सरण राईमुकुट
अत्यन्त सक्रिय मानिस ऊ असफल भएर आर्थिक रुपले समस्याग्रस्त भयो । नोकरी, व्यापार, खेती केहि थिएन र कहिल्यै त्यस्तो काम गरेको पनि थिएन । भोकै हुने अवस्था आएपछि उसले युक्ति निकाल्यो– एउटा मुकुट बनाएर समाजको सबैभन्दा ठुला मान्छेलाई सम्मान गर्दै पहिराउने ।
“गणतन्त्रको युगमा पनि के को मुकुट ?” मानिसहरूले भने ।
“राजा बनाउन मुकुट पहिराउने नभएर सबैभन्दा ठुला मान्छेको सम्मान गर्ने असल तरिका हो जसले सबै युवाहरूलाई असल र ठुलो मान्छे बन्ने उत्प्रेरणा दिन्छ, ।” उसले भन्यो ।
मुकुट भनेपछि महँगो हुने नै भयो । आफ्नो ठाउँको इज्जत जाला भन्दै उसले सबैसँग थुप्रै चन्दा उठायो । नेता, उधोगी, व्यापारी, साहित्यकार, समाजसेवी र अन्य सबै ठुला मानिसहरू आफूलाई त्यस ठाउँको सबैभन्दा ठुला मानिस सम्झन्थे । त्यो मुकुट आफूले नै पहिरिन पाउँछु भन्ने सोच्थे । त्यसैले उसको काममा सबैले साथ दिए । मुकुटका लागि उसको चाकडी पनि कसै कसैले त गर्न थालेका थिए ।
“मुकुट पाइयो भने त चुनाव जित्न सजिलो हुन्छ ।” नेता सोच्थे– “ठुलो मान्छे भइन्छ” अरुहरू पनि सोच्थे ।
ठुलो धनराशि उठ्यो, हेर्दा गर्दै ऊ नव धनाढ्य भयो । उठेको कुल रकमको सय भागको एक भाग खर्च गरेर उसले सुन, चाँदी र रत्न मिश्रित मुकुट बनायो । मुकुट पहिराउने भव्य समारोहको आयोजना गर्यो ।
सबै ठुला भानाउँदाहरूले आफुले नै पाउँछु भन्ने सोचेका थिए । त्यसै हुनाले कसैले विरोध गरेनन् । सबै ठुलाहरूले त्यस कार्यक्रमा ठुला ठुला भाषण र शुभ कामना मन्तव्य दिए । अन्तमा मुकुट पहिराउने समय भयो ।
ऊ उठ्यो र मुकुट सबैलाई देखाएर आफैले पहिरियो । उसका पत्नी, नातागोता र पाल्तुहरूले ताली बजाए । विरोध गर्न भनेर नेताहरू उठेर आफ्ना पाल्तुहरूलाई हेरे । पाल्तुहरू त कहिले कहिले उसले किनी सकेको रहेछ । उसका भिजिलान्तेहरूको ठुलो समुह देखेर आफूलाई ठुला सम्झनेहरू सब चुप भए ।
मुकुट पहिरेर ऊ त्यस समाजको सबै भन्दा सम्मानित ठुलो मानिस भयो ।
२०७१ भदौ २१, धारा
Subscribe
Login
0 Comments
Oldest







































