अशोककुमार शिवाबिरालो बाँधेर श्राद्ध
अशोककुमार शिवा
के काम गर्या होला बिरालो बाँधेर श्राद्ध गरेजस्तो भनेको सुन्दा अचम्म लाग्थ्यो । किन बिरालो बाँधेर श्राद्ध गरेजस्तो भन्या होला भनेजस्तो लाग्थ्यो । आफुभन्दा जान्नेसुन्नेलाई सोध्दा सुनेको जवाफ यस्तो थियो– “उहिले कुनै घरमा विरालो पाल्याथ्यो र त्यस घरमा मृतकको श्राद्ध गर्दा बिरालोले छोइछिटो गर्ला भनेर त्यस बिरालोलाई खम्बामा बाँधेर मात्र पितृ श्राद्ध गर्ने गर्दथे । जसले त्यो कर्म देखेका थिए तिनले पछि आफूले श्राद्ध गर्दा घरमा बिरालो नभए पनि गाउँमा जहाँ छ त्यहीँबाट ल्याएर भए पनि बाँधेर पितृ श्राद्ध गर्ने गर्थे” । पछि बिस्तारै कुरो बुझ्दै गएपछि श्राद्धमा बिरालो बाँध्ने चलन हराएको थियो रे । कुरो यस्तो रहेछ ।
वसन्त पञ्चमी मेरो पिताको तिथी पर्ने भएकाले चतुर्थी पञ्चमी विशेष पथपरहेजमा बस्ने र पञ्चमीका दिन पिताको श्रद्धासुमन साथ श्राद्ध गर्नुपर्ने । बिहानै उठेर नुहाईधुवाई सकेर कर्मकाण्डमा चाहिने सरसामान लिएर नजिकैको गणेश मन्दिरमा गएर श्राद्ध कर्म सकेर घर आई बिहानीको पहिलो चियाको सुर्को लिँदालिँदै मेरी साली अञ्जलीे घाँटीमा डोरीले बाँधेको बिरालो च्यापेर छोरी सहित हल्ला गर्दै आइन् । एकमन त यिनले आज मेरो पिताको श्राद्ध भन्ने थाहा पाइपाई बिरालो लिएर आइन् जस्तो पनि लाग्यो । घरको माहोल देखेर उनले के हो र दिदी आज भन्दै ढोकैदेखि कराएर दिदी चाहिँलाई सोधेर जानकारी पाएपछि ज्या त्यसोपो, ल खत्तम, मैले त नुहाएको छैन दिदी, म बाहिरै बस्छु है भनिन् । तब मेरी साली अनभिज्ञ रहेको थाहा भयो । जस्तो उखान त्यस्तै काम पो भो धन्न श्राद्ध चाहिँ बिहानै सकिएको थियो र मात्र । श्राद्ध सकिएपछि पनि काम त बाँकी नै थियो चेलीबेटी, ज्वाईंचेलो अनि भान्जा भान्जीहरूलाई टिका लगाई दिएर प्रसाद ग्रहण गराउने । एकाछेउमा बिरालोलाई बाँधेर राखियो आधा दिनसम्म । जब सबैकाम सकियो साली बिरालो लिएर आफ्नो घर लागिन् । बिचरी साली जनावर भनेपछि हुरुक्क हुन्छिन् ।
चार महिना अघि एकदिन हाम्रैमा आउँदै गर्दा बाटोमा कुकुरले मुखमा च्यापेर हिँड्दै गरेको भरखर जन्मिएकी बिरालोकी छाउरी देखेर कुकुरसँग खोसेर ल्याई पालेकी अहिले त चार महिनाको भई सकेछ । सानैदेखि ख्वाईप्याई आफ्नै साथमा च्यापेर राख्ने गरेकाले जतागयो उतै पछ्याउने र घरमा कोही नहुने हुँदा आफू बाहिर हिँड्दा घरमा छोड्न पनि नमिल्ने के गरुन् नल्याई ? उखानटुक्का दोहो¥याइयो आज । बिरालो बाँधेरै श्राद्ध सकियो ।
