विमल निभात्यो खोइ अङ्कल कोनी ?
कुनै ससाना पहाडी थुम्काहरूका पृष्ठभूमि भएको निर्जन बलौटे बाटोमा एउटा शक्तिशाली घोडामा सवार भएर कोही बेफिक्रीसँग अघि बढिरहेको छ ।
खैरो रंगको आकाशमा एकाध कावा खाइरहेका टाटेपाङ्ग्रे चिल र यताउता छरिएका लगभग डेढ दर्जन हरिया बादलका टुक्राहरू ।
रहस्यात्मक र अद्भूतपना एकसाथ महसुस गराउने (संक्षिप्त अन्तरालसहित) नैपथ्थीय ध्वनि– सुएँएँएँएँएँ…..।
झ्याम्म दाह्री–जुँगा भएको दुब्लो–पात्लो घोडचढीले काराकोनको घना जंगलमा पाइने पोथी घोडगदाहाको छालाको मिनी जैकेट पहिरेको छ । केही तल मनग्य खुइलिएर मटमैलो भइसकेको जिन पैन्ट । यसको एक साइडको पुक्क फुलेको खल्तीमा हैन्डमेड रिभल्भरको उल्टो छेउ देखापर्दै । र कम्मरमा तुर्लुंग झुन्डिएर हल्लिरहेको नेजा टाइपको परम्परागत रेडइन्डियन हतियार । झन्डै घुँडासम्म पुग्न लागेको ढ्याब्रे बुटा अग्लो शरीरको गोलो टाउकोमा मेक्सिकन स्टाइलको काउब्वाय हैट । घरि–घरि ओठको कापमा च्यापिएको मोटो सिगारबाट फुसुफुसु धुवाँ उडेर मरुभूमिको सुख्खा हावामा विलिन भइरहेको छ ।
एउटा ६ औंले हात वर्णशंकर नश्लको घोडाको लामो गर्दनमा प्रेमपूर्वक पुगेको छ भने अर्काे हातमा खतरनाक टामिगन बोकेको छ, यसले ।
अब सानु किरा सरहका अङ्ग्रेजी अक्षरहरूका क्रमशः आकार वृद्धि भएर सामुन्नेको स्क्रीन ढपक्क ढाकिन्छ । (कतैबाट टकटक–टकटक घोडेनाल लयसाथ ठोक्किइरहेको समानान्तर आवाज) यसले के स्पष्ट हुन्छ भने यो कुनै गतिमान सिनेमाको टाइटल प्रदर्शन हो । याने कुनै हलिउडीय काउब्वाय फिल्म सुरु हुनलागेको छ । होइन, आरम्भ नै भइसकेको छ, एउटा सस्पेन्सयुक्त थ्रिलर । अर्थात् उन्नाइसौं शताब्दीको कथानक भएको कुनै बीसौं शताब्दीको सिनेमा एक्काइसौं शताब्दीको निरन्तरतामा दृश्यमान भइरहेको छ ।
हाम्रो सिनेमाको माचोम्यान हिरो अग्रसरपथमा भेटिएका (देखिएका पनि) तमाम् दुश्मनहरूलाई आफ्नो बन्दुकले (कहिले रिभल्भर त कहिले टामिगन) ढ्याङ–ढ्याङ पार्दै एउटा उजाड, उराठ र अनजान स्थलमा आइपुगेको छ । कुनै मुसाफिरखाना –सराय) जस्तो लाग्ने बांगोटिंगो काठैकाठले निर्मित पिरामिडीय कटेजमा । एउटा लम्बेतान सफरले बेस्सरी थाकेको घोडालाई नजिकको फिरफिर चलिरहेको पवनचम्कीको खम्बामा बाँधेर हिरो टामिगन बोकेरै (अर्काे हातमा रिभल्भर पनि) लापरबाहीका साथ भित्र पस्छ । त्यहाँ एउटा अतिरिक्त बोसोको थुलथुले बूढो अर्धनिद्रामा व्यस्त छ । उसको अगाडि भरिएको काँचको गिलास र बोतल ।
को हो ? गाढा अँध्यारो र पारदर्शी उज्यालोको रात–दिन नछुट्टिने समयमा एउटा आँखा खोलेर बूढो हेर्छ ।
हिरो– हाय, अंकल कोनी ?
(रिभल्भर र टामिगन काउन्टरमाथि थपक्क राख्छ)
यसको प्रत्युत्तरमा अंकल कोनी केही नभनी हडबडाएर गिलास मुखमा लग्छ ।
हिरो– त्यो खोइ अंकल कोनी ?
बूढो– के मिस्टर मुडी ?
(एकतमासको डर मिसिएको छ, बोलीमा)
हिरो– आरामै छ, अंकल कोनी ?
(ओठमा दुई इन्ची मुस्कान)
बूढो– यस मिस्टर मुडी ।
(अहिलेसम्म नर्मल भइसकेको छैन स्वर)
कुनै स्त्रीकण्ठबाट निस्किएको चिच्याहट जस्तो तिखो संगीत आरोहमा पुगेर स्थिर हुन्छ ।
हिरो– त्यो खोइ अंकल कोनी ?
