माणिकरत्न शाक्यगर्ल्यामगुर्लुम
मेरो टोले नेवार मित्रको विवाहमा जन्ती जानको लागि मलाई निम्तो आयो । निम्तो आएपछि नजाने के कुरो थियो र ! रमाइलोमाथि मिठो खानपान ! साथीभाइहरू जम्मा भए कि रमाइलो गर्नुपर्ने मेरो बानीले गर्दा कसैको पनि बिहाको जन्तीमा मलाई छुटाउँदैनथे । म पनि बडो ठाँटबाँटका साथ सुटटाई कसेर लागेँ बिहे घरतिर । जन्ती हिँड्ने तरखर हुँदै रहेछ । म पनि जन्तीहरूले खचाखच भएको बसमा गुन्द्रुकिएँ । रातिको बिहे । हामी चावहिल कुटुबहालबाट पाटनको इमाडोलमा रात बस्ने गरी गएका थियौँ । बेहुलीको घरमा पुगेपछि निकै मानमनितोका साथ अतिथि सत्कार पाइयो । चिसो तातो खाइयो ।
उहिले उहिले हाम्रो चलनमा बेहुली लिन दुलाहाका बाउ सहित जन्ती जान्थे अनि दुलही ल्याउँथे । दुलाहा चाहिँ दुलहीको पर्खाइमा घरमै मुख मिठ्याउँदै बसिरहन्थ्यो । दुलही घरमा ल्याएपछि मात्र बिहेवारीको कार्यक्रम शुरु हुन्थ्यो । विभिन्न संस्कृतिको मिश्रणले होला अहिले त्यो चलन हटेको छ ।
हामी जन्ती गएको बेला इमाडोल गाउँले ढाँचाको थियो । अतिथि सत्कारको क्रममा एउटा पुरानो घरभित्र हामी सबैलाई लगियो । घरभित्र ओच्छाई राखेको ठाँउमा सबै लस्करै बसे । घरभित्र छिर्ने क्रममा अन्तिमतिर परेँ म । सबै साथीभाइहरूले मलाई अग्लो ठाउँमा माथि बस्न कर गरे । बस्या मात्र के थिएँ म त स्वाट्टै भित्र खसेछु । ज्यान तल, खुट्टा ठाडा । साथीभाइहरूले हाँस्दै मलाई हत्तपत्त टाईमा समातेर तान्दै बाहिर निकाले । के भएछ भनी हेर्दा पो थाहा भयो– चुलो माथि सुकुल ओच्छाएर त्यस माथि राम्रो तन्नाले छोपेर राखेको रहेछ । चुलोको डाँडीले मेरो भार थाम्न नसकेर म त गर्ल्यामगुर्लुम भित्रतिर खसेको रहेछु । चुलो भत्कियो । म त अक्क न बक्कमा परेँ । त्यहाँ उपस्थित सवैजना मेरो अनुहार हेरेर हाँसिरहेका थिए । आफूलाई भने अप्ठ्यारो लागेर ङिच्च दाँत देखाएर बसिरहेँ ।
साथीको बिहेमा जन्ती जाँदा चुलोमाथि राखेर सत्कार गरेको त्यो घटना हुँदा म चाहिँ रुनु न हाँस्नु भएर फर्केको थिएँ । अहिले भने त्यो घटना सम्झ्यो कि भित्रैदेखि हाँसो उठ्छ ।
चावहिल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































