यसरी बाँचौँ !
लुट्न सक्ने सबैलाई लुटेर बाँचौँ । भुट्न सक्ने सबैलाई भुटेर बाँचौँ, चाकरी, चाप्लुसी र भनसुनको, अचुक औषधि लिन नभुलौँ । थाहा नदिइकन आउन सक्छ यमराज, उसलाई फिर्ता पठाएर बाँचौँ ।
गायत्री लम्साल :
जीवनको अर्थ बाँच्नुमा
छ साथी हो,
एक पटक मर्नुपर्छ भन्ने
बिर्सेर बाँचौ ।
कात्रोमा गोजी हालेर बाँचौँ,
भित्तेपात्रोको पाना फालेर बाँचौँ ॥
बाँच्ने आफू र बचाउने आफ्नालाई हो,
अरुका खुट्टा तानेर बाँचौँ ।
असल र इमान्दारहरूको टाउकोमा,
हानेर बाँचौँ ।
साम, दाम, दण्ड, भेद सहितका
सुण्ड, मुण्ड र गुण्डाहरूलाई
देशकै नाइके बनाएर बाँचौँ ।
हरेक दिन देश हल्का-हल्का मरिरहँदा
आफू भने मस्तसँग रमाएर बाँचौँ ॥
जसरी पनि बाँच्नुपर्छ मित्र हो ।
मरिसक्दा समेत,
काम नगरी कमाएको सम्पत्ति
सिङ्गै बोकेर बाँचौँ ।
मानवताको अस्तित्व सकिँदा समेत
आडम्बरको अमृत धोकेर बाँचौँ ।
जसरी पनि बाँच्नुको अभिष्ट
बाँच्नु नै छ भने,
पलपलमा काइदा लिएर बाँचौँ ।
अरुको मृत्युमा फाइदा लिएर बाँचौँ ।
लुट्न सक्ने सबैलाई लुटेर बाँचौँ ।
भुट्न सक्ने सबैलाई भुटेर बाँचौँ,
चाकरी, चाप्लुसी र भनसुनको,
अचुक औषधि लिन नभुलौँ ।
थाहा नदिइकन आउन सक्छ यमराज,
उसलाई फिर्ता पठाएर बाँचौँ ।
मरिसकेकाहरूलाई धूलो चटाएर बाँचौँ ॥
०००
काठमाडौं
“…अरुको मृत्युमा फाइदा लिएर बाँचौं ।”
गज्जब भन्नु भो ।
राम्रो कविता ।