नरमेन्द्र लामाजिताउनै नहुने मान्छे
कुनै कुनै कार्यकर्ताहरू भने, चुनाव छउञ्जेल मरीमेटी गरेर लाग्छन्, जिताइसकेपछि पर-पर भाग्छन् । अनि भन्छन् “जिताउनै नहुने मान्छे !”

उहिलेका कुरा होइन, खुइलिनुलाई हाम्रै पालामा हो । सांसदहरू जुन जिल्लाबाट प्रतिनिधित्व गर्ने हो, विधिवत रूपमा त्यही जिल्लाको हुनु जरूरी थियो । जितेर गएपछि त्यस जिल्लाभरिको, थरिथरिको विकास निर्माणका कामहरू उसैको थाप्लोमा लागेको हुन्थ्यो । आजभोलि जमाना अर्कै भएर आएको छ । एउटा जिल्ला विभिन्न चुनावी क्षेत्रमा विभक्त भएको छ । एउटा सांसदलाई आफ्नो चुनावी क्षेत्रमा विकास गर्नलाई भनेर पाँच लाख रकम छुट्याइएको छ । जनताले बहुदलीय व्यवस्था पाएको छ । अहिले एउटा जिल्लाको मान्छे अर्को जिल्लामा गएर टुरिष्ट उम्मेदवारको रूपमा किल्ला बाँधेर वस्न पाउने भएको छ । जिल्लाको समस्याको बारेमा भन्दा चर्को भाषण र मधुर आश्वासन दिन सक्ने नेताको खाँचो भएको छ । त्यस्तो टुरिष्ट उम्मेदवार भयो भने त झन खाँटी नेता पो ठहरिने भएको छ, किनभने क्रान्तिकारी, विकासप्रेमी, विज्ञ विद्वान, जेजे भन्देनि भाको छ । जनताको विश्वासले छाको छ मनले खाको छ ।
एउटा जिल्लाको मान्छे, अर्को जिल्लामा जाँदा उसका नराम्रा कुराहरू केही पनि कसैलाई पनि ज्ञात नहुने र जेसुकै गरेर जेल परेको भए पनि क्रान्ति गरेर पर्नु भाको भनिदिए हुने रहेछ । जनताले पत्याइ हाल्छन् क्यारे। जनता ढाँटनु त छ राजनीति भनेकै ढाँट्ने र आश्वासन बाँट्ने पेशा रहेछ कि कसो ? मलाई त किमार्थ अरू लागेको भए मार्दिनु ? एउटा जिल्लाको एउटा चुनावी क्षेत्र अन्तर्गत त म पनि पर्दछ । एक भोट हाल्ने अधिकार मलाई पनि प्राप्त छ । गएको चुनावमा मैले पनि खसम खास एक भोट खसालें होइन, बाकस भित्रै पसालें तर जित्नेलाई परेन छ हाने हारबहादुरलाई हालें । एक भोट सित्तै खेर फालें । एक भोट खेर गएकोमा मेरो चित्त दुखेको र पित्त सुकेको होइन कि जिताउनै नहुने मान्छेले जितेकोमा खेद लागेको छ ।
तपाईंलाई किन जिताउनै नहुने मान्छे परेछ त भनेर जिज्ञासा जाग्यो होला ! उहाँ बहुदल आएदेखि नै जित्दै र घिच्दै, मिच्दै र थिच्दै आउनु भएको टुरिष्ट उम्मेदवार हुनुहुन्छ । उहाँको घर- मावली, माइती ससुराली कसैलाई थाहा छैन । प्रजातन्त्र आएपछि कुन दुलोबाट फुत्त निस्केर खाँटी क्रान्तिकारी नेता बन्नु भो बन्नु भो, कसैलाई पत्तो छैन । प्रत्येकपल्ट चुनाव जितेपछि, विजय जुलुसमा हातको औंलाको अंग्रेजी भी बनाउँदै पाल्नु हुन्छ । त्यसपछि राजधानी मै बस्न थाल्नुहुन्छ । अनि नाक बाङ्गो छ कि आँखा डेढो छ ? ओठ खुंडे छ कि पेट भुँडे छ ? पत्तै पाइँदैन । विकास निर्माणका कामहरू जिउँका तिउँ छन् ।
सांसद मार्फत् आफ्नो क्षेत्रमा विकास गर्न दिने वर्षको पाँच लाख रकम कार्यकर्ता पोस्ने र आफ्नो ग्याँसवाल चुल्होमा झोस्ने काम गर्नु हुन्छ । जब फेरि चुनाव आउँछ घर-दैलो कार्यक्रममा दुई हात जोड्दै, भूँडी हल्लाउँदै र दुःख पुकारा गर्दै गाउँमा धाउनु हुन्छ । बिरामी परे पनि त्यत्ती चाहिं दुःख पाउनु हुन्छ । अधिपछि पेरिसको सेन्ट छर्के पनि, त्यो बेलामा साधारण पोशाक लाउनु हुन्छ । आफ्नो क्षेत्रभरिको क्लब घरहरू जस्तापाताले छाउनु हुन्छ । बस, त्यति हुन् विकास निर्माणका कामहरू … ।
त्यत्ति हुँदाहुँदै पनि स्वार्थी कार्यकर्ता र गाउँका हर्ताकर्ताले जिताएरै छाड्छन् वा … । यहाँ चुनाव जित्नु जनता रिझाउनु र विकास फिजाउँनु पर्दैन । केबल वाक कार्यकर्ताको घाँटी भिजाए पुग्छ । अनि भोटरहरू भन्ने गर्छन् “जिताउनै नहुने मान्छे “ भोट दिने बेलामा खुरूक्क दिन्छन् रिजल्ट भइसकेपछि मात्र मान्छे चिन्छन् । कोही त्यसै दिन्छन् कोही पैसा लिन्छन् । कोही फाइदै फाइदा लिन्छन् । यस्तै छ यहाँको चलन, कसैको मुटु जलन कसैको हात गोडा गलन । कसैको नेता अगाडि पर्नासाथ आफ्नै हात मलन … ।
पहिले-पहिले उहाँको डेरामा एक माना चामल समेत नभएर मुसो रून्थ्यो रे..! अहिले राजधानीमा पचास हजार भाडा खाने घर…! फ्रिज डेक, टि.भी. पजेरो के के जाति छ रे भनेको सुन्छु। देख्नेले नै जान्दा हुन्। कार्यकर्ताको चुरीफुरी हेर्दा त भोटरलाई कुरी कुरी लाग्नु स्वाभाविकै हो । कार्यकर्ता भनौदाहरू त यावत कुराले सम्पन्न छन् झन नेताको नहुने कुरै भएन । कुनै कुनै कार्यकर्ताहरू भने, चुनाव छउञ्जेल मरीमेटी गरेर लाग्छन्, जिताइसकेपछि पर-पर भाग्छन् । अनि भन्छन् “जिताउनै नहुने मान्छे !” चुनाव अगाडि रिझाउने पछाडि विझाउने के काम गर्छन् कुन्नि । मलाई त राम्रो थाहा भएन, कुनै दिन थाहा पाएँ भने फेरिफेरि लेख्दै गरूँला हुन्न त ? –
०००
२०५६ असोज १५
‘सांसदको पाडो’ (२०५८)
Subscribe
Login
0 Comments
Oldest










































