निर्वाचन प्रचार सामाग्री

नयाँ- न यहाँ नेपाल

म पनि एउटा सान्दार पार्टी खोल्थेँ, जेजे मुखमा आयो, त्यहीँत्यहीँ बोल्थेँ, दुई दिनमै पपुलर, नाम पनि कमाउँथेँ, दाम पनि कमाउँथे, दुबै हातमा लड्डु ।

कीर्तिशेष नरमेन्द्र लामाप्रति फित्काैली डटकमकाे हार्दिक शब्दश्रद्धासहित

नेपालमा धेरै वर्ष दरोसँग जरो गाढेको राजा गयो । राजा गएपछि राजतन्त्र पनि स्वतः जाने भइहाल्यो, गयो । उही सानातिना र झिनामसिना राजतन्त्र रहृयो भने, त्यो बेग्लै कुरा हो । त्यो त पार्टीहरूभित्र पनि विचित्रसँग टाँसिएर रहेको हुन्छ । जहाँ ठूलोमान्छेको आज्ञा सानोमान्छेले पालना गर्नुपर्छ, त्यहाँ अपरिहार्य र अटल हुन्छ । जेहोस् मूलरूपमा राजतन्त्रको पुल भाँचियो, खाँबो ढल्यो । राजतन्त्र गएपछि छुमन्त्र गरेझैँ प्रजातन्त्र-लोकतन्त्र भएभरको तन्त्रलाई पनि नाघेर एकैचोटि गणतन्त्रको स्थापना भयो । गणतन्त्र भएपछि हामीले ल्याएको भनेर, जस् लिने होडबाजी चल्यो । मैले छातीमा हात राखेर, फुर्तीका साथ भन्नुपर्दा, छ पार्टीको नेतृत्वमा जनताले ल्याएको हो-हो ! अरू कसैले थपक्क ल्याइदिएको होइन । कसैको बाबुको बपौति होइन ।

सबैभन्दा बढी दाबी गर्नेहरूलाई म के भन्दछु भने, तपाईंहरूले त हाम्रो पनि यसमा संलग्नता छ है, भनेर देखाउन मात्र स्याउला बोकेर उपस्थिति देखाउनुभएको होइन र…..! खास त जनताले वीरेन्द्रको परिवारको

हत्या ः ज्ञानेन्द्रले गरेको हो भनेर रिस फेरेका हुन्, अरू केही होइन । तैपनि हामी सबैले मिलेर ल्यायौँ भनेको भए जाति हुन्थ्यो, म सहर्ष स्वीकार्थे पनि कुरो त्यत्ति हो । ज-जसले ल्याए पनि ल्यायो, सजिलैसँग गणतन्त्रकै स्थापना भयो । गणतन्त्र आउनु के छ र …. गनतन्त्रको (बन्दुकतन्त्रको) सुरुआत भयो । सुरुआत मात्र किन अम्बे हो कि जगदम्बे सिमेन्टको बलियो स्तम्भ नै तयार भयो । माओवादीको गन् कन्टेनरमा बस्यो, सिपाइको गन ब्यारेकभित्र पस्यो । अपराधीको गन चाहिँ बाहिर आएर… गनतन्त्रको नाक् राख्यो । अब नयाँ नेपालबाट पुरानो नेपालमा फर्काउन कसैको बाबुको पिताम चल्दैन । कसैले आफ्नो टाउको फोरे पनि केही लाग्दैन । नेपालमा गनतन्त्र त आयो-आयो ।

