साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यो खोइ अङ्कल कोनी ?

Nepal Telecom ad

कुनै ससाना पहाडी थुम्काहरूका पृष्ठभूमि भएको निर्जन बलौटे बाटोमा एउटा शक्तिशाली घोडामा सवार भएर कोही बेफिक्रीसँग अघि बढिरहेको छ ।

खैरो रंगको आकाशमा एकाध कावा खाइरहेका टाटेपाङ्ग्रे चिल र यताउता छरिएका लगभग डेढ दर्जन हरिया बादलका टुक्राहरू ।

रहस्यात्मक र अद्भूतपना एकसाथ महसुस गराउने (संक्षिप्त अन्तरालसहित) नैपथ्थीय ध्वनि– सुएँएँएँएँएँ…..।

झ्याम्म दाह्री–जुँगा भएको दुब्लो–पात्लो घोडचढीले काराकोनको घना जंगलमा पाइने पोथी घोडगदाहाको छालाको मिनी जैकेट पहिरेको छ । केही तल मनग्य खुइलिएर मटमैलो भइसकेको जिन पैन्ट । यसको एक साइडको पुक्क फुलेको खल्तीमा हैन्डमेड रिभल्भरको उल्टो छेउ देखापर्दै । र कम्मरमा तुर्लुंग झुन्डिएर हल्लिरहेको नेजा टाइपको परम्परागत रेडइन्डियन हतियार । झन्डै घुँडासम्म पुग्न लागेको ढ्याब्रे बुटा अग्लो शरीरको गोलो टाउकोमा मेक्सिकन स्टाइलको काउब्वाय हैट । घरि–घरि ओठको कापमा च्यापिएको मोटो सिगारबाट फुसुफुसु धुवाँ उडेर मरुभूमिको सुख्खा हावामा विलिन भइरहेको छ ।

एउटा ६ औंले हात वर्णशंकर नश्लको घोडाको लामो गर्दनमा प्रेमपूर्वक पुगेको छ भने अर्काे हातमा खतरनाक टामिगन बोकेको छ, यसले ।

अब सानु किरा सरहका अङ्ग्रेजी अक्षरहरूका क्रमशः आकार वृद्धि भएर सामुन्नेको स्क्रीन ढपक्क ढाकिन्छ । (कतैबाट टकटक–टकटक घोडेनाल लयसाथ ठोक्किइरहेको समानान्तर आवाज) यसले के स्पष्ट हुन्छ भने यो कुनै गतिमान सिनेमाको टाइटल प्रदर्शन हो । याने कुनै हलिउडीय काउब्वाय फिल्म सुरु हुनलागेको छ । होइन, आरम्भ नै भइसकेको छ, एउटा सस्पेन्सयुक्त थ्रिलर । अर्थात् उन्नाइसौं शताब्दीको कथानक भएको कुनै बीसौं शताब्दीको सिनेमा एक्काइसौं शताब्दीको निरन्तरतामा दृश्यमान भइरहेको छ ।

हाम्रो सिनेमाको माचोम्यान हिरो अग्रसरपथमा भेटिएका (देखिएका पनि) तमाम् दुश्मनहरूलाई आफ्नो बन्दुकले (कहिले रिभल्भर त कहिले टामिगन) ढ्याङ–ढ्याङ पार्दै एउटा उजाड, उराठ र अनजान स्थलमा आइपुगेको छ । कुनै मुसाफिरखाना –सराय) जस्तो लाग्ने बांगोटिंगो काठैकाठले निर्मित पिरामिडीय कटेजमा । एउटा लम्बेतान सफरले बेस्सरी थाकेको घोडालाई नजिकको फिरफिर चलिरहेको पवनचम्कीको खम्बामा बाँधेर हिरो टामिगन बोकेरै (अर्काे हातमा रिभल्भर पनि) लापरबाहीका साथ भित्र पस्छ । त्यहाँ एउटा अतिरिक्त बोसोको थुलथुले बूढो अर्धनिद्रामा व्यस्त छ । उसको अगाडि भरिएको काँचको गिलास र बोतल ।

को हो ? गाढा अँध्यारो र पारदर्शी उज्यालोको रात–दिन नछुट्टिने समयमा एउटा आँखा खोलेर बूढो हेर्छ ।

हिरो– हाय, अंकल कोनी ?
(रिभल्भर र टामिगन काउन्टरमाथि थपक्क राख्छ)
यसको प्रत्युत्तरमा अंकल कोनी केही नभनी हडबडाएर गिलास मुखमा लग्छ ।

हिरो– त्यो खोइ अंकल कोनी ?

बूढो– के मिस्टर मुडी ?

(एकतमासको डर मिसिएको छ, बोलीमा)
हिरो– आरामै छ, अंकल कोनी ?