यो त भयो मेरो कुरा तर हाम्रो समाजमा अझै धेरै काम कुरो बिरालो बाँधेर श्राद्ध गर्ने प्रचलनबाट नै गरिने गरिन्छ । हाम्रा अग्रजले यस्तो गर्थे हामीले पनि उस्तै गर्नुपर्छ भन्नेहरूको सङ्ख्या अझै धेरै ठूलो छ । समय र परिस्थिति अनुसारको कर्मकाण्ड हुनुपर्ने हो तर त्यस्तो हुन सकेको छैन र निकट भविष्यमा पनि सुधार हुने लक्षण देखिँदैन । हेपिएकाहरू हेपिनैपर्छ, थिचिएकाहरू थिचिनैपर्छ भन्ने मानसिकताले ग्रस्त बनाएको छ समाजलाई । समाजका अगुवा भनिएकाहरूले पनि यो मानसिकतालाई त्याग्न सकेका छैनन् । अवसर नपाएकाहरूलाई अवसर दिनुपर्छ । पीडित उत्पीडितहरूको उत्थान गर्नुपर्छ भन्नेहरूको स्वर दिनप्रदिन झिनो हुन थाल्या छ । अझ भनुम् स्वरलाई जबरजस्ती मलिन पारिएको छ । के बिरालो बाँधेर नै श्राद्ध गरिरहने सधै ? श्राद्ध जति सबै बिरालोको बपौती हो ? हुन त श्राद्ध आफैमा रङ नम्बर डायल हो । सही नम्बर डायल भएको भए त पितृको जवाफ आउँदो हो नि तर त्यहाँ त कम्प्युटरले “तपाईंले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ केही समयपछि पुनः डायल गर्नुहोला” सम्म भन्दैन । न भन्छ “तपाईंले डायल गर्नुभएको नम्बर मिलेन कृपया नम्बर चेक गरी पुनः डायल गर्नुहोला” नै ।
धर्म निरपेक्षता छ हाम्रो देशमा, म हिन्दु हुँ र हिन्दु नै रहिरहनेछु जीवनपर्यन्त । म नास्तिक हुँदैहैन तर बिरालो बाँध्नु पर्छ भन्नेसम्मको हठ मबाट हुँदैन । सही नम्बर डायल गर्ने प्रचलन गरिनुपर्छ तर मिसकल कहिले दिनुहुँदैन । यहाँ त मिसकल दिएर आफ्नो पैसो बचाउनेहरूको पनि कमी छैन । यस्तो कुरो कहाँबाट जानेछ भन्नु होला हिन्दी फिलिम पिकेको देन हो भन्नु सतप्रतिशत सहि चाहिँ हुँदैन । मलाई अलि अगाडि देखिनै के सही र के गलत भन्ने बारेमा दिमागमा हिट हुन थाल्या थ्यो, पिके सहायक बन्यो भन्दा अत्युक्ति हुन्न भन्ने लाग्छ । मेरी पत्नी सिरियस छिन् बाबा कति औषधीमुलो गर्दा पनि ठिक भएन के गर्ने होला भनेर सोध्दा कैलाश गएर एक चक्कर मारेर आऊ बालक तिम्री पत्नीको रोग निदान हुन्छ, भन्ने नामका निर्मल तथा कामका खट्मलहरूको कुरो पत्याएर बिरामी पत्नीको स्याहार सुसार गर्न छाडेर कैलाश जाने पतिहरू प्रशस्तै छन् ।
वास्तविकता के हा,े आवश्यकता के छ, आवश्यकता पुरा गर्न के गरिनु पर्छ भन्ने कुरोले ंपो प्रश्रय पाउनु पर्ने हो । यस्तो कुरामा समेत बिरालो बाँध्ने ? पुर्खाले भविष्यवाणी गर्थे मैले पनि गर्नुपर्छ, सर्वसाधारण पनि त बिरालो बाँधेर श्राद्ध गर्ने त हुन् भनेर सोच्ने कि जनचेतना जगाउने ? कुरा गम्भीर छ । प्रसङ्ग अनुसारका काम हुनु प¥यो नि मरेको बिरालो देखाएर मुसा भाग्छ ? मुसा नास गर्नुलाई त जिउँदो बिरालो चाहिन्छ । जिउँदो बिरालो चाहिन्छ भन्दैमा मेरी साली अञ्जलीले चेपेर हिँड्या जस्ता बिरालोले चाहिँ केही लछारपाटो लगाउँदैन नि फेरि ।
गल्कोपाखा, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































