साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुसंस्कारप्रति आभार

Nepal Telecom ad

आज अचानक मलाई मेरो संस्कारप्रति गर्व हुन थालेको छ। हिजोका दिनमा हाल मैले मिल्काइसकेका कतिपय संस्कारहरूमा कु जोड्ने गरेका मेरा शुभचिन्तकहरूको मथिंगलमा कान्छो छोरोलाई अह्राएर सू गराइदिन मन लागेको छ। त्यस्ता थुप्रै संस्कार, जसलाई मैले साथीहरूको लहैलहैमा लागेर कुसंस्कारको तमगा भिडाउँदै पन्छाइदिएको थिएँ, ती सबै कन्टेनरबाट खोजीखोजी ल्याउँदै मलाई चाँदीको फ्रेममा सजाउन मन लागिरहेको छ। आज मैले मेरा ती अमूल्य कुसंस्कार मात्र जोगाइराख्न सकेको भए म पनि सम्पन्नता र सभ्यताको सगरमाथामा तेस्रो शिविरमा तम्बू गाडेर चुचुरोमा झन्डा गाड्ने योजना बनाइरहेको हुन्थेँ। तर, खै कसरी हो, बुद्धि मासिएर अहिले आफैँप्रति पनि चुकचुकाइरहेको छु अनि देश बर्बाद भयो भनेर बित्थाको चिन्ता चुहाइरहेको छु। कठै मेरो कुसंस्कार !

उहिले-उहिले मिथिलामा दाइजो प्रथाले छोरीको जन्मलाई नै फुटेको कर्म मानिन्थ्यो। एउटा छोरीको बाबुको सबैभन्दा ठूलो पुरुषार्थ उसले छोरीका लागि वर खोज्न सक्नुमा निहित हुन्थ्यो। जस्तोसुकै मै हुँ भन्दै अररिएर बस्ने मान्छे पनि छोरीको बिहे गर्नुपर्योो कि काँचो निगालोझैँ पिर्लिक्क हुन्थ्यो। मैले हुन्थ्यो भन्दा यस अवस्थालाई यहाँले भूतपूर्वको संज्ञा दिनुभएको होला। अर्थात्, अब त्यस्तो अवस्था छैन भन्ठान्नुभएको होला। तर, यदि तपाईं यस्तो सोचिरहनुभएको छ भने त्यो गलत हो। किनभने, हाम्रो देशको राजनीतिको सकारात्मक प्रभाव मिथिला समाजमा पनि मनग्गे परेको छ। धन्न, मिथिलामा शैक्षिक स्तर सिंगो देशकै अनुपातमा राम्ररी बढ्न सकेको छैन। अन्यथा मैले हुन्थ्यो नभनेर शत प्रतिशत हुन्छ भन्नुपथ्र्यो। भन्नाले पहिला मानिसले चेतना नभएर दाइजोको लेनदेन गर्थे, अहिले जो जति पढे-लेखेको वा समाजमा सभ्य भनाउँदो छ, दाइजोका नाममा त्यसले त्यति बढी कमाउँदो छ। साँच्चै भन्दा पढालेखाहरू मिथिलामा अपेक्षाकृत कम भएर दाइजोको विस्तृति पनि कम भएको हो।

हुन त हाम्रो समाजमा अनेकौँ कुसंस्कारहरू छन्। तर, जतिसुकै भए पनि हाल हाम्रा नेता-मन्त्रीहरूले देखाउने राजनीतिक सदाचारका अगाडि लाजले भुतुक्कै हुने खालका छन्। दाइजोकै सन्दर्भमा हेर्ने हो भने अनेकौँ उदाहरण पाइन्छन्। जस्तो- बिहे गर्न भनेर जन्तीहरू गइरहेका हुन्छन्। तर, बेहुली पक्षले कबोल गरेको रकममा थोरै मात्र पनि बाँकी छ भने बेहुलीको घरबाट दुई-चार किलोमिटर टाढा आएर बसिदिन्छन् र पूरा रकम भुक्तान नभएसम्म त्यहाँबाट अगाडि नबढ्ने अडान लिन्छन्। अन्तिम चरणमा छोरीको बाबु बिचरो …। हामीकहाँ अहिले सरकार बनाउने सहमति भइसकेपछि वा संविधानै बनाउन पनि सबै लागिसकेपछि समेत जसरी लोकतन्त्रका बेहुला भएको फुइँ लगाउनेहरू यो र त्यो सर्त राख्दै निरन्तर शुभसाइतको समय घर्काउँदै लगिरहेका छन्, त्यसले म आफ्नो पुरानो कुसंस्कारप्रति संवेदनशील हुन्छु¬- ओहो ! कुसंस्कार, तिमी अहिले मसँग भइदिएको भए मैले नेपालको राजनीतिमा तिम्रो साथ पाएर कति धेरै टेवा पुर्यानउन सक्थेँ ?

