मुकुन्द आचार्यश्रीमानको स्वागत
थोत्रो बसमा हामी दुवै थोत्रा साथीहरू अनेकथरि गफ चुट्दै बीरगंजबाट कलैया आइपुग्यौँ । आफ्नो मीठो गफले डोर्याउँदै ती मित्रले मलाई आफ्नो महलभित्र लगे । उनी घर पुग्नासाथ उनकी श्रीमती निकै सक्रिय भइन् । भव्य पूजा र आरती गरिन्, आफ्नो श्रीमानको । मैले भन्ठाने, कलियुगमा पनि यस्ती पतिब्रता नारी अझै छन् । पृथ्वी ‘यस्ताकै’ धर्मले अडेको हुनुपर्छ ।
मेरो प्रश्नवाचक अनुहार हेरेर नै ती पतिब्रता नारीले मेरो मनको कुरा बुझिन् । धेरै धर्मात्माले अर्काको मनको कुरा भसक्कै बुझ्छरे ।
उनले भनिन्, कलैया– वीरगञ्जको सडक कस्तो छ त्यो त बाबुलाई थाहै छ होला । दुईटा काठेपुलले नेपालमा पहिले जङ्गल पनि थियो भन्ने कुराको संझना मात्र गराउँछन् । पुलको क्यै भर छैन । पुल र वाहनका बीच कुनै सुमधुर सम्बन्ध पनि छैन । यस पुलमा हिँड्दा बसको भुँडी छेडेर पुलको पटरीले मान्छेको भुँडी पनि फुटाल्न खोज्छ ।
उनी फतफताउँदै थिइन्, यस रुटमा चल्ने बस र जीप सबै पुराना हुन्छन् र चालकहरू भने सबै नयाँ हुन्छन् । यति हुँदाहँुदै पनि कुनै यात्रु सकुशल घर फर्कनु भनेको ठूलो सौभाग्यको कुरो होइन र ? त्यसैले श्रीमान सकुशल घर फर्कनासाथ म त सधैँ यसैगरी स्वागत गर्ने गर्छु ।
मेरो चित्त बुझ्यो, चिया पिउन थाले ।
हाल थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































