साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पशु र मान्छे

Nepal Telecom ad

मासु खान मिल्ने जनावरलाई पशु भनिन्छ भनेर मेरो परममित्र पिलन्धरप्रसादले तर्क गर्दा मैले टाउको फर्काएँ । मेरो टाउको फर्किएको देखेर पिलन्धर झर्किएर बोल्यो–‘कुनै पशु छ मासु खान नमिल्ने ?’ ऊ त्यसरी जर्किएपछि मलाई तर्किन मिलेन । ‘मान्छे के हो त ?’ मैले उसको मुख टाल्न खोजेँ । उसको दिमागमा कुरोको चुरो नघुसेपछि मैले फेरि मुख फोरेँ–‘मान्छेको मासु खान मिल्छ त ?’ आँखाको ढक्कन अझ जोडले उघार्दै उसले धम्क्यायो–‘तँ को होस् मान्छेलाई पशुसँग तुलना गर्ने ?’ ऊ बेलामा धुरन्धरसँग त नधम्किएको मान्छे यो बेलामा पिलन्धरसँग धम्किने त कुरै भएन । मैले पनि झन् ठूलो स्वरमा चिच्याएँ– ‘म पनि तँ जस्तै मान्छे नामको पशु त हुँ नि !’ आफूलाई समेत पशु बनाइदिएको झोँकमा उसले आफ्नो नाकको पोरा त फुलायो तर मुख भने खुलाएन । 

उसलाई छर्लङ्ग पार्ने उद्देश्यले उसको तुर्लुङ्ग परेर झुन्डिएको चिउँडो समाएर आफूतिर तान्दै फलाक्न थालेँ–“हेर बाबु ! मान्छे र पशुमा माखाको टाउको जति पनि फरक छैन । पहिलो कुरो त मान्छे पनि सजीव र पशु पनि सजीव । तर दुईवटै सजीव भए पनि आ–आफ्नो कार्यप्रणालीमा अजीव–अजीव व्यवहार प्रस्तुत गर्ने भएकोले सामान्य गणितले झ्वाट्ट हेर्दा फरक जस्तो लाग्नु स्वाभाविकै हो तर भित्री रुपमा गढेर हेर्ने हो भने पशुभन्दा मान्छे झन् सडेर गएको देख्न सकिन्छ । पशुले समेत गर्न लाज मान्ने व्यवहार मान्छेले बारम्बार गर्न थालेपछि मान्छेलाई पशु भन्दाखेरि तँलाई आपत्ति किन ? अझ अर्को कुरो मान्छेलाई कुकुर, गधा, भेडा, बोका, स्याल, गिद्ध, बाँदर, गोरु भन्नलाई कानुनले समेत नरोकेपछि पशु भन्नलाई कुनचाहिँ संविधानले छेक्छ त ? अब त झन् राजाको समेत बाजा बज्ने संविधान बन्न लागेको बेलामा मान्छेलाई पशु भन्न पनि नपाइएला कि भन्ने त कुरै भएन । मेरो त अझ एउटा तर्क के छ भने, मान्छेलाई पशु भन्न पाइएपछि पशुलाई पनि मान्छे भन्दिए के बिग्रिएला र ! आखिर व्यवहार र बुद्धि, औकात र हैसियत बराबर हुन थालेपछि हात्तीछाप चप्पल र हात्ती जस्तै भएन त ! X=3 / Y=3 भएपछि X=Y भन्न मिल्यो कि मिलेन ? त्यसैले अब नयाँ संविधान बनाउँदा प्राकृतिक रुपमै असमान चीजहरुलाई समेत समान भनेर उल्लेख गरिदिने भएपछि हरकुरामा समान यी दुई जाति ‘मान्छे’ र ‘पशु’लाई किन जातीय विभेद गर्ने ? अबदेखि मान्छेलाई पशु पनि भन्न पाउने र पशुलाई मान्छे पनि भन्न पाउने व्यवस्था गर्नुपर्छ । त्यति भएपछि ‘यसले मलाई पशु भन्यो कसो गरुँ ?’ भन्न पनि नपर्ने, मनखुसी कुकुर, गधा, भेडा, बोका, स्याल, गिद्ध, बाँदर, गोरु भन्न पनि पाइने । त्यतिमात्र हो र ! कुनैपनि पशुसँग रिस उठ्यो भने ‘थुक्क मान्छे !’ भन्दै गाली गर्न पनि पाइने । क्या स्वाद !

अझ ढुक्कको कुरो त सबै दलका हरुवा, छेरुवा र पानीमरुवा नेताहरुसँग यस विषयमा मेरो कुरो समेत भैसकेको स्थिति छ । उहाँहरु प्नि यस कुरामा सकारात्मक हुनुहुन्छ । छयालीस सालपछि संसदखोर छिरेका अधिकांशले पशुको व्यवहार गर्दिएपछि लोकतान्त्रिक परिपाटी अनुरुप वहुमतको हिसाबले सम्पूर्णलाई पशु भन्नैपर्ने बाध्यता हुन आउने कुरामा सबै दलका शीर्षनेताहरु प्रस्ट हुनुहुन्छ । त्यसै हिसाबले पनि अब नयाँ संविधान बनाउनका लागि चुनिएकाहरुलाई समेत पशु भन्नुपर्ने बाध्यता हुनसक्छ भन्ने मेरो तर्कमा उहाँहरुले संयुक्त बैठक बसेर छलफल गरिसकेपछि बताउने जनाउनु भएको छ । तर अब आइन्दा पशुजस्तो व्यवहार नगरेमा के गर्ने त ? भन्ने प्रश्न पनि खडा हुनसक्छ । सम्भावना माखाको टाउको जति भएपनि सोच्नुपर्ने चाहिँ छ है ! उपर्युक्त सम्बन्धमा मेरो सुझाव के छ भने, अहिलेलाई पशु भन्न पाइने भनेर संविधानमा उल्लेख गर्दिने र पछि त्यस्तो व्यवहार नभएमा तुरुन्त संशोधन गरेर सच्याउने भन्ने प्रावधान राख्ने । त्यसो गर्दिएपछि तत्काललाई ‘पशु’ र ‘मान्छे’मा विभेद पनि नहुने र संविधानमा धारा पनि पुग्ने । संविधानमा उल्लेख गर्दिने कुरो त हो नि ! उल्लेख गर्दिनलाई कसको बाउले के बिगार्छ र ? संविधानमा लेखिएको कुरो व्यवहारमा सर्लक्कै उतार्नुपर्छ भन्नेकुरो संविधानबाटै भूमिगत गराइदिएपछि त कुरो मिलिहाल्यो नि ! त्यसमाथि हामी नेपालीलाई संविधान संशोधन भन्नेकुरो त हिन्दी टेलिशृङ्खलामा आइमाईहरु पोइला गएझैँ त हो नि ! के को आइतबार ! मान्छेलाई पशु भन्नका लागि त्यही अनुसारको संविधान बनाउँला अनि फेरि पशुलाई मान्छे भन्न मन लागे तुरुन्तै संविधान संशोधन गरौँला हुँदैन ?”

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०६७) बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x