निशान निष्कर्षचराहरूले पनि गाउँ छाडेछन्
“बाबु कहाँबाट सुरु गरूँ पत्र ?”
मेरो कोठाको ढोकामा हुलाकी दाइले कति बेला छाडेछन् चिठी ?
पठाउनेमा बुबाको नामले झस्किएँ म ।
सुरुवाती हरफ यस्तै थियो– खोलेर हेर्दा पत्र ।
“आजकल हराउन थालेका छन्– चराहरू गाउँबाट ।
बिहानै धुरीमा बास्ने ढुकुरहरू
सदा बुरुक्क उफ्रन जानेका भँगेराहरू
तँ सानो छँदा,
तैँले गुँड भत्काइदिने गौँथलीका जोडी
बेपत्ता भएका छन् ।
तैँले निधारमा रातो टीका लगाएको साइतमा
टौवामा बसेर कराएको कौवा पनि
ल्याउँदैन आफ्नाहरूको खबर ।
रातभर अनिद्राको सखी बनेर
काप्राको रुखमा कराइरहने उल्लु (लाटोकोसेरो) पनि
हराएको छ– तेरो गाउँबाट ।
छोरा मलाई चरा खोज्नु छ ।
सखारै र संसाँझै हल्ला गर्ने सारौँहरू पनि
हल्ला गर्दैनन् आजकल
र त गाउँ मसानघाट भएको छ ।
हिजो,
बिस्कुन खाएको नाममा लखेटिए– भँगेराहरू
घर फोहोर भएको बहानामा भत्काएकै हो– गौँथलीको गुँड
हल्ला सुन्न सकिन्न भनेर मास्यौँ– बाँसका झ्याङहरू
तेरो निद्रा बिथोलिएको बहानामा रातभर लखेटियो लाटोकोसेरो ।
आज ग्लानिले पोलिरहेछ छातीको कुनै पाटो ।
कहिले त लाग्छ,
चराहरूलाई किन सिकाउन सकिएन
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
तेरी आमा झोक्राइरहन्छे– अगेनीको छेउमा
र सोधिरहन्छे मलाई– के चराहरू फेरि फर्कलान् ?
सुनेको छु,
तँ बसेको सहरमा बन्दै छ रे– नयाँ विधान
रङ्गीन हुँदै छ रे ठुला महलको सपना ।
छोरा, मिल्छ भने भनिदे न है– सहरको संविधानलाई
हराएका चराहरूको इतिहास ।
कतै सीमा कटेकाहरू पनि फर्कन्छन् कि– गाउँ
र मनाउँछन् कि– खुसीको उत्सव ?
आइपुग्दा पत्रको आखिरी हरफहरूमा
दाग लागेका अक्षरहरू थिए ।
सायद पत्र कोर्दै गर्दा बाले
छेवैमा बसेकी आमाको पीडा खसेको हुनुपर्छ– पानामा ।
पत्रको बिसौनीमा बाले लेखेका रहेछन्–
“कुनै दिन सम्झिस् भने आफ्नो गाउँ
तँ आउँदा सँगै ल्याउनू– चराहरूलाई पनि
होइन भने यो बुढेसकालमा
म मसाल बालेर अब कहाँ जाऊँ– चराहरू खोज्न ?”
तन्द्राङ, गोरखा
Subscribe
Login
0 Comments
Oldest








