अझ हाम्रो मिथिलामा त सौराठसभा भनेर दुल्हा छान्न पाइने एउटा वाषिर्क मेला पनि लाग्थ्यो। त्यसलाई त्यतिखेर हाम्रा बेइमान शुभचिन्तकहरूले दुल्हाको बजार भनेर खन्नुसम्म खेदो खनेका थिए। तर, त्यसमा त कम्तीमा अहिले सरकार बनाउन सभासद् खोज्नका लागि दलदल भौँतारनिु परेझैँ केटीका लागि केटा खोज्न त गाउँगाउँ डुल्नु पर्थेन। अर्को महत्त्वपूर्ण कुसंस्कार थियो- दाइजोको सारा रकम लिइसकेपछि पनि केटा आफैँ आफ्ना लागि घडी, औँठी, सुटको कपडा आदि किनाउन केटी पक्षकालाई लिएर जाने। कतिसम्म भने केटीका लागि केटी पक्षबाटै खरदि हुने सामान किन्ने टोलीमा पनि केटा सहभागी हुने र छानी-छानी किन्न लाउने। ए बाबा, केटीका लागि बिहे हुनुभन्दा अघि वा बिहेको सन्दर्भमा उसका बाबुआमाले नै पर्याप्त सोचिदिइहाल्छन् नि ! केटाले किन त्यसमा उपबुज्रुक हुनुपर्योा ? यी अनेकौँ कुसंस्कारले मिथिलालाई गाँजेको थियो। सबैले यी कुसंस्कारहरूले समाजलाई, देशलाई कुमार्गमा लान्छ भनेकाले हामी अल्पज्ञानीहरूले त्यागिदियौँ, केही नवज्ञानीहरू भने यसलाई निरन्तरता दिँदै मिथिलाको संस्कारलाई उकास्ने अभियानमा लागेका छन्।

उहिले-उहिले आफ्नो कुसंस्कारमा बेहुलाले गर्नै नपर्ने कामका लागि पनि देखाउने गरेको तत्परताले म जिल्ल पर्थें। त्यसको कारण मैले जति खोज्दा पनि भेट्टाउन सकेको थिइनँ। तर, कुसंस्कारमा भेट्टाउन नसकिएको जवाफ अचानक हाम्रा डाइनामिक गृहमन्त्री भीम रावलको सदाचारमा फेला पारेँ। उनी र उनका दौँतरी हालै निवर्तमान भएका कतिपय मन्त्रीहरूका सद्व्यवहारबाट म मेरा कुसंस्कारप्रति आभार प्रकट गर्ने हदसम्म संवेदनशील हुन पुगेँ। वस्तुतः दाइजोविरोधी उहिल्यैदेखि भएर पनि हामी दाइजोका मामलामा किन निरन्तर अग्रगामी छलाङ मारिरहेका रहेछौँ भन्ने कुरा बिदा पाइसकेपछि पनि बिदा लिन तयार नहुने र खोसिइसकिएको हैसियतमा विदेश शयर गर्ने भीमत्वबाट थाहा भएको छ। मन्त्री हुँदा चढ्नका लागि आफैँले छानेर किन्न लाएको देशकै औकातभन्दा माथिको गाडी खुसुक्क दाइजो लैजाने मन्त्रीहरू दायित्वमा रहुन्जेल देशमा दाइजोको कसले बाल बाँका गर्ने ?

हिजो हामीले कुसंस्कार भन्ने गरेका यावत् कुराहरू अहिले देश बनाउने मूल आधार भएका रहेछन्। यस्तोमा भीमज्यूको भीमकाय वक्तव्य मात्र आउन बाँकी छ। आएमा त्यसको मजबुन पक्कै पनि नेपाल भाषाका सुप्रसिद्ध कवि नर्मदेश्वर प्रधानको यो कविताजस्तै हुनेछ :
रेस्टुराँ बार
भोद्का
कार्ल्सवर्ग
तिनीहरूले यसमा
देश भेटे
निकै पिए
पिउँदापिउँदै
सुर-बेसुरमा कराउन थाले।
आफ्नो चिच्याहटमा
तिनीहरूले राष्ट्रिय गान देखे
अनि चिच्याए
खुब चिच्याए
शान्त रातमा
कानको जाली नै च्यातिने गरी
तीव्र-तीव्र, सुरुवालको
इजार चुँडिएको आवाजमा।

\’नेपाल\’ साप्ताहिक ४३३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
उम्लेपछि चैँ पोखिन्छ है !

उम्लेपछि चैँ पोखिन्छ है...

धीरेन्द्र प्रेमर्षि
कसो होला भन् त बुढी !

कसो होला भन् त...

धीरेन्द्र प्रेमर्षि
भोजन

भोजन

धीरेन्द्र प्रेमर्षि
0
Would love your thoughts, please comment.x
()
x