साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलिको मान : धुम्रपान

खल्तीमा फिल्टर सिगरेटको बट्टा राखेर हिँड्नुस्, जताततै घनिष्ट मित्र पाउनुहुनेछ । कसैसँग लभ गर्नुछ भने ओठमा फिल्टरवाला चुरोट च्यापेर सुरु गर्नुहोस्, चाँडै नै सफलता पाउनुहुनेछ ।

Nepal Telecom ad

नरमेन्द्र लामा :

“कलिको मान धुम्रपान” भने आहान छ । कुनै कुरालाई पोलेर वा घोलेर धुँवा खानु, पिउनु, निल्नु, घिच्नु आदिलाई धुम्रपान मान्छि । पोलेर धुवाँ पिउनेमा धेरै चीज छन् । त्यसमध्ये गाँजा, चरेस, स्म्याक, बिँडी, चुरोट, तमाखु आदि मुख्य हुन् । मपाईंलाई गाँजा, चरेस र स्म्याकको अनुभव अरू महनुभावहरूलाई जस्तो छैन । पिउने तरिका थरिथरिका छन् भन्ने कुरा मात्र थाहा छ, बस्, त्यत्ति हो । त्यसकारण यस लेखमा चुरोट, बिँडी आदिको मात्र बयान गरिन्छ, रिसानी माफ ! बिँडी र बेलौती, लुइँठे र अम्बा चाहिँ एकै ड्याङका मूला हुन् । यिनीहरू नेपालमै उत्पत्ति र निर्मित भएकाले नेपाली नै नाम निको मानेर टीको लागेको छ । मतलब यिनीहरूको नाम नेपाली नै छ । अझ बिँडी र लुइँठे, बेलौती र अम्बा एउटै आमाबाबुका सन्तान, नाताले दाजुभाइ पर्दछन् ।

तमाखु र चुरोटले चाहिँ अङ्ग्रेजी भाषासँग मितेरी लाएको छ । तमाखु अङ्ग्रेजी ट टोबाको (सूर्ति) शब्दबाट बिग्रेर बनेको शब्द हो । सखर, खुदो वा भेलीमा चुटेर, कुटेर, भुटेर प्रमोसन गर्दा पनि डिमोसन नै अर्थात् तमाखु नै रहेको छ । प्रमोसनका लागि सवैथोकले योग्य भएर पनि डिमोसन भएको कर्मचारीझैँ कति चित्त दुखाउँदा होलान् यी तमाखुहरूले बिचरा ! च्वः च्वः ! चुरोटको त झन् कुरै नगरौँ । किनभने अङ्ग्रेजी भाषामा ठिमाहा भएर आएको शब्द हो । अर्को शब्दमा भन्ने हो भने खच्चर भएको छ । अङ्ग्रेजी सिगरेट शब्दलाई भर्खर-भर्खर अङ्ग्रेजी भाषा नेपाल भित्रिएको बेला राम्रो उच्चारण गर्न नजानेर सी एच्को उच्चारण च हुने र चको उच्चारण गर्दा अप्ठ्यारो हुने हुनाले, अटेरी नेपाली जिब्रोले चुरोट शब्द बनाएको हुनुपर्छ । वास्तविकतामा होस् कि नहोस्, नेपाली व्याकरणको नियम कानुनले मानोस् कि नमानोस् मलाई मतलब छैन । मेरो दिमागले शतप्रतिशत यही ठहर गरेको छ ।

सत्य युगमा मान्यजनलाई जेसुकै वस्तुले सम्मान र सत्कार गरेको भए तापनि कलीयुगमा चाहिँ चुरोटले मान मर्यादा गरिन्छ । हुन त कलीयुगीन ऋषिमुनिहरूलाई गाँजा, चरेस नभई नहुने हुनाले त्यस युगमा पनि धुवाँ प्रशस्त पिउँथे भनेर अड्कल काट्ने ठाउँ पनि प्रशस्तै छ । मेरो विचारमा भन्नुहुन्छ भने सत्य युगमा झन् धुम्रपानले उग्ररूप लिएको हुनुपर्छ । किनभने ऋषिमुनिहरू प्रशस्त होम, यज्ञादि गर्दथे भनेर हाम्रा धर्मशास्त्रहरूले परी लगाउँछन्, होइन त ? उनीहरूलाई मुखले मात्र पान गरेर नअघाएर कान आदिबाट पान गर्नको लागि त्यसो गरेको हुनुपर्छ । सत्य युगमा के गरे के गरेनन् कोट्याउने तरखरमा नलागौँ । पुरानो कुरा खोतल्दै लगेमा आफू पनि बाँदरको सन्तान सावित होइन्छ । कलियुगमा चुरोट बिँडी नभई नहुने र नखाएमा कुनै कामै नचल्ने भएको कुरोको जिलीगाँठी त्यत्ति हो । कुनै कामको बलियो हतियार छ भने त्यो हतियारको नाम हो सिगरेट !

