शेषराज भट्टराईकपाल
कपाल कसैलाई थाहा नभएको कुरा होइन । माथ वा शिरमा रौँ नामक घना वा छिटपुट केशराशि उम्रिएको छ भने त्यसलाई कपाल भनिन्छ । हिन्दीमा केश र अङ्ग्रेजीमा ‘हेयर’ यसैका लागि भनिन्छ । कसैले पाखुरा खैँचिएर वा बोकेदारी समाएर ‘यो मेरो कपाल हो’ भन्छ भने व्याकरणले सहँदैन । व्याकरण साहित्य संसारको न्यायाधीश हो र यो आफ्नो ठाउँमा न्यायाधीशजस्तै तटस्थ, कलङ्करहित तथा बलवान् छ तर अहिलेका न्यायाधीशहरूले आफ्नो छविलाई तिलाञ्जली दिइसकेको अवस्थामा ‘एउटा बिराउने सारा पिराउने’ उखान शिरोपरका साथ कपाल कन्याउँदै अनौपचारिक प्रायश्चित भइसकेको छ । कसैले बुझेर पनि बुझ पचाउँछन् भने ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भनेर चित्त बुझाउन बाँडफाँड गर्नुहुँदैन । सत्यतथ्य र यथार्थको सातपत्रेसम्म पुग्नुपरे कपाल कन्याउँदै न्यायाधीशहरूसँग साक्षात्कारका लागि समय लिन सक्नुपर्छ । कठोरभन्दा कठोर पत्थरकै न्यायाधीश भए पनि वाञ्छित इच्छा परिपूर्णार्थ भाकल गरेपछि ‘नाइँ’ भन्ने शब्दै निस्किदैन । त्यसैले रङ्गीविरङ्गी वा सादा कपाल काम पट्याउने साधन वा धन पनि हो ।
पाँचौँ इन्द्रियको सुरक्षाकवच वा छानाको रूपमा पनि कपाललाई लिन सकिन्छ । तेस्रो मुलुकमा मानवको विरहलाग्दो खैरो कपाल भए पनि ठेट नेपालीको चाहिँ जन्माइको पूर्वाद्र्धमा खैरो रौँ उम्रिने हुनाले यस्तो कपाललाई गर्भे वा सर्भे कपाल भनिन्छ । जन्माइको पूर्वाद्र्धमा जस्तै अन्माइको पूर्वाद्र्धमा पनि अँगारजस्तै कपाल हुन्छ भने बचाइको उत्तराद्र्धमा रुई वा पलाँसको फूलजस्तै सेताम्य हुन्छ । उमेर नपाके पनि यसलाई कपाल पाकेको भनिन्छ । कपाल उम्रिएन भने त्यस्ता प्राणी स्वदेशी हुन् या विदेशी ताल्चिन्डे कहलाइन्छन् । ताल्चिन्डेलाई आदिवासी नेपालीहरू भाग्यमानी पनि भन्छन्, तर मलाई त शङ्कै लाग्छ शिरको शोभा नै गायब छ भने त्यस्तो खप्परलाई कसरी भाग्यमानी भन्ने ?
यसरी घरजम गर्नुप¥यो तर वरवधूको कपाल कालो देखिएन भने दुवै पक्ष खङ्ग्रङ्ग भएर डङ्ग्रङ्ग लड्न बेर लाउँदैनन् भने कपालकै कारण दुनियाँ एकअर्काप्रति लठ्ठ छन् । ‘आफ्नो हात जगन्नाथ’ भनेझै“ आफ्नो कपाल लट्टा फोर्ने, जुल्पी ढल्काउने वा टल्काउने, दुई चुल्ठा बाटेर, छाँटेर वा काटेर कसरी हुन्छ आफ्नो जाँगरले समाजको कपालबाट अरुको नजर खिच्ने प्रयास गरिन्छ, जुन जेहेन्दार जवानहरूको जाँगरमा भर पर्छ । आफ्नो खप्परको प्रमुख गहनाका रूपमा कपालको सही सदुपयोग तथा सिँगार्न जानिएन भने जुम्रा र लिखाजस्ता आतङ्कवादी तत्वहरूले हमला गर्न सक्छन् । त्यसैले भन्नैपर्छ, रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिनु उत्तम हुन्छ ।
