साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गम्भीर ध्यानाकर्षण

Nepal Telecom ad

ध्यान भन्ने कुरो पनि बडो विचित्रको हुँदोरहेछ । बुद्धले ध्यान गरेरै ज्ञान हासिल गरे । कसैले जाबो ‘क्यान’ बियर खाएको भरमा बाटोमै लम्पसार परेर भगवानलाई साष्टाङ्ग दण्डवत् गर्दै ध्यान गर्न थाल्छन् । यता विद्यार्थी भाइ–बहिनीहरूको ध्यान सिनेमापट्टि मात्रै हुनथालेपछि सलमान र आमिर, कैटरिना र प्रियङ्काका ‘फ्यान’ दिनहुँ बढ्दो छ । उता सरकारले सम्पूर्ण व्यापारीहरूलाई ‘प्यान’ दर्ता गर्न र करको दायराभित्र आउन हुकुम प्रमाङ्गी गरेपनि थुप्रै माइकालालको समयमा ध्यान गएन । यता बकमफुसे आन्दोलनकारीहरू, जुलुसपतिहरूले निर्धक्क भएर जतिसुकै नारा घन्काउँदै हिँडेपनि उनीहरूको ध्यान भने पुलिसको भ्यानपट्टि पनि हुने गर्दोरहेछ । कसैको ध्यान आफ्ना नजिकका ‘म्यान’हरूलाई भलो गर्नपट्टि हुन्छ, कसैको ध्यान आफ्ना प्रतिपक्षीलाई सोत्र््यान पार्नपट्टि हुन्छ भने कसैको ध्यान आफ्नै ज्यान बचाउनपट्टि हुन्छ ।

ध्यान जानु भनेको ज्यान जानुजस्तो चानचुने कुरो होइन । ध्यान सितिमिति जाँदै जाँदैन, गैहाले पनि तिथिमिति जुराएर जाने गर्दछ । सजिलैसँग ध्यान गैहाल्ने भएको भए त स्कुल–कलेजहरूले अभिभावकहरूकै ध्यान खिचिनेगरि आफ्ना प्यारा दाताहरूलाई कोचिङ क्लासको व्यवस्था गर्नै पर्दैनथ्यो । त्यति गरेर विद्यार्थीहरूलाई एउटै कुरो दशचोटि रटाएपनि पैँतीस कटाउन हम्महम्मे पर्दोरहेछ । यो सब ध्यानकै करामत त हो नि ! शिक्षक–शिक्षिकाहरूको ध्यान नगद नारायण र नाडीघडीमा जानु ठीक होइन भन्याजस्तै विद्यार्थी भाइ–बहिनीहरूको ध्यान पनि कक्षाकोठाबाट सुसु गर्न बाहिर जानु ठीक होइन ।

विशेष कुरो नभैकन सित्तैँमा त मरिगए पनि ध्यान जाँदोरहेनछ । युवायुवतीहरूको ध्यान व्युटिफुल र ह्याण्डसमपट्टि झ्याप्पै गएझैँ केही न केही विशेष त हुनैप¥यो । तर बडो गजबको कुरो के प¥यो भने परापूर्व कालदेखि नै हाम्रो सरकार एवम् पहिले घरबार नहुनेहरू तर सरकारमा छिरेपछि दरबार हुनेहरू सबैको ध्यान चाहिँ बडो सजिलोसँग जाने गरेको छ । ध्यान जानुलाई ध्यान आकर्षण भएको भनिन्छ । यसैलाई सट्कट्मा भन्दाखेरि ध्यानाकर्षण हुँदोरहेछ । हाम्रा नेताहरू, हाम्रा सांसदहरू, हाम्रा मन्त्रीहरू र हाम्रो सिङ्गै सरकारको विविध कुरामा मज्जासँग ध्यानाकर्षण हुने गर्दछ दिनदिनै । त्यो पनि मामुली लटरपटर किसिमले होइन, गम्भीर किसिमले । झुक्किएर बत्ती आइहाल्यो र तपाइँले टिभीमा समाचार हेर्न पाइहाल्नुभयो भने पक्कै पनि दैनिक आठ–दश ओटा कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको खबर तपाइँको कानको डिलमा ठोक्किन आइपुग्छ ।

जुन नेता बोलेपनि कुनै न कुनै कुरामा गम्भीर ध्यानाकर्षण भएको कुरो थुतुनोबाट फुत्किइहाल्छ । तिनै नेताहरूको जस्तै हाम्रा विद्यार्थी भाइ–बहिनीहरूको पनि गम्भीर किसिमले ध्यान आकर्षण हुने भैदिएको भए कति हाइसञ्चो हुनेथियो । पहिल्यै प्रश्नपत्र दिएपनि मौका परिक्षामा समेत चौका हान्न नसक्ने सोझा आमा–बाऊका छाउरा–छाउरीहरूले शिक्षक–शिक्षिकाहरूलाई दुईछाक भात खान र पुर्पुरोमा हात लगाउन बाहेक केही गर्न दिएनन् । ध्यान त त्यसरी आकर्षित होस् न नेताज्यूको जस्तो । तर यसैमा पनि एउटा अलिक चिन्ताको कुरो चैँ के हुनसक्छ भने ध्यान त जाओस् तर फास न फुसको नजाओस् । सरकारको जस्तो क्या ! गम्भीर ध्यानाकर्षण त हुने तर माखो पनि नमर्ने । ध्यान त गयो तर केही लछारपाटो लाएन । त्यस्ता ध्यानको के अर्थ ?

छिर्नुपर्ने चीज एउटो कानबाट छि¥यो अर्कोबाट टाप कस्यो । ध्यानै गैसकेपछि कमसेकम त्यतापट्टि आँखा पनि जाने र हात पनि बढ्ने भए पो बल्ल ध्यानको पनि शान हुन्छ र ! नत्र त ठाडै अपमान भयो नि होइन त ? सरकारको गम्भीर ध्यानाकर्षणले माखो मर्न नसकेपनि विद्यार्थी भाइ–बहिनीहरूको पढाइपट्टिको गम्भीर ध्यानाकर्षणले शिक्षक–शिक्षिकाहरूको रिस त पक्कै मर्छ । सम्पूर्ण हामीहरूले पनि आजैदेखि हरकुरामा आफ्नो गम्भीर ध्यानाकर्षण गरायौँ भने अरु केही लछार्न नसकेपनि यो मामलामा हाम्रो सरकारलाई त पक्कै पछार्न सकिन्छ । त्यसैले आउनुस् हामीले पनि आजैदेखि हरकुरामा गम्भीर ध्यानाकर्षण गराऔँ । जय ध्यान ! जय ध्यानाकर्षण !! जय गम्भीर ध्यानाकर्षण !!!

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०६७) बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x