नरमेन्द्र लामाकथा नै माग्ने भएपछि
कुन चाहिँ दर्शकले कथा पढेर यो फिल्म बनाई देओ भनेका छन् र । वरू त्यस्ता उपन्यासहरूले नेपाली सिनेमा बन्ने सौभाग्य पाउँछु कि भनेर फुटपाथमै आँखा विछ्याएर बसेको देखिन्छ होइन त ?

कीर्तिशेष नरमेन्द्र लामा
नेपाली चलचित्रले भित्र-भित्र हिन्दी सिनेमाको नक्कल गरेरै भए पनि विकासमा यति दख्खल दियो कि भनेर साध्यै छैन । न त गनेर नै साध्य चल्छ । साठीको दशकमा हिन्दी सिनेमाले लात्तिकृति विकास गरेको थियो, याने एउटै नामले दुई तीनवटा सिनेमा पनि बनाउनु परेको थियो । त्यस्तै नब्बेको दशकमा आएर नेपाली सिनेमाले नयाँ नाम नै पाउन गाहो पयो । उदाहरणको लागि “नजाऊ पुतली वन छोडी” “यो मायाले लौन सतायो” जस्ता नाम समेत राख्नुपर्यो, यस्तो नाउँ कुनै व्याकरणको कुनै ठाउँमा अटाएको छैन । न त यस्तो नाउँलाई हामीले घटाउन र कटाउन सक्छौं । बरू पुरेतवाजे र लामा बाजेले जुराएको नाउँ गोप्य राखेर अर्कै बोलाउने नाउँ राख्न सकिन्छ । यो घटाउने कटाउने गर्न सकिंदैन ।
हरेकले लेखेका व्याकरणमा नाम पाँच प्रकारका हुन्छन् मात्र भनेका छन् । मेरो विचारमा नाम छ प्रकारका हुन्छन् । एउटा छ्यास्मिस वाचक नाम हो जो चलचित्रमा राखिन्छ भनेर परिभाषित गर्नुपन्यो । होइन भने सबै व्याकरणहरू जम्मा पारेर सत्चालीस सालमा संविधान जलाए झैं जाडो महिनामा आगो बालेर ताप्नु पन्यो । कमसेकम खरानीको मल त हुन्छ । हाम्रो कृषिप्रधान देशमा मलको महत्व कति छ भन्ने कुरा मैले बताइराख्नु परोइन । मल विना कुनै फल फल्छ त ? लौ भन्नुस् !!!
“नेपाली सिनेमाले यति चाँडै विकास गर्नुका धेरै कारणहरूमध्ये एउटा मुख्य कारण चाहिं कलाकारका छोराछोरी कलाकारै हुनु हो । मतलब उनीहरूले फिल्मी कलाकारिता भन्ने कुरा भुँडीबाटै सिकेर आएका हुन्छन्, अभिमन्युले चक्रव्यूह तोड्न सिके जस्तै । कलाकार पनि अरू होइन हिरो-हिरोइन नै बनाउनु पर्छ । चाहे आँखा डेडो होस्, चाहे नाक टेडो होस् । चाहे मुखभरि वुट्टै बुट्टा होस्, चाहे हात खुट्टा छोटो होस्, चाहे चार फुट अग्लो होस्, चाहे आठ फुट अग्लो होस्, केही फरक पर्दैन । आखिर आफ्नो कला देखाउनु न हो । अरू सबै काम त क्यामराले तमाम पारिहाल्छ । लिखुरेलाई पाखुरे र पाखुरेलाई च्याखुरे पार्ने काम त क्यामराको भइहाल्छ । नत्र पुर्खौली पेशामा कसरी खप्पिस हुनु । सानोतिनो रोल चाहिँ गुन्द्रुकको झोल बराबर भै हाल्छ ।
आज भोलि विद्यार्थीलाई आफ्नो जीवनको लक्ष्य लेख भनेर प्रश्न दियो भने, केटा भए हिरो बन्छु र केटी भए हिरोइन हुन्छ भनेर लेख्दा हुन् । अनि परीक्षा भवनमै सिनेमाको सपना देख्दा हुन् । किनभने अरू काम गरेर प्रख्यात हुन सकिने होइन । न त दाम कमाउन नै सकिन्छ। हिरो-हिरोइन भयो भने त नाम पनि हुने दाम पनि कमाइने । सबैले चिन्छन्, सबैले दिन्छन्, क्या मज्जा ९९ । केटाकेटी होस् कि, बुढाबुढी होस्, सबैको वाह वाह । देशको र विश्वको नेतालाई कसले चिन्छ र ? अभिनेता भनेपछि नचिन्ने को ? ठूला-ठूला विद्वानदेखि अनपढ गोठालोले समेत चिन्छन् । बरू आफ्नो र अरूको गाई भैसी, भेडा बाखा नचिन्लान् ।
