साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डोरी लाहुरे

Nepal Telecom ad

तोरी लाहुरे शब्द त तपाइको मन मस्तिष्कमा कण्ठ भै सकेको होला । तर डोरी लाहुरे भन्ने शब्दावली तपाईंको लागि अनौठो हुन सक्ला तर हैन यो समयले ल्याएको परिवर्तन हो । जीवनका कुनै क्षण तोरी लाहुरे बन्नुभएको तपाईं कुनै एक क्षण डोरी लाहुरेको कथा देखेर, सुनेर, भोगेर आजित भा‘को पनि हुन सक्नुहुन्छ है !

सकिनसकी टुप्पी कसेर पढ्यो अनिअन्त्यमा सोह्र दुना आठ भन्याझैं भएका हाम्रा गाउँका च्याण्टे, पुण्टे, भुण्टे र पुन्टेहरू पढ्न नसकेर र स्वदेशमा अड्न नसकेर गाउँका झाडी छाडेर, साडी र दारीका लागि विदेशी खाडीमा पसिना कमाउनेहरू र गाउँको खोरिया बिर्सेर विदेशी कोरिया सभ्झनेहरू नै वास्तवमा डोरी लाहुरे हुन् । न तिन्ले गाउँमा बाँस काटेर चोया बनाउन जाने, न तिन्ले पाट निकालेर नाम्लो र दाम्लो बनाउन जाने । काम्लो पनि बनाउन जानेको भएहुन्थ्यो नि, त्यो हबिगत पनि भएन उनीहरूको । गाउँमा यौटा नाम्लाको बरियो बाट्न नजान्नेहरू आजकल रेमिट्यान्सको खेति गरेर डलरमा नेपाली रुपैयाँ साट्ने भएका छन् । घरमा बाख्राको खोर बनाउन नसक्नेहरू आजकल मलेसियामा बाउको बिहा देख्दै स्वर मिलाएर जोर जोरले स्क्याफोल्डिङको काम गरिरहेका छन् । यौटै डोरी बाट्न नसक्ने आखिर कसरी डोरी लाहुरे भयो भन्दा तपाईलाई अचम्मलाग्न सक्ला । तर हैन उनीहरू वास्तविक डोरी लाहुरे नै हुन् । किनकि हजारौं दिनको पसिनाको कमाईले उसलाई आजकल के नै किन्न पुग्न सकेको छ र ? उसले घर फर्कदा केबल डोरी किनेर श्रीमतीलाई मख्ख पार्न जानेको मात्र छ । अझ श्रीमतीले झन् डोरी लाउने हुन् र तीजमा नक्कल पार्न बर्ष दिनको एक पटक झल्याक, झुलुक्क पार्नलाई लाउँछन् डोरी ती मोरीले । श्रीमतीलाई डोरी किन्ने हैसियत बनाएको हुँदा उसलाई डोरी लाहुरे भनिएको हो ।

विदेशबाट पहिले लाहुरेहरू आउँदा पानासोनिक रेडियो भिरेर आउँथे अरे । अलिक पछि क्यासेट घन्काउँदै, बनपाखा रन्काउँदै लाहुरेहरू आए रे, तर जमाना फेरिएको पक्कै हो, त्यो दृष्य आजकल देख्न पाइन्न । आजकल त जति विदेशी लाहुरे आउँछन् गुण्टा कसेर आउँछन् । यसो चौबाटोमा बसेर हेर्नुस् त ती विदेशी लाहुरेहरू ब्ल्याङ्केटमा डोरी कसेर आउँछन्, सुटकेसमा डोरी कसेर आउँछन्, टिभीको कार्टुनमा डोरी कसेर आउँछन् । चाहे जुनसुकै देशबाट जस्तो भेषमा किन नआओस् आखिर उसले डोरीले सामान बाँधेर नेपाल फर्किएको छ । तसर्थ ऊ नेपाली दृष्टिकोणबाट तोरी लाहुरेबाट प्रमोसन भएर डोरी लाहुरेको दर्जामा पुगेको छ ।

उसो त बिदेश भास्सिएको बेला गाउँमा साहुसँग लिएको रिन सम्झेर ऊ सपनाको डोरी बाटेर आकाङ्क्षाहरूमा पिङ खेल्छ । जब गाउँमा केही कमाउन नसकेर रित्तो हात फर्कन्छ उसको हातमा नाम्लाको डोरी हुन्छ, अनि उसको तोरीबारी अर्कैको नाममा पास भैसकेको हुन्छ, त्यति बेला ऊ भरिया बनेर नै जिन्दगी गुजार्छ या नाम्लाको बरिया बोकेर सभ्भावित मृत्युको पर्खाइमा हुन्छ । तसर्थ ऊ तोरी लाहुरे नभै डोरी लाहुरे हो ।

ऊ विदेशको खाडीमा सकिनसकी पसिना चुहाउँछ, यता श्रीमती पनि गाउँका तोरी लाहुरेसँग रेमिट्यान्स खेती गर्छे, तिनै तोरी लाहुरेको सेवा गर्छे । सेवा पनि मिलेको छ, सन्तुष्टि पनि मिलेको छ । उता यौटा डोरी लाहुरे पसिना चुहाउँछ, यता यौटा तोरी लाहुरे अर्कैको श्रीमतीको गर्भ तुहाउँछ । श्रीमतीलाई रेमिट्यान्स गरेर पठाएको पैसा जम्मा गरेर राखेको आशमा नेपाल आउँदा ऊ आकाशबाट खसे झैं हुन्छ । अनि ऊ आएको दिन एयरपोर्टमा उसलाई स्वागत गर्दै श्रीमतीले उसका सुटकेस पनि जिल्मिट्याएर पुच्छर हल्लाउँछे अनि अर्कै तोरी लाहुरेसँग साँठगाँठ गाँस्छे र भाग्छे, अनि उसको बिल्लीबाठ भएको बल्ल थाहा पाउँछ त्यो डोरी लाहुरेले । अनि उसको अन्तिम विकल्प भनेकै डोरीको पासो लगाउनु हो । त्यसैले पनि उसलाई डोरी लाहुरे भन्न सकिन्छ ।

देशको शैक्षिक रणनीतिले हामीलाई तोरी लाहुरेबाट कमसेकम डोरी लाहुरेका दर्जामा बढुवा गरेकोमा शिक्षा नीतिलाई साधुवाद दिनै पर्छ । गाउँका बाँझो खेतमा डल्ला फोर्न नसकेर विदेशमा हल्ला गर्न गएका हाम्रा पुस्ताले कमाएर डोरीले बाँधेर ल्याएको सुटकेस हेर्दै मुतको न्यानो भएको रेमिट्यान्सको क्षणिक न्यानोमा देश प्रगतिको शिखर चढेको देख्ने हामीहरूले पनि डोरी लाहुरे सपना देखिरहेका छौँ । के तपाईं आफ्नो आगामी पुस्ता डोरी लाहुरे भएको हेर्न चाहनु हुुन्छ हँ ?जदौ ।
बेसिशहर नगरपालिका– ७, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
दादागिरी

दादागिरी

विश्व विनोद
कुर्ने कि घुर्ने ?

कुर्ने कि घुर्ने ?

विश्व विनोद
खादा, माला र अबिर टोलाएको बेला

खादा, माला र अबिर...

विश्व विनोद
देश कहाँ छ त ?

देश कहाँ छ त...

विश्व विनोद
0
Would love your thoughts, please comment.x
()
x