साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरी पुराण

Nepal Telecom ad

“जो चोर, उसैको ठूलो स्वर” यो उखान धेरै पटक, धेरै जनाको मुखबाट प्रस्तुत भएको सुनिएको थियो । चोर नाथेको पनि ठूलो स्वर कसरी हुन्छ होला र, भन्ने पनि लाग्दथ्यो । चोरलाई सानै स्वरले चोर भन्दियो भने पनि उत्पातसँग रिस उठ्छ । त्यसो त घूसखोर हाकिमलाई घुस्याहा भन्न पाइँदैन, झुक्किएर कसैले भनिहाल्यो भने भन्नेको मुख कुच्चिन र कान बुच्चिन बेर लाग्दैन हिजोआज । जसरी आजकलका नेतालाई सुविधाभोगी र पजेरोवादी भनिदिंदा बर्मण्डी फुटेर रिसको पारो बाहिर प्रकट हुन्छ, ठीक त्यसैगरी चोरी चकारी मै जीवन निर्वाह गरिरहेको गैरमनुवालाई चोर भनिदिंदा उसको चेतनामा चड्कन पर्छ । “त्यसो भए पाजी चोरलाई चोर नभनेर हजूर, काजी भन्ने त ?” तपाईंका मनमा यो प्रश्न उब्जी सक्यो होला । अब स्थितिले बिघ्न छलाङ मारिसक्यो । चोर अब चोर हैन सज्जन, महात्मा, भलाद्मी, इज्जत र प्रतिष्ठाको प्रतीक बनिसकेको छ । चोरलाई चोर भनेर तपाईंले उसको प्रतिष्ठामाथि अनाहकमा धावा बोलेर बेफ्वाँकमा जेलको चिसो हावा खानु पर्ला, होस् गर्नोस् है– होस् गर्नोस् ।

शर्म नमानी गरिने चोरी कर्मले अब स्थानीय मात्र होइन राष्ट्रिय प्रतिष्ठा प्राप्त गरिसकेको छ । मुलुकभरिका साना– ठूला सबै चोरहरूका निम्ति यो अन्यन्त गौरवको कुरो हो । गएको हप्ता तमाम चोरहरूले आ–आफ्नो क्षेत्र, इलाका र ठाउँबाट जर्याकजुरुक उठेर भव्यरूपमा चोरी महोत्सव मनाए । उक्त दिन चोर र चोरी कर्मका निम्ति स्वर्णीम, अविस्मरणीय र दिगदिगान्तसम्म अमर रहने दिन प्रमाणित भएको छ । राष्ट्रको एउटा प्रमुख पदमा विराजमान, एउटा प्रमुख व्यक्तित्वले सगौरव घोषणा गरिदिनु भयो– “चोरी नै गरेर आए पनि मैले संरक्षण गर्नुपर्दछ । …स–साना कर्मचारीले थोरैतिन घूस खानु अस्वाभाविक होइन.. आदि आदि । घुस खानु र चोरी गर्नु एउटै कुरा हो । पेशा, व्यवसाय, कर्म कार्य र धर्म पनि एउटै हो । अहिले यी दुइटै महान् कर्म एकै काँटमा ठाँटिएर वरद्वाणिबाट सुशोभित र सम्मानित भएका छन् । इतिहासमा कहिल्यै नभएको यो सुखद कार्य हालै सुसम्पन्न भयो । साराका सारा चोरहरू हर्षले गद्गद् र खुशीले अलमस्त भएका छन् । अब “काँक्रा चोरले मुड्के सास्ती” होइन सोचेभन्दा ज्यास्ती मानका खातिर मान र सम्मान पाउने भयो । हुनुहुनामी हुनै नसक्ने कुरा भर्खरै भयो, औधी राम्रो भयो । इतिहासमा कहिल्यै नभएको साह्रै सह्रानीय काम भयो । “जो चोर उसैको ठूलो स्वर” उखान मात्रै थियो अब चरितार्थ हुने भयो ।

