विमल निभाएक सिलेन्डर ग्यास
संविधान, सहमति र संघीयताजस्ता पर्याप्त चलनचल्तीका भीमकाय विषय छाडेर ग्यासबारे लेखेकोमा यस्तो टिप्पणी आउन बेर छैन, विमल निभाको लेखनको स्तर घट्यो । ठिकै हो, यसलाई सहजै स्वीकार गर्नमा मलाई कुनै संकोच छैन । अचेल मेरो यावत चेतनामा ग्यास, पानी, बिजुली, महंँगी आदि बेस्सरी सवार छ । तसर्थ आज मेरो सम्पूर्ण ध्यान एक सिलेन्डर ग्यासमा गएको छ । ग्यासको अभावमा घरको चुलो नबलेको विकट परिस्थितिमा म यसभन्दा माथि उठ्न असमर्थ छु । अर्थात् मलाई खाना बनाउन प्रयोग हुने टिनको चौकोर ग्यास चुलोमा जोडिने एक सिलेन्डर ग्यासमा एकहोरिन परेको छ । चाहे यसलाई मेरो चरम व्यक्तिवाद नै किन नभनियोस् ! मलाई क्षमा गर्नोस् । यही एक औसत दर्जाको सामान्य लेखकको वास्तविक हैसियत हो ।
ग्यास बजारबाट उपलब्ध हुनसकेन भने मट्टतिेलबाट पनि काम चलाउन सकिन्छ । यस अतिरिक्त अर्काे जल्दोबल्दो विकल्पमा इलेक्टि्रक पनि हुनसक्छ । नेपाल विद्युत प्राधिकरणबाट सशुल्क वितरण गरिने सरकारी बिजुली । तपाई यिनीहरूमधये कुनै एकको आरामले चयन गरेर आफ्नो किचेनमा उपयोग गर्न सक्नुहुन्छ । त्यस्तो के अप्ठ्यारो छ ? यस प्रकारको मैले विलकुलै नमागेको सशक्त सुझाव सल्लाह मलाई नआएको होइन । परन्तु मट्टतिेल र सरकारी बिजुली बत्तीको पनि उही समान कथा होइन र ? मेरो मतलव व्यथा । मेरो भन्नुको तात्पर्य के भने मट्टतिेल र बिजुलीको सहज एवं सरल उपलब्धता हामीकहाँ कहिल्यै रहेन । अतएव अहिले पनि छैन । के अन्तर छ त ? विशुद्ध अन्तर्राष्ट्रिय कारणले हालै दुई-तीनपटक मिलाएर मूल्य कम गरिएको भनिने मट्टतिेल पनि ग्यास सिलेन्डरकै परम शैलीमा बजारबाट बेपत्ता छ । माटोको तेल याने भूमिबाट निकालिएको तेल मट्टतिेल पुनः भूमिगत भएको त होइन ? जहाँसम्म नेपाल विद्युत प्राधिकरणको सरकारी बिजुलीको कुरो छ, यो कहिले अनायास प्रकट हुन्छ र कहिले झाट्टै जान्छ, यस सम्बन्धमा केवल नेपाल सरकारका माननीय ऊर्जामन्त्री यकिनका साथ भन्ने क्षमता राख्छन् । किन्तु केही भनिरहेका छैनन् । अब बढ्ता जान्ने भएर म के भनुँ ?
\’त्यसो भए तिमी होटलमा खान किन जाँदैनौ ?\’ यही सिलसिलामा मेरो एक नजिकको मित्रले अघि सरेर भन्यो ।
\’कुन होटलमा ?\’ मेरो स्वाभाविक प्रश्न थियो । \’होटल सोल्टी ओबेरायमा, होटल एभरेष्ट शेराटनमा, होटल डेला अन्नपूर्णमा…।\’ मेरो मित्रले सरर्र दुई-चार अरु तारे होटलहरूका नाम लियो, \’हामीकहाँ राम्रा होटलहरूका के कमी छ ?\’
यो अमूल्य टाइपको शानदार सुझाव ग्रहण गर्ने मेरो निजी खल्तीको वर्तमान अवस्था पटक्कै नभएकोले मैले मित्रतर्फ हेरेर चुप लाग्नु नै मनासिब ठानेँ ।
\’तिमी असन जाने बाटोको दाहिनेतिरको गल्लीको मांसगल्लीमा रहेको \’न्यु रिमझिम भोजनालय\’मा जान सक्छौ ।\’ सम्भवतः मेरो मौनभाषा बुझी मित्रले नराम्ररी मुख बिगारेर भन्यो, \’त्यहाँ पनि जान नसके फुटपाथको मोमोसोमोले पनि काम चल्छ ।\’
