साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घोडा बीचमा आयो

Nepal Telecom ad

वर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई सुस्त टाइपको प्रधानमन्त्रीको एउटा विलकुलै नमागिएको सार्वजनिक पदवी प्राप्त भएको छ । यो सामयिक विशेषण ठीकै भए तापनि उनलाई के मान्य होला र ? तर आफ्नो सुस्तताजनित आलस्यले गर्दा केही भनिरहेका छैनन् । बालुवाटारको नरम–नरम इम्पोर्टेड गद्दामा मस्तले निदाउन छाडेर को व्यर्थको झन्झट–सन्झट गरिरहोस् ? हो, प्रधानमन्त्रीज्यूको यही सर्वथा मौलिक स्टाइलले आकर्षित भएर म आज केही लेख्न बसेको छु ।

जब हाम्रो प्रधानमन्त्री ज्यूको प्रधानमन्त्री नभइसकेको अवस्था विद्यमान थियो, त्यसबखत उनी एक सङ्क्षिप्त काङ्ग्रेसी वृत्तमा एउटा इमानदार भनेर चिनिन्थे । खास गरेर भूतपूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पछिल्लो प्रधानमन्त्रीत्व कालमा (आखिरीका दुई पिरियड) । त्यसबखत गिरिजाबाबु थरी–थरीका काँग्रेसी एवं गैरकाँग्रेसी बेइमानहरूबाट घेरिएर बसेका हुन्थे । लाउडा–साउडा काण्डहरू यसका ऐतिहासिक साक्षी रहेका छन् । तत्कालीन अर्थात् गिरिजा बाबुकालीन बेइमानहरूमध्ये एक इमानदार भने टडकारै दृष्टिगोचर हुन्थ्यो । र त्यो एक थान इमानदार अरु कोही नभएर यही हाम्रा हालका प्रधानमन्त्री सुशील कोइराला थिए । याने हुन् ।

अहिले प्रधानमन्त्रीको कुर्सीमा आसिन हुनासाथ उनै इमानदार अर्थात् आजका प्रधानमन्त्रीज्यू एक सुस्त प्रधानमन्त्री भनेर कहलिन थालेका छन् । यो हठात् पाइएको नयाँ विशेषणले उनको तमाम इमानदारितालाई ओझेलमा पारेर सुस्ततालाई सतहमा ल्याएको छ । फलस्वरुप कोही पनि इमानदारिताको उल्लेख गरिरहेको छैन । सबै सुस्ततामाथि चर्चा गर्न मस्त तथा व्यस्त छन् । यो सुस्तताले इमानदारितामाथि घोडचढी गरेको स्पष्ट स्थिति हो । अर्काे शब्दमा इमानदार घोडा सुस्त सवार भन्नोस् । –एउटा मिल्दोजुल्दो उदाहरण) । यस्तोमा सुस्त सवारले आफ्नो हातमा थामेको लगामयुक्त घोडा कहाँसम्म पुग्नेछ, यो अनुमान लगाउनु कठिन हुन्छ । सायद केही परसम्म जानेछ कि ? विकल्पमा एउटा अर्काे अवस्था पनि हुनसक्छ । मेरो भन्नु के हो भने घोडा कतै नपुग्ने पनि त हुन सक्नेछ ! कुनै प्राणहीन घोडासरह त्यहींको त्यहीं खडा रहन पनि त सक्छ ! जस्तै– कागजको घोडा, मोमको घोडा, काठको घोडा, प्लाष्टिकको घोडा, टिनको घोडा, आलमुनियमको घोडा इत्यादि । यस्ता सास नभएका मुर्दा घोडाहरू केवल शोभाका निम्ति तयार गरिएका हुन्छन् । स–साना बालबालिकाहरूका फुर्सदको खेलका लागि पनि यी घोडाहरू उपयोगी हुन्छन् । यसमा अन्तर केसम्म हुन्छ भने यस्ता घोडालाई चलाउन दुवै कान समातेर दम दिनुपर्ने हुन्छ ।

(दमदार घोडा) । मैले एभरेडी व्याट्रीले टकटकटक….विस्तारै दगुर्ने नक्कली घोडा पनि देखेको छु । सबै घोडाहरू असली कहाँ हुन्छन् र !

