मेरो होमवर्क
म त आफ्नै नर्सरीमा घोटिने नातिलाई सम्झिन पुगेँ । उसले यति पुस्तक बोक्छ कि ती पुस्तक अघिल्तिर झिकेर चाङ लगाउँदा ऊ नै छोपिन्छ । ए यो प्रश्नले लक्षित गरेको उत्तर पत्ता लगाएँ भनेर म मख्ख परेँ तर जवाफ भनिनँ ।
हरि खनाल :
बालबालिकासँग कुरा गर्ने बानी । बाटोमा खेलिरहेका दुई अन्दाजी नौ/दश वर्षका बालकहरूसँग उनीहरूका विषयमा केही सोधेको मात्र के थिएँ उनीहरू मेरो नजिक आइपुगे । ’अङ्कल केही प्रश्न सोधूँ ?’
‘कसरी नाईं भन्ने ?’ हवस् भनेँ ।
‘बेच्न पाइन्छ तर किन्नेले खेल्न पाउँदैन के हो ?’ म अकमकिएँ ।उनीहरू मेरो मुखतिर हेर्न थाले । अर्को केटोले भन्यो ता ता ता । मूल प्रश्नकर्ताले उसको मुख थुन्दै भन्यो ‘नभन न’ ।
‘अनि यो अङ्कलको जवाफ सुनेपछि अर्को प्रश्न गर्ने भनियो भने त दिन जान्छ त । अर्को सोधिहाल ।’
‘ल ठीक छ यो सोच्दै गर्नुहोला । अहिले आएन भने होमवर्क हुन्छ । अरू पनि सोधिहाल्छु ।’ प्रश्नकर्ताले आँखा नचाउँदै भन्यो । मैले स्वीकृतिसूचक टाउको हल्लाएँ । ‘खाने पिउने माने चोट पाउने साने के हो ?’ म फेरि अकमकिएँ । अर्को बालकले हाँस्दै भन्यो ‘यो पनि नआएको हा हा हा । उत्तरको सङ्केत दिऊँ र र र ‘।’ खास प्रश्नकर्ताले उसलाई हप्काउँदै भन्यो ‘नभन है । यो पनि होमवर्क ।’
अब त नसोध्लान् भनेको अर्को प्रश्न तेर्स्याए । ‘घरका सबै खेद् बस्ने जति क्षेद् के हो ?’ यो त झन् जटिल प्रश्न कसरी उत्तर आँकलन गर्ने ? यसो सोच्दा अन्तर्राष्ट्रिय स्तरको प्रश्न जस्तो लाग्यो । अर्को केटो भन्दै थियो ‘दे दे दे हाम्रो क्या’ फेरि पनि उसलाई मूलप्रश्नकर्ताले रोक्यो । म उनीहरूलाई हेरेर मुस्कुराएँ मात्र । ‘होमवर्क होमवर्क’ चिच्याए दुवै । अब जाऊँ ? के भनेको थिएँ । मूलप्रश्नकर्ताले हाँस्दै भन्यो ’यति होमवर्क गरेर पुग्छ ? हामीलाई स्कुलमा यति होमवर्क दिन्छन् यति दिन्छन् नभ्याएर निदाउँदा पनि हात चलाएर लेखिरहेका हुन्छौँ । जैरे तीन प्रश्न लगेर सुख पाउनुहुन्छ । बाँकी दुई । हि हि हि ।’ मूलप्रश्नकर्ता हाँस्यो । ’लौ लौ सोध ।’ मैले आत्मसमर्पण गरेँ ।
‘घरमा पकाएको दालतरकारीमा नुन चर्को भयो भने के गर्ने ?’ केटाले सजिलो प्रश्न सोध्यो जस्तो लाग्यो । मैले फ्याट्ट भनेँ ‘पानी थप्ने ।’ ‘हा हा हा ।’ उनीहरू जोडले हाँसे । यो चाहिँ होमवर्कमा नपठाउँ क्यारे । मूलप्रश्नकर्ता ठिटोले अर्कोसँग सल्लाह गर्यो । दुई भाइको मतो मिलेछ । ’अङ्कल नआएकै हो ?’ मैले भनेँ ’खै मैले जानेको जवाफ त दिएकै हुँ ।’
‘मिलेन नि ।’ प्रश्नकर्ता केटोले हाँस्दै भन्यो ।
‘के गर्ने त तिमी नै भन ।’ मैले समर्पण गरेँ ।
‘पहिले यु ट्युबर बोलाउने । अनि क्यामरा रेडी बनाएपछि नुन कसले हालेको हो त्यसलाई धारे हात लगाएर सराप्ने । हानाहान गर्ने । पकाएको दाल र सब्जी एकले अर्कोको टाउकोमा खन्याउने ।’ केटोले जवाफ दियो । मलाई केटोको जवाफ निकै मनपर्यो । मान्छेले भाइरल हुन अन्तरकुन्तर त प्रदर्शन गर्छन् भने यो त नुनकाण्ड न हो । मैले ताली बजाउँदै भनेँ ‘तिम्रो जवाफ सटिक लाग्यो । अब जाऊँ है ?’