(काउन्टरमा राखिएको रिभल्भर हातमा लिएर खेलाउन थाल्छ)
हिरो– एउटै प्रश्न कतिपटक गर्नु पर्नेछ, अंकल कोनी ?
बूढो– आई एम सरी मिस्टर मुडी ।
हिरो– ओके अंकल कोनी, तपाईं एक्लैले मात्र मीठो कोन्याक पिउने ?
(अग्लो मुढा कम कुर्सी तानेर विस्तारै बस्छ)
एउटा रोबोटको यान्त्रिक गतिमा झटपट रैकबाट अर्काे गिलास निकालेर बोतलबाट कोन्याक खन्याउन थाल्छ, बूढो सरायको मालिक ।
हिरो– त्यो खोइ ?
(कोन्याकको चुस्की लिँदै एक्कासी उभिन्छ)
बूढो– गड…प्रोमिस…मलाई…केही…थाहा…छैन….मिस्टर…मुडी…।
(भयको आधिक्यले बूढोको स्वरलहरीमा कप्न पैदा भइरहेको छ)
हिरो– त्यो खोइ अंकल कोनी ?
बूढो– ओ जिसस, मेरो रक्षा गर ।
हिरो– म आखिरी बाजी सोधिरहेको छु, त्यो
खोइ ?
(सानो हैन्डमेड रिभल्भर हातमा फनफनी घुमिरहेको छ)
बूढो– माई गड, म निर्दाेष छु, मिस्टर मुडी ।
हिरो– त्यो खोइ अंकल कोनी ?
अघिको तिखो एवं कर्कस संगीत फेरि ५.६ रेक्टरमा प्रकट भएर कटेज नै हल्लिन थाल्छ ।
दुवै आँखा चिम्लेर मौन प्रार्थना गरिरहेको सरायको मोटे मालिक अंकल कोनीको भयग्रस्त मुखमण्डल परिवर्तित भएर दृश्यपटलमा एउटा विशाल मखुन्डो देखापर्छ । र त्यो मखुन्डो विस्तारै खुल्दै गएपछि थाहा हुन्छ– अरे, यो त नेपाली काँग्रेस पार्टीका वरिष्ठ नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको ङ्खयुजनयुक्त विचित्र चेहरा पो हो । यसरी अप्रत्याशित गडबडीले निद्ररा खलबलिएर क्लाइमेक्समा पुग्नलागेको सपनारूपी सिनेमा (अथवा सिनेमारूपी सपना) को बलजफती ‘द इन्ड’ हुन जान्छ ।
वास्तवमा हाम्रा वर्तमान प्रधानमन्त्री सुशील कोइराला मस्त निद्ररामा गएर सपनाको संसारमा विचरण गरिरहेका थिए । प्रधानमन्त्रीको कुर्सीमा आसिन भएदेखि यही दैनिकी (रातको) भएको छ, उनको । यद्यपि पहिले पनि यसरी निदाएर सपनामा हराउने स्थिति नभएको होइन । अहिले यसको मात्रामा अभूतपूर्व बढोत्तरी भएको हो । सधैं अबेर राति निदाउनुभन्दा अगावै एउटा हलिउडको सिनेमा हेर्नु उनको पुरानो बानी हो । फलस्वरूप सपनामा पनि जोडतोडले ब्ल्याक एन्ड ह्वाइट सपना चलायमान भइरहन्छ । यही स्वभाव अनुरूप आज पनि एउटा मजेदार टोलिबुडीय ड्रिममा थिए । सिनेमाको हिरो उनी आफैं नै । यसको थिम समसामयिक राजनीतिमा आधारित भएकोले उनले बारम्बार उच्चारण गरिरहने संवाद ‘त्यो खोइ अंकल कोनी’ ले संविधानसभाको संविधानलाई संकेत गर्न खोजेको हो । प्रधानमन्त्रीज्यू, होटल सपनाको राजनीति गर्नमा विश्वास गर्छन् । जे होस्, शेरबहादुर र रामचन्द्रको ठोस व्यवधानले हठात् निद्राबाट ब्युँझने परिस्थितिको निर्माण भएको हो । यसरी उनको प्रिय काउब्वाय सपनालाई बिथोल्ने दुष्ट कार्य कमरेडहरू गर्ने गर्थे । अहिले आफ्नै पार्टीकाहरूले मीठो स्वप्नभङ्ग गरेकोमा प्रधानमन्त्री सुशील कोइराला बालुवाटारको नरम–नरम डनलप बिछ्यौनामा अति चिन्तित भएर यताबाट उता र उताबाट यता दीर्घकोल्टे फेरिरहेका छन् ।
‘कान्तिपुर’ २०७१ जेष्ठ ३
Subscribe
Login
0 Comments
Oldest







































