रमेश खकुरेलनाक छोप
राम्रै गरेमा पनि दोष हाले फुटाउँदै सालिक मूर्ति ढाले यस्तै परौला पछि आज सोच बचोस् न यो नाक त नाक छोप ।। जता गयो गन्धपुरी उतै छ गल्लीपिछे फोहर गम्कँदै छ कीटाणु छन् गर्नु छ रोकटोक उपाय यौटै अब नाक छोप ।।

रमेश खकुरेल :
संसारको चक्कर खूब लायौ
जहाँ गयौ स्वाद नवीन पायौ
यहाँ नयाँ चीज छ पाठ घोक
नेपालमा छौ अब नाक छोप ।।
गर्छौ जसो लाज यहाँ हुँदैन
भन्दैन कोही र भने छुँदैन
अरू कुरा छोप कि वा नछोप
धुलो निकै ऊड्दछ नाक छोप ।।
घरैपिछे मन्दिर देवता छन्
कुनै यता छन् त कुनै उता छन्
पीरो धुवाँ लाग्छ भनिन्छ धूप
रुवाउला है अब नाक छोप ।।
म मै हुँ भन्दै कति वीर आए
यता समाए र उता कमाए
नाकै कटाए तर लुक्छ खोट
यस्तै गरौला अब नाक छोप ।।
राम्रै गरेमा पनि दोष हाले
फुटाउँदै सालिक मूर्ति ढाले
यस्तै परौला पछि आज सोच
बचोस् न यो नाक त नाक छोप ।।
जता गयो गन्धपुरी उतै छ
गल्लीपिछे फोहर गम्कँदै छ
कीटाणु छन् गर्नु छ रोकटोक
उपाय यौटै अब नाक छोप ।।
०००
कमलपाेखरी, काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































