साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खसेकालाई खुसुक्क खबर

Nepal Telecom ad

धरामा बसेकालाई भन्दा पनि खसेकालाई खुसुक्क खबर भन्न भुसुक्क बिर्सेछु । आज अचानक झसक्क सम्झिएर चसक्क मनमा पस्यो र कलमजीवी गन्थन लेख्न घुँडा धसेर बस्यो । सारै सामान्य कुरा हो, मर्ने, आपत पर्ने, आँसू झर्ने र टर्ने । मान्छेलाई बहुरूपी प्राणी मान्नुपर्छ । किनकि परिस्थिति, वातावरण र अवस्था अनुसार आफूलाई ढाल्न सक्छ । बिहानको यथास्थिति बेलुका तोडमोड भएर टाउको फोडको अवस्थाबाट शवमा परिणत हुन पनि सक्छ । जब मान्छे मरिन्छ नि त्यसपछि आम जनजिब्रोले खसेको भन्ने गर्दछन् । मानव प्राणी अदल बदलको ठाउँ, ठेगान र ठहर हुँदैन । मर्नु मार्नु, आपत पार्नु, मुन्टिनु, जोतिनु, झर्नु, चर्नु, फोड्नु, जोड्नु मानव दिनचर्या र दैनिकी भित्रकै कुरा हुन् ।

आज जन्मिएर आजै खस्ने, आकार प्रकार वा मेल फिमेलको सङ्केत नदिएरै खस्नेहरू पनि कम छैनन् । हजार कमाउने सिलसिलामा बजार जमाउँदा र गाडीको स्टेरिङ समाउँदा हजारका हतारले दर्जनौ मान्छेलाई बोकेको बिर्सिएर भिरबाट सुइक्याउने सिपालु र द्रव्य पिपासु बालक चालकलाई खसाल्ने अनुमति पत्र दिएरै खसालेका हुन् । खस्नु, खसाल्ने, बसाल्ने तौर तरिका मान्छेले मान्छेलाई र मान्छे मै निर्भर हुने कुरा हुन् । एउटा प्वालमा लुसुक्क देखा परेर अर्काे दुलामा खुसुक्क छिर्ने अवसरवादी प्राणीहरू टोल टोलमा बग्रेल्ती पाइन्छन् । खस्ने, पस्ने र बस्नेको तँछाड मछाडको क्रम र क्रिया सृष्टिको उषाकालदेखि हालसम्म जारी छ भने पछि अब टुट्ला छुट्ला भन्ने शंकै गर्नु पर्दैन ।

खस्नु नखस्नु मानव मात्रको रुचि र खुसीको विषय होइन । यसमा चित्रगुप्त र यमराजको संयुक्त लगानी छ । त्यसैले यिनैको अ–अख्तियारी खटन पटन चल्ने गर्छ मानव जगत्मा । यसै रित र परम्पराले नै आज संस्कारको रूप लिएको छ । त्यसैले त हामी संस्कारको दाम्लो समाएर अगि पछि रल्लिने हल्लिने गर्छौँ । यसलाई अर्काे भाषामा पूर्खाको बिँडोधानेको समेत भन्ने गर्दछन् ।

जगतको जग बसाउने ऋषिमुनिहरू खसे । जगत्की जननी देवीहरूमा शैलपुत्री, ब्रह्मायणी, चन्द्रघण्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, शिद्धिदात्री, सबै शक्तिका पुञ्जहरू कहाँ गए त ? महाकाली, महासरस्वती, महालक्ष्मी, देवाधीदेव महादेव, गणेश, गौतम बुद्ध, अब्राहम लिङ्कन, महात्मागान्धी, रङ्गभेदी नेता नेल्सन मण्डेला, मेरा जन्मदाता भविष्यवेत्ता पिताश्री देवीप्रसाद उपाध्याय खसेको पनि आज एक्काइस वर्ष भइसक्यो र अबको खस्ने पालोको रोल क्रममा गोता खाँदै झोल पिउँदै म पनि पर्खी बसेको छु ।
जगत्का मान्यजनहरू मौजुदा पुस्ताका प्रेरणाका स्रोत साबित हुन्छन् । विभिन्न दर्जाका आदरणीय, पूजनीय, स्नेही, माननीय, सम्माननीय जो जो जे जसरी खसे पनि, जस्तो स्थिति र परिस्थितिमा खसे पनि खस्नु नै जित्नु हो । आजको विश्वमा जित्नु मात्र पनि ठूलो महत्त्व र महिमा हुन्छ । जित्नु, खस्नु, मोक्ष प्राप्त गर्नु हो । मोक्ष प्राप्तिलाई लक्ष्य प्राप्तिभन्दा पनि फरक पर्दैन । नहिँडेको बाटो हिँड्न झ्याउ, झुर र बोर लाग्छ तै पनि खस्नु बाध्यकारी बाटो भए पनि यसको पद यात्रा अत्यन्तानन्ददायक हुनु पर्छ किनकि खसेकाहरू नफर्किनुको मूल रहस्य नै त्यही हो ।

