टिपनटापनदुईटा ठट्टा
संस्कार धान्ने जुक्ति
शेरेकी श्रीमती :
बिहान म तौलिया बेरेर बाथरुमबाट आउँदै थिए, एक्कासि हजुरको दाइ आइपुग्नुभयो ।
शेरे :
लौ मरिछे, अनि …. अनि के गरिस त ?
श्रीमती :
अनि के गर्नु नि हिजो अस्ति जे गर्थें त्यही गरेँ नि….! जेठाजु जस्तो मान्छे आउँदा… हत्त न पत्त तौलिया फुकालेर टाउको छोपेँ नि, ….म पनि कुल घरानकी छोरी पो हुँ त, अलिकति संस्कार त ममा पनि छ….!’
ट्रयाक्टर चालक गाई
पूर्व कृषि तथा सहकारीमन्त्री मृगेन्द्र कुमारसिंह यादव कुनै जमानामा किसान थिए । कुरा त्यतिबेलाको हो । उनको गाईले साँढे खोज्यो । पल्लोगाउँमा एउटा बीउ साँढे छ भन्ने सुने । संयोगले त्यो साँढे भएको व्यक्ति मन्त्रीजीकै साथी रहेछ । मन्त्रीजीले गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे । धेरै वर्षपछि भेट भएका साथी, खानपिन भयो । उता साँढे र गाईको पनि प्रेमालाप भयो । बेलुकी फर्किने बेला गाईलाई ट्रयाक्टरमा हालेपछि मन्त्रीजीले साथीलाई सोधे, ‘साँढे त लगाइयो, तर गाई भर्ना भए नभएको कसरी थाहा पाउने ?’
‘बिहान गोठमा जानू, गाई भुइँमा बसेर उघ्राइरहेको छ भने भर्ना भयो भन्ने बुझ्नू, उफ्रिँदै कराइरहेको छ भने भर्ना भएन भन्ने बुझ्नू । त्यसो भएछ भने गाईलाई फेरि यहीँ लिएर आउनू ।’ साथीले यति बताएपछि मन्त्रीज्यूले गाई लिएर घर गए ।
भोलिपल्ट गाई गोठमा उफ्रिरहेको थियो । मन्त्रीज्यूले तुरुन्त गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा पुर्याइहाले । साँढे लगाएपछि गाई लिएर मन्त्री फर्किए ।
अर्को दिन पनि गाई उफ्रिरहेको थियो । त्यस दिन पनि गाईलाई ट्रयाक्टरमा हालेर साथीकोमा लगे मन्त्रीले ।
यसरी सात दिन बिते ।
आठौँ दिनको दिन फर्किने बेला साथीले मन्त्रीज्यूलाई भने, ‘आज चैँ पक्का भयो । भोलि गाई उफ्रिएको हुँदैन । बसेर उघ्राइरहेको हुनेछ ।’
भोलिपल्ट बिहानै मन्त्रीज्यूकी श्रीमतीले उनलाई ब्युँझाइन् र अत्तालिँदै भनिन्– ‘गाई…गाई ।’
मन्त्रीज्यूले आँखा मिच्दै भने, ‘गाई बसेर उघ्राइरहेको छ होइन ?’
‘केको उघ्राउनु नि !’ श्रीमती बोलिन्– ‘गाई त आफैं ट्रयाक्टर चढेर हर्न बजाउँदै छ ।’
Subscribe
Login
0 Comments
Oldest






































