चट्याङ मास्टरसिंहले घाँस खाँदैन
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन”
यसरी भनिन्छ मानौ यो भनाइमा भन्दा ठुलो ज्ञान अन्त कतै पाइँदैन
सिंहले घाँस खाँदैन त खाँदैन, म के गरौँ ?
मैले उसलाई घाँस खा पनि भनेको छैन,
घाँस नखा पनि भनेको छैन ।
उसलाई जे मन लाग्छ खान्छ, जे मन लाग्दैन खाँदैन
उसले खानेकुरा मसँग माग्न पनि आउँदैन,
मैले खाने कुरा मलाई दिन पनि ल्याउँदैन
सिंहले के खान्छ र के खाँदैन,
त्यसले मलाइ केही फरक पर्दैन
सिंहको खानाबाट मलाइ चाहिने ज्ञान झर्दैन
के चैं ज्ञान लुकेको छ हो सिंहले के खान्छ र के खाँदैन भन्ने भनाइमा ?
किन मानिसहरू ठुलो पल्टिएर भन्छन्–
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन ।”
ज्ञान खोज्न कतै नपाएर सिंहको आहार नै केलाउनु पर्छ ?
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन”, के यो भन्ने पर्छ ?
जतिसुकै धनी परिवारको भए पनि जागिरेले घुस खाने मौका छोड्दैन
के यो भनाइबाट कुनै ज्ञान झर्दैन ?
बडो जान्ने भएर भन्नैपर्छ–
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन ?”
बोकोले बाख्रो खाँदैन
यो पनि त छ
हातिले मुसा खाँदैन
गैँडाले पानीपुरी चाट खाँदैन
मानिसले जानाजान लामखुट्टे खाँदैन
सबैका आआफ्ना खाने र नखाने कुरा हुन्छन्
सिंहकै खाना केलाउनु पर्छ ?
अरुको केलाए हुँदैन ?
“जतिसुकै भोको बस्न परे पनि सिंहले घाँस खाँदैन” भन्छन किन् मानिसहरू
खाँदैन त खाँदैन, म के गरूँ ?
जेसुकै खावस् या नखावस् सिंहले
त्यसले मेरो पेटमा केही असर पर्दैन
खान मन लागे खाए हुन्छ सिंहले घाँस
त्यसलाई छेक्न कोही जाँदैन
आफूलाई त एउटै कुरो थाहा छ
मन लागेको खाना छोड्नु हुँदैन
सिंहले घाँस खाए खान्छ नखाए खाँदैन ।
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