मोक्ष वा लक्ष्य प्राप्त गरेका अग्रज मानव, देव, वा दानवलाई जुनसुकै रूपमा स्वीकार्न सकिन्छ । देवदेवीका अनेकौँ रूपको नाम हामी नखसेका सचेत प्राणीले अचेत भएर जप्ने र आवश्यक परे थप्ने गर्छाै । जनकलाल शर्माले लेखेको हाम्रो समाज ः एक अध्ययन पुस्तकमा लेखिएको छ “हरेक मनुष्य आफ्नो पूर्वजलाई आदरको दृष्टिले हेर्दछ र तिनको पूजा गर्दछ । यिनै पूर्खाले कालान्तरमा गएर देव देवीको रूप धारण गर्दछन् । मानवले पूर्वज पूजा गर्न जुनबाटो अपनाउँछ त्यही कुरा पछि गएर विधि विधानको रूपमा खडा भएको पाइन्छ” (पृ. ११२) ।

नमस्कार, स्तुति गान गाउनु, माया पिरती लाउनु खसेकाप्रति चरमादरभाव दर्शाउनु र भावी पुस्तालाई नतर्साउनु हाम्रो कर्तव्य हुन्छ । सके र बुताले भ्याए हामी पनि रावण रूपमा खुब उद्युम मच्चाउन उद्यत हुन्छौँ । आफ्नो उपद्रोमा सबैलाई डल्लो पारेर खल्लो पार्न रमाउँछौँ । तथापि लक्ष्यमा नपुग्दै लत्री सकेका हुन्छौँ । जे होस् यी सबै पौरख र पाखुरामा भर पर्ने कुरा हो । पाखुरा कर्मठ र दरा दरा भए पनि यमराजले कठैबरा भन्ने वाला छैन । खस्नै पर्छ । शत्रु होस् या मित्रु खस्न नाइनास्ती गर्न पाइँदैन । यसैमा छ चरमानन्द ।

पृथ्वीबासीले हालको हालत के कस्तो छ भनेर प्रार्थना या श्राद्ध गर्दा स्वर्गवासी खसेकाहरूलाई नसुनाउनु हाम्रो आफ्नै कमजोरी हो । खाली एकोहोरो “तृपेन्ताम तृपेन्ताम” भनि भनि श्राद्ध तुरिन्छ । मनमा उम्रिएका कुराका आँकुरा नमार्नु, नभन्नु स्वयंमा कपट र कुन्ठित हुनु हो । मनभरि कालो राखेर सेतो फूल चढाउने गर्छाै । यथार्थ र वास्तविकता नभनी पन्छिन खोज्छौँ । समस्या र फोहोर मैलालाई नदुत्कारी आफैँ भाग्छौँ । भाग्दैमा मन, पेट र कलेजो क्लिएर हुँदैन । वाक्क र ख्वाक्क गर्न सक्यो भने कफ जान्छ र गफ अझ राम्रोसँग खुल्छ छैन त ?

वास्तविकताको पुन्तुरो खोल्नु नै आंशिक इतिहास लेख्नु हो । हिजो खसिसकेका जगत्की जननी, जनक सामु खस्न उद्यत म जेष्ठ नागरिकको तर्फबाट धराको झिना मसिना कुरो भन्नु सुनाउनु, लाउनु या नवनारदको भूमिका निभाउनु जीवितात्माको कर्तव्य ठानेको छु ।

अब्राहम लिङ्कनको देशबाट सुरु गर्ने हो भने अमेरिकामा आज बाराक ओबामाको हाली मुहाली चलेको छ । उनले आइएस आइ एस नामक आतङ्ककारी मुसलमानका जत्थामाथि जहाजबाट मुसल बर्षाएका छन् । स्थल सेना, वायु सेना दुवै फौजलाई सक्दो सेकाउन भनेका छन् । सेकाउँदै वारी पारी आफ्नो बल देखाउने क्रम जारी छ । बीर, बहादुर दुबै हो तर सुखद मान्न सकिँदैन ।