अलिकति विषयान्तर भएकोले क्षमाप्रार्थी हुँदै म मूल विषयमा आउँछु । मेरो विषय घोडा होइन । चाहे त्यो प्राणवान घोडा होस् या प्राणहीन । म त हाम्रो प्रधानमन्त्रीज्यूमाथि लेखिरहेको छु । सुस्त प्रधानमन्त्रीको विषयमा । एकाएक घोडा बीचमा आयो । त्यस उसले मेरो लेखनमा अनियन्त्रित रूपले आइपुगेको घोडालाई सरक्क पन्छाएर म सुस्तताकै कुरा कहन्छु । अर्थात् सुस्त प्रधानमन्त्रीज्यूको । यो सुस्तताको गाइँगुइँले आकार वृद्धि गरी होहल्लाको स्वरुप लिएपछि बल्ल प्रधानमन्त्री सुशील कोइराला निकटका काँग्रेसीहरूलाई त्यो अतीतको गोदाममा बन्द इमानदारिताको स्मरण भएको छ । अतएव कसैसँग साक्षात्कार हुनासाथ यताउता पल्याकपुलुक हेरेर सावधानीपूर्वक यसो भन्न थालेका छन्– “हेर्नाेस्, हाम्रो प्रधानमन्त्रीज्यू सुस्त भए पनि एक इमानदार प्रधानमन्त्री हुन् ।”

“यो त डेटएक्सपायर पुरानो कुरो भएन र ?” एक दिन म आफ्नो प्रतिपक्षीय बानीअनुसार प्रतिवादमा ओर्लिएँ ।
“होइन–होइन, अहिले पनि उनी एक इमानदार नै हुन् ।”
“साँच्चै हो र ?”
“एकदमै हो नि !” म अघि उभिएका काँग्रेसी बेस्सरी पड्किए, “तपाईलाई किन शंका लागेको हो ?”

काँगेरसी बन्धुको भयङ्कर क्रोधले हाम्रो संवादको समाप्ति भएको थियो । यता केही दिनदेखि (लगभग दुई सप्ताह) प्रधानमन्त्री सुशील कोइराला उनकै पार्टीका केही खराँट काँग्रेसीहरूले भने बमोजिम एक इमानदार सुस्त भएका छन् । अथवा सुस्त इमानदार भन्नोस् । गाँठी कुरो उही हो । तर होइन, यहाँ यो खुट्याउनु आवश्यक हुनजान्छ, उनी पहिले इमानदार हुन् या सुस्त ? यो त प्रस्टै छ नि ! उनी निःसन्देह पहिले इमानदार नै हुन् । तर यो त उनी प्रधानमन्त्री नभइसकेको बेलाको यथार्थ होइन र ? म त आजको कुरा गर्न खोजिरहेको छु । अहिले त उनी पहिले सुस्त भए, त्यसपछि सुस्ततामा सुस्तरी इमानदारिता ल्याएर जोडिएको हो । यही सही हो । त्यसकारण प्रधानमन्त्रीज्यूलाई एक सुस्त इमानदार नै भन्नुपर्ने हुन्छ । मतलव, सुस्त किन्तु इमानदार प्रधानमन्त्री सुशील कोइराला । यही सिलसिलामा एउटा अर्काे खुलदुली मेरो मनमा उत्पन्न भएको छ । र त्यो के भने उनी सुस्त भएकाले इमानदार भएका हुन् या इमानदार भएकाले सुस्त ? यो (एक–जोर) जिज्ञासारूपी प्रश्नको उत्तर कसले दिने ? हिसाबले त स्वयम् प्रधानमन्त्रीज्यूले नै मेरो जिज्ञासाको समाधान गरे उत्तम हुनेछ । तर सुस्तताले यो सम्भव हुने देखिँदैन । तसर्थ उनको छेउछाउ झुम्मिने चेलाचपाटीहरूले जवाफको अग्रसरता लिए पनि मलाई केही फरक पर्ने छैन ।

इमानदार र सुस्तजस्तै केही अन्य विशेषण महामानव, सर्वमान्य र सन्तनेता पनि नेपाली काँग्रेस पार्टीको विशाल सङ्ग्रहणमा रहेको छ । यिनीहरूका प्रभावकारिता अत्यन्तै रोचक रहेको काँग्रेसी इतिहासले बताउँँछ । उदाहरणका लागि विश्वेश्वरप्रसाद कोइरालालाई महामानव भनी कहिल्यै पनि मानव बन्न दिइएन । र सर्वसम्मत ढंगले सर्वमान्य बनाइएका गणेशमान सिंहलाई अन्तिम समयमा काँग्रेसीहरूले पार्टीविहीन पारी मान्न नै छाडेका थिए । जहाँसम्म कृष्णप्रसाद भट्टराईको कुरो छ, उनलाई सन्तनेता–सन्तनेता भनेर अन्ततः नेपाली काँग्रेस पार्टीले आश्रममा पुर्याएरै छाडे । कुन्नि, हाम्रा सुस्त किन्तु इमानदार प्रधानमन्त्री सुशील कोइरालाको आखिरी परिणति के हुनेछ !

‘कान्तिपुर’ २०७१ जेष्ठ १७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x