लक्ष्मण गाम्नागेभाग्यमा भए
उहिले उहिले केटाकेटी हुँदा हामी राष्ट्रिय एकता दिवस धुमधामसँग मनाउँथ्यौँ। \’श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह अमर रहून्\’ भन्दै बजार परिक्रमा गथ्यौ। पृथ्वीनारायणको जीवनी पढेर दंग पथ्र्यौं। हामीलाई उनी हाम्रा भाग्यदाता, संरक्षक र एक तिलस्मी महापुरुषझैँ लाग्थ्यो। \’उनले एकीकरण नगरेको भए हामी आज नेपाल र नेपाली भनेर गर्व गर्न पाउँदैनथ्यौँ, हाम्रो आफ्नो माटो हुँदैनथ्यो\’ भनेर कृष्ण सरले भन्दा पृथ्वीनारायणप्रति थप श्रद्धा जाग्थ्यो र हामी हाम्रो किताबमा छापिएको यो कविता आधा किलोमिटर पर रहेको गौरादह बजारसम्म सुनिने गरी पढ्थ्यौँ।
झुल्क्यो प्रभात झलमल्ल हिमाल झल्क्यो
पहाडका शिखरमा नवकान्ति टल्क्यो
ब्यूँझे झल्याँस्स पृथ्वी दरबारभित्र
आँखाअगाडि उभियो सपना सचित्र।
बिस्तारै देशमा राजनीतिक जागरण आउन थाल्यो। ०३६ सालको विद्यार्थी आन्दोलनपछि हाम्रो स्कुल वामपन्थीहरूको गढमा परण्िात भयो। राजतन्त्रविरोधी प्रशिक्षणहरू हुन थाले। हामीलाई अगुवा क्रान्तिकारीहरूले कडा नियमहरू लगाए। साथीसाथी मात्र हो इन, आफूभन्दा सानालाई पनि तपाईं भन्नुपर्ने, गुरुहरूले पनि विद्यार्थीलाई गाली गर्न वा कुटपिट गर्न नपाइने, तपाइर्ं भनेर सम्बोधन गर्नुपर्ने, सर्टको फेरलाई पाइन्टभित्र घुसारेर वा पेटी बाँधेर हिरो हुन नपाइने, सबै केटीलाई दिदीबहिनीको व्यवहार गर्नुपर्ने, यस्ता अनेक जनवादी कानुन लगाइयो। छ्यास्स यताउति गर्नेलाई तुरुन्त कारबाही हुन थाल्यो। राजाहरूका जन्मोत्सव र जयन्तीहरू पञ्चहरूले मात्र मनाउन थाले।
अब भर्खरको कुरा। क्रान्तिकारी पार्टी माओवादीको उदयपछि राजतन्त्र उड्यो। राजतन्त्र उडेपछि पृथ्वी जयन्ती पनि पात्रोबाट उड्यो। सामन्तवादी साम्राज्यवादी राजाको जयन्ती मनाउने कुरा पनि भएन। अबचाहिँ राजतन्त्रको अवशेष माटोमै मिल्यो भन्ठानेको अचानक अहिले भर्खरै एउटा रमाइलो समाचार आयो। एमाओवादी पार्टीको जातीय मोर्चाले पृथ्वी जयन्ती मनाउने निर्णय गरेछ। पृथ्वीनारायणले गरेको नेपाल एकीकरणको कार्य प्रशंसनीय भएको भन्दै आफ्नो पुरानो धारणालाई उल्टाएछ। यो समाचार सुनेपछि ती पुराना दिनको सम्झना भएको हो।
त्यो बेला हामीलाई फलामे अनुशासनमा राख्ने अगुवाहरूले केही वर्ष पनि नबित्दै सर्टको फेर पाइन्टमा हुलेर पेटी बाँध्न थाले। छालाका जुत्ता लगाएर स्कुल आउन थाले। खुलेआम हिन्दी सिनेमा हेर्न थाले। प्रेमिका नभएका अगुवा एक जना पनि भएनन्। परवितर् नको यो क्रम अझै हामी देखिरहेकै छौँ। लोकतन्त्र आएपछि पनि त सुन्दरी प्रतियोगिताका विरुद्ध खगेन्द्र संग्रौला दाइहरूलाई समेत उचालेर प्रतियोगितास्थलमा ढुंगामुढा गर्ने क्रान्तिकारी नेता र नेतृहरू आफैँ त्यस्ता प्रतियोगिताका जज बस्न थाले। धर्मलाई अफिम भनेर पण्डित पुरेतहरूलाई मोसो दल्नेहरू आफैँ पुराणहरूको आयोजना गरेर नगद संकलन गर्न थाले। विकासको यही सिलसिला अघि बढ्दै जाँदा अब पृथ्वी जयन्तीको जुलुसले गोपाल किराँती जस्ता क्रान्तिकारी नेताको नेतृत्व पाउने भयो। पुर्खाहरूले त्यसै भनेका होइन रहेछन्, भाग्यमा भए यी आँखाले के के देख्न पाइन्छ के के!
भाग्यमा रहेछ भने राजा महेन्द्र राष्ट्रभक्त, विकासप्रेमी र दूरदर्शी थिए भन्दै उनको पनि जयन्ती मनाएको हेर्न पाइएला कि ! देशमा प्रजातन्त्र छिटो ल्याउनमा वीरेन्द्र, दीपेन्द्र र ज्ञानेन्द्रहरूका पनि केही न केही योगदान थिए भन्दै तिनीहरूको जयजयकार गर्न ने पाली क्रान्तिकारीहरू नै अग्रसर भएको पनि देख्न पाइएला कि ! हेर्दै जाऔँ, हाम्रो भाग्यमा के के लेखिएको रहेछ !
Subscribe
Login
0 Comments
Oldest






































