साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ नेपाल बनाउने

Nepal Telecom ad

सबैजना नयाँ नेपाल बनाउने भनेर कम्मर कसेर लागे । पुराना संरचनाहरू भकाभक र भटाभट भत्काउन थाले । पुरानो मालिक बनेर राखिएका शालिकहरू तीललौरी भाँच्नुको ठीकले भाँचे । सडक भरि–थरि जनताहरू उफ्रेर नाचे । मलाई पनि अब नेपालमा के के न हुने भो भनेर हर्ष लाग्यो । एक किसिमले नाचूँ–नाचूँ फुर्कूं –फुर्कूं भँुडीभित्रैदेखि कुत्कुती लागेर आयो । दोहोरी गीत क्यासेट बजाएर, ओहोरी–ओहोरी भन्दै आँगनमा नाचेँ । सिसाकलम जस्तो मेरो ज्यान, कम्मर मर्काई–मर्काई तीन ठाउँमा भाँचेँ । खान नपाउनेले खाना, लाउन नपाउनेले नाना, घर नहुनेले छाना, मतलव गाँस–बास–कपासको राम्रो बन्दोवस्त हुनेभो भन्ने लाग्यो ।

कसैले राजतन्त्र मासेर प्रजातन्त्र ल्याउने, कसैले लोकतन्त्र स्थापना गर्ने भने । कसैले जनतन्त्र–गणतन्त्र, स्वतन्त्र के के भने के के, जोसुकैले जेसुकै तन्त्र ल्याए पनि नेपालीको लागि नेपालीले ल्याउने तन्त्र, सुखै–सुख पाउने तन्त्र–मन्त्र त होला नि भनेर दङ्ग परेँ । त्यसमािथ नयाँ नेपाल बनाउने सपना देखाएपछि त झन, झिनो तन खिएको मन खुशी र आल्हादित नहुने त कुरै भएन । तर आजभोलि संझेर ल्याउँदा पो होइन रहेछ भन्ने लाग्न थालेको छ । नत्र नयाँ नेपाल बनाउने भनेको धेरै समय व्यथित भैसक्यो, खै त नयाँ नेपालको खाका कोरिएको ? यिन ताकासम्म त केही न केही सिस्टम देखिनुपर्ने होइन र …?

नयाँ नेपालको नक्सा कसरी कोरिन्छ खै ? सँधै दुई ढुङ्गा तरुल न हो, जहिले पनि चेप्टाको चेप्टै, सप्रिने मौका, कहिल्यै पाउने होइन । अरु पुराना संरचनाहरू भत्काए पनि शालिकहरू भाँचेकोमा चाहिँ मेरो चित्त पटक्कै बुझेको छैन । हुन त मेरो चित्र दुःखे पनि, पित्त पग्ले पनि अरुलाई के नै हुन्छ र तैपनि । जुनबखत देशकाल परिस्थितिअनुसार उपयुक्त थियो होला राखे । अहिले आएर फ्याँके, परिस्थिति बदलिँदा सुहाएन होला त्यो म मान्दछु । तर के भावी सन्ततिलाई देखाउन, राम्रो र नराम्रोको उदाहरण दिन काम लाग्थ्यो नि होइन र ….!

अर्को चित्त नबुझेको कुरा, नाम फेर्ने धुन र घिन् बदल्ने कुराको लहर पनि हो । जुन कुरा बदल्न अति आवश्यक छ । त्यही कुरा मात्र मच्याइरहनुप¥यो । खुरु–खुरु बदले त भै हाल्यो नि, किन हल्ला र खल्ला ? त्यही कुरा मात्र अनर्थ भयो भने मज्जा भो र… । महेन्द्ररत्न क्याम्पस, महेन्द्र पुल, त्रिभुवन राजपथ, त्रिचन्द्र क्याम्पस, त्रि.वि.वि., जुद्ध बारुणयन्त्र, रत्नपार्क जस्ता नामहरूले हामीलाई अल्झाउने–बिझाउने, घोच्ने–पोल्ने, ठेल्ने–पेल्ने काम त गर्न सक्दैन होला । चिन्हहरू पनि पूरै बदलेर हुन्छ कि, हेरफेर मात्र गरेर पुग्छ, राम्रो र आकर्षक देखिए त भै हाल्यो नि । कसैले योभन्दा त पुरानै राम्रो थियो भन्ने मौका कदापि नपाउन् बस त्यति हो । गीतहरू पनि नयाँ हलचल मच्चाउनुभन्दा एकफेर पुरानाहरूलई अवलोकन गरेको भए हुन्थ्यो कि ?

जे जे तन्त्र ल्याए पनि, जेसुकै नयाँ बनाए पनि, नयाँ नेपाल चाहिँ बन्ला जस्तो छैन । म ठोकेर भन्न सक्छु । सांसद र विधायिकाहरू थपिँदैमा र मन्त्रीहरू हेरफेर गर्दैमा कहाँ बन्छ र नयाँ नेपाल ? कर्मचारीहरू उही र उस्तै छन् । स्टाफ धेरै, काम थोरै, आम्दानी नहुनेहरूले तालाबन्द र आन्दोलन गर्न छाडेका छैनन् । शिक्षक र विद्यार्थी उही हुन् । व्यापारीहरू तिनै हुन् । भोगोलिक स्थिति उही, डाँडाकाँडा पाखापखेरा, जनताको मानसिकता बदलिएको छैन । समस्या र चाहा जिउँका तिउँ छन् । सबभन्दा ठूलो कुरा मानसिकता हो, मानिसको मानसिकता नबदलिएसम्म नयाँ नेपालको कल्पना पनि नगरे भो ? खाँटी लोकतन्त्रमा गल्ति गर्नेलाई गोर्खेलौरी कस्न र जेलनेल ठोक्न पाइन्न क्यारे… ।