कालो कपालको महिमामात्र होइन, कालो कपाल छँदा बेहोर्नुपरेको बुहार्तन पनि आफ्नै ठाउँमा छ । मठमन्दिर निर्माण गर्नुप¥यो, चन्दाको धन्दा गर्नुप¥यो भने त्यतिखेर सेताम्य दाँत र कालो कपाल लिएर गयो भने दुवै थोक झारिदिन बेर लाग्दैन । त्यसैले चन्दा सहयोग माग्दा कपाल र दाँतको तारतम्य नमिल्दाखेरि चौपट अनर्थ आइलाग्नेमात्र होइन, चौखुरिने सम्भावना पनि उत्तिकै प्रबल हुन्छ ।
जसरी हामीले खप्परको गोलाद्र्धमा उम्रिएको रौँलाई कपाल भनिन्छ, त्यसै गरी शरीका विभिन्न गौँडामा उम्रिएका रौँलाई पृथक्–पृथक नामले पुकारिन्छ । जस्तो पुरुषवर्गको मर्दपनलाई चरितार्थ पार्न ओठमाथि आउने रौँलाई जुँगा भनिन्छ भने गालाका दुवै पाटामा देखा पर्ने रौँलाइ दारी भनिन्छ । त्यही रौँ चिउँडामा पलायो भने बोकेदारी र नाकका दुवैप्वालमा विराजमान रौँलाई नाथे भन्ने चलनमात्र होइन, मनमुटावको मामलामा औधी जलन हुँदासमेत ‘नाथे निहुँ पो खोज्दो र छ है’ भन्ने गरिन्छ । झिमझिम गर्ने आँखाको ढकनी ओगटेर बसेको रौँलाई परेला भनिन्छ भने यसैको निकटस्थ आँखाको डिल र निधारको उद्गमस्थलमा उम्रिएको रौँलाई आँखीभौँ भनिन्छ । त्यस्तै, जनावरपक्षतिरको अध्ययन गर्दा पुरानो यातायातको साधन घोडाको गर्दन र थाप्लामा पलाएको रौँलाई जगर वा जुल्फी भनिन्छ भने भेडाको भुत्लालाई ‘ऊन’ भनिन्छ । यसरी जुन ठाउँमा जे–जस्तो अवस्थामा रौँ उम्रिन्छ त्यसैमुताबिक तिनको न्वारन गरिएअनुसार नै खप्परलाई चक्कर लगाएर उम्रिएको रौँलाई कपाल भनिएको हो ।
जब कानुनविद्हरू न्यायपालिकाको न्यायाधीश पदमा आसीन हुन्छन्, त्यतिखेर उसको कपाल प्राय सेतोन्मुख अवस्थामा देख्न पाइन्छ । कपालको पकाइलाई मध्येनजर राखेर नै न्यायाधीशको न्यूनतम उमेर ४० तोकिँदो रहेछ क्यार । मान्छे जति परिपक्व, ज्ञानी, भरपर्दो तपस्वी र समष्टिगत रूपमा हृदय नै सफा, सेतो र कपटरहित हुन्छ, त्यति नै धेरै कपाल पनि सेताम्य हुँदै जाँदो रहेछ । त्यसैले होला, वयस्कभन्दा बुढाहरू कमै जेलमा जाकिन पुग्छन् । कपाल रुखो हुन्छ, तैपनि अधिकांश बुझ्नेहरू सेतो कपालका उपासक हुन्छन् । डाक्टर, प्राध्यापक, पण्डितजस्ता उच्च व्यक्तित्वको पाकेको कपालको पछि को नलाग्ला ? कुनै प्रदेशीले ठाउँठेगाना वा बाटोघाटोको बारेमा सोध्नुप¥यो भने कालो कपाललाई पन्छाएर सेताम्य कपाल भएको पितामह वा प्रपितामहलाई रोज्न र सोध्न पुग्छ । त्यसैले सेतो कपाललाई विश्वासिलो आधारस्तम्भको रूपमा स्वीकार्न कर लाग्छ ।
कपाल यथार्थमा बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँडसमान हो । तसर्थ, फेसन–परेडका तमाम इच्छुक शुभचिन्तकहरू केशराशिलाई आशातीत फस्टाउँदो फड्काको रूपमा स्वीकार्छन् र दुनियाँ कोलाहलरहित आवाजमा कपालको महिमागान गाइरहन्छन् ।
कच्चा उमेर कैलो कपाल, खूबी तिनको खत्तम ।
कालो कपाल उरन्ठेउलो, सेतो कपाल उत्तम ।।
‘ऋषिमुनिका सन्तान सिसीमुनि’ बाट
Subscribe
Login
0 Comments
Oldest







