नयाँ नेपाल भनेको साँच्चिकै नयाँ नेपालै हो । नयाँ नेपालमा विधिवत गन बोक्ने नै दुई किसिमका छन् । एउटा नेपाल सेना रे, अर्को जनमुक्ति सेना । दुईवटा छुट्टाछुट्टै निकाय फरक-फरक विचार, अलग-अलग प्रयोजन, भिन्दा-भिन्दै मार्ग र उद्देश्य, तलब भत्ता चाहिँ, दुवैले राज्यको ढुकुटीबाट, सुकुटी चपाएझैं चपाएका छन् । आफ्नै राज्य, आफ्नै सरकार, आफ्नै मान्छे भए दुई समानान्तरको सैनिक किन, नयाँ नेपाल बनाउन ? यस्तो कुरो संसारको कुनचाहिँ कुनामा होला र… । मलाई त थाहा भएन, यदि तपाईंलाई थाहा छ भने, मलाई पनि जान्ने चाहा छ, अवश्य जानकारी दिनुहोला ! म तपाई हजुरलाई मुरीमुरी धन्यवाद टक्र्याउँला ।

एउटाचाहिँ सेना सरकारको होइन, पार्टीको हो भन्लान् । त्यसो भए तलब भत्तादेखि सबैकुरा पार्टीले बन्दोबस्त गर्नुपर्ने थियो नि त !! दुवै सरकारको हो भने, सरकारी काम-काजमा ल्याउनु पर्‍यो र, सबै सुविधा दिनु पर्‍यो । यसरी बिना काम, सरकारले दाम मात्र सधैँ दिइरहने हो भने त ५० पार्टीको ५० सै सैनिक राख्नु पर्‍यो भन्लान् । अनि के गर्ने ? समानान्तरको सेना भन्ने हो भने, अब प्रतिस्पर्धा कोसँग र कुन तन्त्रसँग ? कि राष्ट्रपतिलगायत सम्पूणर् प्रशासनिक निकाय अलग-अलग बनाउनु पर्यो् । होइन भने, ’नयाँ नेपालको नयाँचाला बाघको छालामा स्यालको रजाई’ गर्न खोजेको ठहर्दछ ।

पार्टीपिच्छे एकुन्टा सेना राख्न पाइने भए त गजबै हुन्थ्यो नाइ । म पनि एउटा सान्दार पार्टी खोल्थेँ, जेजे मुखमा आयो, त्यहीँत्यहीँ बोल्थेँ, दुई दिनमै पपुलर, नाम पनि कमाउँथेँ, दाम पनि कमाउँथे, दुबै हातमा लड्डु । देशैभरि सेना मात्र हुन्थ्यो । नेपाल सेनामय भए, तपाईंजस्ता रामको लेना न देनाको मान्छे कहाँ जाने ? जनता जनार्दन के गर्ने ? उद्योगी-व्यापारी, कलाकार-साहित्यकार, खेलाडी, अनाडी, प्रहरी-कर्मचारी सबैले रामनामी पछ्यौरा ओढेर ब्रहृमचारी हुने र सिलावरको कचौरा वा थाल थापेर सीताराम भन्दै हिँड्ने कि कसो ? त्यसै हो भने त नयाँ नेपालको नयाँ चाला ! “उठ जोगी फटकार छाला, जहाँ जाला भातै खाला” हुने भै गो त !!!

मैले एउटा लेखमा पानीको घिऊ (विद्युत् शक्ति) को कुरा गरेको थिएँ । नयाँ नेपाल बनाउने इच्छा भए, यही एउटा घिऊले नै यथेष्ट बल पुग्दोरहेछ भन्ने लाग्दछ । अहिले घिऊ कम (लोडसेडिङ) भएर, नयाँ नेपाल त के पुरानै नेपाल पनि थेग्न मुस्किल परिरहेछ हृवाँः । यो पानीको घिऊ कस्तो रहेछ त भने, हेर्दा केही देखिँदैन नाङ्गोतार छुँदा, सके यमपुरी पुर्याशई दिन्छ ! नसके पहलमानले पाहाः पछारेझैं पछारेर हात-गोडा बाङ्गो बनाइदिन्छ तर सभ्य समाजमा मान्छेको जिन्दगानीमा नभई नहुने वस्तु रहेछ । विद्युत् बिना दैनिक जीवनयापन गर्न मुश्किल पर्दैन त ? लौ तपाईं नै भन्नुहोस् ! कताकता दसै इन्द्रीय नभएको मुढोजस्तो, ९० वर्षको बूढोजस्तो !! अझ यसो भनौं, स्वस्थानीको कथामा शालीनदीमा खसेकी चन्द्रावतीजस्तो !!!