यहाँ त लोग्ने पाइँन भन्न पनि हडताल, स्वास्नी पाइँन भन्न पनि चक्काजाम, मान्छे थिचे पनि तालाबन्द, मुसा किचे पनि नेपालबन्द । सरकार पनि उस्तै छ । आफूले जानेर गर्नुपर्ने काम अर्काले भनी भनिदिँदा समेत कानमा तेल हालेर बस्छ । जे गर्दा पनि नसुनेपछि हडताल नगरेर पनि के गरून् । अति भएपछि हडताल र बन्द सुरु हुन्छ, अनि मात्र बल्ल सुनेर बार्ता गर्ने कुरा गर्छ के गर्नु ?

यो चक्का जाम र बाटो बन्द त अरु कुराले भन्दा पनि सडक दुर्घटनामा, गाडी ब्याक गरेर मारेको कारणले भएको खबर सुन्दै आएको एक जुग बित्यो । यसमा नयाँ कानुन बनाउन सकिँदैन कि क्या हो कुन्नि ? सकिने भए भविष्यमा यति जरिबाना, जानी–जानी गरे यति जरिबाना, यति कैद भनेर किटान गर्न सक्नुपर्ने हो । खलाँसीले चलाउँदा यति ड्राइभरले चलाउँदा यति, घाइते भएमा यति, हातगोडा–आँखा कान सबै पार्टपुर्जाको मूल्य तोक्न सकिन्छ नि होइन र ! फेरि नेपालको बीमा संस्था पनि उस्तै छ, पैसो सोर्न प¥यो भने चाहिँे माउसुलीले झिँगा वा गोहीले मृग झम्टेझैँ भम्टिने, ढुकुटी फोर्न प¥यो भने चाहिँ बाबु मरे जतिकै गर्ने । हुन त हेरी ल्याए नेपालको सङ्घ–संस्थाहरू सबै उस्तै हुन् । गुठी र संस्थान, खानेपानी संस्थान, वायुसेवा निगम– आयल निगम, यातायात संस्थान, दुग्ध संस्थान, दूर सञ्चार– विद्युत प्राधिकरण कुन चाहिँ संस्थान गतिलो छ र… । घाटा बजेट भन्छन्, वोनसको पनि वोनस चेट ।

विद्युत प्राधिकरणको त झन कुरै बेग्लै छ । खोला थुनेर पानीले दही जमाउँछन् । पानीको मही पारेर मख्खन–नौनी–क्रिम (विद्युतशक्ति) झिक्छन् र जनताहरूलाई त्यही मक्खन बेच्छन् । दूध डेरीको जस्तो मही र मिठाई बेच्न मिल्दैन । खानेपानीको जस्तो शुद्धपानी भनेर मिश्रित पानी बेच्न मिल्दैन । आयल निगमको जस्तो मट्टितेल र मोविल बेच्न मिल्दैन । मख्खन मात्र बेच्दा मागभन्दा आपूर्ति कम हुन जान्छ र महँगो अनि सँधैको लोडसेडिङको लोडसेडिङ्ग, हिँउदमा पानी सुक्छ । वर्षामा पानी धमिलो हुन्छ । मदानी (जेनेरेटर) बिग्रने, बाँध फुट्ने, भेल पस्ने र माछा पौडने काम त यथावत छँदैछ ।

नयाँ नेपाल होइन, नयाँ पाल बनाउने कोशिसै नगरेको भन्न चाहिँ सोह्रै आना मिल्दैन । माओवादी मिलिसियनहरूले खुल्ला आकाशमुनि जङ्गलमा बस्न नसकेर प्लाष्टिकको नयाँ पाल बनाएका छन् । मिलिटरी र प्रहरीहरूले पनि कहीँ–कहीँ नयाँ पाल बनाएका होलान् । रेण्टलहरूले पनि नयाँ–नयाँ पाल होलान् । ट्रेकिङ एजेन्सीहरूले पनि पुरानो पाल मर्मत र नयाँ पाल मगाउँदै होलान् । यार्शागुम्बा खोज्न जाने र गोसाईंकुण्डको मेला भर्न जानेहरू पनि नयाँ पालको बस्दोबस्त मिलाउँदै होलान् । नयाँ–नयाँ पाल बनाउने सूचिकारहरूले एकदिन नयाँ पाल बनाउन छाडेर नयाँ नेपाल चाहिँ बनाउने भनेर आशा र विश्वास चाहिँ मनग्गे गर्न सकिन्छ होइन त ? इति ।

आरुबारी, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वान सनको टेन्सन

वान सनको टेन्सन

नरमेन्द्र लामा
कलिको मान : धुम्रपान

कलिको मान : धुम्रपान

नरमेन्द्र लामा
कथा नै माग्ने भएपछि

कथा नै माग्ने भएपछि

नरमेन्द्र लामा
कुखुरीको दुध

कुखुरीको दुध

नरमेन्द्र लामा
जिताउनै नहुने मान्छे

जिताउनै नहुने मान्छे

नरमेन्द्र लामा
0
Would love your thoughts, please comment.x
()
x