विमल निभाघोडा बीचमा आयो
वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई सुस्त टाइपको प्रधानमन्त्रीको एउटा विलकुलै नमागिएको सार्वजनिक पदवी प्राप्त भएको छ । यो सामयिक विशेषण ठीकै भए तापनि उनलाई के मान्य होला र ? तर आफ्नो सुस्तताजनित आलस्यले गर्दा केही भनिरहेका छैनन् । बालुवाटारको नरम–नरम इम्पोर्टेड गद्दामा मस्तले निदाउन छाडेर को व्यर्थको झन्झट–सन्झट गरिरहोस् ? हो, प्रधानमन्त्रीज्यूको यही सर्वथा मौलिक स्टाइलले आकर्षित भएर म आज केही लेख्न बसेको छु ।
जब हाम्रो प्रधानमन्त्री ज्यूको प्रधानमन्त्री नभइसकेको अवस्था विद्यमान थियो, त्यसबखत उनी एक सङ्क्षिप्त काङ्ग्रेसी वृत्तमा एउटा इमानदार भनेर चिनिन्थे । खास गरेर भूतपूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पछिल्लो प्रधानमन्त्रीत्व कालमा (आखिरीका दुई पिरियड) । त्यसबखत गिरिजाबाबु थरी–थरीका काँग्रेसी एवं गैरकाँग्रेसी बेइमानहरूबाट घेरिएर बसेका हुन्थे । लाउडा–साउडा काण्डहरू यसका ऐतिहासिक साक्षी रहेका छन् । तत्कालीन अर्थात् गिरिजा बाबुकालीन बेइमानहरूमध्ये एक इमानदार भने टडकारै दृष्टिगोचर हुन्थ्यो । र त्यो एक थान इमानदार अरु कोही नभएर यही हाम्रा हालका प्रधानमन्त्री सुशील कोइराला थिए । याने हुन् ।
अहिले प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनासाथ उनै इमानदार अर्थात् आजका प्रधानमन्त्रीज्यू एक सुस्त प्रधानमन्त्री भनेर कहलिन थालेका छन् । यो हठात् पाइएको नयाँ विशेषणले उनको तमाम इमानदारितालाई ओझेलमा पारेर सुस्ततालाई सतहमा ल्याएको छ । फलस्वरुप कोही पनि इमानदारिताको उल्लेख गरिरहेको छैन । सबै सुस्ततामाथि चर्चा गर्न मस्त तथा व्यस्त छन् । यो सुस्तताले इमानदारितामाथि घोडचढी गरेको स्पष्ट स्थिति हो । अर्काे शब्दमा इमानदार घोडा सुस्त सवार भन्नोस् । –एउटा मिल्दोजुल्दो उदाहरण) । यस्तोमा सुस्त सवारले आफ्नो हातमा थामेको लगामयुक्त घोडा कहाँसम्म पुग्नेछ, यो अनुमान लगाउनु कठिन हुन्छ । सायद केही परसम्म जानेछ कि ? विकल्पमा एउटा अर्काे अवस्था पनि हुनसक्छ । मेरो भन्नु के हो भने घोडा कतै नपुग्ने पनि त हुन सक्नेछ ! कुनै प्राणहीन घोडासरह त्यहींको त्यहीं खडा रहन पनि त सक्छ ! जस्तै– कागजको घोडा, मोमको घोडा, काठको घोडा, प्लाष्टिकको घोडा, टिनको घोडा, आलमुनियमको घोडा इत्यादि । यस्ता सास नभएका मुर्दा घोडाहरू केवल शोभाका निम्ति तयार गरिएका हुन्छन् । स–साना बालबालिकाहरूका फुर्सदको खेलका लागि पनि यी घोडाहरू उपयोगी हुन्छन् । यसमा अन्तर केसम्म हुन्छ भने यस्ता घोडालाई चलाउन दुवै कान समातेर दम दिनुपर्ने हुन्छ ।
(दमदार घोडा) । मैले एभरेडी व्याट्रीले टकटकटक….विस्तारै दगुर्ने नक्कली घोडा पनि देखेको छु । सबै घोडाहरू असली कहाँ हुन्छन् र !