(ओठमा दुई इन्ची मुस्कान)
बूढो– यस मिस्टर मुडी ।

(अहिलेसम्म नर्मल भइसकेको छैन स्वर)
कुनै स्त्रीकण्ठबाट निस्किएको चिच्याहट जस्तो तिखो संगीत आरोहमा पुगेर स्थिर हुन्छ ।

हिरो– त्यो खोइ अंकल कोनी ?
(काउन्टरमा राखिएको रिभल्भर हातमा लिएर खेलाउन थाल्छ)

हिरो– एउटै प्रश्न कतिपटक गर्नु पर्नेछ, अंकल कोनी ?
बूढो– आई एम सरी मिस्टर मुडी ।
हिरो– ओके अंकल कोनी, तपाईं एक्लैले मात्र मीठो कोन्याक पिउने ?
(अग्लो मुढा कम कुर्सी तानेर विस्तारै बस्छ)

एउटा रोबोटको यान्त्रिक गतिमा झटपट रैकबाट अर्काे गिलास निकालेर बोतलबाट कोन्याक खन्याउन थाल्छ, बूढो सरायको मालिक ।

हिरो– त्यो खोइ ?
(कोन्याकको चुस्की लिँदै एक्कासी उभिन्छ)

बूढो– गड…प्रोमिस…मलाई…केही…थाहा…छैन….मिस्टर…मुडी…।
(भयको आधिक्यले बूढोको स्वरलहरीमा कप्न पैदा भइरहेको छ)

हिरो– त्यो खोइ अंकल कोनी ?
बूढो– ओ जिसस, मेरो रक्षा गर ।

हिरो– म आखिरी बाजी सोधिरहेको छु, त्यो
खोइ ?
(सानो हैन्डमेड रिभल्भर हातमा फनफनी घुमिरहेको छ)

बूढो– माई गड, म निर्दाेष छु, मिस्टर मुडी ।
हिरो– त्यो खोइ अंकल कोनी ?
अघिको तिखो एवं कर्कस संगीत फेरि ५.६ रेक्टरमा प्रकट भएर कटेज नै हल्लिन थाल्छ ।

दुवै आँखा चिम्लेर मौन प्रार्थना गरिरहेको सरायको मोटे मालिक अंकल कोनीको भयग्रस्त मुखमण्डल परिवर्तित भएर दृश्यपटलमा एउटा विशाल मखुन्डो देखापर्छ । र त्यो मखुन्डो विस्तारै खुल्दै गएपछि थाहा हुन्छ– अरे, यो त नेपाली काँग्रेस पार्टीका वरिष्ठ नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेलको ङ्खयुजनयुक्त विचित्र चेहरा पो हो । यसरी अप्रत्याशित गडबडीले निद्ररा खलबलिएर क्लाइमेक्समा पुग्नलागेको सपनारूपी सिनेमा (अथवा सिनेमारूपी सपना) को बलजफती ‘द इन्ड’ हुन जान्छ ।

वास्तवमा हाम्रा वर्तमान प्रधानमन्त्री सुशील कोइराला मस्त निद्ररामा गएर सपनाको संसारमा विचरण गरिरहेका थिए । प्रधानमन्त्रीको कुर्सीमा आसिन भएदेखि यही दैनिकी (रातको) भएको छ, उनको । यद्यपि पहिले पनि यसरी निदाएर सपनामा हराउने स्थिति नभएको होइन । अहिले यसको मात्रामा अभूतपूर्व बढोत्तरी भएको हो । सधैं अबेर राति निदाउनुभन्दा अगावै एउटा हलिउडको सिनेमा हेर्नु उनको पुरानो बानी हो । फलस्वरूप सपनामा पनि जोडतोडले ब्ल्याक एन्ड ह्वाइट सपना चलायमान भइरहन्छ । यही स्वभाव अनुरूप आज पनि एउटा मजेदार टोलिबुडीय ड्रिममा थिए । सिनेमाको हिरो उनी आफैं नै । यसको थिम समसामयिक राजनीतिमा आधारित भएकोले उनले बारम्बार उच्चारण गरिरहने संवाद ‘त्यो खोइ अंकल कोनी’ ले संविधानसभाको संविधानलाई संकेत गर्न खोजेको हो । प्रधानमन्त्रीज्यू, होटल सपनाको राजनीति गर्नमा विश्वास गर्छन् । जे होस्, शेरबहादुर र रामचन्द्रको ठोस व्यवधानले हठात् निद्राबाट ब्युँझने परिस्थितिको निर्माण भएको हो । यसरी उनको प्रिय काउब्वाय सपनालाई बिथोल्ने दुष्ट कार्य कमरेडहरू गर्ने गर्थे । अहिले आफ्नै पार्टीकाहरूले मीठो स्वप्नभङ्ग गरेकोमा प्रधानमन्त्री सुशील कोइराला बालुवाटारको नरम–नरम डनलप बिछ्यौनामा अति चिन्तित भएर यताबाट उता र उताबाट यता दीर्घकोल्टे फेरिरहेका छन् ।

‘कान्तिपुर’ २०७१ जेष्ठ ३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x