ, आज प्राण–वायु फुस्केर पनि मुर्दा नै भयौँ । आखिर मान्छेको सभ्यता संस्कृति भनेकै मुर्दा संस्कृति त हो । त्यही भएर मानिस, आदीमकालको मुर्दा खोतलेर आफ्नो मुर्दा संस्कृतिलाई ब्यँुझाउन खोजिरहेको छ । आफू नाङ्गिएर नपुगी इतिहासलाई पनि नङ्ग्याउन खोजिरहेछ ।”

मुर्दाहरू बोल्दै थिए । चिसा हावाका झोकाहरू सिउँसिउँ गर्दै बहन थाले । मुर्दाहरू त्यसै पनि चिसा थिए, चिसो हावाका झोंक्काले झनै चिसा भए । मुर्दाहरूको बस्तीबाट उठेको चिसो मसिनो ध्वनि त्यो पनि चिसो सिरेटोसँगै विलिन भयो । मुर्दावस्ती साँच्चिकै मसान र चिहानमा परिणत भयो ।

पोखरा
‘फित्कौली’ अङ्क ८ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
0
Would love your thoughts, please comment.x
()
x