नेपाली सिनेमाको विकास हुनुको अर्को कारण हो, अभिनेत्रीदेखि निर्मात्रीसम्म, निर्देशकदेखि उद्घोषकसम्म, गीतकारदेखि संगीतकारसम्म गायकदेखि नायकसम्म, श्रृंगारकदेखि व्यवस्थापकसम्म र लाइटम्यानदेखि फाइटम्यानसम्मको त्याग र तपस्याको विकास खुल्नु हो । सबैले भन्ने गरेकाछन् कथाले मागे अनुसार जे पनि दिन र गर्न तयार छु । हेर्नुस् त कत्रो समर्पण ॥ त्याग र तपस्या ्र यस हिसावले जाँच्ने हो भने कलाकारहरू सबै त्यागी, कथा जति चाहिँ माग्ने भएन त? मैले त मठमन्दिरका माग्नेहरू कहां गएछन् भनेर सोच्न थालेको थिए । कथाको अवतारमा पो सरुवा- बढुवा हुन थालेछन् । सरकार बदलिंदा शासक- प्रशासकको अदलीबदली भए झैं ।
पहिले पहिले नेपाली सिनेमाको विकास किन भएन त ? छिमेकी देश भारतभन्दा किन चार दशकपछि परियो त भनेर सोच्दा त्यतिबेला कुनै पनि कथाले मागेन । प्रायः सबैजसो नेपाली सिनेमाहरू हेरेको थिएँ। “आमा हिजो आज भोलि”, “परिवर्तन-परालको आगो”, “माइतीघर”, “सिन्दूर”, कुमारी आदि कुनै पनि कथाले अहिले जस्तो मागेको थाहा पाइएन । बरू कथाको पात्रले चाहि एकाध भिखारी बनेर पैसा माग्यो होला । त्यो पनि मलाई यकिन भएन । छ्यापछ्याप्ती बन्न थालेपछि पो कथाले माग्न थाल्यो । कथाले पनि अपाङ्ग भएर माग्यो होला र त सबैले दिए । बलियो बाङ्गो भिखारी घर दैलोमा भिख माग्न आउँदा कसले दिन्छ र…. काम गरी खा न भनी हाल्छन् नि होइन त ?
मैले अलि अलि नली जस्तो कलम समातेर लेख्न थालेको करीब बीस वर्ष हुन लाग्यो । कलोक्किएर कथा विधामा हात हालिन । अहिले आएर कथा नै माग्ने हुने रहेछ । कथा माग्ने भएपछि कथाकारको नाम र दर्जा के हुने नि ? माग्ने उत्पादक हुन्थ्यो होइन त ? तै-तै भाग्यले साथ दिएछ भन्नु पर्यो । कथा लेखेर व्यथा चर्को पारिनछु । मलाई यसमा गर्व छ ।
सबै कुरा कथाले माग्ने थुप्रै नेपाली भाषाका उपन्यासहरू पनि बजारमा उपलब्ध छन् । त्यस्ता उपन्यासहरूको सिनेमा बनाए झन् कति विकास हुन्थ्यो होला । कोही कोही हिरोइनहरूले त सुम्नीमाको पटकथा तयार पारी सिनेमा बनाए म नायिका खेल्न तयार छु पनि भनेका थिए । कसैकसैले चाहिँ दर्शकले मागे अनुसार पनि भनेका थिए । मलाई दर्शकले मागे जस्तो त लाग्दैन । अहिलेसम्म दर्शकले मागेजस्तो फिल्म कुन चाहिँ बनेको छ र…। भविष्यमा बन्ने छाँट पनि देख्दिन । कुन चाहिँ दर्शकले कथा पढेर यो फिल्म बनाई देओ भनेका छन् र । वरू त्यस्ता उपन्यासहरूले नेपाली सिनेमा बन्ने सौभाग्य पाउँछु कि भनेर फुटपाथमै आँखा विछ्याएर बसेको देखिन्छ होइन त ?
०००
मधुपर्क (हास्यव्यङ्ग्य अङ्क, ) पूर्णाङ्क – ३३९
Subscribe
Login
0 Comments
Oldest








