यस पटकको सुझाव भने सर्वथा मेरो पकेट साइज अर्थात् त्यहाँ बाँकी रहेको नगद एवं चानचुन अनुकूल थियो । यता केही दिनदेखि म यही कर्मकाण्डमा त व्यस्त छु । अरु के त ? वास्तवमा म यस्तै फुटपाथे मोमोको भरपेट सेवन गरेर नै आफ्नो प्रचण्ड भोकको शमन गरिरहेको छु । र यो त्यसै गरिएको होइन । यसको दुईवटा प्रत्यक्ष लाभ रहेको छ । एक, हाम्रो अनावश्यक ढंगले पुट्ट बाहिर निस्किएको -खाली भएर) पेट ठूलो आकारको मोमोको डल्लाले पुरै भरिन्छ । र दुई, यसमा निहित लेसिलो पदार्थ बोसोले अतिरिक्त तागत प्रदान गर्छ । यद्यपि यो लेसिलो पदार्थ आदि दृष्टिगोचर भने हुँदैन । एक प्लेटको दस अथवा आठगोटा श्वेत डल्लिका -मेरो एक गजलकार मित्रको कमनीय रचनामा प्रयुक्त शब्द) भित्र केके रहन्छ, यो त त्यसमा असाध्यै निपुणताका साथ भाँती-भाँतीका ए, बी, सी, डी, ई आदि भिटामिन प्रविष्ट गराउने मोमोवालासँग नै सोध्नुपर्ने हुन्छ । परन्तु तिनीहरूले कठोर यथार्थको लोकार्पण गर्नेछन् भन्नेमा मलाई एक सय दस प्रतिशत शंका छ । अँ, यस सम्बन्धमा केचाहिंँ भन्ने गरिएको छ भने काठमाडौंमा जति अखाद्य किसिमका मासु हुने गर्छ, त्यसको पूर्णरूपेण खपतमा ममचा -स्थानीय लवज) को चमत्कारिक योगदान रहेको छ । चाहे त्यो पुच्छरको झाप्प रौं होस् या खुट्टाको निखुर कालो-कालो खुर । यसका साथसाथै उदार मासुदाता चारखुट्टे पशुको शिरको दुई ठाडा सिङ पनि । सबै मासु पेल्ने गजबको तिलस्मी मेसिनमा राम्ररी पेलिएर एकदमै मोमोलायक मासुमा परिणत हुन्छ । याद रहोस्, यो सामान्य मासु होइन । यस्तो मासुबाट निर्मित मोमोको स्वाद अन्य मासुका परिकारभन्दा विलक्षण हुन्छ । सेकुवा, भुटुवा, तरुवा आदिले मोमोलाई अलिक पनि चुनौती दिने योग्यता राख्दैनन् । फलस्वरुप दिउँसोको पेटभरुवा स्वादिष्ट खाजाको रूपमा तात्तातो र पिरो-पिरो मसालेदार मोमो नै लोकपि्रय छ । संक्षेपमा यो हाम्रो लागि महाखाजा हो ।
आजभोलि म यस्तै महाखाजा मोमोलाई मुख्य भोजन बनाएर मोमो शरणागत भएकोले स्वाभाविक तवरले जे हुनुपथ्र्यो, त्यही भएको छ । यो त हुनु नै थियो । किनभने मोमोमा अन्तरनिहित तमाम खाले पौष्टिकतालाई उदरस्थ गरी पचाउने अद्भुत सामथ्र्य ममा छैन । परिणामस्वरुप मेरो कमजोर कायामा अवस्थित पेटमा गडबडी आरम्भ भएको छ । व्यापक गड्याङगुडुङ । यसले डाक्टरको क्लिनिकमा पुर्यायो । त्यहाँ पुगेपछि डाक्टरसाबले पहिले फिस लिए, त्यसलाई कोटको तल्लो पकेटमा घुसारे, अनि मेरो पेट छामछुम गरेर \’मलाई ग्यास भएको\’ उद्घोष गरे । अब हेर्नाेस् त मेरो दुर्भाग्य, म कुन ग्यासको खोजीमा थिएँ र अन्ततः मलाई कस्तो ग्यासको प्राप्ति भयो ! यो निःसन्देह एक सिलेन्डर ग्यास होइन । मेरो पेटमा ग्यास भएर के हुन्छ ? मेरो सरोकारको ग्यास भारतको बरौनी भन्ने ग्यास स्टेसनबाट पठाइसकिएको खबरचाहिँ निरन्तर आइरहेको छ । सायद नेपालसम्म आइपुगेको छैन । अब आइनै सकेको भए पनि हाम्रो पहुँचमा किमार्थ छैन, त्यो ग्यास । अर्थात् ग्यास रहेको गोप्य गोदामसम्म पुग्ने हाम्रो वर्गत नभएर पो हो कि ! यस्तो हो भने त्यहाँ रहेको ग्यास कसरी पाउन सकिन्छ त ? यही झाँेंकमा मैले ग्यास सिलेन्डरको साटो आफ्नो पेटको ग्यासबारे विस्तृत लेख्नु पनि भएन । एउटा सामान्य लेखक भए पनि यति उच्च प्रकारको अशिष्ट एवं अश्लील लेखन मबाट सम्भव छैन । म कुनै कहलिएको ठूलो साहित्यकार होइन । न सरकारी राष्ट्रकवि नत असरकारी आख्यानपुरुष आदि नै । त्यसकारण म ग्याससम्बन्धी -पेट अथवा सिलेन्डरको) तमाम लेखनको स्वेच्छाले समाप्तिको घोषणा गर्छु । इति !
कान्तिपुर दैनिक
Subscribe
Login
0 Comments
Oldest







































