डा.रवीन्द्र समीरकामना
म हिँड्दै थिएँ, बजारको पेटीबाट ।
रक्सी पसलेले मतिर हेर्यो र मनमनै कामना गर्यो यसले पुरा बोतल रक्सी किने हुन्थ्यो नि !
अलिपर पगेपछि मासु पसलेले मतर्फ हेर्यो र आशा गर्यो– दुईचार किलो मासु किनेर बुहुनी गरे पनि हुन्थ्यो नि !
मैले बाटो काटेँ ।
औषधि पसलेले मलाई हेर्यो र मनमनै इच्छा प्रकट गर्यो– यो बिरामी भएर महङ्गो परीक्षण र उपचार गरे हुन्थ्यो नि !
अलिपर पुगेँ । कानुनी केन्द्रमा बसेको मान्छेले मतिर हेरेर आशा गर्यो– यसलाई ठूलो मुद्दा लागेर म कहाँ आए पनि हुन्थ्यो नि !
म बायाँतर्फ लागेँ ।
ओठबाट करिब कानसम्म लिपिस्टिक लगाएकी उसले मलाई हेरेर कल्पना गरी– यसलाई मुर्गा बनाउन पाए पनि हुन्थ्यो नि !
म दायाँतर्फ मोडिएँ ।
होटेलवाला साहुले मलाई हेरेर इच्छा प्रकट गर्यो– यसले मेरो होटेलमा टन्न मासु र भात खाए पनि हुन्थ्यो नि !
उसको कामनाले दुई दिनदेखि भोको मेरो शरीर रोमाञ्चकारी भयो, पुलकित भयो अनि तत्कालै दुर्घटनाग्रस्त भयो किनकि मसँग एक रुपियाँ पनि थिएन ।
‘अणु र पहाड’ सङ्ग्रहबाट
Subscribe
Login
0 Comments
Oldest







































