मीनप्रसाद लामिछानेजस्तालाई त्यस्तै
दीपक काठमाडौंको फैन्सी व्यापारी । व्यापारको सिलसिलामा ऊ हङकङ, थाइल्याण्ड आदि देशहरूमा गइरहन्छ । यता उसकी श्रीमती मीना उसलाई व्यापारमा सघाउँछे । र,दीपक घरमा नभएको बेला बहिनी गीतालाई साथी बोलाउँछे ।
एक दुई दिन विदेश बसेर फर्कने दीपक यसपटक दुई हप्ता भैसक्दा पनि फर्केको थिएन । फोन गर्दा जतिबेला पनि ‘खरिदारी सकिएको छैन, नहतारियौ न, आइहाल्छु नि !’ मात्र भन्छ । दीपकको व्यवहारले मीनाको मनमा चिसो पस्यो । मीनाले दीपकको साथी गिरीशलाई भेटी । गिरीश मार्फत दीपक थाइल्याण्डमा एउटा विदेशी आइमाईसँग लहसिएको कुरा मीनाले थाहा पाई । अनि उसले त्यसै दिन दीपकलाई एउटा पत्र ईमेल गरी । त्यसको पर्सिपल्ट बिहानै दीपक टुप्लुक्क घरभित्र पस्यो । गीता छक्क परी । के लेखी मीनाले पत्रमा ? त्यत्रो फोन गर्दा नआउने मान्छे !
मीना भान्सामा छिर्ने बितिक्कै गीताले उसको ईमेल खोलेर पत्र हेरी । पत्रमा लेखिएको थियो– “दीपक, मैले बुझेँ तिम्रो समस्या । अब हतार गर्नु पर्दैन, फुर्सदले खरिदारी गरे हुन्छ । हेर, हामी दुवैलाई थाहा छ, व्यापारमा खरिद मात्र हुँदैन, बिक्री पनि हुन्छ । तिमीले खरिद गर्दा मैले बिक्री गरेर सहयोग पु¥याउनु परेन ? म तिम्री श्रीमती सँगसँगै असल व्यापारिक सहयोगी पनि त हुँ । त्यसैले तिमी त्यहाँ जे खरिद गर्दैछौ, मैले त्यो यहाँ बेच्न सुरु गरिसकेँ । अब फुर्सदले आए हुन्छ ।”
हेटौडा
Subscribe
Login
0 Comments
Oldest







































