वेदान्ती र प्राणान्तीका कुरा
डाक्टर सापले ट्रच लाइट बालेर खोज्नसम्म खोजे । हात्ती, घोडा, कीरा फटेंग्रा केही नभेटेपछि एक्स रे, सुगर उगर के के टेष्ट लेखी दियो । सबै टेष्ट बाहिर गर्नु बेष्ट ठानेर पठाइदियो ।
नरमेन्द्र लामा :
एक ताका मेरो स्वर नराम्ररी बस्यो । बस्नुपर्ने कुरा चाहिँ बसेन, नबस्नुपर्ने कुरा चाहिँ बस्यो । आफूले भने जस्तो नहुने रहेछ त, के गर्नु ? सोरको साटो पढ्ने र लेख्ने बानी बसेको भए कति राम्रो हुन्थ्यो ! घाऊ खटिरामा खाटा बसेको भए झन् हाइसञ्चो हुन्थ्यो । भाऊ बेसाह स्थिर बसेको भए कुरो अर्कै हुन्थ्यो । हातगोडा बसेको भए पनि कुरो बेग्लै हुन्थ्यो । स्वर चाहिँ बस्यो । हुन त खाने कुरा घिच्न छोडेको पनि होइन, पाए चार माना हसुर्थेंं । स्वास प्रस्वासमा रोक लागेको पनि होइन छाती खलाँती झैँ चल्थ्यो । खालि, चोर आयो भनेर चिच्याउँदा सोर आयो भनेको सुन्ने मात्र भो, एक दिन राती साँच्चिकै चोर आएर धनमाल लुगाफाटा लिएर गयो । मैले थाहा पाएर “चोर आयो चोर आयो ! गुहार भनेको थिएँ, छोरा-छोरीले चोर आयो भनेको सुनेछन् र आज यतिका दिनपछि बाबुको स्वर आयो भनेर मज्जाले सुतेछन् । चोर हाम्फालेको चाहिँ बिरालो हाम्फालेको भन्ठानेछन् ।
स्वर बसेको पनि ४-५ दिन हो र भन्या ? पूरा ६ महिना औषधी गरिसकेँ । रामदेवको कपालभाँती, प्राणायम, योगाशन निस्केकै थिएन । पहिले अरूको लागि बाहेक आफ्नोे लागि अस्पताल टेक्नै परेको थिएन भन्नुहुन्न । एक पटक मोटर साइकलले निहुँ खोजेर पर्खाल ताक्यो र पर्खाल छेउको ड्रेनमा लगेर जाक्यो । नलिखुट्टामा बुट्टा (प्लाष्टर) हाल्न बाध्य तुल्याएर गएँ । ३-४ महिना धाएँ, यो समेत दोश्रोपल्ट भयो ।
स्वर बसेकोे दिनदेखि जति मान्छे भेटेँ, सबै वेदान्ती मात्र देखेँ । आफू परेँ प्राणान्ती र मरणान्ती । जसले जे गरे भने त्यही गरेँ । जसले जे खा भने त्यही खाएँ । कसैले काँचो चामल र पाकेको मरिच मरमरी चपा भने । कसैले सुकेको बोजो र आलो घैँचा एकैफेर खा भने । कसैले चिरैतो र घिरौँलो, कसैले हर्रो र जेठीमधु, आकाशबेली, जाइको पात, तुलसीको पात, जिम्बुपानी, जिरापानी, ज्वानो पानी, झ्वाईं पानी के के हो के के । कसैले कालो कुकुरको विष्टा बेसरी उमालेर खाः भने पनि सायद खान्थेँ कि यसै भन्न सक्तिन । एउटा चिज चुरोट मात्र हो छाडी दे भनेर सय जनाले कर-कर गर्दा पनि नसकेको भनाँै कि नमानेको भनूँ । अरु चिज त जे जे गर भने त्यही त्यही गरेँ । पत्याउनु हुन्न भने, तामा तुलसी छोएर किरिया खान सक्छु । स्ट्रपसिल खाएँ, एन्टिबायोटिक खाएँ, घाँटीमा के के लाएँ केही शीप लागेन ।