‘अरे कहाँ जान पाइन्छ ? खै पाँच पुगेको ?’ अर्को केटोले बाटो छेक्यो ।
‘सकेको लेऊ को पर्छ छेउ ? के हो ?’ केटाले फेरि जटिल प्रश्न सोध्यो । एक मन त लाग्यो सहकारीको ऋण हो कि ? तर हो जस्तो लागेन किनभने लिने त यसमा पर्दैन नलिने पर्ने हो । ए हिजोआज गाडीहरूले असुल्ने भाडा वा व्यापारीको मुखको दामतिर लक्षित प्रश्न त होइन ? तर भन्दिन । यो जवाफ मिल्यो भने फेरि पाँच पुर्याउन अर्को थपिहाल्छन् । बरू होमवर्क नै सही मनले सोच्यो । ‘लौ लौ यो पनि होमवर्क ।’ मैले स्वीकारेँ । ‘प्रश्न त चार पुग्यो । लौ अब बाँकी एक भनिहाल मलाई ढिला भयो ।’ मैले नै आग्रह गरेँ ।
‘पुस्तकको भेल कमिसनको खेल गधा पनि बना पैसा पनि ठेल । यो प्रश्नलाई होमवर्कमा लैजाने कि यहीँ भन्ने ?’ मूलप्रश्नकर्ता केटोले सोध्यो । केही बेर विचार गरेँ । म त आफ्नै नर्सरीमा घोटिने नातिलाई सम्झिन पुगेँ । उसले यति पुस्तक बोक्छ कि ती पुस्तक अघिल्तिर झिकेर चाङ लगाउँदा ऊ नै छोपिन्छ । ए यो प्रश्नले लक्षित गरेको उत्तर पत्ता लगाएँ भनेर म मख्ख परेँ तर जवाफ भनिनँ । मलाई होमवर्कका लागि पाँच प्रश्न पुर्याउनु थियो । ‘लौ लौ बाबु यो पनि होमवर्क ।’ मैले भनेँ । उनीहरू किच्च हाँसे ।
‘अङ्कल ! यी सबै प्रश्नहरू टिप्नुभयो नि ?’
‘अँ दिमागमा टिपेको छु ।’
‘होम ट्युशन राख्नु त पर्दैन नि ?’ उसले फेरि सोध्यो ।
‘पर्दैन पर्दैन ।’ मैले भनेँ ।
‘ए घरमा पुगेर कपडा पनि फेर्न नपाउँदै सर म्याडम आउनुहुन्छ भनेर होला हाम्रो जस्तै ।’ प्रश्न नसोध्ने केटाले सोध्यो । मैले फेरि पनि नातिबाबुलाई सम्झेँ ।
‘तपाईंको घरमा मिस वा सर बस्नुहुन्छ हो ?’ प्रश्न गर्यो प्रश्नकर्ता केटाले ।
‘छैन बाबु ?’ मैले मुस्कुराउँदै भनेँ ।
‘अनि किन होम ट्युसन राख्नु नपरेको त ?’ केटोले मेरो जवाफ भुइँमा नखस्दै सोध्यो ।
‘मैले यो होमवर्क सरकारी विद्यालयमा दशैँको बिदाको बेलामा पाएको जस्तो ठानेको छु क्या ।’
मेरो कुरा कतिको बुझे कुनि ? दुई बालकहरू एकआपसमा हेर्दै हाँसे ।
०००
धादिङ
Subscribe
Login
0 Comments
Oldest