साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेस्टकारिता– हाई, हाई !

Nepal Telecom ad

बाजेहरूले \’उत्तम खेती, मध्यम व्यापार र तुच्छ नोकरी\’ भने\’नि परिस्थितिले पल्टा खाँदा होनहार नातिहरूलाई छनोटको सुविधा छैन। विना पूँजीका पुङमाङहरू उफ्रेकै भरमा व्यापार जम्ने होइन। व्यापाररूपी बयलगाडा घिसि्रफिस्री ठेलिएछ भने\’नि विविध अवतारका डनहरूलाई हप्तावारी बुझाउँदाको सास्ती हुन्छ। खेती? त्यो पनि एक्लै तम्सिएर हुन्न। हली, बाउसे, रोपाहार खोज्न हवाईजहाज चढेर विदेश जान सकिन्न। जागिराँ झुन्डियूँ भने निस्तो तलबले कुल एक पेट धानिएला, जहानको बथान अख्तियारले जिम्मा लिने होइन।

नेताजीहरूको पट्टी पढेर आफू बनियो चमत्कारको घनघोर अनुगामी। सिङ्गापुर, स्वीटजरल्याण्ड बनाउने जपको भरमा नेताज्यूहरूले बारम्बार माननीय, ताननीय अनि सम्माननीयको पदवी पड्काउँदा आफू अदनालाई सुती–सुती चमत्कारको सपना देख्ने बानी पर्योज। चमत्कार मोहकै प्रतापले गर्दा पुछारमा \’कार\’ गाँसिएको पेशाबाट सर्टकर्टमै नाम–दाम लुँड्याउन कलाकार बन्न हान्निएँ, तर त्याँ पनि मोबाइलबाट \’सेल्फी\’ लिएर फेसबुकाँ अपलोड गरे जस्तो नहुँदोरहेछ। निर्देशकले \’एक्सन\’ भन्नासाथ क्यामेरा सामु शारीरिक पार्टपुर्जाका सबै सेक्सन कुल्फी झैं जमे\’सि जोरीपारीको मुखेन्जी आफ्नो टाइँफाइँको करिबन बलात्कार नै हुनपुग्यो।

त्यसपश्चात् हिनामी हुँदै चित्रकार बन्न एक नामूद गुरुकहाँ लम्पसार परें। अलमल नगरी क्यानभासमा ब्रस रङेल्दा पेन्टिङ कक्ष रंगहरूको पोखरी हुन पुगेछ। गुरुवरको लाठोले गोलीगाँठो चर्काएपछि त्यता पनि दाल नगल्ने चाल पाएर टाप कस्नु पर्योर।

कनीकुथीको एसएलसीले कथाकार, गीतकार, नाटककार, इतिहासकार आदि बन्न सक्ने सम्भावना सखापै भए\’सि पत्रकारिता निर्विकल्प बन्न पुग्यो र स्थानीय पत्रिकाका सम्पादकजीलाई धाराप्रवाह करकर गर्न थालें। मेरो गनगन झेल्न असमर्थ हुँदै गएका उनले एक दिन धरासायी हुँदै भने, “पत्रकार बन्नुअघि एउटा समाचार त लेखेर देखाऊ !”

मैले पनि \’गँजडी संघको भँगडी विवाद\’ शीर्षक समाचार झ्टपट पेश गरें। समाचार पढ्न के थालेका थिए, सम्पादकको निधारमा पसिनाको मूल फुट्न थाल्यो। हिरिक्क हुन खोज्दै उनले भने, “हैन हौ, तिम्लाई \’फाइव डब्लुएच\’ थाहा छैन?”

“पाँचपल्ट भनम् कि दशपल्ट, आखिर डब्लुएच त डब्लुएचै हो नि!” मैले भनें, तर उनी मानेनन्। एउटा समाचारका लागि एघार जनासँग भेटेर सिधा पुर्याकउने दुष्करले पित्त पोलेको बेला अमि्रकाने साइमन फ्याट्ट भेटिए। डीभी नपरुन्जेल उनी हाम्रै छिमेकका श्याम शर्मा रहेकाले चिनजान घच्चिकै थियो। अमि्रकाने माटै चमत्कारी, त्यहाँ टेक्नासाथ लुच्चाहरू सच्चामा दरिन्छन् भने स्वाँठहरू विद्वान् कहलिन्छन्। \’बडासँग लागे गुवा पान, छोटासँग नाक–कान\’ भन्दै दुःख बिसाएको, उनले तत्क्षण विघ्नहर्ता बन्ने लक्षण देखाइहाले।
“पेस्टकार बन्छौ त तिमी?”
“यो कुन छाँटको \’कार\’ हो?”
“बेवकुफ, यो अत्याधुनिक पत्रकारिता विधाको नवीनतम स्वरुप हो। यसका अनुयायीहरूले नचाहिंदो माथापच्ची छाडेर हाइसञ्चोका साथ रोकडा कमाउने चङ्खेमार्ग अपनाउँछन्।”
“पेस्टकारको स्टाइल के हो?”
“पाँच/सातोटा बेवसाइटका समाचारलाई मिक्सचरमा हुँडलेर आफ्नो अनलाइनमा \’पेस्ट\’ गर्ने।”
“साइमन सर, त्यस्तो काममा मलाई नलगाए हुन्न?”
“दिनभर ग्याँस स्टेशनमा कुप्रिंदा कक्रिने ढाड बोकेर आफैं \’पेस्ट\’ गरें भने मेरो श्वास रहँदैन। पत्रकारको परिचय भिरेर ताउरमाउर देखाउने हो भने सोच। फेरि कोही त्यसै \’पेस्टकार\’ बन्न सक्ने पनि होइन, यसका लागि कुशल कपीकार हुनुपर्छ!”

कुनै न कुनै \’कार\’मा सवार भइछाड्ने लेठो फेरि \’मुङ्गेरीलालको सपना\’ हुनलाग्या देखेर तिलमिलाइसक्न भ्याएको थिइनँ, उनले छिन्ने गरी मार हाने, “अरूले समाचार राखेको सुइँको पाउनासाथ बाजले चल्लालाई झ्म्टा दिएझैं झ्म्टेर \’कपी\’ गर्न भ्याउनुपर्छ। अनि विद्युत्वेगमा \’पेस्ट\’ गरेर त्यसमा आफ्नो कपिराइट ठोक्न सक्नेहरू कुशल \’पेस्टकार\’ कहलाउँछन्।”

फेसबुके स्टाटस होस् या चिरबिरे ट्वीट, आजपर्यन्त साथीभाइको कपी गरेरै काम चलाइरहेको मलाई यो हुनर प्रयोग गरेर हेर्ने अदम्य साहस भएर आयो।

“कुनै कविता प्रतियोगितामा मलाई अन्तिम वाचक बनाइदिनुस्, सबैको एक–एक हरफ कपी गरेर खडेखडे हरिप कविता सुनाइदिन्छु”, म हौसिएँ, उनलाई पनि हौस्याएँ। घ्यू र तरबार बेचुवा दुवैको काम भयो। त्यसयता समाचारलाई नौलो आकार दिएर पत्रकारहरूबीच हाहाकार मच्चाउने पेस्टकारिता विद्या वनमारा झैं अनियन्त्रित रूपमा फैलँदो छ। पेस्टकारिताको हाइटेक हाइवेमा मेरो तुफानी यात्रा जारी छ, तपाईंको पनि अवरुद्व नहोस्।

हिमाल खबरपत्रिका भदौ २०७१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x