डा.रवीन्द्र समीरबाजा
“सबै नेपाली पञ्च, सबै पञ्च नेपाली” साइँलो दमाइले ठूलाको सवारीमा रक्सीको तालमा मन खोलेर बाजा बजायो ।
“जित कस्को ? जनताको !, बहुदलीय प्रजातन्त्र जिन्दावाद !!!” यसपटक पनि साइँलो दमाईलाई अर्को समूहले टन्न रक्सी खुवायो, ऊ भित्रैदेखि खुसी हुँदै बाजा बजायो ।
चुनावहरूमा जुन पार्टीले जिते पनि उसलाई रक्सी खुवाएर बाजा बजाउन लगाए, उसले रमाउँदै बाजा बजाइरह्यो । पेटको लागि बाजा बजाइरहेको साइँलोले हेर्दाहेर्दै चुनाव जित्नेहरू सहरमा बङ्गलाहरू ठड्याउन थाले, गाउँको माटोमा टेक्न घिनाउन थाले । उता साइँलोको गरिबी झनै उकालो लाग्दै गयो, अन्नपानीको अभावले परिवारजन छाला र हाड मात्र भए ।
“हाम्रो नेता हाम्रो देश… !” फेरि अर्को दौरा सुरुवाल समूहले साइँलोको रित्तो पेटमा रक्सी भरिदिए, उसले आफ्नो पीडालाई बिर्सेर उन्मुक्त भएर बाजा बजायो ।
समयले पात्रोहरू फेर्दै गयो । हिजो जयजयकारमा बाजा बजाएको साइँलोले फेरि जनआन्दोलन सफल भएको उपलक्ष्यमा बाजा बजायो ।
बहुप्रतिक्षित संविधानसभाको चुनाव आयो । एउटा पार्टीले साइँलो दमाईलाई टिकट दियो । साइँलो अचम्म प¥यो । हामी बाजा बजाउने नाथेलाई किन टिकट दिएका होलान् …. कसले मलाई भोट देला … त्यति ठूला मन्त्री र सांसदले नजितेर म दमाईले कसरी जितुँला …. ! साइँलो दमाईले सपना हो कि भनेर आफूले आफैंलाई चिमोट्यो ।
आज साइँलो दमाई अविरले रक्ताम्मे भई मालाको थुप्रोले थिचिएको छ र प्रतिज्ञा गरेको छ ।
“अब छालाको बाजा होइन सामन्तको बाजा बजाउने छु ।”
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