अब्राहम लिङ्कनका अनन्य मित्रले उनलाई सल्लाह दिँदै भनेछन् तपाईको कुरा यति धेरै काटेका छन् यस अमेरिकामा तपाईको शुभचिन्तक नै कोही छैनन् कि जस्तो लाग्छ । अनि लिङ्कनले भनेछन् ‘विचरा जनताको भलाइको काम नै मैले के गरेको छु र ? त्यसैले त मैले मेरै कुरा काटेको पनि चाल पाउदिन ।’ साथी जिल्ल परेछ ।

बेलायत, अस्ट्रेलिया जस्ता शक्तिशाली देशहरू अर्काको ढाड सेकाएर अमेरिकाले जस्तै नाम कमाउन लागि परिराखेका छन् । मुसलमानहरू आ–आफै जुधेर निख्रिन्छन् कि जस्तो छ । युक्रेन र रसिया मारामारमै रमाएका छन् । नेपालका प्रजातन्त्रवादी बिपी छक्क पर्ने गरेर माओवादीका अगुवा प्रचण्ड र बाबुराम भएर गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको छोरो मारेको पिरलोले वर्षाै अनसनमा बसेर भरखरै अनसन आसनमै प्राण त्याग गर्दा पनि कसैले कठै भन्न सकेका छैनन् । आफ्नो छोरालाई माओवादीले दुर्गा भवानीले झै शिर छेदन गरेर दुर्गा माताको आशन ओगट्न आतुर हुँदा नन्दप्रसादको छोरो सिध्याएका थिए ।

विष्णुको अवतार मानिने विरेन्द्र राजाको वंशै विनास गर्दा त कसैलाई कारवाही भएन भने नेपालका निरीह नागरिकका लागि न्याय त आकाशको फल नै भयो नि ।

भारतका महात्मा गान्धी परोपकारी थिए । तर आज ठिक उल्टो भारतमा स्वयं सेवकहरूको मात्र जन्म भएको छ । त्यस भूभागमा नेपालका माओवादीको अवशेष बाँकी रहेकाले होला मानव सिध्याउने क्रम जारी छ । विश्व आतङ्ककारी नेता ओसामा विन लादेनको पाकिस्तानमा अमेरिकाले प्राण पखेरु उडाए पछि त्यसको उत्तराधिकारीको रूपमा आइएस आइएस र बोको हराम जस्ता भुत्ते र विब्ल्याँटो मति भएकाहरूको कारण विश्व बजार प्रायः तहसनहस छ र सज्जन वर्गको मन भतभति पोलिराखेको छ । यस्तै छ विश्व ब्रह्माण्डमा खस्ने खसाउने व्रmम जारी छ ।
यस लेखमा विश्व बखानको बयान गर्न थाल्यो भने खसेका बसेका सबै मेरो गन्थनबाट टाढिन्छन् । रिसले फुल्छन् त्यसैले थोरै आफ्नै आङ कन्याएर छारो उडाउँदै विदा लिन्छु ।

पहिलेकै कुरा हो, खोटाङ जिल्लाको सुङ्देल गा.वि.स. वडा नं. ३ हाँसूमा म ७।८ वर्षको हुँदो हुँ । मेरा पिता चुलामा (चुलाको नजिक) बसेर भोजन गर्दै गर्दा मैले अज्ञानवश छुन पुगेछु । पिताश्रीले भोजन गर्दै गरेको छोडेर अपराधीलाई झै आमालाई गाली गर्नु भयो । म तीन छक परँे । मैले के गल्ती गरँे । अप्ठ्यारोमा परँे । लौ म ता मरँे र पछि सरँे । ब्राह्मणहरू तेतीसम्म चोखीनीति र धर्मको ख्याल गर्थे आफ्नै अविवाहित र ब्रतबन्ध नगरेका सन्तानले छोएको भात पनि खान्थेनन् ।

हामी सात भाइ छोरा एउटी छोरीमा म र मेरी दिदी बाहेक अरू दाजुभाइ कर्तव्य भुलेर, गन्धे झोल घरभित्र हुलेर साँझ परेपछि फोन उठाउनै नसक्ने भइसकेका छन् । आत्मा समर्पण गर्दै एउटा दाजुले भन्नुभयो ‘तँ झुण्डिएर मर्छस् भने पनि म यो पिउ छोड्दिन’ ।