अड्डा अदालत, साथीभाइ, इष्टमित्र जो कोहीसँग पनि कुनै काम पट्याउनु छ भने पहिले चुरोट झिकेर सम्मानका साथ सत्कार गरे पट्टियो नत्र त्यसै थच्चियो हुन्छ भने अन्तको त कुरै भएन । मलाई लाग्छ, चुरोट बिँडी नभए नेपालीहरूको दिसा पिसाप नै बन्द हुने भएको छ । बाथरूम जाँदा चुरोट च्यापेर नगए आधा दिन बित्दछ । मेला जाँदा चुरोट, तीर्थ जाँदा चुरोट, बजार जाँदा चुरोट, भ्रमण जाँदा चरोट, सिनेमा जाँदा चुरोट, अस्पताल जाँदा चुरोट ! अरु कुराको बन्दोबस्त मिलाउन छाडेर पनि पहिले चुरोटकै व्यवस्था मिलाउनु पर्दछ । जहाँ गए पनि रेलको माउलेझैँ मुख र नाकबाट फुरुरु….. धुँवा नउडाई नहुने नाक मुखले कारखानाको चिम्नी नबाई सुखै नपाइने, हगि ?

कसैकसैले, धुम्रपान लिन्छ ज्यान, धुम्रपान त्यागौँ, अमूल्य जीवन बचाऔँ, अमूल्य जीवनलाई धुवाँमा नउडाऔँ भनेको सुनिन्छ र पोष्टर, पम्प्लेट बनाएर टाँसेको भेटिन्छ । अझ शहर बजारका चौबाटामा त एष्टे्र बोकेर सिगरेटको ठुटो झोस्न लागेको समेत देखिन्छ । रेडियो, टिभी र पत्रिकामा पनि सुन्न, हेर्न र पढ्न पाइन्छ । फेरि लगत्तैपछि “स्वाद र सन्तुष्टिका लागि” भनेर चुरोटको विज्ञापन गरिएको हुन्छ । कुरो ठीक पनि हो, म जन्मेर यत्रो पाँच फुटको भइसकेँ, चुरोट खाएर मरेको मान्छे भेट्न त के सुनेकोसम्म पनि छैन । कोही मरेको भए उसको काल आएर मात्र परेको होला ! कसैले एक खिली पूरै खाएमा ३ मिनेट आयु घट्छ रे भन्छन् । त्यसो त खास आयु कसरी घट्यो भन्ने ? सय वर्ष आयु राखेर हेर्दा पनि ६ महिना चाँडो नमरिँदंो रहेछ । उही पनि सिङ्गै कसले खानसक्छ र ? ठुटो त जसले पनि फ्याँकी हाल्छ नि ?

मैले देख्ता त चुरोट गुणैगुणले युक्त वस्तु हो । व्यक्तिगत तथा सामुहिक दुवै रूपले फाइदाजनक छ । भन्ने हो भने हाम्रो राष्ट्रिय आय नै सबभन्दा बढ्ता चुरोट कारखानाबाट भएको छ । हाम्रो राष्ट्रको विकास नै चुरोटको हातखुट्टामा निर्भर छ । हाम्रो देशमा २ वटा चुरोट करखाना फस्टाउँदै छन् । त्यसबाट जनताले काम र माम पाउने स्वतः सिद्ध छ । फेरि देश विकासशील मुलुकमा गनिनको लागि चुरोट रक्सीलगायत सबै चीजबीजको विकास हुनु अति आवश्यक छ । सबै चीज हाम्रो देशमा बन्दछन् तर रक्सी र चुरोट पनि बन्दैन भन्दा अरुले के भन्लान् ! सिङ पुच्छर नभएको गाईभैँसी जस्तो !!

