साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गम्भीर ध्यानाकर्षण

Nepal Telecom ad

ध्यान भन्ने कुरो पनि बडो विचित्रको हुँदोरहेछ । बुद्धले ध्यान गरेरै ज्ञान हासिल गरे । कसैले जाबो ‘क्यान’ बियर खाएको भरमा बाटोमै लम्पसार परेर भगवानलाई साष्टाङ्ग दण्डवत् गर्दै ध्यान गर्न थाल्छन् । यता विद्यार्थी भाइ–बहिनीहरूको ध्यान सिनेमापट्टि मात्रै हुनथालेपछि सलमान र आमिर, कैटरिना र प्रियङ्काका ‘फ्यान’ दिनहुँ बढ्दो छ । उता सरकारले सम्पूर्ण व्यापारीहरूलाई ‘प्यान’ दर्ता गर्न र करको दायराभित्र आउन हुकुम प्रमाङ्गी गरेपनि थुप्रै माइकालालको समयमा ध्यान गएन । यता बकमफुसे आन्दोलनकारीहरू, जुलुसपतिहरूले निर्धक्क भएर जतिसुकै नारा घन्काउँदै हिँडेपनि उनीहरूको ध्यान भने पुलिसको भ्यानपट्टि पनि हुने गर्दोरहेछ । कसैको ध्यान आफ्ना नजिकका ‘म्यान’हरूलाई भलो गर्नपट्टि हुन्छ, कसैको ध्यान आफ्ना प्रतिपक्षीलाई सोत्र््यान पार्नपट्टि हुन्छ भने कसैको ध्यान आफ्नै ज्यान बचाउनपट्टि हुन्छ ।

ध्यान जानु भनेको ज्यान जानुजस्तो चानचुने कुरो होइन । ध्यान सितिमिति जाँदै जाँदैन, गैहाले पनि तिथिमिति जुराएर जाने गर्दछ । सजिलैसँग ध्यान गैहाल्ने भएको भए त स्कुल–कलेजहरूले अभिभावकहरूकै ध्यान खिचिनेगरि आफ्ना प्यारा दाताहरूलाई कोचिङ क्लासको व्यवस्था गर्नै पर्दैनथ्यो । त्यति गरेर विद्यार्थीहरूलाई एउटै कुरो दशचोटि रटाएपनि पैँतीस कटाउन हम्महम्मे पर्दोरहेछ । यो सब ध्यानकै करामत त हो नि ! शिक्षक–शिक्षिकाहरूको ध्यान नगद नारायण र नाडीघडीमा जानु ठीक होइन भन्याजस्तै विद्यार्थी भाइ–बहिनीहरूको ध्यान पनि कक्षाकोठाबाट सुसु गर्न बाहिर जानु ठीक होइन ।

विशेष कुरो नभैकन सित्तैँमा त मरिगए पनि ध्यान जाँदोरहेनछ । युवायुवतीहरूको ध्यान व्युटिफुल र ह्याण्डसमपट्टि झ्याप्पै गएझैँ केही न केही विशेष त हुनैप¥यो । तर बडो गजबको कुरो के प¥यो भने परापूर्व कालदेखि नै हाम्रो सरकार एवम् पहिले घरबार नहुनेहरू तर सरकारमा छिरेपछि दरबार हुनेहरू सबैको ध्यान चाहिँ बडो सजिलोसँग जाने गरेको छ । ध्यान जानुलाई ध्यान आकर्षण भएको भनिन्छ । यसैलाई सट्कट्मा भन्दाखेरि ध्यानाकर्षण हुँदोरहेछ । हाम्रा नेताहरू, हाम्रा सांसदहरू, हाम्रा मन्त्रीहरू र हाम्रो सिङ्गै सरकारको विविध कुरामा मज्जासँग ध्यानाकर्षण हुने गर्दछ दिनदिनै । त्यो पनि मामुली लटरपटर किसिमले होइन, गम्भीर किसिमले । झुक्किएर बत्ती आइहाल्यो र तपाइँले टिभीमा समाचार हेर्न पाइहाल्नुभयो भने पक्कै पनि दैनिक आठ–दश ओटा कुरामा सरकारको गम्भीर ध्यानाकर्षण भएको खबर तपाइँको कानको डिलमा ठोक्किन आइपुग्छ ।

जुन नेता बोलेपनि कुनै न कुनै कुरामा गम्भीर ध्यानाकर्षण भएको कुरो थुतुनोबाट फुत्किइहाल्छ । तिनै नेताहरूको जस्तै हाम्रा विद्यार्थी भाइ–बहिनीहरूको पनि गम्भीर किसिमले ध्यान आकर्षण हुने भैदिएको भए कति हाइसञ्चो हुनेथियो । पहिल्यै प्रश्नपत्र दिएपनि मौका परिक्षामा समेत चौका हान्न नसक्ने सोझा आमा–बाऊका छाउरा–छाउरीहरूले शिक्षक–शिक्षिकाहरूलाई दुईछाक भात खान र पुर्पुरोमा हात लगाउन बाहेक केही गर्न दिएनन् । ध्यान त त्यसरी आकर्षित होस् न नेताज्यूको जस्तो । तर यसैमा पनि एउटा अलिक चिन्ताको कुरो चैँ के हुनसक्छ भने ध्यान त जाओस् तर फास न फुसको नजाओस् । सरकारको जस्तो क्या ! गम्भीर ध्यानाकर्षण त हुने तर माखो पनि नमर्ने । ध्यान त गयो तर केही लछारपाटो लाएन । त्यस्ता ध्यानको के अर्थ ?

छिर्नुपर्ने चीज एउटो कानबाट छि¥यो अर्कोबाट टाप कस्यो । ध्यानै गैसकेपछि कमसेकम त्यतापट्टि आँखा पनि जाने र हात पनि बढ्ने भए पो बल्ल ध्यानको पनि शान हुन्छ र ! नत्र त ठाडै अपमान भयो नि होइन त ? सरकारको गम्भीर ध्यानाकर्षणले माखो मर्न नसकेपनि विद्यार्थी भाइ–बहिनीहरूको पढाइपट्टिको गम्भीर ध्यानाकर्षणले शिक्षक–शिक्षिकाहरूको रिस त पक्कै मर्छ । सम्पूर्ण हामीहरूले पनि आजैदेखि हरकुरामा आफ्नो गम्भीर ध्यानाकर्षण गरायौँ भने अरु केही लछार्न नसकेपनि यो मामलामा हाम्रो सरकारलाई त पक्कै पछार्न सकिन्छ । त्यसैले आउनुस् हामीले पनि आजैदेखि हरकुरामा गम्भीर ध्यानाकर्षण गराऔँ । जय ध्यान ! जय ध्यानाकर्षण !! जय गम्भीर ध्यानाकर्षण !!!

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रह (२०६७) बाट

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x