अलिकति विषयान्तर भएकोले क्षमाप्रार्थी हुँदै म मूल विषयमा आउँछु । मेरो विषय घोडा होइन । चाहे त्यो प्राणवान घोडा होस् या प्राणहीन । म त हाम्रो प्रधानमन्त्रीज्यूमाथि लेखिरहेको छु । सुस्त प्रधानमन्त्रीको विषयमा । एकाएक घोडा बीचमा आयो । त्यस उसले मेरो लेखनमा अनियन्त्रित रूपले आइपुगेको घोडालाई सरक्क पन्छाएर म सुस्तताकै कुरा कहन्छु । अर्थात् सुस्त प्रधानमन्त्रीज्यूको । यो सुस्तताको गाइँगुइँले आकार वृद्धि गरी होहल्लाको स्वरुप लिएपछि बल्ल प्रधानमन्त्री सुशील कोइराला निकटका काँग्रेसीहरूलाई त्यो अतीतको गोदाममा बन्द इमानदारिताको स्मरण भएको छ । अतएव कसैसँग साक्षात्कार हुनासाथ यताउता पल्याकपुलुक हेरेर सावधानीपूर्वक यसो भन्न थालेका छन्– “हेर्नाेस्, हाम्रो प्रधानमन्त्रीज्यू सुस्त भए पनि एक इमानदार प्रधानमन्त्री हुन् ।”
“यो त डेटएक्सपायर पुरानो कुरो भएन र ?” एक दिन म आफ्नो प्रतिपक्षीय बानीअनुसार प्रतिवादमा ओर्लिएँ ।
“होइन–होइन, अहिले पनि उनी एक इमानदार नै हुन् ।”
“साँच्चै हो र ?”
“एकदमै हो नि !” म अघि उभिएका काँग्रेसी बेस्सरी पड्किए, “तपाईलाई किन शंका लागेको हो ?”
काँगेरसी बन्धुको भयङ्कर क्रोधले हाम्रो संवादको समाप्ति भएको थियो । यता केही दिनदेखि (लगभग दुई सप्ताह) प्रधानमन्त्री सुशील कोइराला उनकै पार्टीका केही खराँट काँग्रेसीहरूले भने बमोजिम एक इमानदार सुस्त भएका छन् । अथवा सुस्त इमानदार भन्नोस् । गाँठी कुरो उही हो । तर होइन, यहाँ यो खुट्याउनु आवश्यक हुनजान्छ, उनी पहिले इमानदार हुन् या सुस्त ? यो त प्रस्टै छ नि ! उनी निःसन्देह पहिले इमानदार नै हुन् । तर यो त उनी प्रधानमन्त्री नभइसकेको बेलाको यथार्थ होइन र ? म त आजको कुरा गर्न खोजिरहेको छु । अहिले त उनी पहिले सुस्त भए, त्यसपछि सुस्ततामा सुस्तरी इमानदारिता ल्याएर जोडिएको हो । यही सही हो । त्यसकारण प्रधानमन्त्रीज्यूलाई एक सुस्त इमानदार नै भन्नुपर्ने हुन्छ । मतलव, सुस्त किन्तु इमानदार प्रधानमन्त्री सुशील कोइराला । यही सिलसिलामा एउटा अर्काे खुलदुली मेरो मनमा उत्पन्न भएको छ । र त्यो के भने उनी सुस्त भएकाले इमानदार भएका हुन् या इमानदार भएकाले सुस्त ? यो (एक–जोर) जिज्ञासारूपी प्रश्नको उत्तर कसले दिने ? हिसाबले त स्वयम् प्रधानमन्त्रीज्यूले नै मेरो जिज्ञासाको समाधान गरे उत्तम हुनेछ । तर सुस्तताले यो सम्भव हुने देखिँदैन । तसर्थ उनको छेउछाउ झुम्मिने चेलाचपाटीहरूले जवाफको अग्रसरता लिए पनि मलाई केही फरक पर्ने छैन ।
इमानदार र सुस्तजस्तै केही अन्य विशेषण महामानव, सर्वमान्य र सन्तनेता पनि नेपाली काँग्रेस पार्टीको विशाल सङ्ग्रहणमा रहेको छ । यिनीहरूका प्रभावकारिता अत्यन्तै रोचक रहेको काँग्रेसी इतिहासले बताउँँछ । उदाहरणका लागि विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भनी कहिल्यै पनि मानव बन्न दिइएन । र सर्वसम्मत ढंगले सर्वमान्य बनाइएका गणेशमान सिंहलाई अन्तिम समयमा काँग्रेसीहरूले पार्टीविहीन पारी मान्न नै छाडेका थिए । जहाँसम्म कृष्णप्रसाद भट्टराईको कुरो छ, उनलाई सन्तनेता–सन्तनेता भनेर अन्ततः नेपाली काँग्रेस पार्टीले आश्रममा पुर्याएरै छाडे । कुन्नि, हाम्रा सुस्त किन्तु इमानदार प्रधानमन्त्री सुशील कोइरालाको आखिरी परिणति के हुनेछ !
‘कान्तिपुर’ २०७१ जेष्ठ १७
Subscribe
Login
0 Comments
Oldest







