यो वरद् घोषणा भएको तेस्रो दिन सानो काम लिएर यो लखरठ्याक सरकारी कार्यालयको ढोकाभित्र छि¥यो । त्यहाँ साना ठूला सबै चोरहरू सारा काम छोडेर विजयोत्सव मनाइरहेका रहेछन् । वातावरण मिठाइमय थियो, एकले अर्कालाई बधाई ज्ञापन गरिरहेका थिए । मुहारमा कहिल्यै नआएको चमक र दमक पातीधारीमा गुराँस फुले झैं भनौं अथवा ढुङ्ग्यान र गेग्रान बाटोमा पजेरो गुडें झैं देखिन्थ्यो । कुन ठूलो चोर, कुन सानो चोर लखरठ्याकले छुट्याउन सकेन । चपरचण्डाल चोरका सरदार न हुन् उसको उपस्थितिले उनीहरूका मुखबाट राल चुहिन थालिहाल्यो । ओठमा सकेसम्म चिल्लो घसेर एउटाले सोधिहाल्यो– “हजूर, हामीले यहा“को के सेवा गर्नुपर्यो ?” उसले सेवाको कुरो गरेको हो कि मेवामा टेवा लगाउँदै ढेवाको कुरो गरेको हो भन्नेसम्मको अन्दाज नहुँदै लखरठ्याकले आफ्नो कामको संक्षिप्त विवरण पेश ग¥यो । ऊ उसलाई पछि लाएर आफ्नो फा“टमा गयो । अगाडिको कुशन फाटिसकेको कुर्सीको आशनमा उसलाई बसाल्यो र भन्यो– ‘तपाईंको काम तु अर्थात अहिले हुन्छ, तर पाँचवटा गैंडा झिकिहाल्नोस् त’ लखरठ्याकको सातोपुत्लो जम्मै उड्यो । तै कताबाट हो भएभरको साहस बटुलेर हप्याकहप्याक गर्दै भन्यो– ‘होइन, यो कामको दस्तुर त दश रूपयाँ मात्रै होइन र भन्या, अनि पाँच पाँच वटा गैंडा चाहिं…. ।’ ऊ अत्यन्त साखुल्ले हुँदै र मन्द मुस्कान छर्दै बोल्न थाल्यो– ‘हजुर, नानीभन्दा आचि ठूलो भनेको पनि यही हो । दश रूपयाँ दस्तुरको चार सय नब्बे रूपयाँ सस्तुर ! तपाईंको काम गरिदिए वापतको त्यो चाहिं यस्सो चियाखाजा वापतको दस्तुर ! सम्झनोस् यो पनि दस्तुर नै हो ।” यो सुनेर मेरो मन मुटु सबै लल्याकलुलुक भयो । “हैन यस्तो हाक्काहाक्की पनि घुस माग्न थालियो त ?” लखरठ्याकको बोली होसवेहोसमै फुस्कियो ।” अस्तिसम्म लुकिलुकी मात्रै थियो अब फुकीफुकी र देखादेखी नै हुनेछ । अस्तिसम्म टेवुलमुनिबाट मात्रै थियो, अब टेवुलमाथिबाटै हुनेछ । यो टेवुलमाथि र मुनिबीच एउटा सानो लक्ष्मणरेखा थियो । सबभन्दा गरिमामय कुर्सीमा आशन जमाउनु भएका वरद व्यक्तित्वका वरदवाणिबाट निस्रित अस्तिको घोषणाले त्यो लक्ष्मण रेखा पनि मेटियो । तपार्ईंको गर्नु पर्ने काम हो भने दाम गन्नोस्, हैन भने भैगो भन्नोस् आफ्नो बाटो नाप्नोस् ।”