ब्राह्मणी बृद्ध आमा यी सबै गतिविधि देखेर आजित मात्र होइन पराजित भै मूल घर छोड्न बाध्य भएर काठमाडौँ गौरीघाटमा भाडामा लगभग नजरबन्दमा झैँ दिन गुजारी रहनु भएको छ । ‘बागवान’ हिन्दी चलचित्रको झै पौरख र पाखुरीले कमाएर बनाएको आफ्नै घरबाट आमा निकालिनु भयो । चतुरहरूले बुबाले बनाएको एक एक वटा घर हडपेर भाडा खान्छन् । आमालाई सिटामोल किनेर खुवाए भने खर्च आठ भाग लगाउँछन्, अहिले आमाको जीवन दुःखदायी र कष्टकर लाग्छ मलाई । असी वर्ष लाग्नुभयो । मुटुको एउटा पाइपबाट रक्त सन्चार नभएर गंगालाल हृदयरोग केन्द्रमा लगेर व्याट्रीको मद्दतबाट मुटु सुचारु गरिएको पनि ५ वर्ष लाग्यो । आमासँग बस्ने, आमालाई पाल्न पनि जन्मिदै लिएर आउनु पर्दो रहेछ । आमा पाल्ने रहर छ तर त्यो सौभाग्य मेरो लागि कहिल्यै सुगम भएन । पाँच छ महिना पालि हालँे भने पनि चीउनी सम्झिएर होला लगेर भाडामा बस्न बाध्य पार्छन् । यता उता जानु प¥यो र आमासँग पैसा भए टिकट काटिदिन्छन् । अन्यथा आमा खटाएको मानुको अधिनमा जीउन पिउन विवश मात्र होइन बाध्य नै छन् । त्यसैले म आफू फूस्रो, कर्तव्यहीन छोरो भएर जन्मिएकोमा पछुताई रहेको छु । सायद आमाको घर ओगट्न, हडप्न आतुर मेरा दाजु भाइहरू छोरो भएर जन्मिएकोमा गर्भाएमान होलान् । त्यो आमाको लागि स्वभाविक रूपमा दुर्भाग्य पूर्ण छ ।

एक दिनको कुरा हो साँझ सात बजेकै थिएन । ‘आमालाई पाउन’ भन्दै पोखराबाट फोन गरँे । झर्काे फर्काेका साथ फोन उठायो । ‘यस बेला फोन गर्छ काम नपाएर’ … गन्गनाउँदै आमालाई फोन दियो । अर्को एउटा लरबरिएको जिब्रो तन्काउँदै फोन गर्छ ‘मेरो स्टेन्डरसँग तिमीहरूको स्टेन्डर मिल्दैन त्यसैले भेट्नु भन्दा फोनमै कुरा गरौँ । के बोल्ने के नबोल्ने फोनमै उचाल्दै पछार्दै गर्न कम्ता सिपालु छैनन् । काग धेरै बाठो भयो भने आची खान्छ भन्थे मलाई त्यस्तै लागि रहेको छ ।

देवीका नौ रूपहरूमा आमा छोरी दिदी, बहिनी, फुपु, माइजु, भान्जी, नातिनी, जेठानी, भतिजी, नै जीवित देवीहरू हुन् भन्ने मान्यता रहेको छ । त्यसैका डरले भन्ने गरिन्छ, घरकी लक्ष्मी खुसी भएदेखि लक्षिन आफै आउँछ । सकिन्छ मिल्छ भने यी देवीका नौ रूपको चित्त दुखाउनु नपरोस् । प्रसन्न राख्न सके सुख अन्त जाँदैन भन्ने कुरा हामीले यदाकदा नसुनेको होइन । तर नजिकको तिर्थ हेला हुने व्रmम भने रोकिएको छैन ।

देश चलाउने, यातायात चलाउने, घर चलाउनेलाई आज भोलि रक्सीले चलाएको हुन्छ । पैसाले मैमत्तु भएकाहरू त रक्सिमा डुब्न आनन्द मान्छन् । खसेकालाई भन्दा पनि पृथ्वीमा बसेकाहरूको जिन्दगी भय र सन्त्रासले त्राही त्राही छ । को काटिने, को घरबाट निकालीने, खेदिने लखेटिने क्रम हर बस्तीमा ब्याप्त छ । देशमा जडीबुटी खेर गएको छ । इच्छाएको दवाई हुँदैन तर गन्धे झोल टोल टोलमा प्रर्याप्त छ । यसले मान्छेको असल मतिमा ठूलो खति भएको छ । खसेका आफन्त पराई मान्यजनसँग यी खासखुससँगै धरामा मै ठूलो भन्दै पहरा दिने पाइनदारहरूलाई खास खुसीको कुरा खुसुक्क सुनाउन नसकेकोमा कान समाउँदै क्षमादानको पर्खाईमा चिच्याउँदै दाँत ङिच्याई रहेको छु ।

फूलबारी–११, पोखरा
फोन ०६१५३०१२२, ५३४७१३

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x