लः हेर्नुस् त ! न भात पाक्छ, न लामखुट्टे भाग्छ, न बत्ती बल्छ, न पङ्खा चल्छ, न ट्याङ्कीमा पानी चढ्छ, न छोराछोरी पढ्छ, न कोठा तात्छ, न टीभीमा मान्छे नाच्छ, न हावामा कुरा (मोबाइल फोन) चल्छ, न च्यापुमा छुरा (रेजर) चल्छ, न कल-कारखाना नै चल्छ, यतिसम्म किः सफा टेम्पोसमेत नचल्ने हुँदोरहेछ । अरू देशमा के गर्दा हुन् कुन्नि, जहाँ रेलगाडीसमेत पानीको घिऊले चलाउने गर्दछन् । हाम्रो भए त ठेलगाडी गर्नु पर्थ्योहोला सायद ।

यस्तो मख्खन भनौँ कि घिऊ भनौँ, १० वर्षमा दसै मेघावाट उत्पादन गर्छौं भनेर घोषणा गरेको दिनदेखि नै राति १० घण्टा र दिउँसो १० घण्टा बन्द हुने टण्टाले सबैलाई पिरोलेको छः छैन त ? हुन त नयाँ नेपाल भनेको नयै हुन्छ । सधैँ एकैनास भए, केको नयाँ नेपाल हुन्थ्यो र …..! कहिले कहीँ अगाडि बढ्नु मात्र नयाँ हुँदैन । पछाडि र्फकनु पनि नयाँ भएको आभास मिल्छ । नयाँ रूप देखिन्छ । नयाँ स्वाद मिल्छ । उदाहरणको लागि घण्टाघर-धरहरा भत्काएर…रानीपोखरी पुरे पनि, काठमाडौँ सहरको अर्कै रूप देखिन्छ । जेरीलाई निचोरेर खाए पनि अर्कै स्वाद भेटिन्छ ।

अरू कुरा छाडौँ, हामी पछाडि हटेरै भए पनि नयाँ नेपाल बनाएर छाड्छौँ । अरू क्षेप्यास्त्र-अग्न्यास्त्र, के के अस्त्रहरू बनाएर बिक्री गरी रहुन्, हामीलाई किञ्चित फिक्री छैन । हामी त्यसको सट्टामा खुँडा र खुकुरी, भाला र बर्छाजस्ता शस्त्र बनाउँछौँ । पहिले पनि खुकुरीले प्रसिद्धि पाएकै हो । अरू मोटरगाडी बनाएर पेट्रोलियम पदार्थका लागि लडिरहुँन्, हामी घोडा खच्चडादि चढिरहन्छौ । हामी शान्तिका लागि परेवा पाल्छौं, बिजुलीको सट्टा दीयो बाल्छौं । यसमा कसको खस्खस ! कसले निरङ्कुशता लाद्न सक्ने हँ !!

सबै जना दुई, तीन सय वर्षपछि हटेर सङ्घीय सरकार बनाउने-बनाउने भनेर कम्मर कसेर लागीपरेका छन् । जातीयता र क्षेत्रीयताको आधारमा नदिए, जनताले लौरो लिएर आई हाल्छन् । जसरी भए पनि दिनै पर्योह । दिँदा कतै पासपोर्ट र भिसाको कुरा नआउला र ! आ-आफ्नो विधान र मन अनुसार छोटी भन्सार, मूल भन्सार गर्न के बेर स्वागतद्वारमा तगारोले छेकेर पैसा छेर भन्नु के बेर, एक राज्यबाट अर्को राज्यमा जाँदा सीमैपिच्छे रकम त तिर्न परोइन ? स्थानीय आयस्रोत भनेको त्यहीँ रकम हुन्छ, अरू के चाहिँ हुन्छ ? नत्र कसरी हुन्छ स्थानीय सरकारको विकास कसले दिन्छ, आफ्नो राज्यमा निकास ?