केही जोर चलेन, मेरो सोर पटक्कै खुलेन । ठूलै शिक्षण अस्पतालमा नाक-कान-घाँटीको डाक्टर सापलाई देखाउन गएँ । एउटी केटी विद्यार्थी आई र मेरो जन्मैदेखिको इतिहास कागजमा उतारी । एउटा मुडामा बसालेर मेरो दुबै घुँडा उसको घुँडाले च्याप्दै प्रश्नहरू तेस्र्याई । तपार्इं के के खानु हुन्छ ? मैले भनेँ- गिलोमा डट डट बाहेक, र साह्रोमा ढुङ्गा बाहेक सबै खान्छु । उड्नेमा हवाईजहाज र गुड्नेमा साइकल पनि कहिल्यै खाको छैन ।”
मेरो उत्तरले उनको कन्सिरी तातेछ कि क्या हो ! सानो ठूलो भएको टल्कने रोटी (रिफ्लेक्टर शिशा) उसको आँखामा टाँसिन्, स्ट्याण्ड ल्याम्पको तार गाँसिन् र स्वीच थिचेर बालिन् । मेरो मुख आँ गर्नुस् भन्न थालिन् । मैले पनि उसैलाई निलुँला झैं गरी आँ .. गरी दिएँ । मेरो जिब्रोलाई एउटा टालोले च्याप्प समातेर च्यापुसम्म ल्याप्प पारिन् । टर्चलाइट बालेर खोज्न थालिन् । केही नपाएपछि ठूलो डाक्टर साप बोलाएर ल्याइन् । डाक्टर सापले पनि त्यसै गरी जाँचेपछि, बायप्सी लेखिदेऊ भन्ने आज्ञा दिए । केटीले हस्, भनेर मेरो कार्डमा अप्रेशन मिति र सम्पर्क मिति लेखेर विदा गरिन् ।
अब मलाई बुझ्न कर लाग्यो बायप्सी भनेको के हो ? कहाँ गर्ने ? कसरी गर्ने ? कसले गर्ने ? कति पैसा लाग्छ ? बेहोस पार्छ कि पार्दैन आदि, बायप्सी भनेको घोक्रोको एक टुक्रा मासु झिकेर ल्याबमा जाँच्ने रहेछ । एक टुक्रा मात्र झिकेको ठीकै छ सहुँला । केही गरी भएन भन्दै छाक पुग्ने जति झिक्यो भने त मारेन ? मेरो मुटुले ढ्याङ्ग्रो ठोक्यो बा … उही पनि मासु झिकेको २५ सय, ल्याब खर्च ५ सय, अकडम बकडम, औषधी बेहोस पारेर महाकालीले शिवको छातीमा कुल्चिँदा झंै जिब्रो बाहिर ल्याप्प पारेर मेशिनले च्यापेर राख्छरे … भनेको सुनेपछि त झन् सात्तो पुत्लो उड्यो । बेहोस नपार्ने भए पो डाक्टर झुक्किए पनि त्यहाँ होइन । डाक्टर साप यहाँ हो भन्नु, बेहोसमा त जिब्रो नै काटे पनि के ? घाँटी नै रेटे पनि के ? अझ घाँटीको अप्रेशन भनेर नाभी नै उडाइदिए भने ? किड्नी नै सट्टापट्टा गरे पनि आफूलाई थाहा हुने होइन । डाक्टरले सरी भनेपछि माफी पाइहाल्छ । त्यसपछि त्यो अस्पतालमा के भनेर जान्थेँ ।
अस्पताल भनेपछि बाबुको हंसले ठाउँ छोडेको देखेर छोरीले एउटा जन्ड धामीकहाँ लिएर गई । धामीले अक्षताबाट जोर विजोर छ्ट्याउँदै जोखना हेर्यो । पालै पालो मेरो नारी छाम्यो । धूप बत्ती बालेर भएजति र सम्झेजति देउता र भूतप्रेतलाई मन्छाई पन्छाई गर्यो । पानी फुकेर पिउन दियो । तेल फुकेर घस्न दियो । अमलिसोको कुचो हल्लाउँदै झारफुक गर्यो । मेरो खल्तिमा भएको रुपियाँ उसको खल्तिमा सर्यो । डाक्टरी औषधी नखानू ! खाएमा वितल पर्छ, ब्यथाले च्याप्छ । आउँदै गर्नु, निको हुन्छ भनेर आश्वासन दिँदै पठायो । बेथा जिउँका तिउँ ! चामल पैसा धामीलाई, बेथा जति हामीलाई भै हाल्यो नि !
