साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेरुजु सपनाहरू

Nepal Telecom ad

खै उसका सपनाहरूका कुरा पुरा हुन्छन् कि हुन्नन् तर सपनाको इतिहास कहिलेदेखि थियो उसले सोच्नै सकेको छैन । आदिदेखि अन्त्यसम्म, साधुदेखि भन्तेसम्म सबैलाई सपनाले गाँजेको हुन्छ, तर खै अन्धाहरू कस्ता सपना देख्दाहुन् सत्तामा जाने मत्ता हात्तिलाई सोध्दा थाहा लाग्न सक्थ्यो कि ? खै उसले कस्तो सपना देख्यो कुन्नि, वर्षौंदेखि तातिएर पनि ओसिएका छन् उसका सपनाहरू । तातेर पनि सल्कन नसकेका छन् उसका सपनाहरू । मातेर पनि पल्कन नसकेका छन् उसका सपनाहरू । अर्थशास्त्रको करौँतीमा राखेर उसले आजकल बेरुजु सपनाहरू देखिरहेछ, थाहा पाएदेखि थाहा नपाएसम्म ।

इमान्दारिताको शास्त्रीय खास्टो ओडेर आजसम्म पनि बेरुजु सपना देखिरहेछ निरन्तर । सानो छँदा प्वाल परेको जाँघेबाट उसले पाइन्टको सपना देख्थ्यो, वर्षभरि चामलको भात खान नपाएको उसले दशैंमा बाउले टिका लगाउने बहाना बनाएर ल्याएको चामलको भात खान पाउँदा आकाशै चुम्ने गरी उफ्रन्थ्यो र भविष्यमा ढिँडो र मकैको च्याँख्लाबाट छुटकारा पाउने सपना देख्थ्यो । मनका बायुपंखी घोडासँगै ऊ कल्पनाको स्वर्गसम्म पुग्थ्यो । जीवनका योजनाको काउछो ओडेर आफ्ना हत्केला कन्याई रहन्थ्यो ऊ । पढेर ठूलो मान्छे बन्ने भूत्याहा सपना पनि उसले नदेखेको हैन तर आफ्नो चिहानको लागि जग्गा छुट्याउन नसक्ने उसका बाबुले उसलाई उच्च शिक्षाको आँट गर्नै सकेनन् । बरु पढुन्जेल रित्तो झोलालाई हेरेर कोर्षका किताबले झोला भरिएको सपना देख्थ्यो ऊ । साथीसँग मागेर लगेको कलमले जाँच दिँदा कहिलेकाहिँ मसि पुगेर तीन घण्टा नै परीक्षामा लेख्न पाउँदा त्यस्तै कलमको सपना देख्थ्यो । जिन्दगीका उखाडबखाड सपनाहरूलाई चेतनाका डल्लेठाले सम्याई रह्यो उसले ।

सपनासँग बिनिमय गरेर उसले खै धेरै नै पढेछ, तब उसले रोजगारीको सपना देख्न थाल्यो । मनको आरनमा बिचारको आगो सल्काएर उसले सपनालाई जलाउन खोज्यो तर उसले जलाउनै सकेन अनि उसले भगवान्लाई धिक्का¥यो– ए भगवान् तिमीले मेरो गिदी बिधि पु¥याएरै बनाएकै हौ त ? उसको दरिद्रताले उसलाई गिज्याउँदै गर्दा बिरामी बाबुलाई अस्पतालसम्म कसरी लैजान सकिन्छ भन्ने जुक्ति लाउन नपाउँदै यमराजले माया गरेको भोको खल्ति छामेर उसले यौटा कात्रोको पनि सपना देखेको थियो । तर पनि उसले देशको लागि पनि सुखी र समृद्घिको लागि सपना देख्न छाडेन । उसलाई लाग्थ्यो देशको बारेमा सोचेको एक सेकेण्डको एक पैसा मात्र कसैले दिने भए उसलाई कसैले करौडौं रुपैया तिर्नु पथ्र्यो होला ।

चिसा रातमा न्याना सपना देख्यो उसले । गर्मीका रातमा उसले मछेडबाट अलग्गिएको सपना देख्यो । अर्काका बारीमा धान झुल्दा भरिया भएर पनि ति धानलाई सुम्सुम्याउने सपना देख्यो । अर्काका घरमा गज्जबका टौवा देख्दा उसले एक दिन खेताला भएको सपना देख्यो । अरुले टिभीमा सिरियल हेर्दा उसले आफ्नै आँखाबाट सपनाका चलचित्र देख्यो । दर्शनको खर्पनले जिन्दगीमा तर्पन दिन नमिल्ने नै भएपछि कहिलेकाहीँ रोटी र धोतीका सपनाहरू पनि उसले देख्यो । आफैंले बोकेको थुन्सेको एक रास मलखादमा एक चपरी माटोको सपना देख्यो । तर सोच्थ्यो सपना सपना नै रहेछ ।