त्यसो त केन्द्रीय सरकारले लिन्छ र बाँडफाँड गर्छ, चलाउँछ, भन्नु होला ! त्यो त पुरानै नेपालको चलन भैगो नि ः । केन्द्रले चलाएर चल्ने भए, अहिले पनि राम्ररी चल्नु पर्ने थियो । खोई त चलेको ? कहिले पूर्वाञ्चल बन्दः, कहिले पश्चिमाञ्चल बन्दः। कहिले कलङ्की बन्दः कहिले काभ्रे बन्द । बन्दबाहेक केमा चाहिँ छन्दः मिलेको छ र ? विराटनगर खुले, महेन्द्रनगरको पालो, महेन्द्रनगर खुले रामनगरको पालो, यस्तो नगरमा आलोपालोको जालो कसले भत्काउन सक्छ ? कञ्चनपुर र जनकपुर ! भक्तपुर-भरतपुर ! मकवानपुर-ललितपुर ! यस्तो धेरै पुर छन् । कुनचाहिँ पुर सधैँ खुल्ने सुरमा छन् र ? बरु हाम्रो हेर्ने आँखा र बटार्ने मुठीचाहिँ खुलेको खुल्यै हुन बेर छैन ।

सभासद्को चुनाव ताका नयाँ नेपालको नमुना-नक्सामा, ल्हासादेखि काठमाडौँसम्म रेलमार्ग र ठाउँठाउँमा केबुलकारसमेत देखाइएको थियो । नौ महिनापछि नमुना दिनेले नै सरकार चलाउँदा के हेरिबस्यो ? न त देश विकासमा हात हाल्यो । पछिको सरकारले अर्काको लक्ष्य के वास्ता गथ्र्यो ? मलाई सोध्नुहुन्छ भने, यतिञ्जेल रेल त के, झोलुङ्गे पुल पनि कति चाहिन्छ भनेर सर्वे पनि गरेको छैन । कमसेकम झोलुङ्गे पुल मात्र पनि राम्रोसँग हाल्न सकेको भए, डिब्बा बोक्ने रेल नचले पनि डोको बोक्ने रेलजस्तै ः खरेल-खकुरेल, गजुरेल-जिरेल, पोखरेल-प्याकुरेल, जो नेपालमा रेडिमेड छन् ! सजिलोसँग कुद्न पाउँथे, कि कसो ?

यी सबै हेर्दा मलाई त भन्नु मन लाग्छ, हे तेरीमा नयाँ नेपाल, बेर्थैमा किन दुख्छ हाम्रो कपाल ? नयाँ नेपाल भनेको त न यहाँ नेपाल गर्न खोजेको हो कि जस्तो पो लाग्छ । सबै कुरा विदेशी गरी दिनुपर्ने, बाटो-घाटो, पुल-पुलेसो, मठ-मन्दिर, कल-कारखाना, अरू कुरा के सरकारसमेत विदेशीको इशारामा चल्नुपर्ने भएपछि बाँकी के रहृयो र..। अन्त सङ्घीय सरकार भएकोले यहाँ पनि गर्नुपर्ने अरे… । अरूको त क्षेत्रफल ठूलो छ, कुरो अर्कै हो । हाम्रो त इँटा जत्रो पनि छैन । सानै भए पनि नयाँ नेपाल त बनाउनु परिहाल्यो क्यारे ! नयाँ बनाउँदा, दायाँ-बायाँ नहेरी बनाएर कतै नेपालै छायाँमा पर्ने त होइन ? मलाई त शङ्का लाग्यो, तपाईंलाई के लाग्छ कुन्नि !!

०००

आरुबारी
‘मधुपर्क’ २०६७ साउन

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
कुखुरीको दुध

कुखुरीको दुध

नरमेन्द्र लामा