त्यसपछि एउटा नामूद लामा, घरैमा बोलाएर ल्याइयो । उसले मेरो लोः (वर्ष) गन्यो : च्याः खिः फाकः चिवाः लाङ्गः (चरा वर्ष- कुकुरवर्ष, बँदेलवर्ष, मुसावर्ष- गाईवर्ष) ठूलो दशा रहेछ भन्यो । भूत प्रेत आफ्नोे नेपाली कागजमा के कोरकार गरेर पोको पार्यो । मन्त्र गरेर मेरो घाँटीमा एउटा जन्तर झुण्ड्याई दियो । घरमा एउटा लुङ्गदा (देवता लेखेको पञ्चरङ्गे लामो झण्डा) गाड्नुपर्छ । दशा ग्रह र बायु हटेर आयु बढ्छ भन्यो । आफू परें प्राणान्ती, अरु सबै बेदान्ती ठहरेँ !
जसले जे भने पनि गर्नैपर्यो । अब तँ मर्छस्, तर यसो यसो गरिस् भने बाँच्छस् भनेपछि बाँच्ने आशा कसलाई नलाग्ला । तपार्इं आफै भन्नुस् त ! कालसँग नडराउने यो संसारमा को छ ? मान्छेले सबै कुरालाई जित्न सक्छ । काल (समय)लाई जित्न सकिन्न । त्यसैले मान्छे कालसँग डराउँछ । कालसँग डराउन छाड्यो भने कुरा अर्कै हुन्छ । भारतको नेता नेपाल आएर “डरको मनसे हटायो” भन्दा ०४६ सालमा त्यत्रो आन्दोलन मच्चियो र ३० वर्ष जरा गाडेर बसेको निर्दलीय पञ्चायत ब्यवस्था त्यसै थच्चियो । बरु अहिले अलि कान ठाडो पार्न थालेको हो कि जस्तो छ ।
औषधी गर्ने शिलशिलामा के मात्र गरिनँ ? बैद्यको फेला परिनँ कि मलेसियन च्याऊको फेला परिनँ ? अन्तमा नेपालको सरकारी ठूलो अस्पतालमा इन्डेस्कोपी गरेर हेर्नुपर्यो अब भन्ने ठूलो आँट लिएर गएँ । डाक्टर सापले ट्रच लाइट बालेर खोज्नसम्म खोजे । हात्ती, घोडा, कीरा फटेंग्रा केही नभेटेपछि एक्स रे, सुगर उगर के के टेष्ट लेखी दियो । सबै टेष्ट बाहिर गर्नु बेष्ट ठानेर पठाइदियो । त्यहाँ छैन कि, टाइम लाग्ने हो, मैले बुझ्न सकिनँ । बाहिर मिलोमतो छ कि, अत्तो थापेको हो, त्यो बुझ्न सकिनँ । तीन दिनपछि छालाको रिपोर्ट प्लस भनेर आयो । तीन पल्ट जाँचेको खकारको रिपोर्ट पनि प्लस नै भनेर आयो । बल्लतल्ल क्षयरोग भन्ने पत्ता लाग्यो र गाउँको हेल्थपोष्टमा डट्स अन्तरगत ८ महिना औषधी खानु भनेर पठाइदियो । कुरा बेदान्तीको यति हो ! इति ।
०००
आरूबारी, काठमाडाैं
फित्कौली अङ्क २ (२०६२)
Subscribe
Login
0 Comments
Oldest