साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेरुजु सपनाहरू

Nepal Telecom ad

खै उसका सपनाहरूका कुरा पुरा हुन्छन् कि हुन्नन् तर सपनाको इतिहास कहिलेदेखि थियो उसले सोच्नै सकेको छैन । आदिदेखि अन्त्यसम्म, साधुदेखि भन्तेसम्म सबैलाई सपनाले गाँजेको हुन्छ, तर खै अन्धाहरू कस्ता सपना देख्दाहुन् सत्तामा जाने मत्ता हात्तिलाई सोध्दा थाहा लाग्न सक्थ्यो कि ? खै उसले कस्तो सपना देख्यो कुन्नि, वर्षौंदेखि तातिएर पनि ओसिएका छन् उसका सपनाहरू । तातेर पनि सल्कन नसकेका छन् उसका सपनाहरू । मातेर पनि पल्कन नसकेका छन् उसका सपनाहरू । अर्थशास्त्रको करौँतीमा राखेर उसले आजकल बेरुजु सपनाहरू देखिरहेछ, थाहा पाएदेखि थाहा नपाएसम्म ।

इमान्दारिताको शास्त्रीय खास्टो ओडेर आजसम्म पनि बेरुजु सपना देखिरहेछ निरन्तर । सानो छँदा प्वाल परेको जाँघेबाट उसले पाइन्टको सपना देख्थ्यो, वर्षभरि चामलको भात खान नपाएको उसले दशैंमा बाउले टिका लगाउने बहाना बनाएर ल्याएको चामलको भात खान पाउँदा आकाशै चुम्ने गरी उफ्रन्थ्यो र भविष्यमा ढिँडो र मकैको च्याँख्लाबाट छुटकारा पाउने सपना देख्थ्यो । मनका बायुपंखी घोडासँगै ऊ कल्पनाको स्वर्गसम्म पुग्थ्यो । जीवनका योजनाको काउछो ओडेर आफ्ना हत्केला कन्याई रहन्थ्यो ऊ । पढेर ठूलो मान्छे बन्ने भूत्याहा सपना पनि उसले नदेखेको हैन तर आफ्नो चिहानको लागि जग्गा छुट्याउन नसक्ने उसका बाबुले उसलाई उच्च शिक्षाको आँट गर्नै सकेनन् । बरु पढुन्जेल रित्तो झोलालाई हेरेर कोर्षका किताबले झोला भरिएको सपना देख्थ्यो ऊ । साथीसँग मागेर लगेको कलमले जाँच दिँदा कहिलेकाहिँ मसि पुगेर तीन घण्टा नै परीक्षामा लेख्न पाउँदा त्यस्तै कलमको सपना देख्थ्यो । जिन्दगीका उखाडबखाड सपनाहरूलाई चेतनाका डल्लेठाले सम्याई रह्यो उसले ।

सपनासँग बिनिमय गरेर उसले खै धेरै नै पढेछ, तब उसले रोजगारीको सपना देख्न थाल्यो । मनको आरनमा बिचारको आगो सल्काएर उसले सपनालाई जलाउन खोज्यो तर उसले जलाउनै सकेन अनि उसले भगवान्लाई धिक्का¥यो– ए भगवान् तिमीले मेरो गिदी बिधि पु¥याएरै बनाएकै हौ त ? उसको दरिद्रताले उसलाई गिज्याउँदै गर्दा बिरामी बाबुलाई अस्पतालसम्म कसरी लैजान सकिन्छ भन्ने जुक्ति लाउन नपाउँदै यमराजले माया गरेको भोको खल्ति छामेर उसले यौटा कात्रोको पनि सपना देखेको थियो । तर पनि उसले देशको लागि पनि सुखी र समृद्घिको लागि सपना देख्न छाडेन । उसलाई लाग्थ्यो देशको बारेमा सोचेको एक सेकेण्डको एक पैसा मात्र कसैले दिने भए उसलाई कसैले करौडौं रुपैया तिर्नु पथ्र्यो होला ।

चिसा रातमा न्याना सपना देख्यो उसले । गर्मीका रातमा उसले मछेडबाट अलग्गिएको सपना देख्यो । अर्काका बारीमा धान झुल्दा भरिया भएर पनि ति धानलाई सुम्सुम्याउने सपना देख्यो । अर्काका घरमा गज्जबका टौवा देख्दा उसले एक दिन खेताला भएको सपना देख्यो । अरुले टिभीमा सिरियल हेर्दा उसले आफ्नै आँखाबाट सपनाका चलचित्र देख्यो । दर्शनको खर्पनले जिन्दगीमा तर्पन दिन नमिल्ने नै भएपछि कहिलेकाहीँ रोटी र धोतीका सपनाहरू पनि उसले देख्यो । आफैंले बोकेको थुन्सेको एक रास मलखादमा एक चपरी माटोको सपना देख्यो । तर सोच्थ्यो सपना सपना नै रहेछ ।