दश रूपयाँ दस्तुर बुझाउँदा हुने कामका लागि रु. पाँचसय त्वंम् शरणम् गरेर घर फर्किंदा लखरठ्याकलाई हुनसम्मको औडाहा भयो । राती कामज्वरो छुट्यो । रामप्यारी समेतले जावो त्यति कामको निम्ति पाँचपाँच सय घूस ख्वाएको कुरो पत्याउन नसकेर छाँस्नसम्म छाँसी । “आफूले ‘जूस’ पियौ होला बूढा, अनि घूस ख्वाएँ भन्छौ” समेत भनी । हैन यो के उदेकको जमाना आयो ? विसौं शताब्दीको टुप्पोमै त यस्तो छ भने एक्काइसौं शताब्दीमा झन के उपद्रो होला हरे ¹ ओछ्यानमा पल्टिएको लखरठ्याक यिनै कल्पनाका तानावानामा लठारिंंदै थियो । उसको आँखामा निन्द्रा थिएन सिर्फ तन्द्रा मात्रै थियो । आधा रात बित्दा नबित्दै कोठाभित्र छस्याकछुसुक, खस्याकखुसुकको आवाज आयो तर लखरठ्याकले तन्द्रामै सोच्यो आज कोठामा मुसा पसेछ, यो कुना र ऊ कुना दगुर्दैछ । पछाडिपट्टिको झ्यालको ग्रिल र जालीसमेत काटेर एउटा जवाँमर्द चोर उसको घरमा पसेको थियो– उसलाई पत्तै भएन । रामप्यारीका गरगहना, टिभी, स्टेरियो, लुगा कपडा, सुट पाइन्ट, आदिको ठूलै कुम्लो कसेर चोर बाहिर निस्कन ढोकाको आग्लो खोल्न खोज्यो । आग्लो मरे खुलेन । निकै वल गर्नुपर्यो तर जोडले खट्याकको आवाज आयो । संयोगवस त्यो आवाजले लखरठ्याकको तन्द्रा तोडियो । यो आधा रातमा कसले ढोका खटखटायो भनि ढोकातिर दौडिएको ऊ कुम्लोमा ठोक्किन पुग्यो । यसो हेर्छ त चोरले झिटीगुन्टा कसिसकेको ¹ उसको पालो चोरको कठालोमा समातेर एकपटक गुहार ! मात्र के भनेको थियो विजुलीको झड्का झैं उसको गालामा एक चड्कन बज्रियो । चड्कनसँगै चोरज्यूको वाणि उसको कानमा बर्सन थाल्यो “हल्लाखल्ला गरेर तिमी आफैं माथि खतरा ननिम्त्याउ मूर्ख ¹” उजूरै गर्ने हो भने पनि तिमी कहाँ जान्छौ ? त्यहीं प्रहरी विटमा न हो, म त सुरक्षाको निम्ति वालुवाटार जान्छ । तिमीले मलाई चिनेनौं, क्वै वात छैन, मेरो घर पर्सा जिल्ला हो ।” चोरको कठालो समातेको लखरठ्याकको हात लत्याकलुतुक भएर तल झर्यो । चोर भने घरक्क ढोका तानेर मालसामानको कुम्लो सहित बडो भलाद्मी पारामा, बिना हतारो, बिनाधक, लसकलसक बाहिर निस्कियो ।

नमरी बाँचे दैवले साँचे यस्ता दिन पनि देख्न पाइँदो रहेछ । जमानाको उलटफेरमा चोर, लफङ्गा, डाँका वद्मास चाहिं सज्जन भलाद्मी कहलिने र साधुसन्त भलाद्मी र सज्जन चाहिं चोर लफङ्गा सावित हुने स्थितिको सगौरव सृजना भयो । यो हुनु हुनामी हुनै नसक्ने कुरा भयो । जे भयो वहुत राम्रो भयो । भारेभुरे दुले चोरदेखि राष्ट्रिय ढुकुटी बजेट चोरसम्मका तमाम चोरहरू चोरी महोत्सव मनाउने यो अवसर पाएर हर्ष र खुशीले आल्हादित भएका छन् । आफ्नो पेशा र व्यवशायको गौरव बढेकोमा अत्यन्तै प्रफुल्लित भएका छन् । इतिहासमा कहिल्यै नभएको एउटा साह्रै सुन्दर कार्य सुसम्पन्न भएको छ । हर्ष र खुशी व्यक्त गर्न तमाम चोरहरूले भव्य जुलुस निकाले भने उनीहरूको स्वागत र सम्मानमा जलभरी घडा राख्न र फूल अक्षता छर्न देशबासीले नबिर्सनु होला । त्यसो नगरे तपाईं स्वयम् चोर सावित हुनु पर्ला, होस गर्नोस् है, होस गर्नोस् ! 

०५६ मङ्सिर
मधुपर्क मासिक

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x