भोकमरीका पहाडमा गिठ्ठा र भ्याकुरका लहरामा लहरिएर सपना देखेको औसत नेपाली थियो ऊ । जिन्दगीको बेहिसाव खाताबाट उसले सकुञ्जेल सपनाहरू सापट मागिरह्यो । ऊ सोच्थ्यो– के मनुले नयाँ सन्तान उत्पादन गर्दा मेरा बारेमा पनि बेरुजु सपना देखेका थिए होलान् ? ठक्करे जिन्दगी र अक्करे बसाइमा ऊ अक्सर सपना नै देखिरहन्थ्यो । अनिदो समय ओछ्याएर सुतिरहेको उसले कहिलेकाहीँ बिलासिताको सपना पनि देख्थ्यो । छिमेकीहरू साँध मिचिएको झगडा गर्दा एक बित्ता जमिन, एक कित्ता जमिन भैदिए पनि हुनेथ्यो भन्ने सपना उसले देखिरह्यो । फ्रेडरिक नित्जेले झैं ऊ लाल्टिन बालेर जिन्दगीको बेरुजु सपनाहरू देखिरह्यो ।

आश्वासनले संतृप्त भएको उसलाई जुवाडे राष्ट्रवादको कौडामा आफ्ना सपनाहरू दौडायो । जीजिबिषाको चक्रव्यूहमा जीवनको धागो बाटेर सपनाको डोरीमा लोरी खेलिरहन्थ्यो ऊ । भोकमरीले शोकझरी पारेको बेला ऊ दूधको सपना देख्दैनथ्यो, तर एक दिन धनिरामकोमा गएर कुराउनी चाखेको थियो । उधारोमा दूधको बारेमा ऊ सोच्छ– साँच्चै आफ्नै भैंसीको दूधको स्वाद कस्तो होला ?

ऊ अलिक दार्शनिक पाराले सोच्छ– आँसुको घनत्व र भोकको गहिराई कसरी नापिन्छ होला ? उसको दरिद्रताको पढाई धनाढ्य दलितको भन्दा निम्न स्तरको थियो । ऊ बिपन्न ब्राम्हण परिवारको कथित नजाति (जनजातिको उल्टो – लेखकीय भाषामा मात्र) थियो । अन्यमा परेर ऊ धन्य भएको थियो या सोधेन तर ऊ आफ्नै आँगनमा बिरानिएको थियो । उसलाई अवसरका कोटा प्रणालीबाट गोता खुवाइएको थियो । ऊ सोच्थ्यो आखिर बाबुले निधार र हात थापेर गरेको पण्डित्याँइले कसरी देश लुटे ? अनि सम्झन्थ्यो– के उसकै बाउ ब्राम्हण बनेर देशको हालत गलत भएको हो त ? अनि बाबुको गल्तिमा छोराको दोष के छ र ?

उसको जातले उसलाई मूलधारबाट अलग्याएको थियो । पहिचानवादीको पहिचानमा उसले पहिचान गुमाएको थियो । के जन्मको आधार नै पहिचान हो भने दरिद्रताको आधार जन्म हुन सक्ला ? अघिल्लो साल मतपेटिकामा भोट खसाल्दा पनि उसलाई निकै घतलाग्दा र आश लाग्दा सपनाहरू बाँडिएको थियो । तर ती आश्वासनहरू आज सिंहदरबारमा पुगेर स्वप्न महलमा परिणत भैसकेको पाउँछ । आखिर पसिनाको मोल आउने जागिर वा व्यवसायको लोभमा उसले सपना देखेर भोट खसालेको थियो तर भोट खसाल्नु नै आफ्नो स्वाभिमान खसाल्नु रहेछ कि जस्तो उसले सोचिरह्यो ।

ऊ कल्पनामा असाध्यै धनी थियो । ऊसँग कल्पनाको विश्व बैंक थियो । ऊ त्यही बैंकबाट आदिम कालबाट जीवनका भ्वाङहरू टाल्न र आकाङ्क्षाका दरिद्रतालाई फाल्नको लागि दैनिक सपनाको सापटी चिन्तनलाई धरौटीमा राखेर जमानत मागेको थियो र हुन पनि त्यो उसको बिगत र आगत त्यही नै थियो । साँच्चै तिर्नु पर्ने भए ती सपनाको मूल्य कति हुन्थ्यो होला ऊ सोचिरहेछ सपनामा नै । आखिर सपनाहरू उसका बेरुजुमा गएछन्, बेरुजु भएछन् । कतै तपाईं पनि यस्तै कुनै बेरुजु सपनाहरू त देखीरहनु भएको छैन ? जदौ ।
बेसीशहर नगरपालिका ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x