भोकमरीका पहाडमा गिठ्ठा र भ्याकुरका लहरामा लहरिएर सपना देखेको औसत नेपाली थियो ऊ । जिन्दगीको बेहिसाव खाताबाट उसले सकुञ्जेल सपनाहरू सापट मागिरह्यो । ऊ सोच्थ्यो– के मनुले नयाँ सन्तान उत्पादन गर्दा मेरा बारेमा पनि बेरुजु सपना देखेका थिए होलान् ? ठक्करे जिन्दगी र अक्करे बसाइमा ऊ अक्सर सपना नै देखिरहन्थ्यो । अनिदो समय ओछ्याएर सुतिरहेको उसले कहिलेकाहीँ बिलासिताको सपना पनि देख्थ्यो । छिमेकीहरू साँध मिचिएको झगडा गर्दा एक बित्ता जमिन, एक कित्ता जमिन भैदिए पनि हुनेथ्यो भन्ने सपना उसले देखिरह्यो । फ्रेडरिक नित्जेले झैं ऊ लाल्टिन बालेर जिन्दगीको बेरुजु सपनाहरू देखिरह्यो ।

आश्वासनले संतृप्त भएको उसलाई जुवाडे राष्ट्रवादको कौडामा आफ्ना सपनाहरू दौडायो । जीजिबिषाको चक्रव्यूहमा जीवनको धागो बाटेर सपनाको डोरीमा लोरी खेलिरहन्थ्यो ऊ । भोकमरीले शोकझरी पारेको बेला ऊ दूधको सपना देख्दैनथ्यो, तर एक दिन धनिरामकोमा गएर कुराउनी चाखेको थियो । उधारोमा दूधको बारेमा ऊ सोच्छ– साँच्चै आफ्नै भैंसीको दूधको स्वाद कस्तो होला ?

ऊ अलिक दार्शनिक पाराले सोच्छ– आँसुको घनत्व र भोकको गहिराई कसरी नापिन्छ होला ? उसको दरिद्रताको पढाई धनाढ्य दलितको भन्दा निम्न स्तरको थियो । ऊ बिपन्न ब्राम्हण परिवारको कथित नजाति (जनजातिको उल्टो – लेखकीय भाषामा मात्र) थियो । अन्यमा परेर ऊ धन्य भएको थियो या सोधेन तर ऊ आफ्नै आँगनमा बिरानिएको थियो । उसलाई अवसरका कोटा प्रणालीबाट गोता खुवाइएको थियो । ऊ सोच्थ्यो आखिर बाबुले निधार र हात थापेर गरेको पण्डित्याँइले कसरी देश लुटे ? अनि सम्झन्थ्यो– के उसकै बाउ ब्राम्हण बनेर देशको हालत गलत भएको हो त ? अनि बाबुको गल्तिमा छोराको दोष के छ र ?

उसको जातले उसलाई मूलधारबाट अलग्याएको थियो । पहिचानवादीको पहिचानमा उसले पहिचान गुमाएको थियो । के जन्मको आधार नै पहिचान हो भने दरिद्रताको आधार जन्म हुन सक्ला ? अघिल्लो साल मतपेटिकामा भोट खसाल्दा पनि उसलाई निकै घतलाग्दा र आश लाग्दा सपनाहरू बाँडिएको थियो । तर ती आश्वासनहरू आज सिंहदरबारमा पुगेर स्वप्न महलमा परिणत भैसकेको पाउँछ । आखिर पसिनाको मोल आउने जागिर वा व्यवसायको लोभमा उसले सपना देखेर भोट खसालेको थियो तर भोट खसाल्नु नै आफ्नो स्वाभिमान खसाल्नु रहेछ कि जस्तो उसले सोचिरह्यो ।

ऊ कल्पनामा असाध्यै धनी थियो । ऊसँग कल्पनाको विश्व बैंक थियो । ऊ त्यही बैंकबाट आदिम कालबाट जीवनका भ्वाङहरू टाल्न र आकाङ्क्षाका दरिद्रतालाई फाल्नको लागि दैनिक सपनाको सापटी चिन्तनलाई धरौटीमा राखेर जमानत मागेको थियो र हुन पनि त्यो उसको बिगत र आगत त्यही नै थियो । साँच्चै तिर्नु पर्ने भए ती सपनाको मूल्य कति हुन्थ्यो होला ऊ सोचिरहेछ सपनामा नै । आखिर सपनाहरू उसका बेरुजुमा गएछन्, बेरुजु भएछन् । कतै तपाईं पनि यस्तै कुनै बेरुजु सपनाहरू त देखीरहनु भएको छैन ? जदौ ।
बेसीशहर नगरपालिका ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x