चुरोट एकातिर स्लो पोइजन हो भने अर्कातिर आयु बढाउने औषधी पनि हो । केही गरी फोक्सोमा टी.बी. का कीटाणु जन्मेदेखि नै लिएर आएको रहेछ भने सिगरेट पिउन थालेपछि भुसुक्कै भएर मर्छन् । यदि यस्तो भएमा आयु बढाएन त ? यसले एकातिर सुद्धि हराउँछ भने अर्कातिर बुद्धि बढाउँछ । कुनैबेला सुद्धि हराएपछि बुद्धि गुम भयो भने एक खिली सिगरेट पिउनुस्, पिइसकेपछि तपाईंको बुद्धि जिउँका तिउँ भएर फर्कन्छ । जिब्रोमा खटिरा छ भने क्यान्सरको किटाणु पनि हुनसक्छ । सिगरेट पिउनुस्, सफाचट भइहाल्छ । कसैसँग नयाँ मित्रता गाँस्नु छ भने खल्तीमा फिल्टर सिगरेटको बट्टा राखेर हिँड्नुस्, जताततै घनिष्ट मित्र पाउनुहुनेछ । कसैसँग लभ गर्नुछ भने ओठमा फिल्टरवाला चुरोट च्यापेर सुरु गर्नुहोस्, चाँडै नै सफलता पाउनुहुनेछ । काम गरेर थकाई लागेमा एक खिली चुरोट पिउनुस्, पिई नसक्दै टनिकको काम गरिहाल्छ । म पनि लेख लेख्न आएन कि चुरोट पिउने गर्छु ।

चुरोट झगडाको औषधि पनि हो । तपाईंको लोग्नेस्वास्नीको झगडा पर्दा हत्त न पत्त आफ्नो मुखमा चुरोट झोस्नुस्, एक आगो एउटा पानी भइहाल्छ । बारबार यही क्रिया गरेमा रिसाएका मान्छे पनि हाँस्न थाल्नेछ । चुरोटले ज्ञान, मान, इज्जत सबथोक बढाइदिन सक्छ । पैसाको नाश होला भनेर चित्त दुखाउनु पर्दैन, पैसा आउने बाटो त त्यसै अटोमेटिकल्ली आइहाल्छ । बानी लागेपछि काम गरेर, ढाँटेर, अर्काको खल्तीमा हात हालेर जे गरी भए पनि चुरोटको लागि पैसा जोहो नगरी सुखै छैन । भरे खाने चामल बेचेर पनि पैसा नखर्ची कामै छैन । त्यसकारण चुरोट खाने मान्छेको बगली कहिल्यै खाली हुँदैन । सधैँ लक्ष्मीले बास गरेको हुन्छ ।

त्यति मात्रै हो र ? कसैलाई आशुकवि, महाकवि बन्नुछ भने पनि अवश्य चुरोट पिउनुहोला । हाम्रा लक्ष्मीप्रसाद देवकोटालाई मोटर र फूलमार चुरोटले नै महाकवि बनाएका हुन् । तपाईंले त झन् याक र नौलो जस्तो फिल्टर फिट गरेको सिगरेट पिउने सौभाग्य पाउनुभएको छ, होइन त ? पिउँदै जानुस्, भविष्यमा देवकोटालाई पनि उछिन्नुहुनेछ । याक र नौलो सक्नुहुन्न भने खुकुरी भए पनि पिउनुहोला । खुकुरी सिगरेटको वर्ग झ्वाट्ट हेर्दा उस्तै देखिए तापनि फरकफरक छन् । सिगरेट भन्नाले अलि लामो, फिल्टरवाल, विदेशबाट आयात गरिएको हन्छ र चुरोट चाहिँ फिल्टरविहीन, छोटो, नेपालमै निर्मित बस्, फरक पर्ने कुरा त्यति हो ।

०००
‘कुखुरीको दूध’ हास्यव्यङ्ग्यसङ्ग्रह (२०६०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
वान सनको टेन्सन

वान सनको टेन्सन

नरमेन्द्र लामा
कथा नै माग्ने भएपछि

कथा नै माग्ने भएपछि

नरमेन्द्र लामा
कुखुरीको दुध

कुखुरीको दुध

नरमेन्द्र लामा
जिताउनै नहुने मान्छे

जिताउनै नहुने मान्छे

नरमेन्द्र लामा
नयाँ- न यहाँ नेपाल

नयाँ- न यहाँ नेपाल

नरमेन्द्र लामा
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x